अमेरिकाको मायामीमा आयोजित ‘विश्व म्याराथन च्यालेन्ज’को समापनमा गिनिज बुक अफ वर्ल्डका प्रतिनिधिले जोशीलाई प्रमाण पत्र प्रदान गरे ।
What you should know
कैलाली — नेपाली मूलका अमेरिकी धावक बाल जोशीले दौरा सुरुवालमा ‘विश्व म्याराथन च्यालेन्ज’ पूरा गरेर गिनिज बुकमा नाम लेखाएका छन् ।
जोशीले ‘विश्व म्याराथन च्यालेन्ज’ अन्तर्गत सात महादेशमा सात दिन लगातार सञ्चालन भएको सात वटा म्याराथनमा दौरा सुरुवालमा दौडेर विश्व कीर्तिमान कायम गर्दै गिनिज बुकमा नाम लेखाएका हुन् ।
उनी सात महादेशमा सात दिन लगातार सञ्चालन भएको म्याराथनमा नेपाली पोसाकमा दौडिने विश्वमै पहिलो धावक बनेका छन् । उनको यो विश्व किर्तिमान गिनिज बुकमा लेखिएको छ । शुक्रबार अमेरिकाको मायामीमा आयोजित ‘विश्व म्याराथन च्यालेन्ज’को समापन समारोहमा गिनिज बुक अफ वर्ल्डका प्रतिनिधि माईकल ईम्प्रिकले जोशीलाई प्रमाण पत्र प्रदान गरे ।
३१ जनवरीमा अन्टार्कटिकाबाट सुरु भएको म्याराथन शुक्रबार अमेरिकाको मायामीमा सम्पन्न भएको हो । उनले ‘विश्व म्याराथन च्यालेञ्ज’ अन्तर्गत सात महादेशमा सञ्चालित सात वटै म्याराथनको समापनमा नेपाली र अमेरिकी झण्डा फहराएका थिए । २०१५ मा देखि हरेक वर्ष सञ्चालन हुँदै आएको ‘विश्व म्याराथन च्यालेन्ज’ अत्यन्त चुनौतीपूर्ण मानिन्छ ।
सात महादेशमा लगातार सात दिनसम्म सात म्याराथन सञ्चालन हुने भएकोले यो प्रतियोगितालाई ‘७७७ म्याराथन’ भनिन्छ । ‘७७७ म्याराथन’ २०२६ मा जोशीसहित ३२ देशका ५६ धावक सहभागी थिए । अन्टार्कटिकाबाट सुरु भएको म्याराथन, अफ्रिकाको केप टाउन, अस्ट्रेलियाको पर्थ, एशियाको दुबई, स्पेनको म्याड्रिड, ब्राजील हुँदै सातौं दिनमा अमेरिकाको मायामीमा सम्पन्न भएको हो ।
सुर्खेतमा जन्मिएका ४१ वर्षीय जोशी दुई दशकदेखि अमेरिकामा छन् । टेक्सासको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको ग्रेपभाइन सिटीमा बस्ने जोशी पेशाले बैंकर्स हुन् । उनले ‘विश्व म्याराथन च्यालेन्ज’ लाई छोटो अवधिमा नेपाली सम्पदाको प्रचार गर्ने अवसरका रुपमा सदुपयोग गरेको बताए ।
‘यो चुनौतीपूर्ण म्याराथनलाई मातृभूमि नेपाल, नेपाली सम्पदा र संस्कृति चिनाउने अवसरका रुपमा लिएको थिएँ’, उनले भने, ‘आफू जन्मेको माटो र सम्पदाप्रतिको सम्मानका लागि गरिएको प्रयास सफल हुदा खुशी लागेको छ ।’ जोशीले सात दिन, सात महादेशमा सञ्चालित सात वटा म्याराथनमा फरक–फरक दौरा सुरुवाल लगाएका थिए । ती सबै दौरा सुरुवाल काठमाडौंका विश्व गौतमले तयार गरेका थिए ।
