‘सडक ढलानका लागि साइफन ड्रेनेज प्रणालीमार्फत पहिरो न्यूनीकरण’ शीर्षकको मोडेलले प्रथम पुरस्कार पाएको हो ।
What you should know
काठमाडौँ — नेपाल जियोटेक्निकल सोसाइटी (एनजीएस) ले जियोटेक्निकल मोडेल प्रतियोगिता तथा एनजीएस युवा सिम्पोजियमको विजेता पुल्चोक क्याम्पस भएको छ । ‘सडक ढलानका लागि साइफन ड्रेनेज प्रणालीमार्फत पहिरो न्यूनीकरण’ शीर्षकको मोडेलले प्रथम पुरस्कार पाएको हो ।
यो मोडेललाई निर्णायक मण्डलले सडक करिडोरमा पहिरो जोखिम घटाउन अत्यन्त व्यावहारिक र प्रभावकारी ठहर गरेको थियो ।
निर्णायक मण्डलका संयोजक तथा सडक विभागका सुपरिटेन्डेन्ट इन्जिनियर सौजन्य नेपालको अध्यक्षतामा भएको मूल्यांकनमा युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजले 'ल्यान्डस्लाइडका लागि स्मार्ट जियोटेक्निकल इन्स्ट्रुमेन्टेसन तथा प्रारम्भिक चेतावनी प्रणाली' मोडेलसहित र हिमालय कलेज अफ इन्जिनियरिङले 'अरनिको राजमार्ग, धुलिखेल, काभ्रेमा कट ढलानको स्थिरता विश्लेषण' मोडेलसहित द्वितीय भएका छन् ।
प्रतियोगितामा नेपालको जटिल तथा पर्वतीय भूगोलमा पूर्वाधार विकासका चुनौतीलाई सम्बोधन गर्ने नवीन भौतिक तथा अवधारणात्मक मोडेलहरू प्रदर्शन गरिएका थिए। सडक पहिरो, सिन्कहोल, भूकम्पबाट हुने क्षति, जग प्रणाली, पेभमेन्ट, जियोग्रिड प्रयोग, जलविद्युत संरचना, बाढी तथा जल व्यवस्थापन, ढलान स्थिरीकरण र सुरुङ निर्माणजस्ता विविध विषयमा मोडेलहरू प्रस्तुत गरेका थिए।
यो प्रतियोगितामा चार विश्वविद्यालय, आठ इन्जिनियरिङ कलेज र ११ वटा विद्यार्थी टोलीको उत्साहपूर्ण सहभागिता रहेको थियो। अधिकांश सहभागी स्नातक तहका इन्जिनियरिङ विद्यार्थी थिए।
प्रतियोगितासँगै भएको एनजीएस युवा सिम्पोजियम २०२६ ले विद्यार्थी तथा युवा इन्जिनियरहरूका लागि प्राविधिक आदानप्रदान, व्यावसायिक छलफल र युवा सहभागिताको उत्कृष्ट मञ्च प्रदान गरेको थियो। एनजीएस उत्कृष्ट स्नातकोत्तर थेसिस पुरस्कार विजेता ई. आदर्श ढकालले 'पार्श्व भारित पाइल जगको विश्लेषणात्मक तथा संख्यात्मक मोडेलिङ' बारे बताए ।
ऊर्जा मन्त्रालयकी डा. आस्था भट्टाले जलविद्युत् बाँध प्रणालीमा प्रवाह गतिशीलता तथा ऊर्जा क्षय संयन्त्रबारे जनाइन् । युवा संयोजक इ. राजन केसीले नेपालको कठिन तथा जटिल भूगोलमा सुरक्षित, लचिलो र दिगो सडक पूर्वाधार विकासमा जियोटेक्निकल इन्जिनियरिङको महत्वपूर्ण भूमिकाबारे बताए ।
यो कार्यक्रम आगामी मार्च १७–१९, २०२७ मा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलन जियोमान्डु २०२७ को प्रमुख तयारी कार्यक्रमको रूपमा आयोजना गरिएको हो । जियोमान्डुको मुख्य विषय 'पर्वतीय भू-प्रविधि तथा पूर्वाधार विकास' रहेको छ।
कार्यक्रममा एनजीएसकी महासचिव इ. कल्पना अधिकारीले क्षमता अभिवृद्धि, व्यावसायिक विकास, युवा सहभागिता तथा अन्तर्राष्ट्रिय सहकार्यमा सोसाइटीका निरन्तर प्रयासहरूले नेपालको जियोटेक्निकल समुदायलाई मजबुत बनाइरहेको बताइन् ।एनजीएसका अध्यक्ष प्रा.डा. इन्द्रप्रसाद आचार्य र सम्मेलन अध्यक्ष डा. मन्दिप सुवेदीले यो प्रतियोगिता तथा सिम्पोजियम जियोमन्डु २०२७ को दीर्घकालीन दृष्टिकोणसँग जोडिएको बताए । आगामी सम्मेलनमा पहिलोपटक नेपालमा ११औं एसियन यङ जियोटेक्निकल इन्जिनियर्स कन्फरेन्स र १औं दक्षिण एसियन कन्फरेन्स अन जियोटेक्निक्स पनि आयोजना हुनेछन्।
