सीमान्त समुदायका युवा भन्छन्– मान्छे बन्न निस्किएका थियौं, बीचैमा छौं

चमार समुदायकी पहिलो महिला मेडिकल डाक्टर स्मृति हरिजनले आफ्नो संघर्ष र सफलताको कथा साझा गर्दै प्रेरणादायक अनुभव सुनाइन्।

श्रावण २७, २०८२

कान्तिपुर संवाददाता

The youth of the marginal community say - we were meant to be human beings, but we are in the middle

What you should know

काठमाडौँ — अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवाहरुसँग उनीहरूका सपना र अबको बाटोका विषयमा अन्तरक्रिया र विमर्श गर्दै काठमाडौंमा विविधताको उत्सव (डाइभर्सिटी कार्निभल) सम्पन्न भएको छ ।

दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले सोमबार आयोजना गरेको कार्यक्रमका विभिन्न सत्रहरूमा युवाहरुबीच संवाद, प्रशिक्षण र सांगीतिक प्रस्तुतिसँगै विविधताको उत्सव मनाइएको हो ।

उत्सवमा चमार समुदायकी पहिलो महिला मेडिकल डाक्टर डा. स्मृति हरिजनले प्रमुख वक्ताका रुपमा आफ्नो अनुभव साझा गरिन् । अन्तरक्रियात्मक सत्रहरुमा नेपाली फुटबल टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुव्बा, अभिनेता नाजिर हुसेन, आप्रवासीका नेनृत्वकर्ताका रुपमा काम गरिरहेका महेन्द्र पाण्डे, मुसहर समुदायबाट नेपाल सरकारका उपसचिव सुनिल कुमार पासवान र बोल्न–सुन्न नसक्ने क्वेर मीना जोशीले दोभासेको सहायतामा प्रदीप परियारसँग संवाद गरे । 

The youth of the marginal community say - we were meant to be human beings, but we are in the middle

भारतका ढल सफा गर्ने समुदायमा जन्मिएर सफाइ कर्मचारी आन्दोलनका माध्ययमबाट ‘रोमन म्यागासेसे’ अवार्ड विजेता वल्सन बेजवडा र लेखक सीके लालले जात व्यवस्थामाथि आफ्नो अनुभूति र विचार व्यक्त गरे । 

डा. हरिजनले आफू चमार समुदायबाट आएर डाक्टर बन्न पाउँदा भावुक भएको बताइन् । ‘छोरि भएर किन पढ्ने, काम गर्न सिकेपछि पो राम्रो केटासँग बिहे हुन्छ भन्ने जस्ता तमाम प्रश्नहरूबीच बाबाको दुःख र प्रेरणाले म डाक्टर भएँ,’ उनले भनिन् । आफ्नो हजुरवा र बाबाले इट्टाको तातो धुवामा पेलिएर, जग्गा बेचेर आफूलाई पढाउँदा यहाँसम्म आइपुगेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘आर्थिक अवस्था हेर्दा पढ्न कथन थियो, समाजको विभेद उस्तै थियो । तर, बुवाको निरन्तर प्रेरणाले मेरो पढ्ने आदत जस्तो बनिसकेको थियो ।’ आफूले अञ्जुलीमा अलग्गै पानी थापेर खाएर पनि विज्ञान पढ्ने र एमबीबीएस पढ्ने सपना पूरा भएको बताइन् ।

The youth of the marginal community say - we were meant to be human beings, but we are in the middle

‘काठमाडौंमा पढ्न आउन पनि त्यति सहज थिएन, तर चमार, डोम, मुसहर समुदायलाई विश्वविद्यालय अनुदान आयोगले एमबीबीएसको छात्रवृत्ति दिने प्रावधानकै कारण मैले र बाबाले देखेको सपना पूरा भयो’, उनले भनिन्, ‘होस्टेल फि र किताब किन्नको लागि पनि बाबाले जग्गा बेच्नुपर्‍यो । म अहिले सेतो कोट लगाउँछु । त्यो मेरो लागि डाक्टरको उपाधि मात्र होइन सिंगो समुदायमाथिको सम्मान हो । तर, अहिले पनि समाजले चमारकै रुपमा लिने गरेको र तिरस्कार भोगिराख्नु परेको छ ।’ उनले बोलिरहँदा दर्शक दीर्घामा बसिरहेका उनका बुबा आँसु पुछिरहेका थिए ।

डा. हरिजनको ‘कि नोट स्पीच’पछि दलित लाइभ्स म्याटरका अध्यक्ष प्रदीप परियारले ‘सपना संघर्ष र सफलता’ संवाद गरे । संवादमा बोल्दै कलाकार नाजिर हुसेनले आफू मधेशको खोलाछेउ हुर्किएर आएको मानिस यहाँसम्म पुग्नु कल्पनाभन्दा बाहिरको विषय भएको बताए । 

मधेशी भाषाकै कारण थुप्रै पटक फिल्ममा अस्वीकार भएको र सर्वस्वीकार्यको लागि आफू गोरो हुन अनेक उपायहरुसमेत अपनाएको तितो यथार्थ सुनाए । ‘म हिन्दू ममी र मुस्लिम बाबा भएको परिवारमा हुर्किएर बहुसंस्कृतिको अभ्यास गर्न पाएँ । सुफि, कला र सृजनामा सानैदेखि लगाव थियो’, उनले भने, ‘तर, फिल्ममा अस्वीकृत भए पनि किताबहरुले मलाई त्यसका बावजुत बलियो गरी उभिन उत्प्रेरित गरे ।’ 

The youth of the marginal community say - we were meant to be human beings, but we are in the middle

मधेशलाई सबैले कमेडी, गुण्डा र पानीपुरी वालाको रोल राख्ने नेपाली फिल्मको परम्परालाई आफूले केही हदसम्म तोडेको पनि उनको दाबी छ । ‘मैले गाउँमा टिभी हेर्दा एक दिन यो टिभीभित्र म नाचिरहेको हुन्छु भन्ने सपना देख्थेँ । अब मेरो उद्देश्य छ कि संसारमा चिनिने काम गरुँ’, उनको भनाइ छ ।

आफूभित्रको हुट्हुटी र जुनुनलाई कहिल्यै मर्न नदिन सुझाव दिँदै ती सपनाहरुले घच्घच्याइरहे मात्र अगाडि बढ्न सकिने उल्ल्खे गरे । ‘मधेशका मान्छेहरुले प्रेम गर्न पनि जानेका हुन्छन् रिसाहा मात्र हुँदैनन्, कालो मात्र होइन गोरो पनि हुन्छन्, नेपाली र अंग्रेजी पनि बोल्छन् । लगाम लगाएको घोडाले जस्तो एउटै दृष्टिकोणबाट नहेरिदिनुहोला’, अन्त्यमा नाजिरले भने ।

राष्ट्रिय फुलबल टिमकी कप्तान एन्जिला तुम्बापोले दाईहरुसँग खेलेर फुटबल सिकेको र केटाहरुको बीचमा कट्टु लगाएर खेल्दा समाज र परिवारबाट दबाव झेल्नुपरेको सुनाइन् । लुकी–लुकी पनि आफूले फुटबल खेल्ने गरेको बताउँदै कठोर मेहनतले मात्र यहाँसम्म पुगेको उल्लेख गरिन् । 

अब नेपालको लागि गोल्ड मेडल जित्ने आफ्नो सपना रहेको र नेपाली महिला फुटबल टिम त्यसको निकै नजिक रहेको पनि बताइन् । संघर्षको दिन सम्झँदै एन्जिलाले भनिन्, ‘हामी एकदमै बन्धनमा बाँधिएर आएका हौं । पाँच वर्षको हुँदा ममी र ड्याडी छुट्टिनुभयो । संघर्ष नगरी कहीँ पुगिँदैन, आमाका सहायतामा मैले निरन्तर मेहनत गरेँ ।’ 

हिजो सामान्य खेलाडी भए पनि अहिले आफूसँग सिंगो देश नै जोडिएकाले आफूमाथि जिम्मवारीबोध रहेको पनि स्वीकार गरिन् । ‘हालै ग्रीसमा ए डिभिजन लिगहरु खेलेर आएँ, यो जीवनका निकै ठूलो उपलब्धि थियो । अब हाम्रो वर्ल्ड कप खेल्ने सपना छ । सायद त्यो इच्छा पनि चाडै पूरा हुन्छ होला’, उनको आत्मविश्वास थियो ।  

The youth of the marginal community say - we were meant to be human beings, but we are in the middle

उपसचिव सुनिल कुमार पासवानले आफू शिक्षक हुँदै निजामतीमा आएको र त्यसपछि आफ्ना समुदायका थुप्रै मानिसहरु निजामती सेवामा प्रवेश गरेको बताए । सरकारी विद्यालय पढेरै गणितमा आफूले टप गरेको उल्लेख गर्दै सरकारी र बोर्डिङले पढाईमा त्यति धेरै प्रभाव नपार्ने उल्लेख गरे । ‘मैले खुलाबाटै शिक्षक सेवा आयोगमा, त्यो पनि एक नम्बरमा नाम निकालेँ, आफ्नो समुदाय प्रशासनमा पीडित भएकाले फेरि निजामतीमा पनि खुलाबाटै नाम निकालेँ’, उनले थपे, ‘हामी जस्ता युवा आएपछि अहिले सरकारी सेवामा मुभमेन्ट जस्तो भइरहेको छ । राज्यले कल्पना गरेको अहिले वास्तविकतामा देखिँदै छ । जात जन्मबाट आएको होइन, समाजबाट आएको हो । हामीलाई धेरै ठूलो केही बन्नु छैन, मान्छे भए पुग्छ । जनावरबाट मान्छे बन्न निस्किएका थियौं, बीचैमा छौं ।’

पाल्पाको सामान्य परिवारमा जन्मिएर आप्रवासी मजदुरी गर्दै विश्व आप्रवासीको नेतृत्वमा पुगेका महेन्द्र पाण्डेले आफूले साउदीमा काम गर्दा देखेका पीडाहरुले मजदुरको हकहितको लागि लड्न प्रेरणा मिलेको उल्लेख गरे । 

कान नसुन्ने र बोल्न पनि नसक्ने रेन्वो डिसविलिटी नेपालकी उपाध्यक्ष मिना जोशीलो दोभासे सुनिता श्रेष्ठको माध्ययमबाट आफ्नो कुरा खुलस्त रुपमा राखिन् । ढलेको बिजुलीको पोलले लागेर यस्तो अवस्थामा पुगेको बताएकी मिनाले अवसर र मौका पाए आफूहरु पनि अघि बढ्न सक्ने उल्लेख गरिन् । ‘म काभ्रेमा निम्न परिवारमा जन्मिएँ, पछि काठमाडौं आएर डिएभी स्कुलमा पढें । अहिले संस्थामा काम गरिरहेकी छु’, उनले थपिन्, ‘पछि आफू क्वेर भएको थाहा पाउँदा साथीहरु र परिवारले अस्वीकार गरेँ । मैले बल्ल बल्ल परिवारलाई मनाएँ र लड्न सिकेँ ।’ 

उनले अपांगता भएका व्यक्ति र लैंगिक अल्पसंख्यकलाई घृणाको दृष्टिबाट नहेर्न र साधै सकारात्मक सोचिदिन आग्रह गरिन् । 

कार्यक्रममा ‘रोमन म्यागासेसे’ अवार्ड विजेता विल्सन बेजवडाले उत्पीडितविरुद्धको अभियान र संघर्ष एक पटकको लागि नभइ निरन्तर चल्ने र गरिरहनुपर्ने तर्क पेश गरे । त्यस्तै, लेखक सीके लालले जात व्यवस्था कर्म नभइ सत्ता भएको र आत्मसम्मानको खोजीको लागि सत्तासँग संघर्ष गर्नुपर्ने उल्लेख गरे । ‘विविधता भनेको रचनात्मकता र शक्ति हो त्यसैले यसलाई उत्सव रुपमा मनाऔं’, लालले भने । 

कार्यक्रमको अन्त्यमा महिला ब्याण्ड कासा र किरण नेपालीको सांगीतीक समूहले प्रस्तुति दिएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully