जलवायु परिवर्तनले बालबालिकामा पर्ने असमान प्रभावहरूबारे छलफल

वैशाख १३, २०८२

कान्तिपुर संवाददाता

Discuss the disproportionate impacts of climate change on children

काठमाडौँ — कर्णाली प्रदेशका बालबालिकाले जुम्लामा सम्पन्न हिमाली संवादमा जलवायु परिवर्तनले बालबालिकामा पर्ने असमान प्रभावहरूबारे छलफल गरेका छन्।

आगामी सगरमाथा संवादको तयारी स्वरूप आयोजित यस कार्यक्रममा बालबालिकाले जलवायु परिवर्तनका कारण बालबालिकाको शिक्षा, सुरक्षा, स्वास्थ्य र जीवनका अन्य पक्षहरूमा परेको असरबारे आफ्ना अनुभव र चिन्ताहरू व्यक्त गरे।

कार्यक्रमको आयोजना सेभ द चिल्ड्रन, कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र, र युथ अलाइन्स फर इनभाइरनमेन्टले नेपाल सरकार र सगरमाथा संवाद सचिवालयसँगको सहकार्यमा गरेको हो। कार्यक्रममा ६२ जना बालबालिका र विभिन्न सीमान्तकृत समुदायका सदस्यहरूको सहभागिता रहेको थियो।

सेभ द चिल्ड्रनका राष्ट्रिय निर्देशक तारा क्षेत्रीले कार्यक्रममा सम्बोधन गर्दै भनिन्, 'बालबालिकाका आवाज र अनुभवलाई प्रायः बेवास्ता गरिन्छ, तर यी आवाजहरू मात्र कथाहरू होइन, समाधानका उपाय पनि हुन्।'

कर्णाली प्रदेशका बालक्लब नेटवर्कका अध्यक्ष अस्मिताले जलवायु परिवर्तनलाई वर्तमान आपत्कालीन अवस्था भएको बताउँदै भनिन्, 'हामीले सबैभन्दा धेरै मूल्य चुकाउनुपर्छ ।'

कार्यक्रममा बालबालिकाले जलवायु परिवर्तनका प्रभाव र त्यसका कारण बढिरहेका खाद्य असुरक्षा, स्वास्थ्य संकट, र विद्यालय छोड्ने समस्याबारे छलफल गरे। कर्णाली क्षेत्रमा जलवायु परिवर्तनको असमान प्रभाव र चुनौतीहरूको सामना गर्दै, सहभागी बालबालिकाले जलवायु परिवर्तन सम्बन्धी नीति र योजनामा सीमान्तकृत समुदायका आवश्यकताहरूलाई प्राथमिकता दिनुपर्ने आग्रह गरे।

कान्तिपुर

Link copied successfully