'तथ्यहीन समाचार सम्प्रेषण गर्नेमाथि काउन्सिलको कडा निगरानी छ' 

कार्तिक १५, २०८१

कान्तिपुर संवाददाता

'Council has strict vigilance on those who spread false news'

काठमाडौँ — प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यहीन र एकपक्षीय सूचना सम्प्रेषणले पत्रकारितामाथि धावा बोलेकोले यसलाई काउन्सिलले कडाइकासाथ निगरानी गर्ने बताएका छन् ।

पत्रकारिताको आवरणमा गलत क्रियाकलाप रोक्न काउन्सिलले तदारुकता देखाइरहेको पनि उनले उल्लेख गरेका छन् ।  मातृभाषामा समाचार दिने सञ्चार माध्यमलाई शुभकामना दिँदै उनले अबको पत्रकारिता प्रविधिमैत्री र रचनात्मक हुनुपर्ने उल्लेख गरे ।

'आजको डिजिटल दुनियाँमा प्रविधिमैत्री र सबैले अपनत्व लिने माध्यम भएमात्र पत्रकारिता फस्टाउँछ । समाचारका प्रस्तुतिमा फरकपन ल्याउनुपर्छ,' उनले भने,'तथ्य र आधारहीन, एकपक्षीय र हावादारी प्रस्तुतिले पत्रकारितामाथि धावा बोलेको छ । यसलाई रोक्न विश्वसनीय र रचनात्मक पत्रकारिताको खाँचो छ । अबको पत्रकारिताको धार यसतर्फ केन्द्रित हुनैपर्छ ।'

काउन्सिलले मिडियाको दुरुपयोग गर्दै आधारहीन, अश्लील र एकपक्षीय सामाग्री प्रकाशन गर्ने युट्युबसहित विभिन्न माध्यममाथि कडा निगरानी गर्दै आएको छ ।

काउन्सिलले युट्युब व्यवस्थापनसम्बन्धी बेग्लै कार्यविधि बनाई नियमन गर्दै आएको छ । दशैं अघि मात्रै काउन्सिलले ४३ वटा युट्युबलाई कारबाही गरेको थियो ।

कान्तिपुर

Link copied successfully