दोधारा चाँदनीका बस्तीमा बर्सेनि डुबान : तटबन्ध माग्छन् पीडित, राहत मात्रै दिन्छ सरकार

पूर्वतिर महाकाली र पश्चिमतिर जोगबुडा नदी भएका कारण दोधारा चाँदनीका बस्ती बर्खामा जहिल्यै डुबानमा पर्दै आएका छन् । स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभाको चुनावमा हरेक उम्मेदवारले तटबन्ध निर्माणको एजेन्डा अघि सार्दै आएपनि चुनावपछि बिर्सिने गरेको स्थानीयको गुनासो छ  ।

भाद्र २२, २०८२

भवानी भट्ट

Annual flooding in Dodhara Chandni slum: Victims demand embankment, government only gives relief

What you should know

कञ्चनपुर — प्लास्टिकको बोरामा चामल, दाल, नुन, तेललगायत सामग्रीका पोका बोकेर दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरका बाढी पीडित शनिबार चाँदनी बजारको चोकमा बसेका थिए । गृहमन्त्री रमेश लेखक दोधारा चाँदनी पुगेको खबर पाएपछि उनीहरू सरकारलाई उपहार दिन उक्त राहत सामग्री बोकेर आएका हुन् । त्यसको दुई दिनअघि उनीहरूले दोधारा चाँदनी नगरपालिकाको कार्यालयमा पुगेर नगरप्रमुख किशोर लिम्बुलाई राहत उपहार दिन खोजेका थिए । नगरप्रमुख लिम्बु कार्यालयमा नभेटिएपछि उनीहरू प्रमुख प्रशासकीय अधिकृत गणेश मिश्रालाई ज्ञापन बुझाएर फर्किएका थिए । 

गत साता जोगबुडा नदीमा आएको बाढीले विस्थापित भएका स्थानीय विभिन्न संघसंस्थाबाट पाएको राहत बोकेर ‘अब राहत होइन पक्की तटबन्ध बनाइदेऊ’ भन्दै नगरप्रमुखदेखि गृहमन्त्रीसम्मलाई हारगुहार गरिरहेका हुन् । ‘पानी पर्ने बित्तिकै हामीलाई बाढीको त्रास हुन्छ, जहिल्यै विस्थापित हुने नियति कहिलेसम्म ?’ दोधारा चाँदनी–८ की कमला खडकाले भनिन्, ‘एक बोरा राहत दिएर भुल्याउने काम भइरहेको छ, अब हामीलाई राहत होइन जोगबुडा नदीमा पक्की तटबन्ध चाहियो ।’ 

Annual flooding in Dodhara Chandni slum: Victims demand embankment, government only gives relief

गत साता जोगबुडा नदीमा आएको बाढीले सुरन्दरनरगका २५ परिवार विस्थापित भएका थिए । यो पटक मात्रै होइन गत वर्ष असार पहिलो साताको भीषण वर्षापछि आएको बाढीले सुन्दरनगर बस्ती पूरै डुबानमा परेको थियो । त्यसअघिका वर्ष पनि यो बस्तीले डुबानको पीडा बेहोर्दै आएको छ । ‘पानी पर्न थालेपछि छाता ओढेर छतमा बस्नुपर्छ, जोगबुडामा पानी बढ्न थालेपछि बालबच्चा काखी च्यापेर भाग्नुपर्छ,’ सुन्दरनगरकी यमुना मगरले भनिन्, ‘विद्यालयमा बस्दा एक/दुई पोका दाल, चामल दिन्छन्, अब हामीलाई त्यो दालचामल चाहिँदैन पक्की तटबन्ध बनाइदिनुपर्‍यो ।’ गत साताको बाढीले विस्थापित भएकी उनी तीन दिनपछि घर फर्किएकी थिइन् । 

यो पीडा सुन्दरनगर बस्तीको मात्रै होइन दोधारा चाँदनी नगरपालिकामा रहेका जोगबुडा नदी किनारका सबै बस्तीको हो । जोगबुडा नदीमा बाढी आउने बित्तिकै किनारका बस्तीहरू डुबानमा पर्छन् । त्यसपछि स्थानीयलाई सुरक्षित स्थानमा भाग्नुको विकल्प छैन । यस पटक पनि दोधारा चाँदनी–३ पटेरा खल्ला, ८ को सुन्दरनगर, १० को शान्ति टोल र कुतियाकवर क्षेत्रमा ५२ परिवार विस्थापित भए । 

पटेरा खल्ला र कुतियाकबर जहिल्यै डुबानमा

दोधारा चाँदनी–३ पटेरा खल्लामा ३५ परिवारको बसोबास छ । जोगबुडा नदी किनारको होचो बस्तीमा पर्ने यहाँ बर्सेनि डुबान हुँदै आएको छ । यस वर्ष पनि जोगबुडा किनारमा बनेको तटबन्ध भत्काएर बाढी बस्ती पसेको हो । ‘हेर्दाहेर्दै कम्मरसम्मै पानी पुग्यो, त्यसपछि भागेर स्कुलमा गयौँ,’ बडुवाल टोलका गोपाल सुनारले भने, ‘हामी त स्कुलमा गएर जोगियौँ, धान–गहुँ त सबै भिजाइहाल्यो ।’ बडुवाल टोलका विस्थापित परिवार तीन दिन नजिकैको जमुना आधारभूत विद्यालयमा बसेर घर फर्किएका छन् । अहिले पनि घरभित्रको लेदो र पानी सुकिसकेको छैन । 

Annual flooding in Dodhara Chandni slum: Victims demand embankment, government only gives relief

बडुवाल टोलमा गत वर्ष पनि बाढीले वितण्डा मच्चाएको थियो । गत वर्ष बस्तीको उत्तरतिरबाट बाढी पसेको थियो भने यस वर्ष दक्षिणतिर तटबन्ध भत्काएर बस्तीमा पसेको हो । बाढी पसेपछि सबै परिवार विस्थापित भएका थिए । पटेरा खल्लाजस्तै दोधारा चाँदनी–१० कुतियाकवर पनि जहिल्यै डुबानमा पर्दै आएको छ । महाकाली र जोगबुडा नदी दोभानमा रहेको यो बस्ती सामान्य बाढीमा पनि डुबानमा पर्दै आएको छ । महाकालीले जोगबुडाको बहाव रोक्ने भएकाले यहाँ डुबान हुने गरेको हो । कुतियाकवरमा महाकालीले कटान पनि गरिरहेको छ ।

‘यसपालि पनि खेतबारी सबै बाढीले भरियो, बस्तीमा भने धेरै क्षति भएन,’ कुतियाकवरका स्थानीय खडके बुढाले भने, ‘बाढी खेतमा भरिन थालेपछि हामी नदीपारि स्कुलमा गयौँ ।’ कुतियाकवरमा बाढीका बेला बस्नका लागि दुई वटा ‘सेभ हाउस’ पनि बनाइएका छन् । केही स्थानीय सेफ हाउसमा गएर बसेको उनले बताए । कुतियाकवरमा ४२ परिवारको बसोबास छ । जोगबुडा नदीपारिको बस्ती भएका कारण यहाँ बासिन्दा बाढीका बेला झनै समस्यामा पर्ने गरेका छन् । 

चुनाव पिच्छे तटबन्धको एजेन्डा 

पूर्वतिर महाकाली र पश्चिमतिर जोगबुडा नदी भएका कारण दोधारा चाँदनीका बस्ती बर्खामा जहिल्यै डुबानमा पर्दै आएका छन् । स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभाको चुनावमा हरेक उम्मेदवारले तटबन्ध निर्माणको एजेन्डा अघि सार्दै आएपनि चुनावपछि बिर्सिने गरेको स्थानीयको गुनासो छ  ।

दोधारा चाँदनीको क्षेत्रमा जोगबुडा नदीको भाग करिब २० किलोमिटर पर्छ । त्यसमध्ये केही स्थानमा तटबन्ध निर्माण भएको छ । तर सुन्दरनगर, कञ्चनभोज र शान्ति टोललगायतका क्षेत्रमा तटबन्ध निर्माण भएको छैन । उक्त क्षेत्रमा तटबन्ध निर्माणका लागि स्थानीय बासिन्दा अहिले नगरप्रमुखदेखि गृहमन्त्रीसम्म भेटन पुगेका छन् । ‘हाम्रो माग भनेको जोगबुडाको किनारमा पक्की तटबन्ध हो,’ सुन्दरनगरका प्रेम रोकायाले भने, ‘तटबन्ध नबनेसम्म हामी सुरक्षित बस्न सक्ने अवस्था छैन, बाढीका बेला हामी त स्कुलमा जान्छौँ तर खाद्यान्नदेखि खेतीपाती सबै नोक्सान हुन्छ ।’ 

Annual flooding in Dodhara Chandni slum: Victims demand embankment, government only gives relief

जोगबुडामा मात्रै होइन महाकाली नदी किनारमा पनि चार दशकअघि निर्माण भएको तटबन्ध जीर्ण भइसकेको छ । उक्त तटबन्ध पनि जुनसुकै बेला भत्किने जोखिम रहेको छ । यहीँ भएर दोधारा चाँदनीका बासिन्दा महाकाली किनारमा पनि पक्की तटबन्ध निर्माणको माग गर्दै आएका छन् । दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश मिश्राका अनुसार जोगबुडा नदी किनारमा २७ मध्ये ७ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण भएको छ । प्रदेश सरकार र अन्य निकायको बजेटबाट उक्त तटबन्ध निर्माण भएको हो । 

तटबन्धको माग धेरै बजेट थोरै 

जोगबुडा नदी किनारमा विभिन्न समयमा निर्माण भएको तटबन्ध पनि जीर्ण भइसकेको छ । बर्सेनि आउने स–सानो बजेटबाट थोरै मात्रै तटबन्ध निर्माण हुने गरेको छ । यस वर्ष पनि कुतियाकवरमा तटबन्ध निर्माणका लागि ५ करोड रुपैयाँ आएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता समेत रहेका वडा ३ का अध्यक्ष हरिसिंह धनाडीले बताए । ‘पुरानो तटबन्ध पनि जीर्ण भइसकेको छ, कतिबेला कुन ठाउँबाट फुट्छ थाहा छैन,’ प्रवक्ता धनाडीले भने, ‘अहिले माग धेरै उठेको छ, बजेट कुतिकवरका लागि मात्रै आएको छ, नगरपालिकाकै बजेटबाट तटबन्ध बनाउन सकिने अवस्था छैन ।’ उनका अनुसार बडुवाल टोलदेखि कुतियाकवरसम्म २७ किलोमिटरमा गुरुयोजना बनाएर तटबन्ध निर्माण आवश्यक देखिएको छ । 

जोगबुडामा मात्रै होइन महाकाली किनारको बयलबन्ददेखि कुतियाकवरसम्म पुरानो तटबन्ध जीर्ण भइसकेको छ । ‘तटबन्ध र नदीको सतह बराबरनै छ, महाकालीमा धेरै बाढी आयो भने बस्तीमा पस्ने जोखिम छ,’ प्रवक्ता धनाडीले भने, ‘फाटफुट मर्मतको काम हुन्छ, त्यो धेरै दिगो छैन, महाकाली किनारमा पनि गुरुयोजना बनाएरै पक्की खालको तटबन्ध निर्माण गर्नुपर्ने आवश्यक छ ।’ उनले नगरपालिकाको वा प्रदेश सरकारले छुट्याउने सानोतिनो बजेटबाट सम्भव नभएकाले संघीय सरकारबाटै विनियोजन हुनुपर्ने बताए । 

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully