भारतमा काम गर्ने करिब ५० लाखभन्दा बढी नेपाली रहेको अनुमान भए पनि औपचारिक तथ्यांक कसैसँग छैन । भारतमा नेपाली कामदारको हत्या र बेपत्ता घटना निरन्तर बढिरहँदा सुरक्षा र न्यायका लागि सरोकारवालाको आवश्यक पहल नपुगेको पीडितका आफन्तहरु बताउँछन् ।
What you should know
अछाम — परिवारको खर्च जुटाउन सुर्खेतको वीरेन्द्रनगर नगरपालिका—१४ सोट्खोलाका २१ वर्षीय दीपक बस्नेत पढाइ छाडेर कामको खोजीमा भारत गए । उत्तराखण्डको चौमल जिल्ला अन्तर्गत जुम्मामोड भन्ने ठाउँमा सडक निर्माणमा काम गर्ने उनीसँगै अर्का एक नेपाली पनि थिए । करिब तीन महिनाअघि दीपक र उनका साथी ४ महिना अगाडि एकै दिन हराए ।
उनका साथीको शव फेला पर्यो भने दीपक अझै बेपत्ता छन् । दीपकका बुबा केशर बस्नेतका अनुसार वैशाख ३ गते उनी सुर्खेतबाट काम खोज्न भन्दै भारत गएका थिए । त्यहाँ पुगेको केही दिनसम्म परिवारको सम्पर्कमा रहेका दीपक त्यसपछि बेपत्ता छन् ।
‘भारत पुगेर रोडलाइनमा काम गर्न सुरु गरे भन्थ्यो । उसको साथमा अरू नेपाली पनि थिए । उसलाई नेपालबाट काम दिन्छु भनेर लैजाने मान्छे पनि अहिले हाम्रो सम्पर्कमा छैन,’ दीपकका बुबा केशरले भने, ‘भारतमा भएका आफन्तको सहयोगमा धेरै खोजबिन गरिसकेँ । उसका साथीहरूले सही जानकारी दिँदैनन् ।’
दीपकका साथीहरूले सही जानकारी नदिनु, काम दिन्छु भनेर लैजाने मान्छे सम्पर्कमा नआउनुले केही षड्यन्त्र गरेर बेपत्ता बनाएको केशरले आशंका गरे । आर्थिक अवस्था कमजोर भएका केशरका एक छोरा र एक छोरी छन् । छोरीको बिहे भएको र छोरा बेपत्ता भएदेखि सम्हालिन नसकेको उनले सुनाए ।
‘छोरीको बिहे ११ वर्ष अगाडि भयो । बुढेसकालको सहारा भनेकै त्यही छोरा थियो । अहिलेसम्म अत्तोपत्तो छैन,’ उनले भने, ‘म बुढेसकालमा काम गर्न सक्दिनँ । छोराका साथीहरूलाई घटना के भएको हो सत्य कुरा बोलिदेऊ भनेर धेरै आग्रह गरिरहेको छु । तर पनि केही जानकारी दिँदैनन् ।’
आफू पनि अस्वस्थ भएकाले छोरालाई खोज्न एक्लै भारत जान सक्ने अवस्था नभएको उनले बताए । ‘मेरो छोरासँगै हराएका अर्का नेपालीको शव फेला पर्यो भन्ने सुनेका छौँ । दीपक अझै बेपत्ता छ । एक मृत फेला पर्नु, अर्को युवक चार महिनादेखि हराउनु सामान्य घटना होइन,’ उनले भने, ‘मेरा आफन्तले धेरै ठाउँमा खोजी गरे । त्यहाँको प्रहरी, प्रशासनलाई आग्रह पनि गरिरहेका छन् । नेपाली दूतावाससम्म पनि हामीले खबर पुर्याउन खोजेका हौँ । त्यहाँसम्म जाने माध्यम नै पत्ता लगाउन सकेनौँ ।’
गत साता भारतको पन्जाब राज्य अन्तर्गत तलबंडी साबो क्षेत्रको लहरी गाउँमा कैलालीका २५ वर्षीय सन्तोष थापाको शव नहर किनारमा भेटियो । भारतमा रहेकी नेपाली पत्रकार ललिता मलाती सिंहका अनुसार पहिले सडक दुर्घटना भएको शंका गरिए पनि पोस्टमार्टम गर्दा घुँडाको पछाडि र टाउकोमा धारिलो हतियारको चोट देखिएपछि प्रहरी र मृतक परिवारले हत्या भएको दाबी गरेका छन् ।
‘लामो समयदेखि लहरी गाउँमा ढाबा (होटेल) सञ्चालन गर्दै आएका सन्तोषको शव भेटिएको घटनास्थलनजिकै मोटरसाइकल पनि फेला परेको थियो । सडक दुर्घटनाजस्तो देखिने गरी घटना बनावटी जस्तो देखिन्छ,’ उनले भनिन्, ‘धारिलो हतियारले हत्या गरेर शवलाई नहरको किनारमा फालिएको जस्तो थियो । मोटरसाइकललाई पनि दुर्घटना जस्तो देखाउने गरी त्यही छोडिएको थियो ।’ भारतीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जानकारी पाएको उनले सुनाइन् ।
भारतको उत्तर प्रदेशस्थित मेरठ सहरमा घरेलु श्रमिकको रूपमा काम गर्दै आएका कैलालीको गौरीगंगा नगरपालिका–१ का एकै परिवारका तीन जना २०८० पुस १७ गते रहस्यमय रूपमा मृत फेला परे । गौरीगंगा नगरपालिका—१ का अध्यक्ष डबल दियाकोटीका अनुसार ३५ वर्षीय छन्ने भुल, उनकी पत्नी कुमारी भुल र ५ वर्षीया छोरी अञ्जली भुल सुतिरहेकै अवस्थामा मृत फेला परेका थिए । उनका अनुसार कैलालीबाट आफन्त गएर शवको पोस्टमार्टम नै नगरी घटनास्थलबाट सिधैं नेपाल ल्याइएको थियो ।
‘मृतकहरुको शवमा निलडाम देखिएको थियो, घटनालाई सामान्य निसास्सिएर मृत्यु भएको भनिए पनि त्यसमा धेरै शंका गर्नुपर्ने ठाउँ देखिन्थ्यो,’ वडाध्यक्ष दियाकोटीले भने, ‘घटना निकै शंकास्पद छ । छन्नेको त शरीरभर चोट र घाउ थियो, मुख समेत बांगिएको थियो ।’
दियाकोटीका अनुसार त्यो परिवार मेरठको एक घरको माथिल्लो तलामा बस्दै आएका थिए । अवैध धन्दामा संलग्न रहेका तिनका साहुको सूचना बाहिरिने डरले हत्या गराएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । ‘भारतमा घटना भएकाले सत्यतथ्य पत्ता लगाउन सकिएन,’ दियाकोटीले भने, ‘आफ्नै देशको घटना भए सत्य बाहिर आउँथ्यो । बेलाबेलामा भारतमा नेपालीको मृत्यु भएका घटना सुनिँदै आए पनि कारबाही र क्षतिपूर्तिबारे केही हुन नसकेको पाइने उनले बताए ।
कैलाली प्रहरीका अनुसार घटना भारतमा भएकाले अनुसन्धान त्यहीँको जिम्मेवारी भए पनि परिवार वा सम्बन्धित निकायले आवश्यक पहल गरेमा अन्तरदेशीय सहकार्यमार्फत केही कदम चाल्न सकिने थियो । तर परिवारले भारतमा औपचारिक रूपमा उजुरी नगरी शव लिएर नेपाल फर्किएपछि त्यो सम्भावना रहेन । लामो समयदेखि त्यहीँ घरमा काम गरेका उनीहरुको आर्थिक अवस्था पनि गाउँको अरुको भन्दा राम्रै भइसकेको थियो । भूल दम्पती बेलाबेलामा घरमा आउजाउ पनि गरिरहन्थे ।
झन्डै एक महिनाअघि उनका अनुसार कैलालीको टीकापुर नगरपालिका–१ का ३० वर्षीय गणेश थापा भारतको कर्नाटक राज्यको बैंग्लोरको मार्थल्ली क्षेत्रमा रहस्यमय अवस्थामा मृत फेला परे । रोजगारीको सिलसिलामा जेठ २१ गते घरबाट हिँडेका गणेश २४ गते काम गर्ने स्थानमा पुगे । जेठ २५ गते दिउँसो उनको मृत्यु भएको खबर एकाएक परिवारमा पुग्यो ।
भारत पुगेको दोस्रो दिनमा शरीरमा चोटपटकको निशान रहेको गणेशको शव जलेको अवस्थामा फेला परेको थियो । परिवारको सबै व्यवस्थापन गर्ने आश्वासन दिएर भारत आएका गणेशको मृत्युको घटना शंकास्पद भएको परिवारले दाबी गरिरहेको छ । भाइको मृत्युको खबर उनकै साथीहरूले दिएको र नयाँदिल्लीस्थित नेपाली दूतावासलाई हत्याको शंका भएकाले सहयोग गरिदिन पटकपटक आग्रह गरे पनि चासो नदिएको मृतक गणेशकी दिदी कल्पना थापाले बताइन् ।
‘भारत पुगेको तेस्रो दिनमै भाइको मृत्युको खबर आयो । अपत्यारिलो खबरले परिवार नै शोकमा डुब्यो । विभिन्न माध्यम पत्ता लगाएर भारतमा भएको नेपाली दूतावासमा सम्पर्क गर्यौँ,’ कल्पनाले भनिन्, ‘भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मासँग पनि भाइको हत्या भएको आशंका गरेर कुरा गरेँ । उहाँले एसपीलाई कुरा गर्न लगाउनुभयो । एसपीले फरेन्सिक रिपोर्ट आएपछि मात्रै थप कुरा गर्न मिल्ने जवाफ दिइरहनुभएको छ ।’
घटनास्थलको सीसीटीभी फुटेज हेरिदिन र शंका लागेका मान्छेमाथि किटानी जाहेरी दिन सहयोग गर्न आग्रह गर्दा दूतावासले वास्ता नगरेको उनको गुनासो छ । ‘अब त न्याय पाउने आस पनि मरिसक्यो । हामी दुई दिदीबहिनीको एक्लो भाइ केही पैसा कमाएर बिहे गर्छु भन्थ्यो । सबै सपना भारतमा अस्ताए,’ उनले भनिन् ।
पत्रकार सिंहका अनुसार गणेशका परिवारजनले हत्या भएको दाबी गर्दै न्यायको माग गरेका छन् । ‘गणेशलाई भारत बोलाउने व्यक्ति उनका साहु थिए । मृतकका परिवारले घटनामा नेपाली नै संलग्न हुन सक्ने आशंका पनि गरेका छन् । हालसम्म दोषी को हो भन्ने विषय स्पष्ट भइसकेको छैन,’ उनले भनिन्, ‘हामी कर्नाटक प्रहरीसँग घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन विशेष आग्रह गरिरहेका छौँ । दूतावासले पनि यो गम्भीर घटनाप्रति चासो दिई मृतकलाई न्याय दिलाउने प्रयास गर्न आवश्यक छ ।’
उनका अनुसार भारतका भिन्न राज्यबाट हरेक दिन ३/४ जना बेपत्ता र सातामा कम्तीमा ५ जना नेपालीको हत्या भएको जानकारी आउने गरेको छ । ‘भारतभरि नेटवर्क भएका केही भारतीय मिडियासँग सहकार्य गरेर हामीले काम गरिरहेका छौँ । हरेक दिन नेपालीको हत्या, बेपत्ता भन्ने समाचार आइरहेका छन् । तर कुनै पनि सरकारी निकायसँग कतिको हत्या र कति बेपत्ता छन् भन्ने तथ्यांक छैन,’ उनले भनिन्, ‘भारतमा कामदार नेपालीको संख्या कति छ भन्ने यकिन तथ्यांक पनि कसैसँग छैन । यहाँ भने हरेक दिन नेपालीको हत्या र बेपत्ता भइरहेका छन् ।’
भारतमै पत्रकारिता पढेर मुम्बईको बोरिवलीमा रहेकी पत्रकार मलतीले आफ्नो सक्रिय पत्रकारिताको ५ वर्षयता भारतमा नेपाली नागरिकको हत्या, बेपत्ता जस्ता करिब २ सय बढी घटना आफूले नजिकैबाट नियालेको बताइन् ।
‘करिब २ सय नेपाली बेपत्ता भएका, हत्या भएका र अन्य कारणले मृत्यु भएका केसको रिपोर्टिङ गरेँ । तीमध्ये एक प्रतिशतले पनि न्याय पाएको मैले देखेको छैन,’ उनले भनिन्, ‘कमजोर पारिवारिक पृष्ठभूमि, आर्थिक अवस्थालगायत कारण पीडित परिवकारको भारतीय प्रहरी, प्रशासनसँग पहुँच पुग्दैन । रोजगारी गुम्ने डरले अरू नेपालीहरू बोल्न पनि सक्दैनन् ।’
भारतमा बेपत्ता र हत्या हुनेमा निरक्षर र कमजोर आर्थिक अवस्था भएका बढी रहेको उनले सुनाइन् । कतिपय घटनामा नेपालीहरुकै संलग्नता हुने गरेको उनले बताइन् । भारतको महाराष्ट्र, कर्नाटक, दिल्लीलगायतका सहरमा धेरै नेपाली कामदार रहेको उनले बताइन् ।
‘भारतमा काम गर्ने धेरै सुदूरपश्चिम र कर्णालीका छन् । यहाँको हरेक गल्लीमा नेपाली कामदार भेटिन्छन्,’ उनले भनिन्, ‘न्याय पाउने आशले धेरै पीडितका परिवार हामीलाई सम्पर्क गर्छन् । हामीले नेपाली दूतावासलाई पनि जानकारी गराउँछौँ । तर दूतावासले प्रवासीका कुरामा धेरै चासो दिएको पाइँदैन ।’
भारतमा काम गर्ने करिब ५० लाखभन्दा बढी नेपाली रहेको अनुमान भए पनि औपचारिक तथ्यांक हालसम्म कसैसँग नभएको संयुक्त नेपाली महासंघ भारतका अध्यक्ष युवराज न्यौपानेले बताए । महासंघले थाहा पाएका नेपाली नागरिक पीडित भएको घटनामा सहजीकरण गर्दै आएको उनले बताए ।
‘संयुक्त नेपाली महासंघ भारतमा ४८ वर्षदेखि काम गरिरहेको गैरराजनैतिक संस्था हो । हामीले भारतमा कति नेपाली छन् भन्ने तथ्यांक निकाल्ने धेरै प्रयास गरेका हौँ । नेपाल सरकार र दूतावाससँग यहाँका नेपालीका समस्याका विषयमा हामीले दर्जनौँ पटक डेलिगेसन गयौं होला,’ अध्यक्ष न्यौपानेले भने, ‘नेपाल सरकार, दूतावास कसैलाई पनि भारतमा काम गर्ने नेपाली बारेमा चिन्ता देखिँदैन ।’ नेपालीलाई परेको समस्यामा महासंघलाई ढिलो सूचना आउने भएकाले न्यायका लागि लड्न गाह्रो भएको उनले बताए । उनका अनुसार महाराष्ट्रमा मात्र विभिन्न कामको सिलसिलामा सुदूरपश्चिम र कर्णालीका ६ लाखभन्दा बढी छन् ।
दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर नेपाल प्रहरीका एसएसपी प्रकाश मल्ल भारतमा नेपालसँग हुने आपराधिक घटनाको जानकारी विभिन्न च्यानलबाट आउने गरेको बताउँछन् । पीडित स्वयं, पीडितका परिवार वा भारतमा रहेका प्रवासी नेपालीका विभिन्न संघ/संगठनबाट घटनाहरुको जानकारी आउने गरेको उनले बताए ।
‘अर्काको देशमा हामी आफैंले मुद्दाको अनुसन्धान गर्ने त कुरा भएन, त्यस्तो सूचना आएपछि सम्बन्धित राज्यको प्रहरीसँग हामी समन्वय गर्छौं,’ उनले भने, ‘मुद्दाको गहिरो अनुसन्धान होस, अप्ठ्यारोमा परेका नेपालीले न्याया पाओस् भन्ने हाम्रो प्रयास रहनछ ।’ कूटनीतिक च्यानलबाट विदेश मन्त्रालय हुँदै सम्बन्धित प्रहरी कार्यालयमा पुग्न समय लाग्ने भएकाले छिटो काम होस भनेर हरसम्भव सम्बन्धित प्रहरी कार्यालय मुद्दा हेर्ने निकायमै सम्पर्क स्थापित गर्ने गरिएको उनले बताए ।
अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)ले तयार पारेको सन् २०१९ को प्रतिवेदनअनुसार भारतमा करिब ३० देखि ४० लाख नेपाली कामदार कार्यरत छन् । धेरै संख्यामा नेपाली श्रमिक भारतमा रहे पनि खुला सीमा र अनौपचारिक श्रम संरचनाका कारण यकिन तथ्यांक राख्न सकिएको छैन । नेपाल–भारत खुला सीमाले नेपालीलाई पासपोर्ट वा श्रम अनुमति बिना नै भारत जान सजिलो बनाएका कारण नेपालीहरू घरेलु काम, भवन निर्माण, होटेल, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा कार्यरत छन् । भारतमा काम गर्ने नेपाली भने वैदेशिक रोजगार विभागको तथ्यांक नेपाल सरकारद्वारा निर्धारण गरिएको श्रमिक संरक्षणका कानुनी मापदण्डमा समेत परेको छैनन् ।
उपचार र किनमेललगायत अन्य कामका लागि भारत जाने गरे पनि नाका पार गर्ने नेपालीहरुको बढी संख्या भने रोजगारीकै लागि जानेको हुने गरेको छ । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट दैनिक सयौँ नेपाली भारततर्फ रोजगारीको खोजीमा जाने गरेका छन् । भारतसँग जोडिएका सुदूरपश्चिमको प्रमुख सीमा नाकामध्ये कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, बैतडीको झुलाघाट, दार्चुलाको खलंगा, बाँकेको रुपैडियालगायतका नाकाबाट सुदूरपश्चिम र कर्णालीका बासिन्दा रोजगारीका लागि भारत जाने गर्छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार त्रिनगर (गौरीफन्टा) नाकाबाट मात्रै दैनिक झन्डै २ देखि ४ सय जना नेपाली भारततर्फ जान्छन् । त्यस्तै सीमा क्षेत्रका स्थानीय अनुसार गड्डाचौकीबाट दैनिक ८ सयभन्दा बढी नेपाली सीमाबाट भारत प्रवेश गर्ने गरेका छन् ।
