मधेशमा प्रहरीको अवैध असुली, दुई वर्षमा ६०९ प्रहरी कारबाहीमा  

सादा पोसाक (घुमुवा) का प्रहरीको आतंक धेरै

श्रावण ७, २०८२

शिव पुरी

Illegal extortion by the police in Madhesh, 609 police actions in two years

What you should know

रौतहट — सर्लाहीको हिरापुरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) वैद्यनाथ दासले तस्करसित खुलेआम रकम मागेको अडियो सामाजिक सञ्जालमा भाइरल भयो । घटनापछि प्रहरीलाई गाली गलौजदेखि विभिन्न खाले प्रतिक्रिया आए । संगठनको हुर्मत लिने गरी सई दासले तस्करसित १८ हजार रुपैयाँ मागेको अडियोले मधेश प्रदेशमा प्रहरीको ‘चेन अफ कमान्ड’ कति फितलो छ भन्ने उदाङ पारिदियो ।

अडियो सार्वजनिक भए लगत्तै प्रहरी प्रधान कार्यालयले साउन २ गते सई दासलाई निलम्बन गर्‍यो । दासमात्र होइन पछिल्लो समय मधेश प्रदेश प्रहरीको कमान्ड उदेक लाग्दो देखिएको छ । खुला नाकाको फाइदा उठाउँदै तस्करले सामान ओसारपसार गरिरहेका छन् । सीमा क्षेत्रमा हुण्डी कारोबार मौलाएको छ । तस्करसित घुमुवा प्रहरी जवान सन्तोषमार्फत १८ हजार रकम मागेको अडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी सर्लाहीले सई दासलाई निलम्बनको लागि मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरलाई सिफारिस गरेको थियो । प्रदेशले प्रहरी प्रधान कार्यालय पठायो र उनी निलम्बनमा परे । 

सर्लाहीका तस्कर राजीव भन्नेलाई भारतबाट विभिन्न किसिमका सामान भन्सार छलेर ल्याउन छुट दिए बापत सई दासले प्रहरी जवान सन्तोषमार्फत १८ हजार रुपैयाँ मागेका थिए । अडियोमा राजीव भन्ने व्यवसायीलाई दासले पहिला 'ए भाई तिम्रो ३२ वटा बंगरा छ नि त्यो म झारिदिन्छु' भनेर धम्क्याउँछन् । त्यसपछि उनले 'धेरै माया गर्छु' भनेर फकाउँछन् । दासले राजीवसँग मोलमोलाई गर्दै पातलो सन्तोषलाई १८ हजार रुपैयाँ दिन र विवाहमा खरिद गरेको कपडाको ७ हजार रकम दिनुपर्ने भन्छन् । दाससितको अडियोमा राजीवले अहिले १० हजार मात्र ल्याएको बताउँछन् । त्यसपछि दासले सन्तोषलाई १० हजार नलिन आदेश दिन्छन् । राजीवले थपेर रकम १५ हजार पुर्‍याउँछन् । नपुगेको ३ हजार पछि दिने सर्तमा सई दासले लिन आदेश गर्छन् । बिहेमा जान ५ हजारको कपडा किनेको रकम समेत राजीवलाई तिर्न भन्छन् । अडियो संवादले दासले भारतबाट अवैध रूपमा सामान पास गराए बापत महिनाको १८ हजार असुल्ने गरेको पुष्टि हुन्छ ।

मधेस प्रदेश प्रहरीका तत्कालीन प्रमुख डिआईजी धिरजप्रताप सिंहले २०७७ मंसिर ५ मा पनि पर्सा जिल्लामा तस्करसँग घुस लिएको आरोपमा सई दासलाई निलम्बन गरेका थिए । त्यसबेला दास जिल्ला प्रहरी पर्सामा सादा पोसाक (घुमुवा) को रूपमा कार्यरत थिए । दासको पाँच वर्ष बढुवा रोक्का हुने गरी २०७८ वैशाख २८ गते निलम्बन फुकुवा भयो । त्यसपछि उनले फेरि राम्रो ठाउँको जिम्मेवारी पाए । एकपटक कारबाहीमा परिसकेका प्रहरीलाई पृष्ठभूमि हेरेर मात्र जिम्मेवारी दिनुपर्नेमा दासलाई महत्त्वपूर्ण चौकीको जिम्मेवार दिएकोमा आफू आश्चर्यमा परेको पूर्वप्रहरी महानिरीक्षक धिरजप्रताप शाहले बताए । ‘मधेश प्रदेशमा मै प्रमुख हुँदा दासले संगठनको हित विपरीत काम गरेको देखिँदा तत्कालै निलम्बन गरेको थिए,’ उनले भने,‘यस्ता बदनाम प्रहरीलाई चौकीको इन्चार्ज दिनु बिल्कुलै गलत हो । पृष्ठभूमि हेरेर स्वच्छ छविकालाई जिम्मेवारी दिन उचित हुन्छ ।’ 

सर्लाहीका धेरै प्रहरी एकाइमध्ये ‘ख’ श्रेणीमा परेको इप्रका हिरापुरसित नेपाल–भारत सीमाको अधिकांश भाग जोडिएको छ । जिल्लाका सबै एकाइ इन्चार्जको अवधि ६ महिना मात्र रहन्छ । तर सर्लाही प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काले दासलाई करिब ८ महिनादेखि जिम्मेवारीमा राखेको पाइएको छ । एसपी खड्काले दासको पृष्ठभूमि थाहा भए, नभए पनि जिम्मेवारी दिनुपर्ने जिकिर गरे । ‘मेरो पालामा दास हिरापुर चौकीको इन्चार्ज भएको होइन । पहिलाको एसपीको पालादेखि नै इन्चार्ज थिए,’ उनले भने, ‘यहाँ भएका प्रहरीलाई जिम्मेवारी नदिएर कसलाई दिने ? आचरण खराब छ भने विभागले आउट गर्नु पर्‍यो । भएको प्रहरीलाई खटाउनै पर्‍यो । मेरै पालामा भए पनि दासलाई जिम्मेवारी दिन्थे ।’ एसपी खड्काको अभिव्यक्तिले पनि दास पहिलेदेखि नै प्रहरी अधिकारीको संरक्षणमा थिए भन्ने प्रष्ट हुन्छ । 

दासको घटना सेलाउन नपाउँदै साउन ४ गते सर्लाहीकै एक प्रहरी चौकी प्रमुख र महिला तस्कर बीचको संवादको अर्को अडियो बाहिरियो । साउन ४ गतेसम्म तस्करीको सामान पास गराउने समय रहेपनि १ गते नै इलाका प्रहरी कार्यालय केशरगञ्जले चार बोरा चिनी, चार बोरा हरियो केराउ र दुई बोरा खेसरीको दाल नियन्त्रणमा लिएपछि त्रिभुवननगरकी एक महिला र ब्रम्हपुरी चौकीका प्रमुख असई मनोज यादवबीच भएको अडियो संवाद बाहिरिएको थियो । या घटनाको छानबिन भइरहेको सर्लाही प्रहरी प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए । ‘हामीले अडियो सम्बन्धमा सहायक निरीक्षक यादवसति स्पष्टीकरण सोधेका छौँ,’ उनले भने, ‘अहिले नै छानबिन सकिएको छैन । अनुसन्धान सकिएपछि मात्र थाहा हुन्छ ।’ 

जिल्ला प्रहरीले असई यादवलाई जिम्मेवारीबाट मुक्त गरेको जनायो । असई यादव पनि यसअघि निलम्बन परिसकेका हुन् । तत्कालीन एसपी प्रवीण धितालको पालामा प्रहरी चौकी संग्रामपुरको प्रमुख हुँदा असई यादवलाई फूलको कारोबार गर्ने व्यापारीसँग घुस मागेको आरोपमा निलम्बन गरेको थियो । पछि फुकुवा गरेर बारा सरुवा भएका यादवलाई प्रहरी प्रधान कार्यालयले फेरि सर्लाहीमा काज खटाएको थियो । 

जिल्ला प्रहरी बारामा घुमुवाको रूपमा काम गर्दा असई यादवले सिम्रौनगढ नाकामा एक व्यापारीसँग २५ हजार घुस मागेपछि ठूलो विवाद भयो र केही मानिससित हातपात भएको भिडियो सार्वजनिक भएको थियो । भिडियो प्रहरी महानिरीक्षकको सचिवालय र हेल्लो सरकारमा पुगेपछि प्रहरी प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुगमन महाशाखा (उजुरी छानबिन) मा समेत पुगेको थियो । पछि उनलाई संगठनले नै चोख्यायो । 

पटक/पटक बदनामी कमाउँदै आएका प्रहरीलाई काजमा त्यहीँ जिल्ला पठाउने काम प्रहरी प्रधान कार्यालयले पनि बन्द गर्नुपर्ने एक प्रहरी अधिकारीले सुनाए । जथाभावी काज गर्दा समस्या निम्त्याउने ती अधिकारीको भनाइ छ । प्रदेश प्रहरी प्रमुख डीआईजी उमा चतुर्वेदी मधेशका आठै जिल्लामा घुमुवा राखेर रकम असुल्न लागिपरेको भन्दै सञ्चारमाध्यममा आलोचना खेपिरहेका छन् । डीआइजी चतुर्वेदी भने पत्रकारले जेजे लेखे पनि आफूलाई अब फरक नपर्ने बताउँछन् । ‘मैले गलत गरेको छैन र म डराउँदिन पनि,’ उनले भने,‘सीमा क्षेत्रमा कडाइ गरेकै छु । संगठन विपरीत आचरण गर्ने प्रहरी जोसुकै भएपनि कारबाही गर्न छाडदिन् । अब कसले के लेख्छ मलाई थाहा छैन । कस कसलाई मनाउन जाउ ।’  

सर्लाहीको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक (इन्सपेक्टर) तामाङलाई ठूलो संख्यामा लागूऔषधको कारोबार हुन लागेको भनेर २०८१ चैत २४ गते राति सुराकीले फोन गरे । उनी दलबलसहित सुराकीले दिएको स्थानमा पुगे । ना २४ प ६९०३ नम्बरको मोटरसाइकल चलाइरहेका हरिवन नगरपालिका–३ डाबरीटोलका ३६ वर्षीय मानबहादुर घिसिङलाई ७ सय पिस कोरेक्स, ओनरेक्स र विनेक्रक्स प्रतिबन्धित लागूऔषधसहित नियन्त्रणमा लिए । इन्सपेक्टर तामाङलाई सूचना दिने डाबरीकै लागूऔषध कारोबारी धिरेन्द्रबहादुर थिए । प्रहरीले अनुसन्धनमा मुख्य आरोपीहरूलाई बचाउने नाममा जिल्ला अदालत मलंगवामा पेश गरेको अभियोगपत्रमा ४ सय ५८ बोतल देखाइयो ।

मुद्दाका प्रतिवादी घिसिङले आफू भरिया मात्र भएको र यसका मालिकसहित बरामद लागूऔषध प्रहरीले लुकाएको अदालतमा बयान दिएपछि घटनाले नयाँ मोड लियो । जिल्ला अदालतका न्यायाधीश विष्णु रेग्मीको इजलासमा घिसिङले बयान दिएका हुन् । उनकै बयान पछि इन्सपेक्टर तामाङ विवादमा परे । उनीमाथि प्रदेश कार्यालयले छानबिन गरेर इलाका प्रहरी प्रमुखको जिम्मेवारीबाट हटायो । उनीमाथि छानबिन भइरहेकै बेला प्रहरी प्रधान कार्यालयले गत आइतबार जिल्ला प्रहरी कार्यालय धनकुटा सरुवा गरी पठाएको छ । उनको ठाउँमा काठमाडौंस्थित प्रहरी वृत बौद्धका इन्सपेक्टर चन्द्र अधिकारीलाई खटाएको छ । इन्सपेक्टर तामाङलाई लागूऔषध कारोबारीले नै सुराकी दिएको थियो । सुराकीको योजनामा तामाङले २४२ थान कोरेक्स लुकाएर कम परिणाममा अदालतमा विवरण पेश गरेको पक्राउ परेका घिसिङकी श्रीमती मञ्जुकुमारी थिंगलले आरोप लगाइन् । उनले भनिन्, ‘मेरो श्रीमान्‌लाई इन्सपेक्टर तामाङकै योजनामा फसाइयो र ७ सय थान बरामद गरेकोमा ४५८ मात्र देखाएर बाँकीको सुराकी गर्ने गिरोहलाई दियो । अहिले तिनै गिरोहले कोरेक्स बेचिरहेका छन् ।’ 

इन्सपेक्टर तामाङमाथि प्रदेश प्रहरी कार्यालय जनकपुरका डिएसपी विजय यादव नेतृत्वको टोलीले छानबिन थालेको छ । असार १७ गते घिसिङलाई पुर्पक्षका लागि सर्लाही जिल्ला अदालतले कारागार चलानको आदेश गरेको छ । घिसिङ परिवारले पनि ७ सय पिस कोरेक्स बरामद भएकोमा २४२ पिस इन्सपेक्टर तामाङले लुकाएको निवेदन दिएका छन् । पक्राउ परेको घिसिङको बयान र उनकै परिवारले निवेदन दिएपछि इन्सपेक्टर तामाङले कोरेक्स लुकाएको घटना बाहिरिएको हो । मानबहादुरकी श्रीमती मञ्जुले लागूऔषध कारोबारीलाई प्रहरीले जोगाएर भरिया काम गर्ने श्रीमान्‌लाई फसाएको आरोप लगाएकी छन् । प्रदेश प्रहरी जनकपुरका डिएसपी विजय यादवले इन्सपेक्टर तामाङले लागूऔषध कोरेक्स लुकाएको घटनाबारे अनुसन्धान भइरहेको बताए । 

सर्लाहीकै हरिवनको इँटा व्यवसायीबीचको चेक बाउन्स मुद्दामा पक्राउ गरिएको व्यक्तिलाई सहमति गराइ छाडेको समेत इन्सपेक्टर किशोर तामाङमाथि आरोप छ । चेक बाउन्स मुद्दामा पक्राउ गरी मुद्दा चलाउनुपर्ने ठाउँमा दबाब दिएर तामाङले सहमति गराएको भन्दै पीडितले प्रहरी प्रधान कार्यालयमा जानकारी गराएका थिए । हरिवनस्थित मिजाज इँटा कम्पनीका सञ्चालक शुक्र लामा, मदन घिसिङ, सुजन श्रेष्ठ र सुनिल लामाबीच लामो समयदेखि विवाद थियो । उनीहरूबीचको चेक बाउन्सको मुद्दामा इन्सपेक्टर तामाङले जबर्जस्ती मिलापत्र गराएको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो । जिल्ला प्रहरी प्रवक्ता डीएसपी सरोज राईले चेक बाउन्स मुद्दामा इन्सपेक्टर तामाङको भूमिकाका बारेमा जिल्ला प्रहरीबाट तथा लागूऔषधको परिमाणमा भएको गडबडी प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको जानकारी दिए । 

पूर्वपश्चिम राजमार्गमा जिप चालकसित घूसको रकम लिएको आरोपमा २०८० साउन २० गते रौतहट र सर्लाहीका दुई प्रहरी निलम्बनमा परे । ड्युटीमा रहेका प्रहरी र ट्राफिक जवानले चालकसित अवैध रकम लिएको भिडियो सामाजिक सञ्जालमा आएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा निलम्बन गरेको हो । निलम्बन पर्नेमा रौतहटको इलाका प्रहरी कार्यालय गरुडा अन्तर्गतको प्रहरी चौकी हर्षाहामा कार्यरत प्रहरी जवान सुनिलकुमार यादव र प्रदेश राजमार्ग ट्राफिक कार्यालय पथलैया बारा अन्तर्गतको सर्लाहीस्थित बागमती पोस्टमा कार्यरत ट्राफिक प्रहरी जवान विकास कलवार हुन् । जिपचालक रौतहटका सिकन्दर पटेलसित जवान यादवले हर्षाह र ट्राफिक कलवारले कर्मैयामा रोकेर एक/एक सय रुपैयाँ लुकाएर लिएको भिडियोमा प्रस्ट देखिन्थ्यो । चालक पटेल दुवै प्रहरीले आफूलाई मालसमान बोकेर जाँदा राजमार्गका प्रहरी र ट्राफिकले धेरै दु:ख दिएको सुनाए । पटेलले ती भिडियोहरू अहिले पनि मोबाइलमा सुरक्षित राखेका छन् । 

सिरहामा रक्सी चोरी गरेको आरोपमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले २०७८ जेठ १७ गते इलाका प्रहरी लहानमा कार्यरत असई नवलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार राय निलम्बन गर्‍यो । जेठ ९ गते लहान नगरपालिका–२३ गढिया चोकको एसके होटेलमा तीनै जनाले रक्सी चोरेको आरोप लागेपछि निलम्बन गरेको थियो । निषेधाज्ञाका बेला होटेलमा होहल्ला बारे बुझ्न उनीहरूलाई खटाइएको थियो । प्रहरी पुग्नासाथ होटेल सञ्चालक भागे । त्यसपछि प्रहरीले होटलबाट विभिन्न प्रकारका रक्सी लिएर निस्केको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सामाजिक सञ्जालमा प्रहरी संगठनको तीव्र आलोचना भएपछि जिल्ला प्रहरीले निलम्बन गरेको हो । 

जिल्ला प्रहरी पर्साको मुद्दा फाँटमा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक वसन्त भट्टराई, प्रहरी नायब निरीक्षक जयमोद ठाकुर र प्रहरी जवान महेश महतोलाई घुस मागेको आरोपमा २०८० जेठ १० गते निलम्बन गर्‍यो । पोखरिया नगरपालिका–४ का एक जनाको २० लाखको चेक अनादर मुद्दामा जवान महतोले उनीहरुसित एक लाख घुस मागेको आरोप थियो । वरिष्ठ प्रहरी नायब निरीक्षक भट्टराई, प्रहरी नायब निरीक्षक ठाकुरसँगै आफ्नो लागि उनले एक लाख मागेका थिए । घटना बाहिरिए पछि प्रदेश प्रहरी जनकपुरका तत्कालीन प्रमुख डिआईजी (पूर्व प्रहरी महानिरीक्षक) वसन्तबहादुर कुँवरले पर्सा प्रहरीको मुद्दा फाँटमा काजमा खटेका सबैलाई एकैसाथ हटाएका थिए । 

महोत्तरीको इलाका प्रहरी कार्यालय गौशालाका इन्सपेक्टर उत्तमसिंह भण्डारीसहित तीन जनालाई प्रहरीको आचरण विपरीत काम गरेको भन्दै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले गएको असार २५ गते जिम्मेवारीबाट हटाएर अनुसन्धान थालेको छ । व्यापारीबाट जबर्जस्ती मासिक रूपमा रकम मागेको, चेक अनादर मुद्दामा आरोपितबाट आर्थिक लाभ लिएको, इलाका प्रहरी गौशाला परिसरमा दिनहुँ छलफलमा बिचौलिया परिचालन गरी आर्थिक संकलन गर्दै आएको आरोप लागेपछि जिम्मेवारीबाट हटाएर थप अनुसन्धानका लागि तीनै जनालाई नेपाल प्रहरीको जनकपुरस्थित गणमा राखेको छ । इन्सपेक्टर भण्डारीले प्रहरी जवान धिरज महतो र अर्जुन विश्वकर्मालाई घुमुवाको रूपमा परिचालन गरी अनैतिक काम गराएको प्रहरी अनुसन्धानमा देखिएको छ । प्रहरी जवान महतो र विश्वकर्मा लामो समयदेखि इलाका प्रहरी गौशालामा कार्यरत थिए । उनीहरूलाई जिल्ला प्रहरी महोत्तरीमा कार्यरत घुमुवा प्रहरीले संरक्षण गरेका थिए । जिल्ला प्रहरी कार्यालयमा ५ वर्ष भन्दा बढी समयदेखि कार्यरत सादा पोसाकमा काम गर्ने प्रहरीको सरुवा भए पनि अन्यत्र जान मानेको छैनन् ।

वीरगन्जको मुख्य भन्सारमा प्रहरीले तस्करसँग बाल्टिनमा रकम असुली गरेको सार्वजनिक भएपछि २०७९ चैत १२ गते इलाका प्रहरी कार्यालय इनर्वा (पर्सा) मा कार्यरत वरिष्ठ हवलदार गणेश कँडेल, हवलदार गौरीशंकर यादव, सहायक हवलदार रोहितकुमार यादव र सहायक हवल्दार सलोनलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गर्‍यो । वीरगन्जको मुख्य भन्सार नाकामा प्रहरीले तस्करलाई प्लास्टिकको रातो रंगको बाल्टिनमा रकम राख्न लागाइरहेको दृश्य सार्वजनिक भए पछि कारबाहीमा परेका हुन् । भन्सारको प्रवेशद्वारभित्र पश्चिमपट्टि इनर्वा प्रहरीले प्लास्टिकको रातो रंगको बाल्टिन राखेर पारिबाट भन्सार छलीका सामान लिएर आउनेसँग महिनौंदेखि रकम असुल्दै आएको थिए । प्रहरीले चलाउँदै आएको असुली धन्दा छताछुल्ल भए पछि प्रदेश प्रहरी कार्यालयको चौतर्फी आलोचना भयो । 

प्रहरी नियमावली २०७१ नियम १०९ देखि ११३ सम्मका सजायहरूमा परेर नोकरीबाट हटाइएको, ग्रेड रोक्का, पदोन्नति रोक्का, बर्खास्त, नसिहत, प्रतिकूल राय, ग्रेड घटुवा, पद घटुवा, तल्लो टाइममा घटुवा र निलम्बनमा पर्ने प्रहरीको संख्या मधेश प्रदेशमा बढ्दो छ । आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ दुई आर्थिक वर्षमा ६ सय ९ जना प्रहरी कारबाहीमा परेको प्रदेश प्रहरी कार्यालय जनकपुरको तथ्यांकमा कारबाहीमा पर्नेमा तल्लो तहका प्रहरी जवान नै बढी छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले सादा पोसाकका प्रहरी परिचालन गर्ने अवधारणा गलत नभएको जिकिर गरे । ‘आपराधिक गतिविधिको सूचना, गाँजा तस्कर, अन्य घटनाहरूमा सबैभन्दा धेरै सूचना र मानिस पक्रने काम सादा पोसाककै प्रहरीले गर्दै आएका छन्,’ उनले भने, ‘संगठनको अवधारणा राम्रो हो तर सादा पोसाकमा खटिएकाहरू गलत ढंगले प्रस्तुत हुन थाले । असुलीमा लाग्न थाले । दुरुपयोग हुन थाल्यो । यसलाई सभ्य बनाउनेमा लागेका छौँ ।’ सर्लाही घटनाले संगठनलाई बदनाम गराएको उनले सुनाए ।  

पछिल्ला दिनमा विभिन्न जिल्लामा प्रहरीले तस्करलाई प्रश्रय दिएका कारण मधेश प्रदेशका भन्सारबाट लक्ष्य अनुसारको राजश्व रकम उठ्न सकेको छैन । आचरण विपरीत प्रहरीको गतिविधि बढ्न थालेपछि सर्वसाधारणले समेत दु:ख पाउन थालेका छन् । सई बैजनाथ दास र असई मनोज यादव दुवै विवादास्पद प्रहरी हुन् । उनीहरू दुवै यसअघि निलम्बनमा परिसकेका छन् । 

पछिल्लो समय घुमुवा प्रहरीमाथि मुद्दा चलेको घटना कमै सार्वजनिक भए पनि उनीहरूको असुली धन्दा भने रोकिएको छैन । पछिल्लो समय अख्तियारको फन्दामा परेका घुमुवाको संख्या न्यून भए पनि प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखाका एक अधिकृतले सबैभन्दा बढी मधेश प्रदेशका जिल्लामा घुमुवा प्रहरीले रकम असुलेको उजुरी परेको जानकारी दिए ।

‘उजुरीहरूको छानबिन पनि गरिरहेका छौँ,’ उनले भने,‘मधेशका जिल्लाहरूबाट यस्ता उजुरी धेरै छन् ।’ कतिपय घुमुवालाई अन्यत्र सरुवा गरिए पनि राजनीतिक र प्रहरीकै उच्च अधिकारीको दबाबमा पुनः पुरानै स्थानमा फर्किने गरेका छन् । सर्लाहीका सई बैजनाथ दास र असई मनोज यादव यसैको उपज हो । तत्कालीन प्रहरी महानिरीक्षक प्रकाश अर्यालले घुमुवाहरूको दबदबाबारे व्यापक गुनासो पछि सादा पोसाकका प्रहरीलाई हटाएका थिए । उनीभन्दा अघिका आईजीपी उपेन्द्रकान्त अर्यालले घुमुवा प्रहरी हटाउने अभियान नै चलाए । सादा पोसाकका प्रहरीलाई गोप्य सूचना संकलन गरेर अपराध नियन्त्रण गर्ने उद्देश्यले राखी पनि पछिल्लो समय उनीहरू जिम्मेवारी छाडेर महिनावारी असुलीमा सक्रिय छन् ।

घुमुवा प्रहरी मधेश प्रदेशका जिल्लामा बढी सक्रिय छन् । सीमा नाकाबाट हुने चोरी, तस्करीमा उनीहरू जोडिँदै आएका छन् । मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी चतुर्वेदी समेत घुमुवा प्रहरी राखेर असुलीधन्दा चलाएको भनेर आलोचित हुँदै आएका छन् । उनले यस्तो आरोप सिधै अस्वीकार गरेका छन् । घुमुवाको प्रयोगले प्रहरीलाई अपराध अनुसन्धानमा धेरै सहयोग पुगेको पूर्वप्रहरी अधिकारीहरूको अनुभव छ । यद्यपि, घुमुवा प्रहरीसम्बन्धी कुनै संस्थागत निर्णय भने भएको छैन । अहिले घुमुवा प्रहरीको स्थिति उदेश्यभन्दा ठिक विपरीत हुन लागेको प्रहरीका उच्च अधिकारीहरू बताउँछन् । प्रहरीका कारण संगठन बदनाम भएको भन्दै तत्कालीन आईजीपी रमेशचन्द ठकुरीका वेला गृह मन्त्रालयले घुमुवा हटाउन निर्देशन दिएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान मात्रै गर्ने कार्यालयदेखि बाहेकका युनिटबाट विभिन्न चरणमा दुई सय बढी घुमुवा प्रहरीलाई तानेको थियो ।

तत्कालीन गृहमन्त्री रवि लामिछानेले पनि सादा पोसाकमा जनशक्ति परिचालन नगर्न निर्देशन दिएका थिए । सादा पोसाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर–व्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि गृहमन्त्री लामिछानेले परिचालनमा रोक लगाएका हुन् । उनले सादा पोसाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिइ काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully