तल्लो दर्जाकै प्रहरी किन पर्छन् कारबाहीमा धेरै ?

'फिल्डमा बढी खट्ने पनि उनीहरू नै हुन्छन् । उनीहरूमा अनुभवको पनि कमी छ त्यसैले कारबाहीमा पर्नेको संख्या पनि उनीहरूकै बढी छ ।' केन्द्रीय प्रहरी प्रवक्ता दिनेशकुमार आचार्य

माघ ७, २०८१

विवेक पोख्रेल

काठमाडौँ — चितवनको भरतपुरमा सोमबार विहान एक व्यक्तिमाथि प्रहरीले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । यस घटनापछि सामाजिक सञ्जालमा विभिन्न खाले प्रतिक्रियाहरू आए । प्रहरी किन यसरी अमानवीय ढंगले कुटपिट गरेको होला ? कुटपिट गर्ने प्रहरीमाथि कारबाही होला कि नहोला ? 

कुटपिट गर्ने प्रहरी भरतपुर महानगरपालिका वडा नम्बर-११ स्थित गणेशस्थान अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घर्ती भुजेल भएको प्रहरीले पछि जानकारी दियो । उनलाई निलम्बन गरेको छ भने थप अध्ययनका लागि छानबिन समिति गठन गरिएको प्रहरीले जाएको छ ।  तर, नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरीमाथि कारबाही यो कुनै नयाँ घटना भने होइन ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो ५ वर्षमा १० हजारभन्दा बढी प्रहरी कारबाहीमा परेका छन् । प्रहरी नियमावली २०७१ नियम १०९ देखि ११३ सम्मका सजायहरूमा परेर नोकरीबाट हटाइएको, बर्खास्त, नसिहत, गेड रोक्का, प्रतिकूल राय, ग्रेड घटुवा, पदोन्नति रोक्का, पद घटुवा, तल्लो टाइममा घटुवा र निलम्वनमा पर्ने प्रहरीको संख्या २०७६/०७७ देखि २०८०/०८१ सम्म १० हजार २ सय २७ जना छन् ।

यस आर्थिक वर्षको कार्तिक सम्म ६ सय ९९ सय जना प्रहरी कारबाहीमा परेको कार्यालयको तथ्यांकमा छ । आर्थिक वर्ष २०७६/२०७७ मा १ हजार ९ सय ७४ जना, २०७७/२०७८ मा १ हजार ९ सय ८२ जना, २०७८/०८९ मा १ हजार ८ सय ६० जना, २०७९/०८० मा २ हजार २४ जना र २०८०/०८१ मा २ हजार ३ सय ८७ जना रहेका छन् । कारबाहीमा पर्नेमध्ये प्रहरी जवानको संख्या यो पाँच वर्षमा ५ हजार ६ सय २५ जना छ । जुन कारबाही हुने संख्याको ५० प्रतिशत भन्दा धेरै हो । 

यसरी हेर्दा कारबाहीमा पर्नेमा तल्लो तहका प्रहरी बढी छन् । तल्लो तहका प्रहरीको संख्याका धेरै भएका कारण कारबाहीमा पर्नेको संख्यामा पनि उनीहरू धेरै देखिएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले बताए ।  'फिल्डमा बढी खट्ने पनि उनीहरू नै हुन्छन् । उनीहरूमा अनुभवको पनि कमी छ त्यसैले कारबाहीमा पर्नेको संख्या पनि उनीहरूकै बढी छ,' आचार्यले भने ।  

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully