तुइनबाट महाकाली तर्दा ३२ वर्षमा एकै गाउँका २० जना बेपत्ता
What you should know
दार्चुला, सुर्खेत र सल्यान — सरकारले तुइन विस्थापन घोषणा गरेको १० वर्षसम्म पनि कर्णाली र सुदूरपश्चिममा सर्वसाधारण अझै पनि तुइनबाटै नदी वारपार गर्न बाध्य छन् । २०७२ मा केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदा दुई वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गरेका थिए । तर, त्यसको दशकसम्म पनि दार्चुला, जाजरकोट, हुम्ला र सल्यानका दर्जन बढी स्थानमा स्थानीयले तुइनबाटै वारपार गरिरहेका छन् ।
घरायसी समान किनमेलका लागि जिल्ला सदरमुकाम हिँडेका ब्यास गाउँपालिका–२ तल्लो दुम्लिङका २८ वर्षीय नारायणसिंह बुढाथोकी मंगलबार दिउँसो तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता छन् । भारतपट्टि तुइन बाँधिएको खम्बा भाँचिदा नदी तरिरहेका उनी तुइनसँगै महाकालीमा खसेका हुन् ।
तुइनबाट खसेर महाकालीमा बेपत्ता हुने ब्यासका उनी एक्ला होइनन् । आफ्नै जिल्ला सदरमुकाम आउने बाटो र सीमापारि जान पुल नहुँदा तुइनको सहारामा जोखिम मोलेर नदी वारपार गर्दा ब्यास–२ बाट मात्रै ३२ वर्षमा २३ जना महाकालीमा खसेर बेपत्ता छन् ।
जिल्ला सदरमुकाम खलंगा माथिल्लो क्षेत्रका स्थानीय वर्षौंदेखि महाकाली नदीमा तुइन हालेर भारतको बाटो हुँदै सदरमुकाम आउजाउ गर्दै आएका छन् । पछिल्लो सयम प्रयोग घटेपनि तुइन दुर्घटनामा बर्सेनि एक/दुई जना बेपत्ता हुने गरेका छन् । स्थानीयले अहिले पनि ब्यास गाउँपालिका–२ र ५ वडाका विभिन्न स्थानमा महाकालीमा डोरी (बाबियो वा प्लास्टिकको) वा फलामको तार वारिपारि बाँधेर (तुइन) महाकाली वारपार गर्छन् ।
ब्यास–५ मा स्याकु र नाजी तथा ब्यास–२ दुम्लिङ्ग क्षेत्रको २/३ स्थान र कल्जुमा तुइनबाट महाकाली तर्दै आएका छन् । झोलुङ्गे पुल पुग्न २ देखि ३ घण्टा समय लाग्ने हुँदा बस्ती नजिककै स्थानीयले तुइन राख्ने गरेको ब्यास–२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले बताए । गाउँपालिकाको सबै क्षेत्रमा सडक पहुँच नहुँदा यहाँका स्थानीय जिल्ला सदरमुकाम आवतजावत गर्न वा उपभोग्य वस्तु किनमेल तथा औषधि उपचारका लागि भारतीय बाटो प्रयोग गर्दै आएका छन् । बस्ती नजिकैबाट महाकालीमा तुइन लगाएर नेपाल–भारत जोड्ने पुल पुग्ने समयमा गाडी मिले सदरमुकाम खलंगा वा बजारमा क्षेत्रमा छिटो पुग्नका लागि तुइनको प्रयोग बढी हुने वडाध्यक्ष बुढाथोकीको भनाइ छ । ५/७ वर्ष अगाडिसम्म नेपाल–भारत जोड्ने झोलुङ्गे नबन्दासम्म ब्यासको बडूगाउँदेखि बुदीसम्म दर्जन बढी ठाउँमा तुइन हाल्ने गरेका थिए ।
अहिले बडूगाउँ, तिग्रम, मल्घट्टे र मालमा झोलुङ्गे पुल बनेका छन् । ब्यासको अन्तिम नेपाल–भारत सीमा जोड्ने सीतापुलमा दशकौं पुरानो काठेपुल छ । धौलाकोटको स्याकु, दुम्लिङ्ग र बुदीमा पुलको आवश्यकता रहेको ब्यास–५ का वडाध्यक्ष वीरसिंह धामीले बताए । स्याकु र नाजीका महाकाली किनारका बस्तीबाट तिग्रम वा मल्घट्टे पुल पुग्न ३ घण्टाभन्दा बढी लाग्छ । तुइन तरेर गए ३ घण्टामा सदरमुकाम पुगिने भएकाले महाकालीको भेलमा जोखिम मोल्ने गरेको उनले सुनाए । ब्यास–२ का वडाध्यक्ष बुढाथोकीका अनुसार स्थानीयलाई तुइन प्रयोग नगर्न आग्रह गरेपनि मान्दैनन् । ‘हाम्रो क्षेत्रमा ४/५ वर्षदेखि हरेक वर्ष एक जना तुइनबाटै खसेर महाकालीमा बेपत्ता भएका छन्,’ उनले भने, ‘जोखिम मोलेर नदी नतर्न भन्छौं । कसैले मान्दैनन् ।’
दुम्लिङ्ग क्षेत्र र ब्यास–२ का विभिन्न तुइनबाट खसेर २०५० सालयता २३ जना महाकालीमा बेपत्ता तथा मृत्यु भएका छन् । तीमध्ये ब्यास २ दुम्लिङका मात्रै २० जना भएको वडा कार्यालयको तथ्यांक छ । २०७८ सालमा जयसिंह धामी तुइनबाट खसेर बेपत्ता भएपछि स्थानीयबाट संकलन गर्दा दुम्लिङ्ग क्षेत्रमै तुइन दुर्घटनामा बेपत्ता भएका स्थानीय, अन्य वडा र जिल्लाका गरी विभिन्न समयमा २३ जना पुगेको वडाध्यक्ष बुढाथोकीले बताए ।
नेपालको दुम्लिङ्ग र भारतको घट्टेबगडतर्फ तुइनबाट ओहोरदोहोर गर्ने क्रममा महाकाली नदीमा खसेर हालसम्म ब्यास–२ का सीता बुढाथोकी, हिमशिखा बुढाथोकी, जयसिंह बुढाथोकी, बरुसिंह बुढाथोकी, विनिता बुढाथोकी, लक्ष्मी भण्डारी बुढाथोकी, विमला जोहारी, सुन्दरसिंह भण्डारी (सिन्दल), सचिन बुढाथोकी, जसपाल लोहार, भवानसिंह कुँवर, किस्मा धामी, देवसिंह धामी, इन्द्रसिंह धामी, भूपेन्द्रसिंह धामी, कुशलसिंह बुढाथोकी, बसन्ती कामी, रोहित कामी, जयसिंह धामी र नारायण बुढाथोकी बेपत्ता भएका छन् ।
यसैगरी महाकाली नगरपालिकाका बीरा लोथ्याल, हुम्लाका कैलाश लामा, भारतको गर्भाधारका महिमन गर्ब्याल पनि तुइनबाट खसेर बेपत्ता रहेको ब्यास–२ वडा कार्यालयको तथ्यांक छ । ब्यासका सबैजसो ठाउँमा धेरै वर्षदेखि तुइनबाटै वारपार हुने भएकाले अन्य वडामा पनि महाकालीमा बेपत्ता भएका घटना हुन सक्ने उनले बताए । अन्य वडा तथा प्रहरी कार्यालयमै पनि यसको तथ्यांक राखिएको छैन ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी छत्रबहादुर रावलका अनुसार २०७८ यताको तुइनबाट खसेका घटना मात्र प्रहरीको तथ्यांकमा छ । यसरी महाकालीमा बेपत्ता भएकाहरु भेटिने गरेका छैनन् । स्थानीयका अनुसार अहिलेसम्म २० जनामध्ये एक जनाको मात्रै शव भेटिएको छ ।
नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिंकर सडक मालगाउँसम्म ट्र्याक खुलेपनि गाडी चल्दैनन् । मालगाउँबाट दुम्लिङ तीन घण्टा पैदल दूरीमा पर्छ । टिंकरसम्म यातायात सञ्चालनमा आए मात्रै तुइनको बाध्यता हट्ने स्थानीय बताउँछन् । ब्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवर महाकालीमा झोलुङ्गे पुलभन्दा सरकारले चाँडो सडक बनाइदिए यो क्षेत्रका बासिन्दाका लागि धेरै सहज हुने बताउँछन् ।
‘रणनीतिक महत्त्वको यो सडकमा संघीय सरकारले चालु आर्थिक वर्षमा एक करोड बजेट विनियोजन छ । यत्ति बजेटले के कति काम हुन सक्ला ?,’ उनले भने, ‘झोलुङ्गे पुलको पहल गरेपनि बनाउने एक/दुई वर्ष लाग्छ । त्योभन्दा सडकमा जोड दिए राम्रो हुन्थ्यो ।’
दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले अन्तर्राष्ट्रिय सीमा नदीमा अवैध रुपमा तुइन लगाउने काम दुई देशको सुरक्षा संवेदनशीलता र ज्यानसँग जोडिएको विषय भएका कारण अवैध तुइन नलगाउन आग्रह गरिए पनि स्थानीयले लुकिछिपी प्रयोग गरेको बताउँछन् ।
‘महाकाली अन्तर्राष्ट्रिय सीमा नदी भएकाले तुइनको प्रयोग जोखिमसँगै सुरक्षा पनि जोडिने हुँदा केही हिँडडुलको कष्ट भएपनि पुलकै प्रयोग गर्न अनुरोध गरिएको छ,’ उनले भने, ‘सुरक्षाकर्मीलाई तुइन लगाइने क्षेत्रमा निगरानी बढाउन भनिएको छ । तर लुकिछिपी चलाएको सुनिन्छ ।’
खोला तर्न तुइनकै भर
जाजरकोटको छेडागाड नगरपालिका—६ सुवानाउलीका ५३ वर्षीय भद्रबहादुर खड्कालाई जुनेचाँदे गाउँपालिका—४ लुवादह जान मजकोटखोला तर्नुपर्छ । एक ग्रामीण सहकारी संस्थामा कार्यरत उनी खोलामा पुल नहुँदा दैनिकजसो तुइन तर्न बाध्य छन् ।
‘गाउँनजिकै पुल छैन, तुइन चढ्दा हातखुट्टामा चोटपटक लाग्ने, खस्ने जोखिम सधैं हुन्छ,’ उनले भने, ‘खोलामा बाह्रै महिना पानी धेरै हुन्छ, सोझै खोला तर्नुभन्दा कम जोखिम हुने भएकाले दैनिकजसो तुइन तर्नुको विकल्पै भएन ।’ बचत रकम र कर्जा असुलीका लागि दैनिकजसो तुइनबाट दुवै गाउँ पुग्ने गरेको उनले बताए ।
स्नातक अध्ययनरत रोमन विकलाई ज्ञानकुञ्ज क्याम्पस दशेरा जान तुइन नतरी हुँदैन । ‘एक घण्टा टाढाको अर्को गाउँबाट पुल तरेर जाँदा पढाइ छुट्ने भएकाले तुइनबाटै जान्छु,’ उनले भने, ‘पुल भए सुरक्षित, सजिलो र छोटो हुन्थ्यो, तर पुल निर्माणमा कसैले चासो दिएनन् ।’ उनीसहित १० जना विद्यार्थी तुइन तरेरै क्याम्पस पढ्न जाने गरेका छन् । तुइनबाट खसेर तीन वर्षअघि २ जनाले ज्यान गुमाएका थिए भने वर्षमा ४/५ जना घाइते हुने गरेको उनले जानकारी दिए ।
जुनेचाँदे—४, छेडागाड—४ र ६ का स्थानीयले सहजताका लागि आठ वर्षअघि आफैं तुइन निर्माण गरेका हुन् । तर तुइनका लट्टा र कसिएका तारमा खिया लागेकाले स्थानीय जोखिमै जोखिममा वारपार गर्न बाध्य छन् । तुइनबाट दैनिक ५० जनाले वारपार गरेको जुनेचाँदे—४ का वडाध्यक्ष हरिबहादुर खड्काले बताए । उनका अनुसार मजकोटखोलाको बिराखोला र लामाताडामा झोलुंगे पुल निर्माण गरिएको छ । तर ती पुल तर्न स्थानीयलाई कम्तीमा एक घण्टा हिँड्नुपर्ने उनले जानकारी दिए ।
मजकोटखोलामै जुनेचाँदी—४ लुवादह र ११ नम्बर वडाको पाँगा जोड्ने अर्को तुइन छ । ११ नम्बर वडाको स्वास्थ्य जान बिरामीलाई पनि तुइन चढ्नुपर्ने बाध्यता रहेको आधारभूत विद्यालय लुवादहका शिक्षक कमल शर्माले बताए ।
‘उतातिर अलि ठूलो बजार पनि छ, त्यसैले किनमेलका लागि दैनिकजसो तुइन चढ्नुपर्छ,’ उनले भने, ‘तुइन जीर्ण बनेकाले खस्ने हो कि भन्ने जोखिम सधैं हुन्छ, कहिलेकाहीँ त बीचमै तुइन अड्किँदा गाउँबाट मान्छे बोलाउनुपर्छ ।’ उनका अनुसार तुइनबाट खसेर दुई वर्षअघि एक जनाले ज्यान गुमाएका थिए भने बर्सेनि ४/५ जना घाइते हुने गरेका छन् ।
त्यसैगरी जुनेचाँदी गाउँपालिका—१ स्थित स्यालतडादेखि सिमलतडा जोड्ने तुइनमा पनि दैनिक १० देखि २० जनाले आउजाउ गर्छन् । पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख भूपेन्द्रप्रसाद जैसीले यी तीन वटा तुइन विस्थापनका लागि प्रदेश सरकारसँग अनुरोध गरी पठाएपनि बेवास्ता भइरहेको बताए ।
हुम्ला कर्णाली नदीस्थित हुम्लाको सर्केगाड गाउँपालिकाका—२ रिपगाउँ र कर्णाली करिडोर जोड्न दुई वर्षअघि नेपाली सेनाले बनाएको तुइनबाट दैनिक ३० जनासम्म स्थानीय वारपार गर्छन् । ‘पुल तर्न डेढ घण्टा टाढाको दुलीमुण्डी पुग्नुपर्छ,’ स्थानीय मनिराज बुढाले भने, ‘कर्णाली करिडोरबाट आउने खाद्यान्न र गाउँको उत्पादन बाटोसम्म पुर्याउन पनि यही तुइनकै भर छ ।’ उही तुइनबाट झण्डै एक दर्जन स्थानीय जनप्रतिनिधि दैनिकजसो आउजाउ गर्ने गरेपनि पुल निर्माणमा कसैले चासो नदिएको उनले गुनासो गरे ।
हुम्लामै चंखेली गाउँपालिका—४ को नेप्का र लोतीगाउँ जोड्न कर्णाली नदीमा अर्को तुइन बनाइएको छ । चंखेली—४ का वडाध्यक्ष पदमबहादुर शाहीले पुल निर्माण नहुँदा स्थानीय सास्ती भोग्दै तुइन चढ्न बाध्य भएको बताए ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार तुइनबाट खसेर आर्थिक वर्ष २०७६/७७ यता ५ वर्षको अवधिमा ८ जनाले ज्यान गुमाएका छन् भने तुइनबाट खसेर २३ जना घाइते भएका छन् । एक वर्षयता भने तुइनबाट खसेर कसैको ज्यान नगएको प्रहरीको तथ्यांक छ । तर एक वर्षमा तुइनबाट खसेर ७ जना घाइते भएको कार्यालयले जनाएको छ । डीआईजी माधव श्रेष्ठले तुइनको लट्टा चुँडिने, तुइनमा कसिएका नटबोल्टहरु फुक्लने र स्थानीयको हेलचक्र्याँइले मानवीय क्षति हुने गरेको बताए ।
कर्णाली प्रदेशभरि कति तुइन छन् भन्ने तथ्यांक कुनै पनि निकायमा छैन । प्रदेश सरकारले चालु आर्थिक वर्षभित्र कर्णालीलाई तुइनमुक्त बनाउन नीति तथा कार्यक्रममा घोषणा गरेको छ । जसको कार्यान्वयनका लागि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जेठ २६ गते मातहतका निकाय र स्थानीय तहहरुका लागि सार्वजनिक सूचना जारी गरेको थियो ।
असार १० भित्र सबै जिल्लाबाट विवरण आइपुग्नेगरी सूचना जारी गरिएको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताए । उनका अनुसार अहिलेसम्म ५२ ठाउँमा पुल निर्माणका लागि माग भइआएको छ ।
‘हामीले तुइन भएका ठाउँको विवरण पठाउन भनेका हौं, तर पुल मागका सिफारिस धेरै आए,’ उनले भने, ‘सबै विवरण आएपछि आवश्यक चेकजाँच गरी प्राथमिकताका आधारमा पुल निर्माणको काम गरिने छ ।’ यो वर्ष प्रदेश सरकारले तुइन विस्थापित गरी झोलुंगेपुल निर्माण गर्न १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । ‘एउटा झोलुंगे पुल निर्माण गर्न कम्तीमा ३० लाख रुपैयाँ चाहिन्छ,’ उनले भने, ‘अहिले विनियोजन गरेको रकमले ५ ठाउँमा तुइन विस्थापन गर्न सकिन्छ ।’
भेरी तर्न हिउँदमा ट्युब, बर्खामा तुइन
सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–२ कुनिकका बासिन्दा भेरी नदीमा पुल नहुँदा हिउँदमा ट्युब र बर्खामा तुइनबाट वारपार गर्दै आएका छन् । झोलुंगे पुलको माग पूरा नभएपछि स्थानीयले आफ्नै खर्चमा नदी तर्न दुई वर्षअघि तुइन निर्माण गरेका थिए । बर्खामा ट्युबबाट तर्न नसकिने भएकाले तुइन हालेका हुन् ।
स्थानीय १० परिवारले किनमेलका लागि भेरीपारि जाजरकोटको छेडा बजार जानुपर्छ । यो गाउँका ८/१० जना विद्यार्थी दिनहुँ नदी तर्न खोजिम भएपछि जाजरकोटतर्फै कोठा भाडामा लिएर डेरामा बस्ने गरेको स्थानीयले बताए । दिनहुँ आउजाउमा समस्या हुन थालेपछि स्थानीय दुई/तीन परिवारले पारिपट्टी जाजरकोटतर्फ अस्थायी रुपमा बस्ने गरेका छन् ।
अत्यावश्यक काम, किनमेल र खेतीपातीको सिजनमा तुइन प्रयो नगरी स्थानीय गोपीलाल आचार्यले बताए । उनका अनुसार तुइन चलाउने व्यक्तिको गत वर्ष मृत्यु भएपछि झन्डै एक वर्षसम्म सञ्चालनमा आउन सकेको थिएन । अहिले स्थानीयले आफैंले डोरी तानेर तुईनबाट वारपार गर्दै आएका छन् । तुइन जडान गरेपछि स्थानीयलाई दैनिक उपभोग्य वस्तु ओसारपसार र आउजाउ गर्न सहज भएको छ ।
नजिकैको झोलुङ्गे पुल दुई वर्षअघिको बर्खामा भासिएर वारपार गर्न कठिनाइ हुँदा ट्युबबाट वारपार गर्न थालेका थिए । ट्युबमा बिरामीलाई अस्पताल लैजान समस्या हुन थालेपछि प्रत्येक घरबाट १० देखि १५ हजार रुपैयाँ संकलन गरेर झोलुङ्गे पुलको लठ्ठा किनेर तुइन बनाएको स्थानीय बताउँछन् । उनीहरुले भेरीमा १ सय २५ मिटर लामो तुइन हालेका छन् ।
बर्खामा भेरीको सतह बढेका बेला ट्युबबाट वारपार गर्न सम्भव नहुने र जोखिम भए पनि तुइन प्रयोग गर्दै आएको स्थानीय डिल्ली घर्तीले बताए । सरकारले तुइन विस्थापित गर्ने भन्दै आए पनि अहिलेसम्म कुनै चासो नदिएपछि विकल्पको रुपमा प्रयोग गर्नु परेको उनले जानकारी दिए ।
‘पहिला धेरैले प्रयोग गर्थे । अहिले छिटपुटले खेतीपातीको समयमा मात्र प्रयोग गर्छन् तर जोखिम भने उत्तिकै छ,’ उनले भने । पुल नभएको र भेरी नदी वारपार गर्दा ज्यानको जोखिम भएकाले अहिले स्थानीय विस्थापित हुँदै आएको उनको भनाइ छ । उक्त स्थानमा झोलुङ्गे पुल निर्माणका लागि प्राविधिक अध्ययन भइसकेको बन्गाड कुपिण्डे नगरपालिका–२ का वडाध्यक्ष मानबहादुर खत्रीले बताए ।
