राजधानीको केन्द्रमै उच्च तहका व्यक्तिको हत्या भएको विषयले सडक र संसद् तातेको थियो । कसले र किन गर्यो सांसदको हत्या ? सबैको मुखमा प्रश्न मात्र थिएन एक प्रकारले मनमा त्रास पनि उत्पन्न भएको थियो ।
काठमाडौँ — प्रतिनिधिसभा सदस्य मिर्जा दिलसाद बेगको हत्या काठमाडौंको सिफलमा २०५५ असार १५ मा भएको थियो । अपरिचित समूहले गोली प्रहार गरेर बेग र उनका चालक भुवन कार्कीको हत्या गरेको थियो ।
राजधानीको केन्द्रमै उच्च तहका व्यक्तिको हत्या भएको विषयले सडक र संसद् तातेको थियो । कसले र किन गर्यो सांसदको हत्या ? सबैको मुखमा प्रश्न मात्र थिएन एक प्रकारले मनमा त्रास पनि उत्पन्न भएको थियो । नेपाल प्रहरीले जनस्तरबाट आएको प्रश्नको उत्तर खोज्दै हत्यारा पत्ता लगाउने प्रयास गरिरहेका बेला मलेसियामा रहेका भारतीय कुख्यात गिरोहका नाइके राजेन्द्र सदाशिव निखल्जे उर्फ छोटा राजनले घटनाको जिम्मेवारी लिएको समाचार बाहिरिएको थियो ।
बम्बईको कुख्यात भूमिगत गिरोहका नाइके ३९ वर्षीय छोटा राजनले बेगले नेपालमा बसेर पाकिस्तानी जासुसी संस्थाका लागि सुराकी गरेको आरोप लगाएका थिए । राजनले भारतको प्रसिद्ध साप्ताहिक इन्डिया टुडेलाई टेलिफोनबाट दिएको अन्तर्वार्तामा आफ्ना निकट सहयोगीलाई प्रयोग गरेर बेगको हत्या गर्न लगाएको दाबी गरेका थिए । सांसद बेगको हत्या भएको भोलिपल्ट अतिरिक्त प्रहरी महानिरीक्षक(एआईजी) ढालमान थापाको नेतृत्वमा हत्यासम्बन्धी अनुसन्धान गर्न ६ सदस्यीय टोली गठन गरेको थियो । प्रहरीले आफ्नो अनुसन्धानको रिपोर्ट सार्वजनिक नगर्दै राजनले हत्याको जिम्मेवारी लिएका थिए ।
राजन अर्का कुख्यात भूमिगत गिरोहका नाइके भनेर चिनिने दाउद इब्राहिमको कुनै बेला अनन्य सहयोगी मानिन्थे । तर राजनले भने बेगलाई दाउदसँग सम्बन्ध राखेकाले हत्या गरेको अन्तर्वार्तामा बताएका थिए । दाउदमाथि सन् १९९३ मा बम्बईमा भयानक बम काण्ड गराएको आरोप थियो । सुरुमा दाउदका निकट राजन बम काण्डपछि उनको शत्रु बनेका थिए ।
दाउद कराँची र राजन मलेसियामा बस्दै आएका थिए । राजनले सांसद बेगलाई आरडीएक्सलगायतका विस्फोटका पदार्थ तथा हतियार सप्लाई गर्ने मुख्य व्यक्ति भएको आरोप लगाएका थिए ।
उतिबेला बेगको सम्पर्कबाट पासपोर्ट लिएर दाउदका मान्छे दुबई जानका लागि ठूलो ट्रान्जिट काठमाडौंलाई बनाएको चर्चा हुने गरेको थियो । छोटा राजनले अन्तर्वार्तामा भनेका थिए, ‘सांसद बेगले दाउदका मान्छेलाई अतिथिको रूपमा राख्थ्यो । आश्रय दिन्थ्यो । मनोरञ्जन गराउँथ्यो । नेपाली पासपोर्ट बनाउन सहयोग गर्थ्यो । आईएसआईमार्फत भारतमा आतंक फैलाएको थियो ।’ राजनले दाउद निकट सबैलाई मार्ने बताएका थिए ।
नेपाल प्रहरी र राजनको दाबी मिल्दोजुल्दो
छोटा राजनले सांसद बेगको हत्याको जिम्मेवारी लिएको साता नबित्दै नेपाल प्रहरीको अनुसन्धान टोलीले घटनासँग सम्बन्धित व्यक्तिहरू, समूह र हत्याको कारण सार्वजनिक गरेको थियो । प्रहरीले सार्वजनिक गरेको रिपोर्ट र राजनको दाबी मिल्दोजुल्दो थियो । प्रहरीले बेगले दाउद र राजनको दुवै समूहसँग मिलेर काम गरेको र उनीहरुबीचको अन्तरद्वन्द्वले घटना भएको विवरण सार्वजनिक गरेको थियो । आफ्नै मतियारहरूले सांसद बेगको हत्या गरेको प्रहरीले दाबी गरेको थियो ।
अनुसन्धानको विवरणका आधारमा तत्कालीन गृहमन्त्री गोविन्दराज जोशीले ०५५ साउन ३ मा प्रतिनिधिसभामा बोल्दै उक्त जानकारी दिएका थिए । बेगको हत्याको सूत्रधार राजन नै भएको जानकारी प्रहरी अनुसन्धानले देखाएको थियो । उनले हत्याको योजना बम्बई बसेर ओपी सिंह, दिल्लीका श्रीवास्तव तथा कपिलवस्तुको कृष्णनगर बस्ने सफिक खान रहेको प्रहरीले जानकारी दिएको थियो । श्रीवास्तव र खान कुनैबेला सांसद बेगकै निकट मानिन्थे ।
गृहमन्त्री जोशीले हत्याको योजना सफल बनाउन रोहित बर्मा भन्ने सन्देश शर्मा, राज भन्ने राजेन्द्र कुमार शर्मा, सञ्जय माड्कर, करणसिंह भन्ने मग्गा सरदार रहेको जानकारी दिएका थिए । सिफलमा बेगलाई गोली हान्ने घटनामा ५ जना संलग्न रहेको र करणसिंहलाई बेगको हत्याको लागि भारतबाट झिकाइएको जोशीले जानकारी दिएका थिए । गोली हान्नेमध्ये कसैलाई पनि प्रहरीले पक्राउ गरेको थिएन । महेन्द्रनगर बस्ने सुरेन्द्र भण्डारी, उनका सवारी चालक मोहन चन्द, कपिलवस्तु श्रीनगरका सफिक मोहम्मद खान, झापा घर भई काठमाडौं मैतीदेवी डेरागरी बस्ने पुष्पराज गौतम र उनका छोरा सतिश गौतमले हत्यारालाई सघाएको जानकारी गृहमन्त्री जोशीले दिएका थिए ।
बेग हत्याको पृष्ठभूमि
बब्लु श्रीबास्तवका नजिकका साथी विक्की सन् १९९७ को अगस्ट २९ मा कृष्णनगर क्षेत्रको सीमावर्तीमा मारिएका थिए । साथीको हत्या भएकोमा श्रीवास्ताव सांसद बेगसँग बदला लिन चाहन्थे । विक्कीको हत्या सांसद बेगले गराएको बुझाइ श्रीवास्तवलाई थियो । सांसद बेग र श्रीवास्तव व्यावसायिक साथी थिए । तर व्यवसायका कारण उनीहरुबीचको सम्बन्ध बिग्रेको थियो ।
कपिलवस्तुका महम्मद सफिक खान पनि सांसद बेगकै घनिष्ठ मित्र थिए । सफिक राप्रपा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ४ का अध्यक्ष थिए । तर बेगले सफिक हटाएर आफ्ना ज्वाइँलाई राप्रपाको अध्यक्ष बनाएका थिए । उक्त घटनाबाट खान रुष्ट थिए । चरेससहित बम्बईमा पक्राउ परेका खानले आफ्नो सबै सम्पत्ति धरौटी राखेर छुटेका थिए । छुटेर आएपछि खानले बेगसँग काम दिन अनुरोध गरेका थिए । तर सांसद बेगले काम दिन नसक्ने बताएपछि सम्बन्ध झन् बिग्रेको थियो ।
प्रहरी अनुसन्धान टोलीले तयार गरेको रिपार्ट अनुसार सहयोग नगरेपछि खानले भारतमा बस्ने श्रीवास्तावको टेलिफोन सांसद बेगसँग मागेका थिए । त्यसपछि बेगसँग बदला लिन खानले श्रीवास्तवसँग नियमित सम्पर्कमा रहेका थिए । खानले प्रहरीलाई दिएको बयान अनुसार बेगको हत्या सकेसम्म कपिलवस्तुमा नै गर्ने योजना बनाइएको थियो । नसके मात्र काठमाडौंमा गर्ने योजना रहेको अनुसन्धानबाट खुलेको थियो । उनको हत्या गर्ने योजना सन् १९९८ मे महिनाको १७–१८ तारेख अर्थात् ०५५ जेठको पहिलो साता बम्बईमा बनेको थियो । राजनका महत्त्वपूर्ण सदस्य ओपी सिंह र सफिक खानबीच बेगलाई मार्ने योजना बनाइएको थियो । त्यतिबेला रोहित, करणसिंह, राजेन्द्रकुमार पनि थिए । प्रहरीले राजन र श्रीवास्तवबीच काठमाडौंबाट कुराकानी भएको प्रमाण फेला पारेको थियो । बेगको हत्याका लागि काठमाडौं आएका जुबेग ठमेलको टेंकी होटलमा बसेर मलेसिया र बम्बईमा फोन गरेका थिए ।
उक्त घटनाका विषयमा गृहमन्त्री जोशीले सदनमा जानकारी गराएपछि प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले पत्रकार सम्मेलन गरेर गिरोहको आपसी द्वन्द्वका कारण बेगका हत्या भएको बताएका थिए । खरेलले सांसद बेग स्वयं आपराधिक क्रियाकलापमा संलग्न भएको देखिएको बताएका थिए । पाकिस्तानी जासुसी संस्थासँग सम्बन्ध रहेको प्रमाण भने नभेटिएको उनले जानकारी दिएका थिए । बेगको हत्याका बेला प्रयोग भएको निलो रंगको वाअच ९५५७ नम्बरको टोयटा कोरला गाडी फेला परेको थियो । उक्त गाडी राष्ट्रिय पञ्चायतका सदस्यहरुलाई भन्सार सुविधामा झिकाइएको थियो । उक्त गाडी राष्ट्रिय पञ्चायतकी सदस्य कलावती सिंहको नाममा रहेको थियो । भन्सार सुविधाबाट खरिद गरेकाले गाडीको नामसारी नहुने भएपछि चौथो पटक मौखिक रूपमा विक्री भएर करणसिंहकहाँ पुगेको थियो ।
सांसद बेगको हत्याको जिम्मेवारी लिएका छोटा राजनको भनाइ, नेपाल प्रहरीले गरेको अनुसन्धान र गृहमन्त्री जोशीले संसद्लाई दिएको जानकारीलाई सन्दर्भ बनाएर तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५५ साउन ४ मा ‘सांसद बेगको हत्या माफिया गिरोहहरूको आपसी द्वन्द्वका कारण भएको ठहर’ शीर्षकमा प्रकाशन गरेको थियो । साथै छोटा राजनले बेगको हत्या आफूले गराउन लगाएको दाबी गर्दै एक भारतीय पत्रिकालाई दिएको अन्तर्वार्तामा आधारित भएर तयार गरेको समाचार कान्तिपुरले ०५५ असार ३१ मा ‘मिर्जालाई मैले मार्न लगाएका हुँ : छोटा राजन’ शीर्षकमा प्रकाशन गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल