[अर्काइभ] गोली प्रहार गरी सांसद हत्याको त्यो त्रासदीपूर्ण घटना...

भारतले सुपुर्दगीका लागि अनुरोध गरेका बेला सांसद मिर्जा दिलसाद बेगको १४ असार २०५५ मा काठमाडौंको सिफलमा गोली प्रहार गरी हत्या भएको थियो ।

असार २३, २०८३

कान्तिपुर संवाददाता

[Archive] The tragic incident of the shooting and murder of an MP...

What you should know

काठमाडौं — २०५१ को मध्यावधि निर्वाचनमा कपिलवस्तु–४ बाट निर्वाचित राष्ट्रिय सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य मिर्जा दिलसाद बेगलाई भारत सरकारले केही दिनअघि इन्टरपोलमार्फत नेपालसँग सुपुर्दगी गर्न माग गरेको थियो । २०४८ सालको आमनिर्वाचनमा नेपाल सद्भावना पार्टीबाट विजयी भएका सांसद मिर्जालाई भारतमा आपराधिक गतिविधिमा संलग्न भएको आरोप लगाइएको थियो ।

भारतका पत्रपत्रिकाले उनलाई पाकिस्तानी जासुसी संस्था आइएसआईसँग आबद्ध भएको आरोप लगाउँदै आएको थियो । उनी एक पटक राज्यमन्त्री पनि भएका थिए । उनले भारतीय पत्रपत्रिकाले आफूमाथि लगाइएको आरोप असत्य भएको दाबी गर्दै आएका थिए । भारतले सुपुर्दगीका लागि अनुरोध गरेका बेला उनको १४ असार २०५५ मा काठमाडौंको सिफलमा गोली प्रहार गरी हत्या भएको थियो । नेपालमा बहालवाला सांसदको गोली प्रहारबाट हत्या गरेको यो पहिलो घटना थियो । अत्याधुनिक ‘नाइन एमएम’ पेस्तोल र रिबल्भर प्रयोग गरेर ७–८ वटा गोली प्रहारबाट उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान रिपोर्टमा उल्लेख थियो । हत्या कसले र किन गर्‍यो थाहा थिएन । 

यस्तो थियो हत्याको प्रकृति [Archive] The tragic incident of the shooting and murder of an MP...

१४ असार राति साढे ९ बजे सिफल पानीट्यांकीबाट देब्रेतर्फ ओरालो लागेपछिको चौरमा उनको कार चालकले पार्किङ गरेका थिए । करिब ४० फिट ओरालो हिँडेपछि सांसद बेगमाथि गोली प्रहार भएको थियो । पार्किङस्थलबाट उनको घर पुग्न २ मिनेट हिँड्नुपर्छ । बा.अ.ञ ७६५९ नम्बरको सेतो कार पार्किङ गर्नासाथ चालक भुवन कार्कीमाथि गोली प्रहार भएको थियो । 

सांसद बेग र चालक कार्कीमाथि केही सेकेण्डको फरकमा गोली प्रहार भएको अनुमान प्रहरीको थियो । चालकको दाहिने हात गाडीको स्टेरिङमै थियो भने शरीर बायाँ सिटतिर ढल्केको थियो । कारको हेडलाइट पनि बलिरहेको थियो । चालकको टाउको र हातमा गोली लागेको थियो । चालकलाई गोली लागेपछि सांसद बेग भागेको अनुमान प्रहरीको रहेको थियो । भाग्दाभाग्दै उनलाई गोली हानेको प्रहरीको अनुमान थियो । घटनास्थलमा गोलीहरू यत्रतत्र देखिन्थे । रातको समय भएकाले गोली कति वटा चलेको थियो यकिन गर्न सक्ने अवस्था थिएन । आक्रमणकारीहरू त्यहीँ लुकेर बसेका थिए वा तत्कालै आएका हुन् त्यो पनि यकिन थिएन ।

सेतो कमिज, कालो पाइन्ट र छालाको चप्पल लगाएका सांसद बेगको शरीर घोप्टो परेको अवस्थामा थियो । साँघुरो र अध्यारो गल्लीको देव्रे किनारपट्टी रहेको बेगको टाउको र मुखबाट अत्याधिक रक्तस्राप भइरहेको थियो । उनी सिफलमा सामान्य रुपमा हिँडडुल गर्थे । उनी स्थायी रुपमा जेठी श्रीमतीसँग मित्रपार्क लामपोखरीमा बस्थे । उनी त्यो दिन भने दोस्रो श्रीमतीको निवासतर्फ जान लागेका थिए । 

सांसदको अज्ञात समूहले हत्या गरेको विषयले राजधानीको सुरक्षास्थितिका विषयमा सर्वसाधारण बढी आतंकित थिए । बेग हत्याको सन्दर्भलाई आधार बनाएर तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५५ वैशाख १६ मा ‘गोली प्रहारद्धारा सांसद बेगको हत्या’ शीर्षकमा प्रकाशन गरेको थियो ।

प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully