तीन वर्षमा चार प्रधानमन्त्री फेरिँदा कांग्रेस, एमाले र राप्रपामा लगातार विभाजन र सत्ता समीकरणको अनिश्चितता देखिएको थियो ।
What you should know
काठमाडौं — ०५१ सालको मध्यावधि निर्वाचनपछि ३ वर्ष ४ महिनाको अवधिमा मुलुकले ४ जना प्रधानमन्त्री पाइसकेको थियो । यस अवधिमा सत्तामा पुग्ने अनेक खेलले प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल एमाले र तेस्रो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजित भएको थियो । कांग्रेसका २ सांसद अनुपस्थित भएर आफ्नै पार्टीले नेतृत्व गरेको सरकार ढालेका थिए ।
सांसदहरूले हप्तैपिच्छे पार्टीभित्रको गुट परिवर्तन गर्ने प्रवृत्ति बढेपछि हरेक प्रधानमन्त्रीको ध्यान पद जोगाउने धुनमै समय सकिन्थ्यो । यस अवधिमा सबैभन्दा धेरै समय कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा १८ महिना प्रधानमन्त्री भएका थिए । एमालेका मनमोहन अधिकारी ९ महिना र लोकेन्द्रबहादुर चन्द ७ महिना प्रधानमन्त्री बनेका थिए । सूर्यबहादुरले सबैभन्दा कम ६ महिना १० दिनमा राजीनामा दिएका थिए । आफ्नै पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दलाई हटाएर सूर्यबहादुर प्रधानमन्त्री बनेका थिए । कांग्रेसको सहयोगमा प्रधानमन्त्री बनेका सूर्यबहादुरले ६ महिनामै सत्ता छाड्नुपरेको थियो । यसबीचमा उनले नेतृत्व गरेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजित भएको थियो ।![[Archive] ...then Prime Minister Surya Bahadur resigned within 6 months](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-chait-29-1962026113121-1000x0.jpg)
संसदीय दलका नेता लाकेन्द्रबहादुरले ९ जना सांसदसहित छुट्टै पार्टी बनाएका थिए । संसद्मा ०५४ माघ ३ मा चन्द समूहलाई संसदमा छुट्टै संसदीय दलको मान्यता दिइएको थियो । कांग्रेसले सहमतिअनुसार प्रधानमन्त्री छाड्नुपर्ने अडान राखेपछि प्रधानमन्त्री सूर्यबहादुरले ०५४ चैत २८ मा राजीनामा दिएका थिए । उनी ०५४ असोज २० मा प्रधामनमन्त्री बनेका थिए । सूर्यबहादुरले प्रधानमन्त्रीका रुपमा पञ्चायतकालसमेत चौथो पटक कार्यभर सम्हाल्ने मौका पाएका थिए । प्रतिपक्षले प्रधानमन्त्री बनेको ३ महिनामा अविश्वास प्रस्ताव ल्याएका थिए । तर त्यतिबेला अविश्वास प्रस्ताव विफल भएको थियो । कांग्रेसको सहमतिमा सरकार सञ्चालनको समय केही बाँकी हुँदै सूर्यबहादुरले राजीनामा दिएका थिए ।
राजीनामा दिएपछि प्रधानमन्त्री सूर्यबहादुरले मुलुक संकटमा गुज्रेको प्रतिक्रिया दिएका थिए । उनले विभिन्न घटनाक्रमले मुलुक अस्तव्यस्त भएको भन्दै अब सरकार बनाउने जिम्मेवारी कांग्रेसको काँधा पुगेको बताए । कांग्रेस, राप्रपा र सद्भावना पार्टीको समीकरण बनेर टुटेको भन्दै सूर्यबहादुरले यही सयमा पार्टी विभाजन भएको बताएका थिए । उनले कांग्रेसको आन्तरिक कारणले पनि सरकार अप्ठेरोमा परेको बताएका थिए ।
यसबीचमा सूर्यबहादुरले मध्यावधि निर्वाचनको सिफारिस गरेपनि सर्वोच्च अदालतले स्विकारेन । राजाले सर्वोच्चसँग राय मागेका थिए । सर्वोच्चले संसद्मा वैकल्पिक सरकार बन्ने सम्भावना रहेसम्म मध्यावधि नगर्न सुझाएको थियो । प्रमुख प्रतिपक्षी एमालेसहितको दलले विशेष अधिवेशनमा सूर्यबहादुरविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । तर उक्त प्रस्ताव पारित भएको थिएन । तर पार्टी विभाजन र कांग्रेसको आन्तरिक समस्याका कारण सूर्यबहादुरले सहज रुपमा राजीनामा दिएका थिए ।
सूर्यबहादुरले अविश्वास प्रस्तावमा मतदान हुनु अगावै कांग्रेसलाई सत्ता छाड्ने सहमति भएको जानकारी दिएका थिए । उनले पञ्चायतमा भोगेको केही प्रसंग निकाल्दै सूर्यबहादुर कुनै प्रभावमा पर्ने नेता नभएको बताएका थिए । उनको भनाइ थियो, पञ्चायतकालमा हाउसभित्रै सामना गर्छु भनेको थिए, अहिले सम्झौताअनुरुप जानुपर्छ भन्ने कुरामा मेरो अडान थियो । ‘हात्ती लम्किरहने र पछाडिबाट भुक्ने स्वरले हात्ती रोकिँदैन भन्दै सूर्यबहादुरले हात्ती आफ्नो गन्तव्यमा पुगेपछि टक्क अडिन्छ,’ उनले भनेका थिए । ![[Archive] ...then Prime Minister Surya Bahadur resigned within 6 months](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-chait-30-1962026113154-1000x0.jpg)
राजाले सूर्यबहादुरको राजीनामा स्वीकृत गरेर नयाँ सरकारको लागि आह्वान गरेका थिए । नयाँ सरकार गठन गर्न कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले पहल गरेका थिए । उनले एमाले र मालेसँग बराबरी ढंगले कुराकानी कुरा राखेका थिए । राप्रपासँग पनि वार्ता गर्न टोली नै गठन गरिएको थियो । साढे ३ वर्षमा ४ जना प्रधानमन्त्री बनिसकेको र राजनीतिक अस्थिरता कायम रहेकाले सहमतिमै सरकार बनाउने घोषणा कोइरालाले गरेका थिए । उनले सरकार सहमतिमा बनाए पनि सर्वदलीय नहुने अडान राखेका थिए ।
माले र एमाले दुई चिरा भएकाले कुन पार्टीलाई सरकारमा सामेल गराउने दुवैसँग छलफल सुरु गरिएको थियो । राप्रपाका मतदानमा भाग लिने १९ जना सांसदमध्ये सूर्यबहादुरसँग ११ जना र चन्द समूहमा ८ जना थिए । राप्रपा र एमाले पुरानो हैसियतमा नभएकाले सरकार बनाउन कांग्रेसको हातमाथि परेको थियो । प्रधानमन्त्री बनेको ६ महिनामा सूर्यबहादुरले राजीनामा दिएको प्रसंगसहित साढे ३ वर्षको संसदीय इतिहासमा चार जना प्रधानमन्त्री बनेको सन्दर्भ जोडेर पत्रकार हरिबहादुर थापाले तयार गरेको समाचारका कान्तिपुरले ‘कांग्रेस नयाँ सरकार बनाउन अग्रसरः दुवै राप्रपासँग वार्ता गर्न टोली गठन, एमाले र मालेलाई बराबर प्राथमिकता’ शीर्षकमा २०५४ चैत ३० मा प्रकाशन गरेको थियो ।
प्रधानमन्त्री थापाको राजीनामासम्बन्धी समाचार कान्तिपुरले ०५४ चैत २९ मा ‘प्रधानमन्त्री थापाद्धारा समझदारी अनुरुप राजीनामाः वर्तमान सत्तासमीकरणको भविष्य कांग्रेसको हातमा’ शीर्षकमा प्रकाशन गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] ...then Prime Minister Surya Bahadur resigned within 6 months](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-chait-30-c-1962026113030-1000x0.jpg&w=1001&h=0)