[अर्काइभ] प्रथम महिला आरोही ताबेईले सोलुखुम्बुमा स्याउ रोपेको त्यो कथा

जापानी नागरिक जुन्को ताबेईले ५१ वर्षअघि सर्वोच्च शिखर सगरमाथा चढेकी थिइन् । फर्केने बेलामा सोलुखुम्बुको मञ्जु गाउँका शेर्पा महिलाहरूले उनको स्वागत गर्दै स्याउ खान दिएका थिए । त्यतिबेलै उनलाई त्यस गाउँमा स्याउ रोप्ने कल्पना आएको थियो ।

जेष्ठ ९, २०८३

कान्तिपुर संवाददाता

[Archive] The story of Tabei, the first female climber, planting apples in Solukhumbu

What you should know

काठमाडौँ — जापानी नागरिक जुन्को ताबेई सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो महिला हुन् । उनले १९७५ मे १६ मा अर्थात् आजभन्दा झन्डै ५१ वर्षअघि सगरमाथा आरोहण गरेकी थिइन् ।

सगरमाथा चढेर फर्केने बेलामा सोलुखुम्बुको मञ्जु गाउँमा त्यहाँका शेर्पा महिलाहरूले स्याउ खान दिएका थिए । पहिलोपटक महिलाले सगरमाथा चढेकोमा ती महिलाले खुसी हुँदै चार महिना पुरानो स्याउ खुवाएको सत्कारले ताबेईको मनमा गहिरो भावना पलाएको थियो । त्यतिबेला उनलाई उक्त गाउँमा स्याउ रोप्ने कल्पना आएको थियो । त्यसैले उनले ५० को दशकदेखि उक्त गाउँमा स्याउको बिरुवा रोप्ने कार्यक्रम ल्याएकी थिइन् ।

कान्तिपुरमा २०५४ मंसिर २५ मा प्रकाशित समाचारमा उनले भनेकी थिइन्, ‘म सगरमाथा चढ्न जानेबेला दूधकोशीको आवाज मात्र सुनिन्थ्यो । अहिले देख्न पनि सकिन्छ । त्यसलाई ढाक्ने रुखबिरुवा काटिसकिएका छन् ।’

त्यो विनाशलाई अरू रुख रोपेर रोक्न नसकिने देखेर ताबेईले स्थानीयलाई स्याउ खेतीमा आकर्षित गर्ने योजना बनाएकी थिइन् । उनले स्याउ खेतीले स्थानीयलाई आर्थिक आम्दानी र जंगल बढ्ने उद्देश्य राखेकी थिइन् । उनले त्यहाँ १९९५ मा २ सय र १९९६ मा स्याउका ५० बोट रोपेकी थिइन् । स्याउको निरीक्षण र थप बिरुवा वितरणका लागि नेपाल आएकी ताबेईले भनेकी थिइन्, उत्पादित स्याउको हकदार स्थानीय कृषक हुनेछन् ।

स्याउ स्थानीय बजारमा बेच्न सकिने र त्यो पनि सम्भव नभए लुक्ला बजारसम्म पुर्‍याउनुपर्ने सुझाव उनको थियो । उनीले तीन दशकअघि नेपाललाई सुझाव दिँदै भनेकी थिइन्, ‘स्याउको जुस र ड्राइफ्रुट बनाएर बेच्न सकिन्छ ।’ उनी हिमाली गाउँवासीको आम्दानी बढाउने विषयमा निकै सचेत थिइन् । उनले स्याउलाई कुनै मूल्यको रूपमा नभई आफूले नेपालप्रति गरेको व्यवहारको प्रेमको प्रतीकको रूपमा हेर्नुपर्ने बताएकी थिइन् । 

१९३९ मा जन्मेकी ताबेईको जन्मस्थल जापान स्याउ उत्पादनका लागि प्रसिद्ध मानिन्छ । त्यसैले जापानको उन्नत स्याउका बिरुवा ल्याएर नेपालमा रोप्ने भनाइ उनको थियो । उनले जापानको भन्दा नेपालको स्याउ आफूलाई मिठो लागेको बताएकी थिइन् ।

सन् १९६२ मा अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी ताबेईले १० वर्षको उमेरमा विद्यालय शिक्षिकासँग जापानस्थित नासु हिमाल चढेकी थिइन् । उनी जापानको महिला आरोही क्लबको अध्यक्षसमेत थिइन् । उनले नेपालमा पहिलो पटक अन्नपूर्ण हिमालको पहिलो आरोहरण गरेकी थिइन् ।

कान्तिपुरसँगको कुराकानीको क्रममा उनले सुरुमा नेपालको हिमशृंखलाहरू चढ्न निकै चुनौतीपूर्ण रहेको महसुस आफूले गरेको बताएकी थिइन् । अन्नपूर्ण चढेपछि सगरमाथा चढ्ने आँट आएको प्रसंग जोड्दै उनले भनेकी थिइन्, ‘तर, पनि भारतमा गएर वृत्तचित्रहरू हेरेर अनुसन्धान गरेर प्रयास गरेको थिएँ । पहिलो पटकमै सफल भइयो ।’

उनले आफू नयाँ नयाँ हिमाल चढ्न रुचाउने भएकाले दोहोर्‍याएर सगरमाथा नचढ्ने बताएकी थिइन् । उनी सगरमाथा मात्र होइन, सातवटै महादेशका सबैभन्दा अग्लो चुचुरोमा पुग्ने प्रथम महिला थिइन् । उनले अफ्रिका अमेरिका, युरोप र ओसिनियका सबैभन्दा अग्ला हिमालहरू चढेकी थिइन् । उनले नेपालमा शेर्पाहरूको सहयोगबिना हिमाल चढ्न कठिन भएको बताएकी थिइन् । उनले आफूले सगरमाथा चढ्ने श्रेय शेर्पालाई दिएको बताएकी थिइन् ।

अब सगरमाथा चढ्न सहज हुँदै गएकाले यसलाई पैसा आम्दानी गर्न व्यासायिक बनाउन नहुने तर्क उनको थियो । सगरमाथा चढेपछि उनलाई नेपालले ‘गोरखा दक्षिणबाहु’ बाट सम्मान गरेको थियो । उनले उक्त पदक सबैभन्दा ठूलो भएकोमा खुसी मान्दै भनेकी थिइन्, ‘त्यस्तो सम्मान आफ्नै मुलुक जापानबाट पनि पाइनँ ।’ जापानमा हिमाल सम्बन्धी गोष्ठीहरूमा बोलाउने गरेको भन्दै उनले आफ्नै मुलुकबाट ठूलो आर्थिक सहयोग नपाएको बताएकी थिइन् । 

नेपालका विद्यालय पाठ्यक्रममा आफ्नो जीवनी राखिएकोमा खुसी मान्दै भनेकी थिइन्, ‘तर, मेरो अनुहार त्यत्तिको लोकप्रिय छैन ।’ पहिलो पटक भेट्नेहरूले 'यति सानो मान्छेले अग्लो हिमाल कसरी चढेको होला ?' भनेर आश्चर्य मान्ने गरेको उनले बताएकी थिइन् ।

सगरमाथा चढ्ने पहिलो महिलाले नेपालप्रति गरेको माया र सद्भावका सन्दर्भलाई कान्तिपुर दैनिकका लागि पत्रकार मुकुन्द बोगटीले उनीसँग गरेको कुराकानीलाई २०५४ मंसिर २५ मा समाचारको रूपमा प्रकाशन गरेको थियो । समाचारको शीर्षक थियो- ‘सगरमाथा आरोहणलाई नियन्त्रण गर्नुपर्छ : ताबेई’ ।

[Archive] The story of Tabei, the first female climber, planting apples in Solukhumbu

ताबेई सगरमाथा चढेको झन्डै दुई दशकपछि नेपाली महिला पासाङ ल्हामु शेर्पाले भने २०५० वैशाख १० सगरमाथा चढेकी थिइन् । उनले सगरमाथा त चढिन्, तर फर्कने क्रममा हिमपहिरोमा परेर उनको मृत्यु भएको थियो । २९ मे १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथामा पहिलो पटक मानव पाइला टेकेका थिए ।

प्रस्तुतिः ऋषिराम पौड्याल

 

कान्तिपुर

Link copied successfully