पञ्चायतकालमा तीनपटक प्रधानमन्त्री बनेका र २०३६ को जनमतसंग्रहमा बहुदललाई पराजित गराउन राज्यशक्तिको चरम दुरुपयोग गरेको आरोप खेपेका सूर्यबहादुर थापा बहुदलीय व्यवस्था पुनर्वहाली भएको आठ वर्षपछि फेरि प्रधानमन्त्री बनेका थिए ।
What you should know
काठमाडौँ — भारत निर्वासनमा रहेका बीपी कोइराला मेलमिलापको नीति लिएर २०३३ सालमा नेपाल फर्केका थिए । त्यतिबेला सूर्यबहादुर थापाले सार्वजनिक रूपमै बीपीलाई फाँसी दिनुपर्ने माग गरेका थिए ।
पञ्चायतकालमा तीनपटक प्रधानमन्त्री बनेका र २०३६ को जनमतसंग्रहमा बहुदललाई पराजित गराउन राज्यशक्तिको चरम दुरुपयोग गरेको आरोप खेपेका थापा बहुदलीय व्यवस्था पुनर्वहाली भएको आठ वर्षपछि फेरि प्रधानमन्त्री बनेका थिए । लोकेन्द्रबहादुर चन्दलाई हटाएर कांग्रेसको समर्थनमा थापालाई प्रधानमन्त्री बनाइएको थियो । पञ्चहरूसँग संघर्ष गर्दै पञ्चायत फ्याँकेर प्रजातन्त्र पुनर्वहाली गराएको दशक नबित्दै एमालेको समर्थनमा चन्द र कांग्रेसको समर्थनमा थापा प्रधानमन्त्री बनेका थिए ।
चन्द ०५३ फागुनमा एमालेको समर्थनमा प्रधानमन्त्री बनेकामा सत्ता परिवर्तनका लागि भएका अनेक चलखेलको सामना गर्दै ७ महिना उनले सरकारको नेतृत्व गरेका थिए । चन्द पनि अस्वाभाविक चलखेलबाटै प्रधानमन्त्री बनेका थिए ।
प्रमुख प्रतिपक्षी कांग्रेससहित चन्द आफ्नै पार्टीको समेत समर्थनमा अविश्वास प्रस्तावबाट हटेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापालाई राजाले ०५४ असोज २० मा प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । एमालेले कांग्रेसलाई र कांग्रेसले एमालेलाई सत्तामा बस्न नदिने खेलअन्तर्गत दुई पूर्वपञ्चले पालैपालो प्रधानमन्त्री हुने अवसर पाएका थिए । त्यतिबेला बहुदलका लागि संघर्ष गरेका दुवै पार्टीले पञ्चहरूलाई चोख्याएको टिप्पणी हुने गरेको थियो । ![[Archive] After Congress itself saw Surya Bahadur Thapa, who demanded the death penalty for BP, as a democrat...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/matter-1852026082329-1000x0.jpg)
संसदीय व्यवस्थामा सरकार बनाउने र गिराउने आधार सांसद संख्या हुने भएकाले ०५१ को मध्यावधि निर्वाचनपछि राप्रपा संसदमा निर्णायक शक्ति बनेको थियो । संसदमा २० सिट लिएर बसेको राप्रपाका कारण सरकार निकै अस्थिर भएको थियो । यसले मुलुकमा राजनीतिक अस्थिरता निकै झांगिएको थियो । विशेषतः सांसद, मन्त्री र दलका शीर्ष नेताहरूको अराजनीतिक गतिविधि र विकृत चरित्रको विषयमा त्यतिबेला एक प्रकारले सर्वसाधारणमा बहुदलीय संसदीय व्यवस्था नै खराब त होइन भन्ने प्रश्न उब्जेको थियो ।
यसरी बनेका थिए थापा प्रधानमन्त्री
कांग्रेसले राप्रपाको समर्थनमा ०५२ भदौमा एमालेको नौ महिने सरकारका प्रधानमन्त्री मनमोहन अधिकारीलाई सत्ताच्यूत गराएको थियो । मनमोहन हटाएर कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए । उनी प्रधानमन्त्री बनेपछि एमाले उनलाई सत्ताच्यूत गर्न निरन्तर लागेको थियो । त्यसैले देउवाको १८ महिने कार्यकालमा एमालेले दुई पटक अविश्वास प्रस्ताव राखेको थियो ।
देउवाको कार्यकालमा सत्ता टिकाउन सबैभन्दा धेरै असंसदीय र अराजनीतिक गतिविधि देखिएको थियो । दोस्रो पटकको अविश्वास प्रस्ताव फेल भएपछि देउवा आफैंले संसद्बाट विश्वासको मत लिन राखेको प्रस्तावलाई कांग्रेसका दुई सांसद अनुपस्थित भएपछि सरकार ढलेको थियो । त्यसपछि ०५३ फागुनमा एमालेको समर्थनमा चन्द प्रधानमन्त्री बनेका थिए । फेरि कांग्रेसले चन्द हटाउन राप्रपाका थापालाई समर्थन गरेको थियो । चन्दले आफ्नो नेतृत्वको सरकार जोगाउन हरसम्भव प्रयास गरेका थिए । तर चन्दको मन्त्रिपरिषद्मा रहेका राप्रपाका सांसदहरू नै थापाको पक्षमा लागेपछि उनीविरुद्धको अविश्वास प्रस्ताव पारित भएको थियो ।
कांग्रेसको समर्थनमा थापा प्रधानमन्त्री बनेका थिए । उपसभामुखबाहेक राप्रपाका १९ जना सांसदमध्ये चन्द र पद्मसुन्दर लावतीले मात्र थापाको समर्थनमा हस्ताक्षर गरेका थिएनन् । आफ्नै पार्टी अध्यक्ष र मन्त्रिपरिषद्का सदस्यहरूले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेपछि चन्दले उनीहरूलाई आफैं चढेको डुंगामा प्वाल पार्ने मुसाको उपमा दिएका थिए । चन्दले कांग्रेस र थापाप्रति लक्षित गर्दै प्रतिनिधिसभाको २०५४ असोज १८ को बैठकमा भनेका थिए, ‘भारतमा आपतकाल सुरु भएपछि स्वदेश फर्किनु भएका बीपी कोइरालालाई सहयोग गरेबापत नै सबैभन्दा ठूलो प्रजातन्त्रवादी भइने हो कि ? बीपीको खिलाप जाहेर गर्ने व्यक्ति प्रजातन्त्रवादी हुने हो ?’ ![[Archive] After Congress itself saw Surya Bahadur Thapa, who demanded the death penalty for BP, as a democrat...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-ashoj-24-anchor-1852026082334-1000x0.jpg)
थापाले बीपीलाई फाँसी दिनुपर्ने माग गरेको प्रसंग जोडेर चन्दले कांग्रेसलाई इतिहासको घटना स्मरण गराएका थिए । कांग्रेसले चन्दभन्दा थापाबाटै प्रजातन्त्र जोगिने तर्कका आधारमा संसद्मा अविश्वास प्रस्ताव राखेपछि चन्दले उक्त अभिव्यक्ति दिएका थिए । २०५१ को मध्यावधि निर्वाचन भएको तीन वर्ष नपुग्दै मनमोहन अधिकारी, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा गरी चार जना प्रधानमन्त्री भएका थिए ।
एमाले र कांग्रेसबीचको कटुता, राप्रपाभित्र देखिएको शक्ति संघर्ष र चन्दलाई हटाएर थापा प्रधानमन्त्री बनेको घटनालाई आधार बनाएर तयार गरेको समाचार कान्तिपुरले ‘थापा प्रधानमन्त्री नियुक्त, मन्त्रिमण्डल गठन आज’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । सोही दिन पत्रकार हरिबहादुर थापाले तयार गरेको ‘१४ वर्षपछि यसरी थापाले मेख मारे’ शीर्षकमा थापाको जीवनीमा आधारित समाचार प्रकाशन गरेको थियो । उक्त फिचर समाचारमा राजनीतिमा चतुर खोलाडीको रूपमा थापाको उदय, पञ्चायतमा उनले निर्वाह गरेको भूमिका, दरबारसँगको सम्बन्धसहितका सन्दर्भ जोडिएको विषय उल्लेख थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] After Congress itself saw Surya Bahadur Thapa, who demanded the death penalty for BP, as a democrat...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-ashoj-24-photo-1852026081538-1000x0.jpg&w=1001&h=0)