[अर्काइभ] चन्द प्रधानमन्त्री बनेपछिको पहिलो संसद् बैठकमा जे देखियो  

सत्तासमीकरणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका वामदेव गौतमलाई मन्त्रिपरिषद्मा सबैभन्दा शक्तिशाली बनाइएको थियो ।

वैशाख ४, २०८३

कान्तिपुर संवाददाता

[Archive] What was seen in the first parliament meeting after Chand became Prime Minister

काठमाडौँ — संसदीय व्यवस्थामा देखिएका चरम असंसदीय गतिविधि र सांसदहरुको अनैतिक चरित्र छ्याल्लब्याल्ल भएका घटनाको परिणामस्वरुप मुलुकको सवैभन्दा ठूलो पार्टी एमालेको समर्थनमा प्रधानमन्त्री बनेका लोकेन्द्रबहादुर चन्दले २०५३ फागुन २८ मा ८ सदस्यीय मन्त्रमण्डल गठन गरेका थिए । राजा वीरेन्द्रले त्यसैदिन प्रधानमन्त्री चन्दलाई र अन्य मन्त्रीलाई चन्दले शपथ गराएका थिए । सत्तासमीकरणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका वामदेव गौतमलाई मन्त्रिपरिषद्मा सबैभन्दा शक्तिशाली बनाइएको थियो । उनी उपप्रधान तथा गृहमन्त्री बनेका थिए । उनले एमालेभित्र बहुमत आफ्नो पक्षमा पारेर चन्दलाई प्रधानमन्त्री बनाउन भूमिका निर्वाह गरेका थिए । 

राप्रपाबाट रविन्द्रनाथ शर्मालाई अर्थमन्त्री बनाइएको थियो । एमालेकी सहाना प्रधानलाई वन तथा भूमिसुधार, राधाकृष्ण मैनालीलाई स्वास्थ्य, अमृतकुमार बोहरालाई स्थानीय विकास, गजेन्द्रनारायण सिंहलाई आपूर्ति, विज्ञान तथा प्रविधि, रामेश्वरराय यादवलाई कानुन तथा न्याय तथा महिला तथा समाज कल्याणमन्त्री बनाइएको थियो । एमालेमा मन्त्री हुनेहरुको नामावली टुंगिन नसक्दा सबै मन्त्रालयमा मन्त्री थिएनन् । 

संसद् सात घण्टाका लागि स्थगित 

मन्त्रीमण्डल गठन भएर शपथ गरेको दिन संसद् बैठक तोकिएको मितिभन्दा ७ घण्टा ढिलो सुरु भएको थियो । प्रधानमन्त्री र मन्त्रीहरुको शपथका कारण संसद् भवन पुगेका सांसदहरु रनभुल्लमा परेका थिए । शपथग्रहण नै नभएकाले मन्त्रीको उपस्थितिबिना बैठक सञ्चालन गर्न प्रधानमन्त्री चन्दले सभामुख रामचन्द्र पौडेललाई भेटेर अनुरोध गरेका थिए । त्यसैले बिहान ११ बजेका लागि बोलाइएको बैठक बेलुकी ६ बजे सुरु भएको थियो । 

[Archive] What was seen in the first parliament meeting after Chand became Prime Minister

सत्ताले राप्रपामा एकता 

चन्द प्रधानमन्त्री भएपछि राप्रपाभित्रको विवाद भने मत्थर हुने संकेत देखिएको थियो । देउवा सरकारको पक्षमा खुलेका पार्टीका अध्यक्ष सुर्यबहादुर थापा संसदमा सत्तापक्षको बेन्चमा बसेर विवाद मत्थर भएको संकेत गरेका थिए । उनले संवाददाताहरुसँग भनेका थिए,‘अहिले पनि जिम्मेवार र संसदीय मर्यादाका साथ काम गर्छु ।’ उनले संसद परिसरमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई बधाई दिएर सरकारसँगको सम्बन्ध सुधारको संकेत गरेका थिए । २०५३ पुसमा देउवाविरुद्ध संसदमा अविश्वास प्रस्ताव राखेकाबेला थापाले त्यसलाई विफल बनाउन महत्वपूर्ण भूमिक निर्वाह गरेका थिए । पछिल्लो पटक चन्दलाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षरमा राप्रपाका १० सांसदको मात्र समर्थन थियो । सत्ताकै विषयमा राप्रपा फुटको अवस्थामा पुगेर जोगिएको थियो । यतिसम्म कि आफैं सत्तारुढ भएर पनि राप्रपा सांसदहरुले विपक्षी बेन्चमा बसेर असंसदीय व्यवहार देखाएका घटनाले गिज्याइरहेको अवस्थामा यस पटक भने सहज वातावरण तयार भएको थियो । तर थापा पक्षका सांसदहरु संसदमा निकै अप्ठेरो मानेर सत्तापक्षको कुर्सीमा बसेका थिए । संसद भित्र एमालेका सांसदहरुले राप्रपाका केही सांसदलाई सत्तारुढ भएको भन्दै व्यंगात्मक रुपमा स्वागत गरेका थिए । राप्रपाका एकाथरी सांसदले आफूहरु संसदको वायाँ सिटमा कहिल्यै बस्न नपरेको भन्दै ठट्टा गरेका थिए । 

 चन्दलाई प्रधानमन्त्री बनाउन असयोग गर्ने राप्रपाका सांसदहरुमा पशुपति शमशेर राणा, फत्तेसिंह थारु, बुद्धिमान तामाङ, शान्ति शमशेर राणा, प्रकाशचन्द्र लोहनीलगायतका थिए । संसदमा चन्द पक्षका सांसदहरु हँसिलो मुद्रामा अगाडी सिटमा थिए । थापा पक्षका भने पछिल्ला सिटहरुमा बसेका थिए । 

सत्तारुढ भएको बिर्सेपछि...

एमालेका कतिपय सांसदहरुले आफूहरु सत्तारुढ भएको बिर्सेका थिए । त्यसैले उनीहरु संसदको कुन साइटमा बस्ने अलमलमा परेको देखिन्थे । केही सांसद झुक्किएर विपक्षी बेन्चमा बसेका थिए । प्रतिपक्षमा बस्न पुगेको एमाले सांसदहरुलाई कांग्रेसले अंगालो हालेर स्वागत गरेका थिए । ‘भिआइपी’ दिर्घामा बसेका एमाले महसचिव नेपालले प्रतिपक्षी कांग्रेसलाई जिस्क्याउँदै थिए । 

पूर्वप्रधानमन्त्री दुवै अनुपस्थित

चन्द प्रधानमन्त्री भएपछिको पहिलो बैठकमा पूर्व प्रधानमन्त्रीहरु मनमोहन अधिकारी र निवर्तनमा प्रधानमन्त्री देउवा उपस्थित भएका थिएनन् । देउवाले पार्टीको अनुरोधमा संसदीय दलको नेताबाटसमेत राजिनामा दिएका थिए । आफ्नै पार्टी सत्तामा पुगेको पहिलो संसद बैठकमा मनमोहन गएका थिएनन् । मनमोहन चन्दलाई प्रधानमन्त्री बनाउन नहुने पक्षमा उभिएका थिए । 

मनमोहनकै पक्षमा रहेका केपी शर्मा ओली सत्तापक्षको पछिल्लो सिटमा मलिनो अनुहार लगाएर बसेका थिए । सर्ट र पाइन्टमा संसद छिरेका ओलीलाई पछिल्लो सिटमा बसेको देखेपछि एमाले प्रमुख सचेतक देवीप्रसाद ओझाले अगाडी लगेर राखेका थिए । अध्यक्ष मनमोहन, महासचिव नेपाल, ओलीसहितका नेताहरु चन्दलाई प्रधामनमन्त्री बनाउन नहुने लाइनमा थिए । वामदेवसहित स्थायी समितिको बहुमतको दवाव र पार्टीमा देखिएको अनेकतालाई बलियो बनाउने शर्तमा मनमोहनसहितका नेताहरु सरकारको पक्षमा उभिएका थिए । एमाले सत्तारुढ भएको संसदको पहिलो बैठकमा कतिपय मन्त्री नैअनुपस्थित थिए । 

[Archive] What was seen in the first parliament meeting after Chand became Prime Minister

  राप्रापा भित्रको विवाद मत्थर भएका कारण सरकारले ११३ जना सांसदको समर्थन पाउने अवस्था थियो । तर पनि विश्वासको मत नलिउन्जेल ‘गडवडी’ हुन सक्ने  भय भने कायम थियो । त्यसैले विश्वासको मत छिट्टै लिने तयारी गरिएको थियो । संसदीय व्यवस्थालाई बदनाम गराउनेगरी १८ महिनासम्म अनेक खेल प्रदर्शन गरेर चन्द प्रधानमन्त्री बनेका थिए । पञ्चायत जोगाउन अन्तिम प्रयास गरेका चन्दले बहुदल आएको ७ वर्षमै प्रधानमन्त्री हुने अवसर पाएका थिए । 

 चन्दले प्रधानमन्त्री सपथ गरेर मन्त्रमण्डल बनाएको र संसदमा देखिएको रोचक गतिविधिलाई सन्दर्भ बनाएर तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५३ फागुन ३० मा नवगठित मन्त्रीपरिषद्द्धारा सपथ ग्रहण शीर्षकमा प्रकाशित गरेको थियो । कान्तिपुरले त्यही दिन ‘नयाँ सत्तासमीकरणपछि प्रतिनिधिसभाको पहिलो बैठकः केही असजिलो, केही रोचक’ शीर्षकको समाचार प्रकाशित गरेको थियो ।

प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully