[अर्काइभ] गिरिजाप्रसाद र चिरञ्जीवीबीचको त्यो प्रतिस्पर्धा

काठमाडौंको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा २०५३ मा भएको महाधिवेशनमा कृष्णप्रसाद भट्टराई सभापतिको उम्मेदवार बनेनन् । उनी उम्मेदवार नबन्ने भएपछि सभापति हुन इच्छा राख्ने नयाँ अनुहार देखिन थाले । तर गिरिजाप्रसाद कोइराला सभापतिको लागि निर्विकल्पको रुपमा उभिएका थिए । यद्यपि उनलाई सर्वसम्मत रुपमा सभापति छाड्ने परिस्थिति बनेको थिएन ।

माघ २४, २०८२

कान्तिपुर संवाददाता

[Archive] That rivalry between Girija Prasad and Chiranjeevi

What you should know

काठमाडौँ — २०३४ मा बीपी कोइराला बिरामी परेपछि पटना सम्मेलनबाट कृष्णप्रसाद भट्टराईलाई कार्यवहाक सभापतिको जिम्मेवारी दिइएको थियो । बीपीको निधनपछि ०३९ मंसिरमा गणेशमान सिंहको निवास छेत्रपाटीमा भएको सम्मेलनले पनि भट्टराईलाई नै कार्यवहाक सभापति तोकेको थियो । उनले ०३४ देखि ०४८ सम्म कार्यवहाक सभापतिको हैसियतमा कांग्रेसको नेतृत्व गरेका थिए ।

०४८ मा झापाको कलबलगुडीमा भएको कांग्रेसको आठौं महाधिवेशनबाट पहिलो पटक निर्वाचित सभापति बनेका थिए । कांग्रेसको इतिहासमा झन्डै डेढ दशकभन्दा बढी समय पार्टीको नेतृत्व कार्यवहाकबाट भएको थियो । कलबलगुडी महाधिवेशनपछि ०५३ सम्म १९ वर्षसम्म भट्टराईले कांग्रेसको नेतृत्व गरेका थिए । 

काठमाडौंको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा २०५३ मा भएको महाधिवेशनमा भने भट्टराई सभापतिको उम्मेदवार बनेनन् । उनी उम्मेदवार नबन्ने भएपछि सभापति हुन इच्छा राख्ने नयाँ अनुहार देखिन थाले । तर गिरिजाप्रसाद कोइराला सभापतिको लागि निर्विकल्पको रुपमा उभिएका थिए । यद्यपि उनलाई सर्वसम्मत रुपमा सभापति छाड्ने परिस्थिति बनेको थिएन ।

[Archive] That rivalry between Girija Prasad and Chiranjeeviत्यसैले काठमाडौंमा भएको कांग्रेसको नवौं महाधिवेशनमा कोइरालासँग कांग्रेस नेताहरु चिरञ्जीवी वाग्ले र रामहरि जोशीले प्रतिस्पर्धा गरेका थिए । खासगरी ०४८ को निर्वाचनबाट गठन भएको कांग्रेस सरकार सञ्चालनका विषयमा कार्यवहाक सभापति भट्टराई, सर्वोच्च नेता गणेशमान र कोइरालाबीच देखिएको असमझदारीका कारण पार्टीमा निकै ठूलो मनमुटाव थियो । ०४८ को निर्वाचनपपछि प्रतिनिधिसभामा बहुमत रहेको कांग्रेसभित्रको झगडाका कारण मध्यावधि निर्वाचन गर्नुपरेको थियो । कांग्रेसका ‘छत्तिसे र चौहत्तरे’ विभाजन थियो ।

३६ जना सांसद रहेको छत्तिसेको नेतृत्व भट्टराई र गणेशमानले गरेका थिए भने चौहत्तरेको नेतृत्व कोइरालाले गरेका थिए । त्यही विभाजन पार्टीमा झाङ्गिदै गएर बनेको परिस्थितिले महाधिवेशनमा कोइरालाविरुद्ध वाग्ले उम्मेदवार बनेका थिए । वाग्ले कोइरालाले प्रतिनिधिसभामा २०५१ मा पेस गरेको नीति तथा कार्यक्रम विफल बनाउन योजना बनाउने सांसद मध्येका थिए । उनलाई गणेशमानको नैतिक समर्थन थियो ।

यद्यपि नवौं महाधिवेशनमा गणेशमान पार्टीमा निष्क्रिय भइसकेका थिए । कोइरालासँग असन्तुष्ट रहेका नेताहरु एकै थलोमा उभिएका थिए । प्रतिस्पर्धामा कोइरालाले १ हजार १ सय ४४ मत पाएर सभापतिमा विजयी भएका थिए । निकटतम प्रतिद्वन्द्वी वाग्ले भएका थिए । तर कोइरालाको तुलनामा वाग्लेले झिनो मत पाएका थिए । वाग्लेले २ सय ५४ मत पाएका थिए । सभापतिका अर्का उम्मेदवार रामहरि जोशीले १२ मत पाएका थिए । उक्त महाधिवेशनमा १ हजार ४ सय १० मत प्राप्त गरेका थिए । 

उक्त महाधिवेशनबाट रामचन्द्र पौडेल, विजय कुमार गच्छदार, खुमबहादुर खड्का, भीमबहादुर तामाङ, सुशील कोइरालाले आ-आफ्नो विकास क्षेत्रबाट केन्द्रिय सदस्य जितेका थिए । उनीहरुसँग प्रतिस्पर्धा गर्नेहरु सबैजसोले झिनो मत प्राप्त गरेका थिए । निर्वाचित भएपछि उनीहरुले पार्टीमा प्रजातान्त्रिक प्रक्रियाको थालनी भएको विचार राखेका थिए । सभापतिका प्रत्यासी वाग्लेले कोइराललाई बधाई दिँदै पार्टी सञ्चालमा सहयोग गर्ने वचन दिएका थिए । 

[Archive] That rivalry between Girija Prasad and Chiranjeevi

उक्त महाधिवेशनले सन्तुलित आर्थिक विकास र सामाजिक न्याय नै पार्टीको मूल मर्म भएको सिद्धान्त पारित गरेको थियो । बीपीले अँगालेको समाजवादको लक्ष्यमा पुग्न द्वैध भू–स्वामित्वको अन्त्य गरी उत्पादनशील कृषि प्रणाली, औद्योगिक र सेवा क्षेत्रमा आर्थिक गतिविधि विस्तार गर्दै जानुपर्ने प्रस्ताव महाधिवेशनले पारित गरेको थियो । आर्थिक क्षेत्रमा राज्यको असीमित हस्तक्षेप र नियन्त्रण पद्दतिको असफल भएको प्रस्ताव पारित गरिएको थियो । कांग्रेसको उक्त महाधिवेशनले खुला अर्थतन्त्रलाई बढावा दिने प्रस्ताव अघि सारेको थियो । आर्थिक प्रस्ताव केन्द्रिय सदस्य डुण्डीराज शास्त्रीले प्रस्तुत गरेका थिए भने त्यसको समर्थन तत्कालीन अर्थमन्त्री रामशरण महतले गरेका थिए । 

[Archive] That rivalry between Girija Prasad and Chiranjeeviमहाधिवेशनको राजनीतिक प्रस्तावमा भने एमालेले प्रजातान्त्रिक सदासय र सद्भाव बुझ्न नसकेको उल्लेख गरिएको थियो । कांग्रेसको प्रस्तावमा भनिएको थियो,‘एमालेले दृशमा संविधान र संवैधानिक अंगहरु बारे लिएको द्विविधायुक्त नीति र चरित्रका कारण दुई पार्टीबीचको सम्बन्ध कहिले तल कहिले माथि भइरहेको छ ।’ कांग्रेस महाधिवेशनले एमालेलाई प्रजातन्त्रको पक्षमा आफूलाई सच्याउनुपर्ने भनेको थियो ।

प्रस्तावमा एमालेको आधिकारिक दस्तावेजमा उल्लेख भएका कतिपय विषयले प्रजातान्त्रिक शक्तिको रुपमा स्विकार्न सक्ने अवस्था नभएको कांग्रेसको ठहर थियो । तर संविधानको विषयमा प्रष्ट धारणा आएको भन्दै राप्रपालाई भने राजनीतिक स्थायित्वका लागि उक्त संयुक्त सरकारमा राखेर सँगसँगै लिएर हिँडेको भनाइ कांग्रेसको थियो । ०४६ को परिवर्तन भएको ७ वर्ष नबित्दै कांग्रेसले राप्रपालाई विश्वासिलो प्रजातान्त्रिक शक्ति मानेको थियो । त्यतिबेला राप्रपाको समर्थनमा शेरबहादुर देउवा प्रधानमन्त्री थिए ।

त्यसैले राजनीतिक प्रस्तावमा संयुक्त सरकार जोगाउपर्ने उल्लेख गरिएको थियो । कांग्रेस सभापतिमा १९ वर्षपछि नयाँ अनुहारको नेतृत्व चुनिएको, सन्दर्भसहित कोइरालासँग चिरञ्जीवीले गरेको प्रतिस्पर्धालाई समेटेर पत्रकारहरु विश्वमणि पोखरेलसहितका पत्रकारहरुले तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५२ वैशाख २८ मा प्रकाशित गरेको थियो । समाचारमा कांग्रेसको अर्थ नीति र राजनीतिक धारको प्रस्ताव उल्लेख गरिएको थियो । साथै कांग्रेस महाधिवेशनले एमालेलाई उसको दस्तावेजको आधारमा पूर्ण प्रजातान्त्रिक पार्टीको रुपमा स्विकारेको थिएन ।

प्रस्तुतिः ऋषिराम पौड्याल  

कान्तिपुर

Link copied successfully