अमेरिकी सहयोग नियोग (यूएसआईडी)द्वारा सञ्चालित ‘र्यापिड प्रोजेक्ट’ ले निर्माण गरेको नेपालको राष्ट्रिय विकासमा जनसंख्या वृद्धिदरको प्रभाव शीर्षकको वृत्तचित्रका अनुसार वृद्धिदर त्यही अवस्था कायम रहेमा ४० वर्षपछि अर्थात् २०९२ मा नेपालको जनसंख्या ७ करोड १० लाख पुग्ने अनुमान गरिएको थियो ।
What you should know
काठमाडौँ — ३० वर्षअघि नेपालको जनसंख्या २ करोड थियो । मृत्युदरमा कमी र जनसंख्या वृद्धिमा त्यही अनुपात रहेमा २७ वर्षपछि अर्थात् २०७८ मा नेपालको जनसंख्या ४ करोड पुग्ने अनुमान गरिएको थियो ।
त्यतिबेलाको प्रक्षेपणका आधारमा आजभन्दा तीन वर्षअघि नै नेपालको जनसंख्या ४ करोड पुग्नु पर्थ्यो । तर, १२ औं राष्ट्रिय गणना २०७८ अनुसार अहिले नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ ।
५० को दशकमा नेपालको जनसंख्या वृद्धि अनुपात २.६ प्रतिशत थियो । ०६८ को जनगणनाअनुसार जनसंख्या वृद्धिदर १.४० प्रतिशत थियो । जनगणना २०७८ अनुसार जनसंख्या वृद्धिर ०.९१ प्रतिशत रहेको छ । तीन दशकअघि मृत्युदरमा अप्रत्यासित कमी आएको अनुमान गरिएको थियो । तर जन्मदरे घटेको थिएन ।
मृत्युदर वार्षिक प्रति एक हजारमा २७ को मृत्यु हुने गरेकामा २०५२ मा पुग्दा १५ मा झरेको थियो । जीवाणु निरोधक आधुनिक औषधि र जनसंख्या कार्यक्रमको प्रभावले मृत्युदर घटेको अनुमान गरिएको थियो । तर जनसंख्या कम गर्न प्रभावकारी कार्यक्रम ल्याउन नसकेकामा त्यतिबेला राज्यको आलोचना हुने गरेको थियो ।
औसत दम्पतीमा ५ देखि ६ सन्तान हुने गरेको थियो भने प्रत्येक वर्ष अन्दाजी ५ लाख जनसंख्या बढेको थियो । ग्रामीण कृषि समाजमा जन्मदर र मृत्युदर धेरै थियो । ग्रामीण समाजमा शिशु मृत्युदर धेरै हुने र परम्परागत व्यवसाय धान्नका लागि पनि बच्चा धेरै जन्माउन चाहन्थे । नेपालमा शिशु मृत्युदर दक्षिण एसियाली मुलुकभन्दा धेरै थियो । नवजात शिशु १ हजारमा बर्सेनि १ सय २ जनाको मृत्यु हुने गरेको थियो । ![[Archive] This was the population growth estimate three decades ago...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-8-1412026070024-1000x0.jpg)
त्यतिबेला प्रजनन उमेरबाट बाहिर निस्कने महिलाभन्दा पनि बयष्क महिला बढिरहेको तथ्यांक थियो । त्यसैले केही दशकसम्म जनसंख्या बृद्धिदर नघट्ने सरकारी अनुमान थियो । ठूलो संख्यामा प्रजनन उमेरमा प्रवेश गरेका महिलालाई प्रजनन उमेर पूरा गर्न ४० वर्ष लाग्ने अनुमानका आधारमा शिशु जन्मने दर कायम रहने अनुमान गरिएको थियो ।
प्रजनन प्रतिदम्पती २ जना शिशुमा झारे पनि ४० वर्षसम्म वृद्धिदर कायम रहने अनुमान गरिएको थियो । प्रजनन दर कम गर्न त्यतिबेला गरिएको प्रयासलाई मात्र आधार मान्ने हो भने प्रतिमहिना प्रजनन दर ४ मा झर्ने प्रक्षेपण गरिएको थियो ।
अमेरिकी सहयोग नियोग (यूएसआईडी)द्वारा सञ्चालित ‘र्यापिड प्रोजेक्ट’ ले निर्माण गरेको नेपालको राष्ट्रिय विकासमा जनसंख्या वृद्धिदरको प्रभाव शीर्षकको वृत्तचित्रका अनुसार वृद्धिदर त्यही अवस्था कायम रहेमा ४० वर्षपछि अर्थात् २०९२ मा नेपालको जनसंख्या ७ करोड १० लाख पुग्ने अनुमान थियो । २०४८ को राष्ट्रिय जनगणना तथा स्वास्थ्य सर्वेक्षणमा आधारित उक्त वृत्तचित्र रवि बरालको निर्देशनमा बनेको थियो । वृत्तचित्रमा नेपालको विकासमा जनसंख्या वृद्धिदर चुनौतीपूर्ण रहेको देखाइएको थियो ।
त्यतिबेलाकै जनसंख्याको अनुपात कायम रहने हो भने ४० वर्षपछि अर्थात् ०९२ सम्ममा २४ जना नेपालीको भागमा १ हेक्टर जमिन पर्ने अनुमान गरिएको थियो । त्यसबेला भने ६ जना नेपालीको भागमा १ हेक्टर जमिन रहेको अनुमान थियो । त्यतिबेला प्राथमिक विद्यालय जाने बालबालिको संख्या २६ लाख थियो भने ०९२ मा ८८ लाख पुग्ने अनुमान गरिएको थियो । ५० को दशकमा प्राथमिक तहका लागि ७१ हजार शिक्षक रहेका थिए । तर ०९२ मा ३ लाख २८ हजार शिक्षक आवश्यक हुने देखिएको थियो ।
नर्सको संख्या २ हजार ८ सय थियो भने सरकारले स्वास्थ्य सेवाका लागि वार्षिक बजेट ६० करोड विनियोजन गरेको थियो । कुल जनसंख्याको ४३ प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेको र उनीहरूका लागि मुलुकको ठूलो स्रोत स्वास्थ्य, शिक्षा र पोषणका लागि खर्च गर्नुपर्ने अवस्था रहेको थियो । जबकि, आजभन्दा ३० वर्षअघि विकसित मुलुकमा २० प्रतिशत बालबालिका मात्र १५ वर्षमुनिका थिए ।
नेपालमा जनसंख्या वृद्धि अनुपात र अनुमान, शिशुजन्म तथा मृत्युदर एवं यसबाट दीर्घकालीन रूपमा मुलुकलाई पर्ने प्रभावका विषयमा केन्द्रित भएर कान्तिपुर दैनिकले २०५२ माघ ७ मा ‘यसरी बढिरहेको छ नेपालको जनसंख्या’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । तर अहिले त्यतिबेला आंकलन गरिएको सबै अनुमानमा धेरै अन्तर रहेको पाइन्छ । अर्थात् शिशु मृत्यु र जन्मदर घटेको छ । यसको असरले जनसंख्या वृद्धिदरको अनुमान पूर्ण रूपमा असफल देखिएको छ ।
खासगरी नेपालले पछिल्लो दशकमा प्रजनन स्वास्थ्यको क्षेत्रमा गरेको सुधारले यो अवस्था आएको हो । त्यसले आमा र शिशुको मृत्यु अनुपात ह्वात्तै घटेको छ । नेपालको यो प्रगतिलाई विश्व स्वास्थ्य संगठनले पनि प्रशंसा गरेको छ ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] This was the population growth estimate three decades ago...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/population-2432021035525-1412026070009-1000x0.jpg&w=1001&h=0)