[अर्काइभ] गोविन्द उप्रेतीले राधाकृष्णविरुद्ध नारा लाउन थालेपछि... 

मल खरिदका लागि राजधानीको भद्रकालीस्थित कृषि सामग्री संस्थानमा विभिन्न जिल्लाबाट आएका किसानहरु १४ घण्टासम्म लाइन बसेको उदाहरण भेटिन्थ्यो ।

मंसिर २६, २०८२

कान्तिपुर संवाददाता

[Archive] After Govinda Upreti started raising slogans against Radha Krishna...

What you should know

काठमाडौँ — २०५२ असारमा सरकारले तोकेको मूल्यअनुसार कृषि सामग्री संस्थाले प्रतिबोरा रासायनिक मल २ सय ८५ मा बिक्री गर्नुपर्थ्यो । तर किसानले खेतीको समयमा सरकारले उपलब्ध गराएको मूल्यमा रासायनिक मल पाउँदैनथे ।

मल खरिदका लागि राजधानीको भद्रकालीस्थित कृषि सामग्री संस्थानमा विभिन्न जिल्लाबाट आएका किसानहरु १४ घण्टासम्म लाइन बसेको उदाहरण भेटिन्थ्यो । 

सरकारले मलमा अनुदान दिएर किसानलाई परल मूल्यको ५० प्रतिशतभन्दा पनि कम मूल्यमा रासायनिक मल उपलब्ध गराउँदै आएको थियो । तर सरकारले उपलब्ध गराएको मल किसानले पाउँदैनथे । उनीहरु कालोबजारियाबाट प्रतिबोरा ६ सय ५० सम्ममा मल किन्ने गर्थे । मल नपाउने समस्या काठमाडौंमा मात्र होइन मुलुकभर नै थियो । त्यतिबेला पनि रासायनिक मल प्राप्त गर्न उपत्यका बाहिरका किसानले ७ दिनदेखि घर छाडेर सडकमा लाइन बस्नुपर्ने अवस्था थियो । यसको उदाहरणमध्येको एक किसान थिए, ‘काभ्रे गोठपानीका हर्क गिरी ।’ उनी २०५२ असारमा रासायनिक मल खोज्दै दोलालघाट आएका थिए । यातायातको सुविधा थिएन । मल आज आउँछ, भोलि आउँछ भन्दाभन्दै दोलालघाट आएको ७ दिनको दिन पनि उनी मलको प्रतिक्षामै थिए । युरिया मल किन्न श्रीमतीको तिलहरी फुकालेर घरबाट हिँडेका थिए । उनले श्रीमतीको तिलहरी दोलालघाटमा १ सय ५० रुपियाँमा धरौटी राखेका थिए । उनले कान्तिपुरसँग भनेका थिए, ‘अब मल आयो भनेपनि किन्ने पैसा छैन । तिलहरी पनि छैन, मल पनि छैन, अब घर कसरी जानु स्वास्नीले भित्रै पस्न दिन्न ।’ गहना धरौटी राखेर साहुसँग लिएको पैसा दोलालघाट बसेर खाँदाखाँदै सकिएको थियो । हर्क मात्र होइन सिन्धुली दुम्जाका हरिबहादुर मल खोज्दै सुनकोशीको किनारै किनार दोलालघाट आएका थिए । उनले भनेका थिए, ‘तीन सयको मल खोज्दा र्नौ सय सकियो ।’ हर्क र हरिबहादुर जस्तै काभ्रे ज्याम्दीका किसान षडानन्द जेठ देखि नै मल खोज्दै दिनको एक पटक दोलालघाट आउने गर्थे । उनलाई चार बोरा युरियामल आवश्यक रहेकोमा ४ सय ६० मा एक बोरा पाएका थिए ।

मल नपाएपछि किसानहरुले अरनिको यातायात सञ्चालनमा एक दिन रोक लगाएका थिए । खुट्टामा चप्पल नभएका, फाटेको कपडा लगाएका, नाम्लो र बोरा हातमा लिएका सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली र रामेछापका ५ सय किसानले दोलालघाटमा पुलमा दिनभर धर्ना दिएका थिए । उनीहरुको माग थियो,‘काभ्रेका प्रमुख जिल्ला अधिकारीले मल ल्याइदिनुपर्‍यो ।’  काभ्रेका तत्कालिन प्रजिअ पुण्यप्रसाद न्यौपानेले अघिल्लो दिन मल आउने खबर पठाएका कारण किसानहरु भेला भएका थिए । तर त्यो दिन मल नआएपछि काभ्रे होक्सेका किसान इन्द्र तामाङले प्रश्न गरेका थिए, ‘सिडिओ जस्तो जिल्लाको हाकिमले पनि जनतालाई झुक्याउनुहुन्छ ?’ काभ्रेका तत्कालिन डिएसपी अर्जुनजंग शाहीले दुईदिनपछि मल ल्याउने त्यसो नभए फेरि आन्दोलन गर्न सुझाएपछि किसानले सडक छाडेका थिए । 

राधाकृष्णविरुद्ध बामदेवको नारा  

किसानहरु सडकमा अलमलमा परेकाबेला त्यस क्षेत्रका पूर्व सांसद मारुती भ्यान चढेर दोलालघाट आएका थिए । फटाफट दोलालघाट प्रहरी चौकीमा पसेर प्रजिअ न्यौपाने र डिएसपी शाहीलाई भटेका थिए । केही छिनपछि उनी चौकीबाट निस्केर कृषि तथा भूमिसुधार मन्त्री राधाकृष्ण मैनालीवरुद्ध नारा लगाएका थिए । उनले राधाकृष्ण राजीनामा दे भनेका थिए । आक्रोसित मुद्रामा रहेको उप्रेतीले भीडबाट भनेका थिए,‘हाम्रै पार्टीको सरकारका मन्त्रीले काम गर्न नसकेर यसो भएको हो, एउटा विभाग चलाउन नसक्नेलाई तीन/तीन वटा विभाग दिइएको छ, नसक्नेले राजीनामा गरे अर्को बहादुरआएर चलाउँछ । दोलालघाट पारी घर भएका उप्रेतीले पञ्चातयकालमा पनि त्यहीं बसेर किसानको पक्षमा बोल्ने गरेको चर्चा थियो । दोलालघाटबाट लैजाने मल, खाद्यान्न जस्ता बस्तु काभ्रेका जनतालाई आवश्यकता भएसम्म अन्यत्र लैजान नपाउने अडान लिने गरेका थिए । पञ्चायतमा पनि एक पटक राष्ट्रिय पञ्चायत सदस्य जितेका उप्रेती आवश्यक परेमा आफैं अघि सरेर सामान खोस्न पनि पछि नपर्ने स्वभाव उनको थियो । उनले मल खोजिरहेका किसानको सहानुभूति बटुल्दै भीडमा भनेका थिए, ‘पार्टी छाड्न परे परोस म राधाकृष्णलाई छोडदिन ।’

भीडमा एकाथरी एमाले कार्यकर्ताले हाम्रो सरकार ढाल्न कांग्रेसले मल आउन नदिएको तर्क गरिरहेका थिए । भीडमा दोलालघाटकै एक जना एमाले कार्यकर्ताले भन्दैथिए, ‘हामीले हाम्रो जग्गा बिगार्‍यौं । विदेशीले दिने मल नआउँदा यस्तो हाहाकार भयो । बुझनु भयो पहिला पहिला मकैको बोटैपिच्छे हग्ने गरिन्थ्यो, कस्तो मल लाग्थ्यो, विदेशी मलभन्दा पनि चर्को । तर आजभोलि त्यसो गर्दैनौं ।’ उनले घर गएर मकैको बोटमा दिसा गर्न सुझाएका थिए । उनले आफ्नो मल आफैं जागाऔं अभियान चलाउनुपर्ने सुझाव दिएका थिए । त्यही हुलमा कविलास गाउँबाट आएका सुकुमान तामाङले यो मान्छेले के खोजेको हो हामी जंगली हौं भन्दै जंगिएका थिए । कसैले ति राजनीतिक कार्यकर्तालाई इन्द्रावतीमा खसाल्ने कुरा गर्दै थिए । त्यतिनैबेला उप्रेती त्यहाँ आएर आफ्नै कार्यकर्तालाई बकबक नगर भन्दै थप्पड हानेका थिए । त्यतिबेला बाह्रबिसे र धुलिखेलका डिपोहरु रित्तिएको थियो भने किसानले कालोबाजीबाट मल खरिद गरिरहेका थिए । दोलालघाटमा झण्डै दुई ट्रक मल लुकाएर राखेको भनाई स्थानीयको थियो । दोलालघाट सडक कार्यालयका कर्मचारीले भनेका थिए,‘व्यापारीको गोदाम जाँच गर्ने हो भने त्यो भेटिन्छ ।’ 

 किसानले मलको अभाव कसरी खेपिरहेका छन् ? त्यही वरिपरी रहेर दोलालघाटको घटनालाई सन्दर्भ बनाएर पत्रकार तारानाथ दाहालले तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५२ असार २५ गते ‘तिलहरी बेचियो मल पाइनँ, घर कसरी जाने ? शीर्षकमा प्रकाशित गरेको थियो । २०४६ को परिवर्तनपछि राजनीतिक दलहरुले सत्ता सम्हालेको झण्डै ३५ वर्ष बिते पनि खेती गर्ने समयमा मलको हाहाकार अहिले पनि उस्तै छ । 

प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully