उता एमाले ८८ सिट जितेर सबैभन्दा ठूलो पार्टी बन्ने निश्चित भएपछि सरकार गठनको चर्चा सुरु भएको थियो । कांग्रेस ८३ सिटमा खुम्चिएको थियो । त्यसअघि कांग्रेसले १ सय १० र एमाले ६९ सिटमा विजयी हासिल गरेका थिए ।
What you should know
काठमाडौँ — मध्यावधि निर्वाचन नेपाली कांग्रेसका लागि सहज थिएन । पार्टीभित्रको चरम गुटबन्दी र विद्रोहीहरूको लर्कोले आधिकारिक उम्मेदवारहरू निकै कमजोर देखिन्थे । बहुमतको सरकार आफैंले ढालेका कारण कांग्रेस नैतिक रूपमा कमजोर थियो ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र २०४६ को आन्दोलनका कमान्डर गणेशमान सिंहबीचको मनमुटाव सतहमा आएको थियो । कोइरालाप्रति असन्तुष्टि जाहेर गर्दै गणेशमानले कांग्रेस नै छाडेको घोषणा गरिसकेका थिए । उनले ‘कांग्रेसका भ्रष्ट उम्मेदवारलाई हराऔं’ भन्ने अभियान नै चलाएका थिए ।
त्यही पृष्ठभूमिमा प्रतिनिधिसभाका लागि २०५१ कात्तिक २९ मा भएको मध्यावधि निर्वाचनले सत्तारुढ कांग्रेसलाई कमजोर बनाएको थियो । सत्तामा रहँदारहँदै मध्यावधि निर्वाचन गराएकामा कतिपय मतदाता रिसाएका पनि थिए । त्यसैले कांग्रेसका ‘हस्ती’ भनिएका नेताहरू पनि पराजित भएका थिए ।
निर्वाचनमा जित/हार स्वाभाविक भए पनि अनुमान नै नगरिएका नेताहरू विजय र पराजय हुँदा मध्यावधि निर्वाचनको परिणाम निकै रोचक देखिएको थियो । खासगरी २०४८ को निर्वाचनमा एकलौटी बहुमत ल्याएको कांग्रेसले सबैभन्दा बढी क्षति बेहोरेको थियो भने अन्य दलका नेताहरू पनि यसको मारमा परेका थिए ।
प्रजातन्त्र प्राप्तिपछि पञ्चको आरोपमा खेदिएकाहरूले पनि मध्यावधि निर्वाचनमा राहत महसुस गरेका थिए । पञ्चायतका पूर्वप्रधानमन्त्रीहरू सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा रहेका दुईवटा राष्ट्रिय प्रजातन्त्र पार्टीले अघिल्लो निर्वाचनमा प्रतिनिधिसभाका लागि ११ सिट जितेकामा यसपटक २० सिट जितेका थिए । ![[Archive] That mid-term when UML came close to power by defeating the 'elephants' of the Congress...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/page1kpr-2-19102025055636-1000x0.jpg)
अघिल्लो निर्वाचनमा कांग्रेसले कर्णालीपारिको सुदूरपश्चिबाट १९ मध्ये १८ सिट जितेको थियो । यसपटक भने ४ सिट जित्यो । एमालेले मध्यावधिमा सुदूरपश्चिमबाट ११ सिट जितेको थियो । तत्कालीन गृहमन्त्री तथा कांग्रेसका सुदूरपश्चिमका कामान्डरका रूपमा चिनिएका शेरबहादुर देउवा पनि यसपटक पार्टीको आन्तरिक विद्रोहका कारण नेतृत्व गर्न असफलजस्तै देखिएका थिए ।
सुदूरपश्चिममा तारणीदत्त चटौत र देउवाको आन्तरिक प्रतिस्पर्धाले कांग्रेसले ठूलै हार बेहोरेको थियो । चटौतलाई गिरिजाप्रसादले उभ्याएको आरोप लागेको थियो । उनी कांग्रेसको संसदीय दलको सचेतक पनि भएका थिए । सुदूरपश्चिममा एमालेका प्रेमसिंह धामीले कमाण्ड सम्हालेका थिए ।
२०४८ को निर्वाचनपछि एमालेले सुदूरपश्चिमको संगठनलाई प्राथमिकता पनि दिएको थियो । त्यसको श्रेय पार्टीले धामीलाई दिने गरेको थियो । उनी अघिल्लो निर्वाचनमा कञ्चनपुरबाट पराजित भएका थिए भने मध्यावधिमा दार्चुलाबाट जितेका थिए । ![[Archive] That mid-term when UML came close to power by defeating the 'elephants' of the Congress...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/page1kpr-1-19102025055639-1000x0.jpg)
कैलालीबाट राप्रपाका लोकेन्द्रबहादुर चन्द र एक जना विद्रोही उम्मेदवार पनि जितेका थिए । धनकुटाबाट सर्यबहादुर थापाले जितेका थिए । २०४६ को आन्दोलन दबाउन सक्रिय भूमिका निर्वाह गरेको आरोप लागेका मकवानपुरका कमल थापा मध्यावधिमा निर्वाचित भएका थिए । आन्दोलनताका थापा पञ्चायती सरकारको सञ्चार राज्यमन्त्री थिए । उनले एमालेका कृष्णप्रसाद दाहाललाई पराजित गरेका थिए । अघिल्लो निर्वाचनमा थापा दाहालबाटै पराजित भएका थिए ।
पाँचथरमा राप्रपाका पद्मसुन्दर लावतीले जितेका थिए । उनले एमालेका डम्बरसिंह तुम्वाहाम्फेलाई हराएका थिए । पाल्पामा गत निर्वाचनमा तीनै सिट जितेको कांग्रेसले मध्यावधिमा सबै सिट गुमाएको थियो । प्रधानमन्त्री कोइरालाको निकट सहयोगीका रूपमा चिनिएका सुशील कोइराला बाँकेबाट पराजित भएका थिए भने निवर्तमान सभामुख दमननाथ ढुंगाना काठमाडौं क्षेत्र नम्बर २ बाट एमालेकी विद्यादेवी भण्डारीसँग पराजित भएका थिए ।
कांग्रेस काठमाडौं जिल्ला सभापति प्रकाशमान सिंह पनि पराजित भएका थिए । त्यस्तै कञ्चनपुरबाट नेपाल विद्यार्थी संघका अध्यक्ष एनपी साउद पराजित भएका थिए । इलामबाट कांग्रेसका पुराना नेता कुलबहादुर गुरुङ, कास्कीबाट तारानाथ रानाभाट, स्याङ्जाबाट रुद्रमान गुरुङ, रूपन्देहीबाट तत्कालीन राज्यमन्त्री रामकृष्ण ताम्राकार पराजित भएका थिए । संयुक्त जनमोर्चाका महासचिव लीलामणी पोखरेललाई कृष्णगोपाल श्रेष्ठले पराजित गरेका थिए । श्रेष्ठले पोखरेलको धरौटी जफत गराएका थिए । पोखरेललाई ‘भण्डाफोरवादी’ उम्मेदवारका रूपमा चिनिन्थ्यो ।
अत्यन्त थोरै मतको अन्तरले हार/जित भएका रोचक घटना पनि भएका थिए । गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद्मा शक्तिशाली मानिएका जलस्रोत राज्यमन्त्री लक्ष्मण घिमिरे रामेछापबाट ११ मतले पराजित भएका थिए ।
सप्तरी–१ मा कांग्रेसका जयप्रकाश गुप्ताले भने अघिल्लो निर्वाचनमा आफैंलाई पराजित गर्ने हीरालाल चौधरीलाई पराजित गरेका थिए । पाँचथरमा दीपककुमार बास्कोटाले एमालेका बसन्तकुमार नेम्वाङलाई पराजित गरेका थिए । मोरङमा कांग्रेसका बद्रीनारायण बस्नेतले एमालेका लालबाबु पण्डितलाई हराएका थिए । अघिल्लो निर्वाचनमा पण्डितले बस्नेतलाई हराएका थिए । ![[Archive] That mid-term when UML came close to power by defeating the 'elephants' of the Congress...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/page1kpr-19102025055642-1000x0.jpg)
उता एमाले ८८ सिट जितेर सबैभन्दा ठूलो पार्टी बन्ने निश्चित भएपछि सरकार गठनको चर्चा सुरु भएको थियो । कांग्रेस ८३ सिटमा खुम्चिएको थियो । त्यसअघि कांग्रेसले १ सय १० र एमाले ६९ सिटमा विजयी हासिल गरेका थिए । एमाले महासचिव माधवकुमार नेपालले सरकार गठनका लागि सबै विकल्प खुला रहेको बताएका थिए । उनले मुलुकमा भ्रष्टाचारविरोधी काममा लाग्ने उद्घोष गरेका थिए । प्रतिपक्षमा रहेका बेला अरुण तेस्रो जलविद्युत् आयोजनाविरुद्ध लागेको एमालेले आफू सरकारमा गएपछि त्यसको छिनोफानो गर्ने बताएको थियो ।
मध्यावधि निर्वाचनमा एमाले पार्टीले प्रतिनिधिसभामा सबैभन्दा धेरै सिट सांसद जितेर सरकार बनाउने तयारी गरेको, कांग्रेसका हस्ती नेताहरू पराजित भएको र कांग्रेसले २०४८ को निर्वाचनमा आफ्नो वर्चश्व राखेका क्षेत्रहरूमा पराजित भएको सन्दर्भलाई समेटेर कान्तिपुर दैनिकले तयार गरेको ‘एमालेले मिलिजुली सरकार बनाउने, सुदूरपश्चिममा आश्चर्यजनक परिवर्तन, हार्नेहरूले जिते, जित्नेहरूले हारे’ जस्ता शीर्षकका २०५१ मंसिर ४ मा समाचार प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] That mid-term when UML came close to power by defeating the 'elephants' of the Congress...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/umlpartyoffice-19102025055953-1000x0.jpg&w=1001&h=0)