मुलुकका २०५ निर्वाचन क्षेत्रमा २४ दल र स्वतन्त्रसमेत गरी १ हजार ४ सय २९ जना उम्मेदवार प्रतिस्पर्धाको मैदानमा उत्रिएका थिए ।
What you should know
काठमाडौँ — नेपाली कांग्रेसको आन्तरिक कलहले २०५१ कात्तिक २९ मा प्रतिनिधिसभाका लागि मध्यावधि निर्वाचनको मतदान तोकिएको थियो । यो २०४६ को परिवर्तनपछि दोस्रो संसदीय निर्वाचन थियो ।
विशेषतः कांग्रेस र एमालेबीचको अन्तरद्वन्द्वका कारण निर्वाचनको प्रचार–प्रसारको सिलसिलामा आधा दर्जनभन्दा बढीको ज्यानै गएको थियो । दर्जनौं सर्वसाधारण तथा पार्टीका नेता–कार्यकर्ता घाइते भएका थिए । दाङ, पाल्पा, सुनसरी, मोरङ, सिन्धुपाल्चोकलगायतका जिल्लामा हत्या, दलका कार्यकर्ताबीच कुटाकुट, प्रहरी हस्तक्षेपलगायतका कारणले निर्वाचनको माहोल बिग्रने त होइन भन्ने शंकाहरू पनि चर्चामा थियो ।
मधेशका जिल्लाहरूमा भारतीय नेताहरू उपस्थित भएर आफूले जिताउन चाहेको उम्मेदवारको पक्षमा भोट मागेका थिए । कांग्रेसभित्रको चरम गुटबन्दीका कारण ५० भन्दा बढी स्थानमा विद्रोही उम्मेदवार खडा भएका थिए । तर, निर्वाचनमा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने अवस्था बनेको थियो । केही घटनाक्रमले चुनावी परिस्थिति असहज जस्तै लागे पनि मुलुकको समग्र स्थिति भने चुनावमय थियो ।
उम्मेदवारले घोडा चढेर मतदातासमक्ष पुग्ने, भारतीय नेता नेपाल आएर मत माग्ने, मतदातालाई हवाईजहाज चढाएर मत खसाल्न लैजाने जस्ता रोचक प्रसंग पनि देखिएका थिए । भारतबाट चुनाव प्रचारमा आएका नेताहरूलाई सरकारी संयन्त्रले नै फिर्ता पठाएका घटना पनि भएका थिए । ![[Archive] This is how the mid-term elections were held 31 years ago](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/page1kpr-18102025124758-1000x0.jpg)
मुलुकका २०५ निर्वाचन क्षेत्रमा २४ दल र स्वतन्त्रसमेत गरी १ हजार ४ सय २९ जना उम्मेदवार प्रतिस्पर्धाको मैदानमा उत्रिएका थिए । दलका मात्र उम्मेदवार १ हजार ५७ जना थिए । महिला उम्मेदवार स्वतन्त्रसमेत ८६ जना थिए । मतदाता संख्या १ करोड २२ लाख ९६ हजार २ सय १९ थियो । तीमध्ये महिला मतदाता संख्या ६१ लाख ६ हजार १ सय ८० थियो ।
२०४८ को निर्वाचनमा महिला मतदाता ५३ लाख १८ हजार ३ सय ५० थियो । साढे तीन वर्षअघिको भन्दा महिला मतदाता संख्या ७ लाख ८७ हजार ८ सय ३० ले बढेको थियो । मतदान केन्द्र ७ हजार ४ सय १२ तथा उपकेन्द्र ८ हजार १ सय ९१ थिए । उक्त निर्वाचनमा काठमाडौंको निर्वाचन क्षेत्र–१ मा सबैभन्दा धेरै १८ उम्मेदवार थिए । सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्ला काठमाडौं र मोरङ थियो । त्यतिबेला दुई जिल्लामा ७–७ निर्वाचन क्षेत्र कायम गरिएको थियो ।![[Archive] This is how the mid-term elections were held 31 years ago](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/page3kpr-3rd-18102025124808-1000x0.jpg)
काठमाडौं सबैभन्दा धेरै मतदाता भएको जिल्ला थियो । सबै निर्वाचन क्षेत्रमा ४ लाख ८३ हजार ९ सय २१ मतदाता रहेका थिए । मनाङमा सबैभन्दा कम ६ हजार ७ सय ६३ मतदाता थिए । निर्वाचन अनुगमन गर्न २८ देशका १ सय ३० जना अन्तर्राष्ट्रिय पर्यवेक्षक नेपाल आएका थिए । निर्वाचनमा स्वदेशी र विदेशी गरी १ हजार १ सय २५ जना पर्यवेक्षकले अनुगमन गर्ने तयारी थियो । २०४८ को संसदीय निर्वाचनमा २२ देशका ६४ जना पर्यवेक्षकले अवलोकन गरेका थिए । निर्वाचनमा ७१ हजार कर्मचारी र एक लाख सुरक्षाकर्मी परिचालित थिए ।
निर्वाचनमा मतदान गर्न हवाईजहाज चढेर पनि केही मतदाता आ–आफ्नो थातथलो गएका थिए । मुस्ताङ र मनाङका मतदाताले जिल्ला जानका लागि जहाज चार्टर गरेका थिए । पोखरामा बसोबास गर्ने मतदाताले शाही नेपाल वायुसेवा निगमका ७ वटा जहाज चार्टर गरेका थिए । त्यस्तै एभरेस्ट एयरको जहाज पनि चार्टर गरिएको थियो । मुस्ताङबाट कामको खोजीमा हिँडेकाहरूलाई पाल टाँगेर जोमसोममा राखिएको थियो । मतदानका लागि चुनावका दिन मुस्ताङ जाने भएकाले पोखराका सबै थकाली होटल बन्द हुने सञ्चालकहरूले बताएका थिए । ![[Archive] This is how the mid-term elections were held 31 years ago](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/page3kpr-2nd-18102025124803-1000x0.jpg)
मध्यावधि निर्वाचनमा देखिएको प्रचारशैली, चुनावी प्रचारका सिलसिलामा भएको हिंसात्मक गतिविधि तथा निर्वाचनको सरकारी तयारीका विषयमा केन्द्रित रहेर पोखराबाट पत्रकारहरू पुरुषोत्तम मरहठ्ठा, मुस्ताङबाट विकास रौनियार तथा काठमाडौंबाट राष्ट्रिय समाचार समिति (रासस)ले तयार गरेको ‘आज अधिराज्यभर मतदान, मतदान गर्न हवाईजहाज नै चार्टर’ शीर्षकको समाचार कान्तिपुर दैनिकले २०५१ कात्तिक २९ मा मतदानकै दिन छापेको थियो । मुस्ताङमा घोडा चढेर चुनावी प्रचार गरेको फोटो पनि प्रकाशित गरिएको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] This is how the mid-term elections were held 31 years ago](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/1566906163election-1-18102025124725-1000x0.jpg&w=1001&h=0)