तत्कालीन निर्माण तथा यातायात मन्त्री खुमबहादुर खड्काकै आदेशमा प्रहरीले गोली चलाएर आफ्ना कार्यकर्ताको हत्या गरेको आरोप एमालेले लगाएको थियो ।
What you should know
काठमाडौँ — २०५१ कात्तिक १७ मा दाङमा गोली चलाएको घटनालाई बिजौरी हत्या काण्डका रूपमा चित्रण गरिन्छ । मध्यावधि निर्वाचनका सिलसिलामा चुनाव प्रचार–प्रसारका क्रममा आफ्ना तीन जना कार्यकर्ता तथा समर्थकको प्रहरी गोलीबाट मृत्यु भएको घटनालाई एमालेले अहिले पनि बेलाबेलामा सम्झने गरेको छ ।
उक्त घटना किन पनि चर्चित भयो भने तत्कालीन निर्माण तथा यातायात मन्त्री खुमबहादुर खड्काकै आदेशमा प्रहरीले गोली चलाएर आफ्ना कार्यकर्ताको हत्या गरेको आरोप एमालेले लगाएको थियो ।
कांग्रेस कार्यालय दाङको बिजौरी नजिकै भएको उक्त गोली काण्डमा घटनास्थलमै एक जना र काठमाडौंमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको थियो । अस्पतालले २७ जना घाइते भएकामा १२ जनालाई गोली लागेको जानकारी दिएको थियो । तीमध्ये ७ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
निर्वाचनका क्रममा सत्तारुढ पार्टीका एक मन्त्रीको उपस्थितिमा गोली प्रहार गरेको घटनाले कांग्रेस र एमालेबीचको सम्बन्ध निकै चिसिएको थियो । एमालेका कतिपय नेताले त मन्त्री खड्काले नै गोली चलाएको आरोप लगाएका थिए । उनले भने आफू गोली चल्ने बेलामा ससुरालीमा रहेको स्पष्टीकरण दिएका थिए । गोली चलेको थाहा पाएपछि मात्र बिजौरीमा आएको मन्त्री खड्काको दाबी थियो ।
मध्यावधि निर्वाचनको प्रचारप्रसारका बेला भएकाले खुमबहादुरलाई ‘बिजौरी हत्या काण्डका नाइके’ भन्दै एमालेले मुलुकभर नै कांग्रेसलाई निकै अप्ठ्यारो बनाएको थियो । उक्त हत्याकाण्डलाई एमालेले चुनावी नारा बनाएर मुलुकभर प्रचार गरेको थियो । ![[Archive] The bizarre case where Khum Bahadur was accused of murder...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/2051-7-21-15102025020731-1000x0.jpg)
कांग्रेस र एमाले कार्यकर्ताबीच भएको चुनावी झगडाबाट उब्जेको समस्या बढ्दै गएर प्रहरी हस्तक्षेपको स्थिति बनेको थियो । २०५१ कात्तिक १६ गते प्रतिनिधिसभा क्षेत्र ३ को दुधरासरीबाट चुनावी प्रचारमा निस्केको कांग्रेसको जुलुसमाथि एमाले कार्यकर्ताले लमसोतीमा ढुंगामुढा गर्दा वीरेन्द्र डाँगीाको हात भाँच्चिएको थियो । हीरालाल ओली र आशाराम विक घाइते भएका थिए । उक्त हमलाका विरुद्ध कांग्रेस कार्यकर्ता उत्तेजित भएर एमाले कार्यालयमा ढुंगामुढा गरेका थिए । भोलिपल्ट अर्थात् १७ गते निर्वाचन क्षेत्र नम्बर ३ का एमाले उम्मेदवार (हालका एमाले महासचिव) शंकर पोखरेलको हाडिमे गाउँस्थित घरमा भेला भएर आएका पार्टी कार्यकर्तालाई बिजौरीमा प्रहरीले रोकेको थियो ।
दाङका तत्कालीन प्रहरी उपरीक्षक सूर्यध्वज खाँणले एमाले जुलुस कांग्रेस कार्यालयतिर जान लागेकाले बीचैमा रोकेको बताएका थिए । जुलुसको नेतृत्व पूर्वसांसद शिवराज गौतम, एमाले दाङका सचिव श्रीमणि आचार्य, क्षेत्र नम्बर ३ का सांसद उम्मेदवार शंकर पोखरेललाई जुलुस अघि नबढाउन प्रहरीले अनुरोध गरेको थियो । कांग्रेस र एमालेबीच झडप हुने र असामान्य स्थिति बनेकाले लाठीचार्ज गरेको र अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको थियो । प्रहरीले आफूमाथि नै जुलुसमा सहभागीहरूले ढुंगा प्रहार गरेपछि फायरिङ गरेको दाबी गरेको थियो ।
जुलुसमा गोली प्रहारबाट गौतम, अर्याल, ठगेन्द्र ओली, मदन केसी, खगेन्द्र भण्डारी घाइते भएको र उनीहरूको वीर अस्पतालमा उपचार भएको थियो । घटनामा एमाले कार्यकर्ता पुष्पकुमार घिमिरे, कृष्णबहादुर चौधरीको बीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । नारायण चौधरीको भने घटनास्थलमै मृत्यु भएको थियो ।
उक्त घटनाको बदला लिने घोषणा एमाले नेताहरूले गरेका थिए । बीर अस्पतालमा मृत्यु भएका पुष्पकुमार र कृष्णबहादुरको काठमाडौंमै शवयात्रा र श्रद्धाञ्जली सभामा गरिएको थियो । सोही सभामा बोल्दै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ का प्रत्यासी कृष्णगोपाल श्रेष्ठले दोषीमाथि कारबाहीको माग गर्दै कांग्रेससँग बदला लिने बताएका थिए । एमाले नेताहरू साहना प्रधान, विद्यादेवी भण्डारी, सुरेन्द्र पाण्डे, प्रदीप नेपाल, बलराम उपाध्याय, रघु पन्त, पद्मरत्न तुलाधरलगायतका नेताले मृतकलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
एमालेका तत्कालीन केन्द्रीय सदस्य युवराज ज्ञवालीले मन्त्री खड्काको निर्देशनमा कांग्रेस कार्यकर्ताले गोली प्रहार गरेको आरोप लगाएका थिए । ज्ञवालीले अब जिल्लामा रक्तपात भएमा त्यसको जिम्मेवारी मन्त्री खड्काले लिनुपर्ने उद्घोष गरेका थिए ।
कांग्रेस दाङका सभापति गेहेन्द्र गिरीले नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य कुमार लामिछाने, बसन्त केसी र मनोज रजौर एमालेको आक्रमणबाट घाइते भएको बताएका थिए । एमालेले बिजौरी आकासियाका ऋषिराज बस्नेतको पनि कांग्रेसको आक्रमणबाट मृत्यु भएको जनाएको थियो ।
एमाले केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ति प्रकाशित गरेर कांग्रेसका दुधरजा गाउँका ओमभक्त जोशी र छविलाल विकको नेतृत्वमा ससुराली गएका बस्नेतलाई सांघातिक हमला गरेको जनाएको थियो । उनको १९ गते मृत्यु भएको थियो । गृह मन्त्रालयका प्रवक्ता श्रीकान्त रेग्मीले बस्नेतको हत्या तिहारमा भएको झगडामा भएकाले यसलाई यस घटनासँग नजोड्न आग्रह गरेका थिए ।
निर्वाचनका बेला भएको यस हत्याकाण्डले त्यतिबेला मुलुकभर नै एक प्रकारको हलचल मच्चाएको थियो । २०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बनेदेखि नै एमाले र कांग्रेसको सम्बन्ध निकै तनावपूर्ण थियो । विशेषतः गिरिजाप्रसादसँग एमाले निकै चिढिएको थियो ।
निर्वाचनका बेला भएको आफ्ना कार्यकर्ताको हत्याको बदला लिने एमालेको घोषणाले सम्भावित घटनाका बारेमा सुरक्षा निकायसमेतलाई चुनौती सिर्जना भएको थियो । मध्यावधि निर्वाचनको मतदानपूर्व निर्धारित तालिका परिवर्तन गरेर कात्तिक २९ मा हुने तयारी गरिएको थियो ।
सुरुमा कात्तिक २७ मा मतदान मिति तोकिएको थियो । यिनै सन्दर्भलाई जोडेर दाङका तत्कालीन संवाददाता ददिराम सुवेदीको समेत सहयोगमा तयार गरेको ‘दाङको गोली काण्डमा तीन जनाको मृत्यु’ शीर्षक समाचार कान्तिपुरले २०५१ कात्तिक २१ मा प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] The bizarre case where Khum Bahadur was accused of murder...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/20150702411940-1000x0-15102025020956-1000x0.jpg&w=1001&h=0)