मेरो देश तथा जनताले सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, राष्ट्रिय पहिचान तथा एकतालाई कायम राख्दै विश्वको शान्ति र समृद्धिमा योगदान पुर्याएको देख्न चाहन्छु : राजा वीरेन्द्र ।
What you should know
काठमाडौँ — अचेल जलवायु परिवर्तन र सगरमाथाको संरक्षणको विषय प्राथमिकताका साथ उठ्ने गरेको छ । सगरमाथा संक्षणको मुद्दालाई अन्तर्राष्ट्रिय फोरमहरूमा पनि उठाउने गरिएको छ । वातावरण र सगरमाथा संरक्षणको विषयमा केन्द्रित भएर राजा वीरेन्द्रले आजभन्दा ठिक ३१ वर्षअघि अन्तर्राष्ट्रिय सञ्चार माध्यम फ्रान्सको ‘प्वाँ द भ्यु’ पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा पनि उक्त विषय प्राथमिकतामा परेको थियो ।
राजा वीरेन्द्रले अन्तर्वार्ताका क्रममा पर्यावरणको समस्या नेपालमा चुनौतीका रूपमा आएको बताएका थिए । यसको समाधानका लागि व्यवस्थापन तथा आर्थिक पक्षसमेत समेटिएका जनस्तरमा प्रभावकारी शिक्षा दिनुपर्ने धारणा राख्दै राजा वीरेन्द्रले त्यतिबेला भनेका थिए, ‘हिमालको पर्यावरणीय संरक्षणका विषयमा केही व्यवस्था सुरु गरिएको छ ।’
पत्रिकाले विश्वको छाताका रूपमा रहेको सर्वोच्च शिखर सगरमाथामा पर्वतारोहीबाट भइरहेको डरलाग्दो प्रदूषण रोक्न तपाईंले केही सोच्नु भएको छ कि भन्ने प्रश्नमा वीरेन्द्रले भनेका थिए, ‘पर्वतारोही दलहरूको संख्या सीमित गर्नुका साथै सरसफाइ अभियान पनि सुरु गरिएको छ । तर यसका पर्वतारोही र पर्यटकको पनि समर्थन रहनुपर्छ ।’ त्यतिबेला सगरमाथामा फोहोरको थुप्रो लाग्न थालेको भन्दै चिन्ता व्यक्त भइरहेका बेला राजाले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई पर्यावरणका विषयमा अन्तर्वार्ता दिएका हुन् ।
पर्यावरण बनाउन सरकारी र गैरसरकारी संस्थाको भूमिका महत्त्वपूर्ण हुने भन्दै उनले विश्वमा नै वातावरणसम्बन्धी समस्या आएको बताएका थिए । राजाले प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, घोडचढी यात्रा, हेलिकोप्टर उडान र चित्रकलामा आफ्नो विशेष रुचि रहेको जानकारी अन्तर्वार्तामार्फत गराएका थिए । २०५१ असोज ४ देखि १० गतेसम्म गणतन्त्र फ्रान्सको राजकीय भ्रमणका सिलसिलामा वीरेन्द्रले उक्त अन्तर्वार्ता दिएका थिए ।
अन्तर्वार्ताका क्रममा रानी ऐश्वर्य, युवराज, अधिराजकुमार र राजपरिवारका सदस्यहरूको भूमिका र अधिकार संविधान र कानुनले निर्धारण गरेको भन्दै प्रधानमन्त्री नियुक्तिको विधि पनि संविधानले तोकेको बताएका थिए । २०४६ को परिवर्तनपछि राजसंस्थाका सदस्यहरूको भूमिकालाई पत्रिकाले राजाबाटै बुझ्ने कोसिस गरेको अन्तर्वार्ताको प्रश्नबाट अनुमान गर्न सकिन्थ्यो । ![[Archive] That interview of Raja Birendra given to a French magazine...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/2051-6-19-08102025073358-1000x0.jpg)
२०५१ कात्तिक २७ मा हुन लागेको मध्यावधि निर्वाचन र बहुदलीय शासन व्यवस्थाका विषयमा विभिन्न प्रश्न सोधिएकामा राजा वीरेन्द्रले सबै विषय संविधान र कानुनले निर्धारण गरेको जवाफ दिएका थिए । उनले अन्तर्वार्ताका क्रममा मध्यावधि निर्वाचननले बहुदलीय प्रजातान्त्रिक व्यवस्थालाई झन् बलियो बनाउने बताएका थिए ।
२०४७ मा बनेको संविधानमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले स्वतन्त्रपूर्वक काम गर्न सक्ने प्रावधान रहेको उनले बताएका थिए । कतिपय विषय प्रस्ट संविधानमा लेखेकाले काम गर्न असहज नभएको आशय व्यक्त गर्दै राजाले भनेका थिए, ‘मेरो देश तथा जनताले सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, राष्ट्रिय पहिचान तथा एकतालाई कायम राख्दै विश्वको शान्ति र समृद्धिमा योगदान पुर्याएको देख्न चाहन्छु ।’ उनले कडा परिश्रम, राष्ट्रिय स्वाभिमान र समुन्नतिको चाहना नेपाल र फ्रान्सबीचको समान विशेषता रहेको बताएका थिए । उनको भनाइ थियो, ‘फ्रान्सबाट नेपालीहरूले कला र संस्कृतिको संरक्षणप्रतिको दृढता, उद्यमशीलता, उत्कृष्टता हासिल गर्ने प्रतिबद्धता जस्ता विशेषता सिक्न सकिनेछ ।’
फ्रान्सले मानव सभ्यताको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने र स्वतन्त्र परराष्ट्र नीति अवलम्ब गर्ने प्रतीक राष्ट्र भएको धारणा उनले राखेका थिए । फ्रान्सको औद्योगिक सफलताको प्रशंसा गर्दै उनले फ्रान्सको प्रसिद्ध वाइन उत्पादन क्षेत्र बर्गन्डीको भ्रमण गरेका थिए । उनले बर्गन्डीले आफ्नो गौरवमय इतिहास प्रतिविम्बित हुने गरी प्राकृतिक सौन्दर्य र बास्तुकलामा समिश्रण गरेको देखेर आफूहरू निकै प्रभावित भएको बताएका थिए ।
उक्त अन्तर्वार्ता सगरमाथामा थुप्रिएको फोहोर र यसबाट पार्न सक्ने नकारात्मक असर, नेपालमा २०४६ पछि बनेको संविधान, राजा र राजपरिवारको अधिकार, मध्यावधि निर्वाचन, नेपाल र फ्रान्सबीचको सम्बन्धलगायतका विषयमा केन्द्रित थियो । उक्त अन्तर्वार्तालाई ‘श्री ५ बाट फ्रान्सेली पत्रिकालाई अन्तर्वार्ता बक्स’ शीर्षकमा कान्तिपुर दैनिकले २०५१ असोज १९ गते समाचारका रूपमा प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] That interview of Raja Birendra given to a French magazine...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/5factsaboutkingbirendrabirbikramshah5895-09102025032729-1000x0.jpg&w=1001&h=0)