कांग्रेसमा युवाहरूले पटक–पटक अवसर पाए पनि पार्टीलाई समयको माग र युवा पुस्ताको भावना अनुसार अगाडि बढाउन नसकेको गुनासो अहिले सुनिने गरेको छ ।
What you should know
काठमाडौँ — जेन–जी आन्दोलनले पार्टी र सरकारको नेतृत्व युवाले नगर्दाको परिणाम मुलुक आम नेपालीले सोचेअनुरूप नभएको सन्देश दिएको छ । पार्टीमा युवा पुस्तालाई नेतृत्वमा आउन नदिने र ३० औं वर्षदेखि एउटै उमेर समूहका व्यक्तिले सरकार र पार्टी कब्जा गर्नुको परिणामले पनि अहिलेको परिस्थिति ल्याउन मलजल गरेको आमबुझाइ रहेको छ ।
खासगरी पटक–पटक आन्दोलन र सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेसमा युवाहरूले अवसर पाउँदै नपाएको हो कि पाएर पनि नेतृत्वलाई सही बाटोमा हिँडाउन नसकेको हो– त्यो विश्लेषण गर्नु पनि अहिलेको माग हो ।
युवाहरूले अवसर पाए कि पाएनन् ? यसको सदुपयोग भयो कि भएन ? त्यसको पृष्ठभूमिको उदाहरण २०५१ कात्तिकमा भएको मध्यावधि निर्वाचनलाई लिन सकिन्छ । किनकि, त्यतिबेला विद्यार्थी राजनीतिबाट आएका सबै अध्यक्षहरूले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने अवसर पाए । पार्टीको केन्द्रीय समितिमा लगातार प्रतिनिधित्व गर्दै आए । अहिले बुढेसकाल लाग्दा पनि पद ओगटिरहेका छन् ।
कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका संस्थापक अध्यक्षदेखि २०४६ को परिवर्तनसम्मको नेतृत्व अहिले पार्टीको केन्द्रीय तहको भूमिकामा रहेको छ ।
२०५१ असारमा कांग्रेसको आन्तरिक मनमुटावले आफैंले नेतृत्व गरेको बहुमतको सरकार कामचलाउमा परिणत भएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरेपछि सरकार पनि कामचलाउ भएको थियो । तत्काल २ सय ५ निर्वाचन क्षेत्र रहेकामा कांग्रेसले सबै सिटमा उम्मेदवारी दिएको थियो ।
पुरानो र परम्परागत पार्टीमा धेरै पुराना नेताहरू थिए तर त्यतिबेला आन्दोलनबाट आएका युवाहरूले उम्मेदवार बन्ने अवसर पाएका थिए । पार्टी सभापति कृष्णप्रसाद भट्टराई, महामन्त्री महेन्द्रनारायण निधि, नेपाल महिला संघकी अध्यक्ष मंगलादेवी सिंह उम्मेदवार नै बनेका थिएनन् । २०४८ का उम्मेदवारहरूमध्ये २२ जनाले टिकट पाएनन् । मध्यावधिमा ८१ जना नयाँ अनुहारले अवसर पाएकामा नेविसंघको राजनीतिमा होमिएकाहरू सबैले उम्मेदवारीको अवसर पाएका थिए । उनीहरू धेरै ४० वर्षभन्दा कम उमेरका थिए । कतिपय त युवाहरू नै थिए । ![[Archive] That time when the young generation of Congress was indulging in status quo...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/2051-6-12-07102025091155-1000x0.jpg)
२०२७ मा नेविसंघ स्थापना गर्दा अध्यक्ष बनेका विपिन कोइरालादेखि २०५१ सम्म अध्यक्ष बनेकाहरू सबै उम्मेदवार बनेका थिए । संस्थापक अध्यक्ष कोइराला त्यसपछिका अध्यक्षहरू विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, एनपी साउद सबैले उम्मेदवारीको अवसर पाएका थिए । विद्यार्थी र युवा राजनीतिबाट आएका होमराज दाहाल, हृदयराम थानी, पुष्कर ओझा, दीपक गिरीलगायतका थिए । यसले पनि कांग्रेसले युवाहरू सबैलाई आजभन्दा ठिक ३१ वर्षअघि नै अवसर दिएको देखिन्छ ।
कांग्रेसका युवाहरूले पटक–पटक अवसर पाए पनि पार्टीलाई समयको माग र युवा पुस्ताको भावना अनुसार अगाडि बढाउन भन्दा पनि मुलुकको स्रोत र शक्ति आर्जनलाई प्राथमिकता दिएका कारण पार्टीमा सही नेतृत्व स्थापित हुन नसकेको गुनासो अहिले सुनिने गरेको छ । जब जेन–जी आन्दोलनले पुस्तान्तरणको कुरा उठायो र मुलुकमा एक प्रकारको परिवर्तनको आवाज उठ्यो, यतिबेला कांग्रेसमा युवा पुस्ताको भूमिकाको विषय पनि उठेको छ ।
कांग्रेसले ३१ वर्षअघिको संसदीय निर्वाचनमा १० जिल्लामा पूरै नयाँ अनुहारलाई उम्मेदवार बनाएको थियो । म्याग्दी, संखुवासभा, भोजपुर, धनकुटा, मनाङ, मुस्ताङ, उदयपुर, जुम्ला, रसुवा, डोल्पालगायतमा नयाँ अनुहारलाई टिकट दिइएको थियो । ११ जना महिला उम्मेदवारमध्ये ५ जना नयाँ अनुहार थिए । प्रधानमन्त्री कोइरालाको कार्यशैलीप्रति असहमति राख्ने छत्तीसे समूहका सांसदमध्ये दुई जना बाहेक सबैले टिकट पाएका थिए । सहिद परिवारका मनोहरनारायण श्रेष्ठ र सुशीलमान शेरचनले पनि उम्मेदवार बन्ने अवसर पाएका थिए । उनीहरू धेरै युवा उमेरका थिए ।
पार्टीका सर्वोच्च नेता गणेशमान सिंहले पार्टी परित्याग गरेको र जिल्लाभर गुटबन्दी भएको संकटका बेला पनि युवा पुस्तालाई दिइएको अवसर सराहनीय थियो । तर, त्यतिबेला पार्टीको मूलधारमा प्रवेश गरेको युवा पुस्ताबाटै नेतृत्व चयन हुन नसक्दा वा नेतृत्वलाई पर्याप्त दबाब दिन नसक्दा कांग्रेस अहिलेको अवस्थामा आएको अनुमान गर्न सकिन्छ ।
युवाहरूले अवसर त पाए तर आफैं नेतृत्व गर्ने वा नेतृत्वलाई सही मार्गमा हिँडाउने काममा प्रभावकारी भूमिमा निर्वाह गर्न सकेनन् । बरू नयाँ पुस्ताले २०४८ मा गृहमन्त्री भएका देउवालाई २०५१ पछि पनि ३१ वर्षसम्म ‘मत्याउँदै’ आफ्नो सांसद र मन्त्री पद सुरक्षित राख्दै आएको परिणामले कांग्रेसको नेतृत्वमा परिवर्तन हुन नसकेको घटनाक्रमले देखाएको छ । ३१ वर्षअघिका युवाहरू अहिले बुढा भएका छन् । तर युगलाई नबुझ्दाको परिणाम आफैंले भोगी पनि रहेका छन् ।
कांग्रेसले २०५१ कात्तिक २७ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि छनोट गरेको उम्मेदवारको सूची, पार्टीभित्रको आन्तरिक द्वन्द्व र युवाहरूले राजनीतिमा पाएको अवसरको विषय जोडेर कान्तिपुर दैनिकले २०५१ असोज १२ गते ‘नेपाली कांग्रेसको उम्मेदवार घोषणाः भट्टराई, निधि र श्रीमती सिंह चुनाव नलड्ने’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
अहिले युवाहरूले पार्टी हाँक्न नपाएको आवाज चौतर्फी उठे पनि हिजो अवसर पाउँदाका बखत निर्वाह गरेको भूमिकाले के परिवर्तन भयो, त्यसको जवाफ पनि खोज्नुपर्ने आवाज उठ्न थालेको छ ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] That time when the young generation of Congress was indulging in status quo...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/hq720-07102025092052-1000x0.jpg&w=1001&h=0)