[अर्काइभ] दुइटा कोठाबाट सुरु भएको त्यो तीलगंगा आँखा केन्द्र  

सन् १९९० को दशकसम्म नेपालमा मोतियाबिन्दुको शल्यक्रिया गर्ने आधुनिक प्रविधि थिएन । मोतियाबिन्दुको शल्यक्रिया गर्दा धेरैले आँखाको ज्योति गुमाउनुपर्ने र सफल भएको भनिएको शल्यक्रियाका बिरामीले पनि बाक्लो चस्मा लगाउनुपर्ने बाध्यता थियो ।

श्रावण १७, २०८२

ऋषिराम पौड्याल

[Archive] That Telangana Eye Center started with two rooms

What you should know

काठमाडौँ — तीन दशकअघि निजी लगानीमा आँखा उपचार केन्द्र खुलेका थिएनन् । अस्पतालहरूमा आँखा उपचारका स–साना युनिट थिए । सर्वसाधारणले आँखा उपचार एक मात्र थलो त्रिपुरेश्वरको आँखा अस्पताललाई सम्झन्थे । 

सन् १९९० को दशकसम्म नेपालमा मोतियाबिन्दुको शल्यक्रिया गर्ने आधुनिक प्रविधि थिएन । मोतियाबिन्दुको शल्यक्रिया गर्दा धेरैले आँखाको ज्योति गुमाउनुपर्ने र सफल भएको भनिएको शल्यक्रियाका बिरामीले पनि बाक्लो चस्मा लगाउनुपर्ने बाध्यता थियो । 

यही पृष्ठभूमिमा भारतबाट पढेर आएपछि डा. सन्दुक रुइतले वीर अस्पतालमा काम गर्ने अवसर पाएका थिए । आफूभन्दा सिनियर चिकित्सकको प्रोत्साहन र आँखाका बिरामी उपचार क्याम्पमा काम गर्दाको अनुभवले उनलाई आँखा चिकित्सक बन्ने हौसला दियो । त्यही हौसलाले उनलाई आँखा चिकित्सक बनायो ।

डा.सन्दुक रुइतले गरेको अनुसन्धानले नेपालमा गरिने मोतियाबिन्दुको शल्यक्रियाका क्रममा धेरै बिरामीले आँखाको ज्योति नफर्किने गरेको पत्ता लगाए । उनले गरेको अनुसन्धानले शल्यक्रियाबाट आँखाको ज्योति पाए पनि लेन्सको अभावमा धेरै बाक्लो चस्मा लगाउनुपर्ने देखाएको थियो । उनले नेपालमै आधुनिक प्रक्रियाबाट मोतियाबिन्दुको शल्यक्रिया कसरी गर्न सकिन्छ भनेर त्यसको अनुसन्धान सुरु गरे । यसका लागि ‘इन्ट्रा अकुलर लेन्स’ को आवश्यकता पर्थ्यो । अस्पतालले आफैं त्यस्तो लेन्स उत्पादन गर्नुपर्थ्यो । रुइत र डा. रीता गुरुङले थापाथलीमा दुइटा कोठा लिएर उपचार सुरु गरेका थिए । उनीहरू दुवै मिलेर आँखा केन्द्रमा शल्यक्रिया सुरु गरेका थिए । रीताले शल्यक्रिया गर्दा डा. रुइतले जाँच गर्थे र रुइतले शल्यक्रिया गर्दा रीताले जाँच गर्थिन् । 

जाँच गर्ने कोठा नजिकै ‘इन्ट्रा अकुलर लेन्स’ बनाउने सानो कोठा थियो । यही दुई कोठाबाट विकसित भएर तीलगंगा आँखा केन्द्र बनेको हो । उनीहरूले बिस्तारै काठमाडौं उपत्यका बाहिर गएर आँखामा लेन्स राख्न सुरु गरेका थिए । 

सोही अस्पतालमा १९९४ मा अस्ट्रेलिया सरकार तथा अस्ट्रेलियास्थित फ्रेड होलोज फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल अन्धोपन नियन्त्रण कार्यक्रमअन्तर्गत तीलगंगा आँखा केन्द्र स्थापना गरिएको हो । डा. सन्दुककै पहलमा तीलगंगामा जग्गा प्राप्त गरेर थापाथलीबाट दिने सुविधा उता सारिएको थियो । यसका योजनाकार तथा सञ्चालक सन्दुक नै हुन् । त्यतिबेलादेखि नै आँखा प्रत्यारोपण गर्न सुरु गरिएको हो । उक्त अस्पतालमा २०५१ जेठ १२ देखि मोतियाबिन्दुको शल्यक्रिया सुरु गरिएको थियो । गैरसरकारी रूपमा स्थापना गरिएको उक्त केन्द्रले खरिद गर्न नसक्ने गरिबलाई निःशुल्क लेन्स उपलब्ध गराउन सुरु गरेको थियो । केन्द्रका तत्कालीन महानिर्देशक विष्णु न्यौपानेले विदेशमा ४० देखि २ सय अमेरिकी डलर मूल्य पर्ने उक्त लेन्स नेपालमा भने ६ सय रुपैयाँमा पाइन्थ्यो । 

‘लेन्स नेपालमा बनाउने सम्भावन छैन । यसमा लाग्नु हुँदैन भन्ने सुझाव धेरैले दिएका थिए’, डा. रुइतले विगतको घटना सम्झेर बेलाबेला सञ्चारमाध्यममार्फत आफ्नो धारणा अहिले पनि राख्दै आएका छन् । उक्त आँखा केन्द्रको स्थापना र आधुनिक प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया सम्बन्धमा २०५१ जेठ २३ मा काठमाडौंमा पत्रकार सम्मेलन गरेर केन्द्रका कार्यकारी निर्देशक माइक लिम्स्की, मेडिकल डाइरेक्टर सन्दुक, अस्ट्रेलियाको फ्रेड होलोज फाउन्डेसनका डेभिड मोरान, अस्ट्रेलियास्थित युनिभर्सिटी अफ मेलबोर्नका प्रोफेसर ह्यु टेलर तथा नेपाल आँखा कार्यक्रम अस्ट्रेलियाका अध्यक्ष जगदीश घिमिरेले विस्तृत जानकारी दिएका थिए । उक्त केन्द्र विश्वस्तरीय आँखा सेवा प्रदान गर्ने लक्ष्य अनुसार सञ्चालन गरिएको थियो । 

अस्ट्रेलियासमेतको सहयोगमा आधुनिक आँखा उपचार केन्द्र स्थापना भएको थियो । अस्ट्रेलियाका स्वः फ्रेड होलोजको नामबाट फ्रेड हालोज फाउन्डेसन सञ्चालन गरिएको थियो । फाउन्डेसनले केन्द्र स्थापना गर्न आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो । भवन र उपकरण गरी करिब ६ करोड ८० लाख रुपैयाँ खर्च भएको केन्द्रको उद्घाटन तत्कालीन राजा वीरेन्द्रले २०५१ जेठ २४ मा गरेका थिए । 

उक्त केन्द्रमा प्रतिवर्ष ८० हजार ‘इन्ट्रा अकुलर लेन्स’ उत्पादन गर्ने लक्ष्य राखिएको थियो । अस्ट्रेलियाका नेत्र चिकित्सक फ्रेड होलोजले क्यान्सर रोगबाट मृत्यु हुनुअगावै नेपालमा उत्कृष्ट आँखा उपचार सेवा पुर्‍याउने इन्ट्रा अकुलर लेन्स प्रयोगशाला स्थापना गर्ने इच्छा राखेका थिए । 

उद्घाटन समारोहमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफैं क्यान्सरको बिरामी भएर पनि होलोजले नेपालमा आँखा उपचारको आधुनिक प्रविधिसहितको केन्द्र स्थापना गर्ने इच्छा राख्नुभएको भन्दै उनको प्रशंसा गरेका थिए । कार्यक्रममा अस्ट्रेलियाका प्रधानमन्त्री पल किटिङले पठाएको सन्देशमा नेपालमा अन्तर्राष्ट्रियस्तरको आँखा उपाचर केन्द्र स्थापना भएको भन्दै होलोजको सपना साकार भएको बताएका थिए । उनले सन्देशमा नेपालको आँखा कार्यक्रम र होलोज फाउन्डेसनलाई बधाई दिएका थिए । फ्रेड होलोजकी विधवा ग्यावी होलोजले आफ्नो फ्रेडको नामबाट केन्द्र स्थापना गरेर आँखा रोगीको उपचार हुने भएकाले पतिको इच्छा साकार भएको बताएकी थिइन् । अस्ट्रेलियाली राजदूत लेस डग्लसले उक्त आँखा कार्यक्रमले मान्छेले चाहना राख्यो भने जस्तोसुकै काम पनि पूरा गर्न सकिने बताएका थिए । राजा वीरेन्द्रले आँखा उपचारमा नयाँ प्रविधि, व्यवस्थापन तथा उपचार कक्षहरूको अवलोकन गरेका थिए । नेपालमा अन्तर्राष्ट्रियस्तरको आँखा उपचार केन्द्र स्थापना र सञ्चालन भएको सन्दर्भलाई समेटेर कान्तिपुरले २०५१ जेठ २५ मा ‘श्री ५ बाट अन्तर्राष्ट्रियस्तरको आँखा केन्द्रको उद्घाटन’ शीर्षक समाचार प्रकाशित गरेको थियो । उतिबेला सञ्चालन भएको आँखा केन्द्र अब छिट्टै विश्वविद्यालय बन्ने तरखरमा रहेको छ । विश्वविद्यालय बनाउने विधेयक संसदमा विचाराधीन छ । ३२ वर्षअघिको उक्त कथा जति संघर्षशील छ, अहिले तीलगंगा आँखा प्रतिष्ठानका रूपमा जनस्तरसम्म विश्वासिलो संस्थाका रूपमा जरा गाडेको छ । 

डा. सन्दुक अहिले नेपालमा मात्र होइन, विश्वमा चर्चित छन् । उनले विश्वका धेरै नागरिकको आँखा ज्योति फर्काइदिएका छन् । नेपालको दुर्गम भेगका बासिन्दाका लागि सन्दुक ‘वरदान’ साबित भएका छन् । 

प्रस्तुतिः ऋषिराम पौड्याल

ऋषिराम पौड्याल

Link copied successfully