काठमाडौँ — २०५० माघ २५ मा भएको काठमाडौं क्षेत्र नम्बर १ को उपनिर्वाचनमा सभापति कृष्णप्रसाद भट्टराई पराजित भएपछि कांग्रेसको आन्तरिक कलह गहिरिँदै गएको थियो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालामाथि भट्टराई हराउन ‘अन्तर्घात’ गरेको गम्भीर आरोप लागेको थियो ।
उपनिर्वाचनमा पराजित भए पनि भट्टराईले भने सार्वजनिक अभिव्यक्ति दिएका थिएनन् । उनले आफ्नो सबै धारणा केन्द्रीय समिति बैठकमा राख्ने बताउँदै आएका थिए । उपनिर्वाचन सकिएको एक महिनाभन्दा बढी समयपछि २०५० फागुन १७ मा दोस्रो पटक बसेको केन्द्रीय समिति बैठकमा भट्टराईले ७ पेजको ‘स्टेटमेन्ट’ पेस गरेका थिए । उनले जब ‘स्टेटमेन्ट’ पढ्न सुरु गरे, बैठकका सहभागी सबैजसो स्तब्ध भएका थिए ।
भट्टराईले तत्काल आफूले पार्टीको पद त्यागेर महामन्त्री महेन्द्रनारायण निधिलाई कार्यवाहक सभापति बनाउने र महाधिवेशन गराएर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव अघि सारे सबै अवाक् बने । उनले पार्टीलाई अनुशासनहीनताबाट जोगाउन नेतात्रयले पद त्याग्नुपर्ने पनि बताए । त्यतिबेला कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंह, भट्टराई र प्रधानमन्त्री कोइरालालाई नेतात्रय भनी सम्बोधन गरिन्थ्यो ।
बैठकमा भट्टराईले तीन पेज ‘स्टेटमेन्ट’ पढेपछि बैठकमा सहभागी कतिपयले आँशु झार्न थालेका थिए । ‘स्टेटमेन्ट’मा आफू निर्वाचनमा पराजित भएको सन्दर्भ जोड्दै पार्टीमा देखिएको अनुशासनहीनताका विषय उठाइएको थियो । तर ‘स्टेटमेन्ट’ पूरा पढ्न नपाउँदै महामन्त्री निधिले रोकेका थिए । तीन पेज पढेपछि बैठकमा देखिएको माहोल ‘डाइभर्ट’ गर्न निधिले पढ्न रोकेको त्यतिबेलाका नेताहरूले बताउने गरेका छन् । ‘स्टेटमेन्ट’मा के के विषय उठाइएको थियो विस्तृत विवरण अहिलेसम्म बाहिर आएको छैन ।
कांग्रेसका १५ जना केन्द्रीय सदस्यले फागुन १२ गतेको बैठकमा प्रधानमन्त्री कोइरालाले राजीनामा दिनुपर्ने र अनुशासन तोड्नेमाथि कारबाही गर्नुपर्ने माग गरेर प्रस्ताव दर्ता गराएका थिए । तर कोइरालाले उक्त प्रस्ताव कुनै पनि हालतमा ‘माइन्युट’ गर्न नदिने अडान राखेका थिए । यो विषयमा बैठकमा निकै ठूलो वादविवाद भए पनि भट्टराईले ‘माइन्युट’ गर्न निर्देशन दिएका थिए । भट्टराईले चित्त नबुझ्नेले ‘नोट आफ डिसेन्ट’ लेख्न सक्ने बताएका थिए । भट्टराईको ‘रुलिङ’ अनुसार प्रस्तावको ‘माइन्युट’ गरिएको थियो । उनले बहुमतको निर्णयलाई सबैले मान्नुपर्ने बताएका थिए । प्रधानमन्त्री कोइराला, सुशील कोइराला, नोना कोइराला, भूविक्रम नेम्वाङ र सूर्यभक्त अधिकारी पाँच जना केन्द्रीय सदस्यले भने ‘नोट आफ डिसेन्ट’ लेखेका थिए ।
त्यस्तै ३८ जना प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्रीमाथिको अविश्वास प्रस्तावमा आफूहरूले स्वविवेकको निर्णय गर्न पाउनुपर्ने धारणा राखेका थिए । उनीहरूले पार्टीमा सबैले अनुशासन पालना गर्नुपर्ने भन्दै उनीहरूले प्रधानमन्त्री कोइरालाप्रति इंगित गरेका थिए । त्यसमै केन्द्रित भएर दुई घण्टा बहस गरिएको थियो । बैठकमा प्रतिनिधिसभा सदस्य तथा केन्द्रीय सदस्यहरू बलबहादुर केसी, चिरञ्जीवी वाग्ले र तारानाथ रानाभाटले निकै विवाद गरेका थिए ।
भट्टराईले भने आफू सभापति रहुन्जेल संसदीय मर्यादाविपरीत कुनै पनि निर्णय हुन नसक्ने बताएका थिए । भट्टराईले प्रतिनिधिसभामा दर्ता भएको अविश्वास प्रस्तावविरुद्ध सबै सांसदले प्रतिवाद गर्नुपर्ने निर्देशन दिएका थिए । अविश्वासका विरुद्ध एकजुट हुन उनले निर्देशन दिएपछि त्यसलाई ‘माइन्युट’ गरिएको थियो । भट्टराईको उक्त निर्देशनले प्रधानमन्त्री कोइरालाविरुद्ध प्रतिनिधिसभामा एमालेले दर्ता गरेको अविश्वास प्रस्ताव पारित नहुने संकेत गरेको थियो । एमालेले कांग्रेसमा चरम गुटबन्दी हाबी भएको र प्रधानमन्त्री कोइराला दिनप्रतिदिन अलोकप्रिय बन्दै गएको निष्कर्षका आधारमा अविश्वास प्रस्ताव दर्ता गराएको थियो ।
भट्टराईले कोइरालाको आलोचना भने गरेका थिए । उनले कोइरालाको नाम नलिइ पार्टीमा एक व्यक्तिको अनुशासनहीनताले आफू पराजित भएको बताएका थिए । उपनिर्वाचनमा भट्टराईको पराजय, प्रधामन्मन्त्री कोइरालाको भूमिका, संसदमा दर्ता भएको अविश्वास प्रस्तावलगायतका सन्दर्भमा केन्द्रित रहेर पत्रकार तारानाथ दाहालले तयार गरेको ‘सभापति भट्टराईको ‘फाइनल स्टेटमेन्ट’, नेतात्रयले नेतृत्व परित्याग गर्नुपर्ने धारणा’ शीर्षक समाचार कान्तिपुर दैनिकले २०५० फागुन १८ मा पहिलो पृष्ठमा प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] Sant Neta Bhattarai's compassionate 'statement'](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/5-2062025011919-1000x0.jpg&w=1001&h=0)