काठमाडौँ — परिवारका सबै भाइको एउटै श्रीमती । सुन्दा अचम्म लाग्ने यो प्रथा नेपाली समाजले स्विकार्न सहज छैन । तर पनि मुलुकको पूर्वी जिल्ला संखुवासभाको तिब्बतसँग जोडिएको किमाथाङ्काको एउटा बस्तीमा ५० को दशकसम्म यो प्रथा कायम थियो ।
घरको जेठो छोराले विवाह गरेपछि सबै भाइले ‘भाउजू’लाई श्रीमतीका रुपमा स्विकार्नुपर्ने बाध्यता अहिलेको समाजका लागि निकै अनौठो र अस्विकार्य परम्परा हो । आमनेपाली समाजमा भाउजूलाई आमासरह मान्ने चलन छ । आजभन्दा लगभग ३२ वर्षअघिको पुस्ताले पनि यो परम्परालाई तोड्न नखोजेका होइनन् तर सकेनन् ।
किमाथाङ्काका पासाङ लामाले परम्परा तोड्न खोज्दा घर–झगडा सुरु भएको कथाले त्यस्तो प्रथाले कसरी समाजमा जरा गाडेको रहेछ भन्ने प्रस्ट हुन्छ । जेठो छोराको विवाह गरेपछि बाबुले माइलो छोरा पासाङलाई भाउजूलाई देखाउँदै यो तेरो पनि स्वास्नी हो भनेका थिए । तर पासाङले त्यो स्विकार्न सकेनन् । घर झगडा भएपछि पासाङकी ‘स्वास्नी’ ले घर छाडेर अर्कैसँग विवाह गरिन् । उनका दाजुले अर्कै विवाह गरे ।
खाँदवारीमा पढ्दै गरेका पासाङलाई भाउजूलाई स्वास्नी स्विकार्नुपर्ने भएपछि घर जान मन लागेन । पासाङ मात्र होइन, उक्त गाउँका एसएलसी उत्तीर्ण गर्ने पहिलो व्यक्ति तेञ्छिवी लामाले गाउँका बुढापाकालाई बुझाउन नसकेको बताएका थिए । पासाङ र तेञ्छिवी मात्र होइन, सदरमुकाममा बसेर अध्ययन गरिरहेका चार जना युवा आफ्नो समाजको परम्परा तोड्न चाहन्थे । तर बुढापाकाले उनीहरूलाई नै खेद्ने गरेको गुनासो उनीहरूको थियो ।
२०४८ को जनगणना अनुसार साविक किमाथाङ्का गाउँविकास समितिमा रहेको ४२ धुरीमा सबैमा यो प्रथा कायम थियो । उक्त गाउँका पूर्वप्रधानपञ्च घर्चे लामा साझा स्वास्नीको प्रथालाई निरन्तरता दिन चाहन्थे । उनले त्यतिबेला भनेका थिए, ‘यो अनौठो चलन हो । यो चलन कायमै रहनुपर्दछ । हामी यही संस्कृतिबाट चिनिन चाहन्छौं ।’
२०४४ मा राजारानीको भ्रमणका क्रममा पनि यो विषय उठेको थियो । यो अनौठो प्रथा सुनेर राजा वीरेन्द्र फिस्स हाँसेको स्थानीयले सुनाएका थिए । रानीले भने एक जना बिरामीलाई उपचारका लागि काठमाडौं लैजान सहयोग गरेकी थिइन् ।
पूर्वप्रधानपञ्च घर्चेका तीन दाजुभाइको पनि साझा श्रीमती थिइन् । घर्चे भन्थे, हामी आर्थिक हिसाबले पनि गरिब छौं । छुट्टिएर बस्न सकिँदैन । साझा स्वास्नी राख्ने परम्परा सांस्कृतिक रूपले हाम्रो निधि हो ।’ एउटै स्वास्नी हुँदा छुट्टिन नपर्ने भनाइ उनको रहेको थियो । एउटै स्वास्नी हुँदा परिवार नियोजनमा पनि सहयोग पुगेको बुझाइ स्थानीयको थियो ।
कति भाइ छोरा छन्, उनीहरूलाई व्यवस्थापन गर्ने जिम्मेवारी श्रीमतीको हुन्थ्यो । साझा श्रीमतीले जे जे खटनपटन गर्थिन्, त्यो मान्नुपर्ने कर्तव्य सबै भाइको हुन्थ्यो । जन्मेका छोराछोरी कुन भाइको हो, त्यसको छिनोफानो साझा श्रीमतीले नै गर्ने चलन थियो । कुन भाइसँग कति दिन रात बिताउने पालो लगाउने चलन थियो । जन्मेको छोराछोरीले जेठोलाई बाबु र अरु भाइलाई काका भन्ने चलन बसालिएको थियो ।
घरको काम क–कसले के–के गर्ने त्यो पनि साझा श्रीमतीले नै तय गर्ने चलन थियो । काम पनि पालैपालो लगाइन्थ्यो । एक भाइले नुनतेल ल्याउने, दोस्रो भाइले भेडाबाख्रा चराउन पठाउने, तेस्रो भाइलाई चौरी खर्क पठाउने, चौथो भाइलाई चौरी गोठ बस्न पठाउने यस्तै यस्तै खटनपटन गरेर घर चलाउने गरिन्थ्यो । एक भाइ आएपछि अर्को भाइलाई काममा पठाउने गरिन्थ्यो । स्थानीय प्रहरी चौकीका जवान भन्ने गर्थे, ‘साझा स्वास्नीको विषयमा झगडा भएको खासै सुनिने गरेको छैन ।’
स्थानीय भन्ने गर्थे, ‘साझा स्वास्नीप्रतिको सर्वाधिक अधिकार जेठोको हुने भए पनि स्वास्नीले आफ्ना सबै पतिलाई न्याय दिन्छिन् भन्ने मान्यता थियो । स्वास्नीलाई सुख दिनुपर्छ भन्ने मान्यता पनि सबै भाइमा थियो । सुन्दा र देख्दा ज्यादै अनौठो लाग्ने यस चलनका बारेमा पत्रकार नारायण वाग्लेले फिल्डमा पुगेर तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५० फागुन ११ गते पहिलो पेजमा ‘सिङ्सवा भोटेहरूमा साझा स्वास्नीको समस्या’ शीर्षकमा प्रकाशित गरेको थियो ।
तर अचेल भने त्यो चलन लगभग हराइसकेको छ । ६० वर्ष नाघेका बुढापाकामा विगतको साझा श्रीमतीको नाता कायम भए पनि नयाँ पुस्ताले त्यस्तो चलन छाडिसकेको छ । सदरमुमकामबाट निकै टाढाको त्यस गाउँका नयाँ पुस्ता २०५०/०५१ देखि नै यो चलनविरुद्ध लागेका थिए ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] That moment when even the king laughed when he heard the practice of 'collective wives'](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/5-pm-1962025012625-1000x0.jpg&w=1001&h=0)