काठमाडौँ — २०५० माघ २५ मा काठमाडौं–१ मा भएको उपनिर्वाचनमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकै निर्देशनमा कृष्णप्रसाद भट्टराईलाई हराएको निष्कर्ष कांग्रेसका बहुमत अर्थात् ५६ सांसदले निकालेका थिए । खासमा प्रधानमन्त्री कोइरालाले मतदान हुनु एक साताअघि दिएको १७ मिनेट लामो रेडियो वक्तव्यलाई मूल आधार बनाएर कांग्रेस कार्यकर्ताले राजधानीमा दिनैपिच्छे अन्तर्घातका विरूद्ध नाराजुलुस गरिरहेका थिए ।
कांग्रेस कार्यकर्ताले कोइरालामाथि एमाले उम्मेदवार विद्या भण्डारीलाई मत दिन निर्देशन दिएको आरोप पनि लगाएका थिए । कांग्रेसमा अहिले सांसद तथा नेताको भूमिका निर्वाह गरिरहेका नेपाल विद्यार्थी संघका तत्कालीन नेताहरू नै अन्तर्घातमा लागेको भेटिएपछि भट्टराई समर्थकहरू अझ बढी आक्रामक भएको देखिन्थ्यो । यो सबै कामका लागि प्रधानमन्त्री कोइरालाको गोप्य निर्देशन भएको उनीहरूको बुझाइ थियो ।
त्यसैले कांग्रेस कार्यकर्ताले आफ्नै नेतालाई ‘देश छोड गिरिजा, गिरिजा कसको एमाले’को जस्ता उत्तेजित नारा लगाएका थिए । मतगणना सुरु भएको भोलिपल्टैबाट सुरु भएको नाराजुलुस रोकिएको थिएन । जुलुस लिएर मानिसहरू बालुवाटार र सिंहदरबारतर्फ जाने गरेका थिए । कांग्रेस कार्यकर्ता तथा समर्थकहरूको जुलसमाथि पटक–पटक प्रहरी हस्तक्षेप हुने गरेको थियो ।
कांग्रेसले पार्टीको झण्डा बोकेर आफ्नै पार्टीको प्रधानमन्त्री कोइरालाविरुद्ध नाराजुलुस गरेको देखिन्थ्यो । काठमाडौंका विभिन्न चोकमा कांग्रेस कार्यकर्ताले कोणसभा गरेर प्रधानमन्त्री कोइरालाको विरोध गर्ने क्रमलाई निरन्तरता दिइरहेका थिए । कोइरालाले भने आफूविरुद्ध भइरहेको विरोधका विषयमा एक शब्द पनि बोलेका थिएनन् ।
सडकमा नारा जुलुस भइरहेका बेला कांग्रेसबाट निर्वाचित ५६ जनाभन्दा बढी सांसदले कोइरालाले अप्रत्यक्ष रूपमा अन्तर्घातको नेतृत्व गरेको आरोप लगाएका थिए । कोइरालाको नाम नलिइ सांसदहरूको भेलाले अन्तर्घातप्रति खेद प्रकट गरेको थियो । यसले कांग्रेसभित्रको अन्तरकलहलाई बढावा दिएको थियो ।
कांग्रेस केन्द्रीय सदस्य सेख इद्रिसको निवासमा बसेको सांसदहरूको भेलाले भट्टराई पराजित हुनुको विषयमा समीक्षा गरेको थियो । सांसदहरूको बैठकद्वारा निर्वाचनमा अन्तर्घात गर्नेहरूमाथि कारबाही गर्नुपर्ने निर्णय गरिएको थियो । सांसदहरूले निर्वाचनका विषयमा विज्ञप्ति तयार गरेर थप सांसदहरूको हस्ताक्षर जुटाउने तयारी गरेका थिए । बैठकमा बहुमत सांसद भट्टराईको पक्षमा रहेको र अन्तर्घातकै कारण निर्वाचनमा पराजित हुनुपरेको ठहर गरेपछि कांग्रेसभित्रको विभाजनको खाडल बढ्दै गएको थियो ।
भट्टराई पराजयको विषयमा छलफल गर्न कांग्रेसको काठमाडौं जिल्ला समिति र काठमाडौं–१ क्षेत्रीय समितिको बैठकसमेत आह्वान गरिएको थियो । निर्वाचनमा काठमाडौं बाहिरका कांग्रेस कार्यकर्ता उतारेर अन्तर्घातमा सघाएको आरोप एकाथरी नेताहरूले लगाएका थिए ।
क्षेत्रीय सभापति लोकेश ढकालले पार्टीको इकाइहरूबाट व्यक्ति पहिचान गरेर कारबाहीका लागि सिफारिस गर्न निर्देशन दिएको बताएका थिए । उनले निर्वाचन क्षेत्रका मात्र नभइ बाहिर जिल्लाबाट आएका कांग्रेसका नेता–कार्यकर्ताविरुद्ध पनि कारबाहीका लागि सिफारिस गरिने जानकारी गराएका थिए ।
भट्टराईको पराजय, प्रधानमन्त्री कोइरालाविरुद्ध आफ्नै पार्टी कार्यकर्ताले सडकमा गरेको विरोध र पार्टीभित्र झांगिंदै गएको खाडललाई आधार बनाएर पत्रकार तारानाथ दाहालले तयार गरेको ‘भट्टराईको पराजयप्रति छपन्न सांसदद्वारा गम्भीर चिन्ता’ शीर्षक समाचार कान्तिपुर दैनिकले २०५० माघ २९ मा प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] Bhattarai's defeat was due to 'intrigue', the majority of MPs said](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/krishna-prasad-bhattrai-1662025122823-1000x0.jpg&w=1001&h=0)