[अर्काइभ] बानेश्वरमा भट्टराईको हुँकार- 'आफूलाई गलत ढंगले हराएको प्रमाणित गर्न उपचुनावमा पुनः उम्मेदवार'

जेष्ठ १२, २०८२

कान्तिपुर संवाददाता

[Archive] Bhattarai's claim in Baneshwar- 'Re-candidates in the by-elections to prove that he lost wrongfully'

काठमाडौँ — अन्तत: पार्टीभित्र र बाहिरको चुनौती सामन गर्दै कृष्णप्रसाद भट्टराईले काठमाडौं– १ बाटै उपनिर्वाचनमा उम्मेदवार बन्ने निर्णय गरे । उनले काठमाडौंको बानेश्वरबाट चुनावी अभियान थालेका थिए । अभियानको पहिलो दिन २०५० पुस ३ गते बानेश्वरमा कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए ।

‘संसद‍्मा मेरो आवश्यकता स्वयं एमालेका दिवंगत महासचिव मदन भण्डारीले समेत वर्तमान महासचिव माधव नेपाललाई बताउनुभएको थियो । यसको साक्षी नीलाम्बर आचार्य हुनुहुन्छ,’ भट्टराईले भने । कार्यकर्तालाई सम्बोधनकै क्रममा उनले अघिल्लो निर्वाचनमा आफूलाई गलत ढंगले हराएको प्रमाणित गर्नका लागि आफू यस उपचुनावमा उठ्न लागेको पनि बताएका थिए ।

पार्टीभित्र गुटगत रुपमा देखिएको चरम असन्तुष्टिका बाबजुद २०५० सालमा हुन गइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसका सभापति भट्टराई संसद् सदस्यका लागि उम्मेदवार बन्ने निश्चित भएको थियो । उनलाई उम्मेदवार बनाउन पार्टीका सर्वोच्च नेता गणेशमान सिंहसहितको एउटा पक्षको दबाब थियो भने प्रधानमन्त्री गिरिजप्रसाद कोइरालाकासहितको अर्को समूह यसको विपक्षमा थियो ।

तर पार्टीभित्रको दबाबका कारण कांग्रेस केन्द्रीय समितिले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । पार्टीको निर्णय भए पनि कोइराला पक्षको असन्तुष्टि भने कायमै थियो । 

एमाले महासचिव भण्डारीको दासढुंगा दुर्घटनामा मृत्यु भएपछि रिक्त भएको काठमाडौं– १ मा हुन लागेको उपनिर्वाचनमा एमालेले विद्या भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । महासचिव भण्डारीकी पत्नी विद्यादेवीले उम्मेदवारी दिने निर्णयले भट्टराईका लागि बाह्य चुनौती थियो । किनकि, महासचिव भण्डारीको मृत्यु ‘कसैको षड्यन्त्रमा भएको मुलुकभर प्रचार गरिएको थियो । अस्वाभाविक दुर्घटनाको आशंकाले जनताले सहानुभूतिको मत विद्यादेवीलाई जान सक्ने अनुमान गरिएको थियो । 

भट्टराई उपनिर्वाचनमा उम्मेदवार हुने निर्णय, चुनावी प्रचार र कोइराला खेमाको असन्तुष्टिलाई समेटेर पत्रकार तारानाथ दाहालले तयार गरेको ‘भट्टराईद्वारा उम्मेदवार हुनुपरेको कारणबारे जानकारी’ शीर्षक समाचार कान्तिपुर दैनिकले २०५० पुस ४ मा प्रकाशित गरेको थियो । एमाले महासचिव भण्डारीसँग पराजित भएका भट्टराईविरुद्ध उपचुनावमा पार्टीभित्रैबाट असहयोग हुने खेलको चर्चा भने भई नै रहेको थियो ।

प्रस्तुति : ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully