[अर्काइभ] पहिलोपटक निजी क्षेत्रले उडाएको हेलिकोप्टर

वैशाख २५, २०८२

कान्तिपुर संवाददाता

[Archive] The first helicopter flown by the private sector

काठमाडौँ — निजी क्षेत्रले हवाई क्षेत्रमा लगानी गर्ने विषय नौलो थियो । किनकि त्यतिबेला शाही नेपाली सेनासँग मात्र हेलिकोप्टर थियो । सेनासँगै भाडामा लिएर शाही नेपाल वायु सेवा निगमले दुईवटा हेलिकोप्टर सञ्चालन गरेको थियो । हेलिकोप्टर सेवा सर्वसाधारणको पहुँच बाहिर थियो ।

५० को दशकबाट भने नेपाली आकाशमा निजी कम्पनीले पहिलोपटक हेलिकोप्टर उडाउन थालेका हुन् । २०५० असोज २४ गते एसियन एयरलाइन्सका दुई वटा रुसी हेलिकोप्टर रुस, पाकिस्तान, नयाँ दिल्ली हुँदै पहिलोपटक नेपाल भित्र्याइएको थियो । अहिले हवाई क्षेत्रमा जति संख्यामा हेलिकोप्टर र विमान उडिरहेका छन्, निजी क्षेत्रका लागि लगानीको बाटो खुलेपछि सम्भव भएको हो । 

निजी लगानीको बाटो खुलेपछि अहिले नेपाली आकाशमा ११ वटा कम्पनीले ३० वटाभन्दा बढी हेलिकोप्टर उडाइरहेका छन् । यो २०४६ को राजनीतिक परिवर्तनपछि निजी क्षेत्रले पाएको सुविधाको उपलब्धि थियो । 

निजी लगानीलाई कुनकुन क्षेत्रमा प्रवेश दिने भनेर कतिपय विषयमा सरकार नै अलमलमा रहेका बेला हवाई क्षेत्रमा हेलिकोप्टर सेवा प्रवेश गरेको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त्यतिबेला निजी क्षेत्रले पनि हाइड्रोपावर बनाउन सम्भव छ र ? जस्ता प्रश्न राखेको प्रसंग अहिले पनि लगानीकर्ताहरु सुनाउने गर्छन् । तर निजी क्षेत्रले विद्युत उत्पादन नगरेको भए सायद अहिलेसम्म मुलुक अँध्यारोमै बस्नुपर्ने हुन्थ्यो ! हवाई क्षेत्रमा निजी क्षेत्रको प्रवेशको विषय पनि सरकारका लागि नौलो थियो । किनकि पञ्चायतमा त्यो व्यवस्था थिएन । 

[Archive] The first helicopter flown by the private sector

एसियन एयरलाइन्सले २४ जना अट्ने हेलिकोप्टर रुसबाट भाडमा ल्याएको थियो । हेलिकोप्टर चालक नेपाली थिएनन् । व्यावसायिक उडानका लागि निजी क्षेत्रले ल्याएको ती हेलिकोप्टर सञ्चालन गर्न एसियन एयरलाइन्सले नै दुई नेपाली प्राविधिकलाई तालिमका लागि न्युजिल्यान्ड पठाएको थियो । ती हेलिकोप्टर लुक्ला, जोमसोम लगायतका क्षेत्रमा सञ्चालन गर्ने योजना बनाइएको थियो । 

एसियन एयरलाइन्सले विकास आयोजनाको सामग्री बोक्न 'कार्गो फ्लाइट' चलाउने जानकारी दिएको थियो । उक्त हेलिकोप्टर नआउँदै जर्मन चलचित्र निर्माताले डोल्पाका लागि चार्टर गरेका थिए । तर हेलिकोप्टर ल्याउने क्रममा इरान तथा पाकिस्तानको सिमानामा तीन दिन बस्नुपरेका कारण डोल्पाको चार्टर फ्लाइटको अवसर भने गुमेको थियो । 

त्यति बेला निजी लगानीमा हवाई क्षेत्रमा हेलिकोप्टरको प्रवेशले एक प्रकारको उत्साह थपेको थियो । हवाई मात्र होइन ऊर्जा, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई आकर्षित गर्ने कानुन त्यतिबेला नै बनेको थियो । लगानीमा निजी क्षेत्रको सबैभन्दा धेरै प्रवेश सम्भवतः कोइरालाकै समयमा २०४८ देखि ०५१ सम्म भएको थियो । 

यही सन्दर्भलाई जोडेर नेपालमा पहिलोपटक निजी क्षेत्रले हेलिकोप्टर नेपाली आकाशमा उडाउन लागेको समाचार कान्तिपुरले २०५० असोज २६ गते 'हेलिकप्टरहरू उत्रिए' शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

प्रस्तुति : ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully