[अर्काइभ] योजना आयोगलाई हागनले भनेका थिए- प्रशासक बटुलेर भिड जम्मा गर्ने संस्था

वैशाख २२, २०८२

कान्तिपुर संवाददाता

[Archive] The Planning Commission was called by Hagan - an organization that collects administrators and gathers people

काठमाडौँ — राणा शासनकालदेखि नै नेपाल आउजाउ गरिरहेका स्विट्जरल्यान्डका टोनी हागन भूगर्भविद् हुन् । उनले नेपालको साबिक ७५ मध्ये ७१ जिल्ला घुमेका थिए । अरुको देशको विकासमा रमाउने स्वभावका उनी नेपालका विकास सल्लाहकार पनि थिए । 

२०४६ सालको परिवर्तनबारे उनले राणा र पञ्चायतभन्दा उत्तम व्यवस्था प्रजातन्त्र नै भएको विचार राखेका थिए । कान्तिपुरका लागि पत्रकार नारायण वाग्लेले लिएको अन्तर्वार्ताका क्रममा हागनले राणाहरुले मुलुकको सम्पत्ति निजी सम्झने गरेको बताएका थिए । राणाहरुले देशप्रतिको दायित्व ख्याल नगरेको भनाइ उनको थियो । हागनले पञ्चायतको आधारभूत धारणा ठिक भए पनि एक दलीय प्रणाली भएकाले प्रजातन्त्र नभएको बताएका थिए । प्रेस स्वतन्त्रता, पार्टी खोल्ने स्वतन्त्रता र विचारको स्वतन्त्रता आधारभूत कुरा भएको उनको भनाइ थियो । उनी राजा वीरेन्द्रबाट २०४० सालमा सम्मानित भएका थिए । 

आजभन्दा झन्डै ७० वर्षपहिले नेपालको भूगोल डुलेर अनगन्ती तस्बिर खिचेका हागनले नेपाललाई विश्वमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले नेपालका विकट ठाउँ घुमेर धेरै तस्बिर खिचेका थिए । उनी आफ्नो प्राथमिकता किसानको उत्थानमा रहेको बताउने गर्थे । बहुदलीय व्यवस्था प्राप्त भएपछि सडक बन्न सुरु गरेको, झोलुंगे पुल बनिरहेको र सञ्चार सेवाको विस्तार भएकोमा उनी निकै खुसी थिए ।

त्यतिबेला नेपालमा कामका लागि खाद्यान्न भन्ने कार्यक्रम चलेको थियो । किसानले काम गरेबापत चामल पाउँथे । तर उनले चामल होइन पैसा दिनुपर्ने धारणा राखेका थिए । खाद्यान्न दिएर किसान आत्मनिर्भर नबन्ने उनको सोचाइ थियो । हागनले ५० को दशकमा गरिबी हटाउन आयआर्जनको योजना दिनुपर्ने बताएका थिए । विकासोन्मुख देशले खाद्यान्नको सहुलियत दिइरहको भन्दै उनले आफू सम्मानित हुँदा राजा वीरेन्द्रसँग उक्त विषय गलत भएको बताएका थिए । 

खाद्यान्न कार्यक्रमलाई नेपालको योजना आयोगले पारित गरेको नीति भए पनि उनलाई मन परेको थिएन । योजना आयोग थिंकट्यांक पाल्ने संस्था भएको भन्दै उनले प्रशासक बटुलेर अनावश्यक भिड जम्मा गर्ने योजना आयोगको औचित्य नै नभएको समेत भनाइ राखेका थिए । योजना आयोग बनाउनु केन्द्रीय मानसिकता भएको र त्यो दिन गएको उनको भनाइ थियो । उनले केन्द्रबाट विकास लाद्ने काम प्रजातन्त्रमा नहुने भन्दै योजना आयोगको अवधारणा कम्युनिस्ट विचारबाट प्रभावित भएको बताए । 

प्रजातन्त्रमा योजनाको छनोट जनताले गर्ने भएकाले मन्त्रालयहरुले अनुमगन र सहजीकरण गर्नुपर्ने धारणा हागनको थियो । गरिबको नाममा धेरैले काठमाडौंमा महल ठड्याएको भन्दै उनले विश्व बैंकले धेरै पैसा खर्च गरिरहेको पनि बताएका थिए । 

विदेशी संस्थाबाट सरकार निकै होसियार हुनुपर्ने सुझाव उनको थियो । भन्ने गर्थे- पश्चिमाहरु बुलडोजर किन्न लगाउँछन् तर स्थानीय प्रविधिको विकासका लागि ऋण दिँदैनन् । 

नेपाल सम्बन्ध, विकासमा वैदेशिक सहयोग र बहुदलीय व्यवस्थाको पुनस्थापनापछिका सन्दर्भ समेटेर हागनसँग गरिएको कुराकानीलाई कान्तिपुर दैनिकले २०५० कात्तिक १९ गते 'योजना आयोगको औचित्य नै छैन : टोनी हेगन' शीर्षकमा प्रकाशित गरेको थियो । 

 प्रस्तुति : ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully