[अर्काइभ] पहिला आफू बेचिइन्, उम्केपछि आफैले बम्बईमा कोठी चलाइन्

वैशाख १४, २०८२

कान्तिपुर संवाददाता

[Archive] First she was sold, after escaping she ran a home in Bombay

काठमाडौँ — भारतीय यौन बजारमा नेपाली महिला बेचिने कहालीलाग्दो घटना हिजोआज पनि बेलाबखत सार्वजनिक भइरहन्छ । तर तीन दशक त मानव बेचबिखन भन्ने शब्द नै आम प्रचलनमा थिएन । यो शब्द प्रचलनमा रहेको त्यो समयमा यस्ता घटना पनि कमै मात्र सार्वजनिक हुन्थे । सार्वजनिक भएका मध्ये पनि कमै घटनाको विस्तृत खोज अनुसन्धान हुन्थ्यो । त्यस्तै एउटा घटना हो, २० वर्षको उमेरमा काका जामबहादुरबाट भारतमा बेचिएकी सिन्धुपाल्चोककी सिमलाको कथा ।

काका जामबहादुरले घुम्न लैजाने प्रलोभनमा पारेर २ हजार भारुमा सिमलालाई बम्बइ पुर्‍याएर बेचेका थिए । उनी त्यहाँ ५ वर्षसम्म यौन शोषणमा परिन् । जसोतसो उम्केर नेपाल फर्केकी सिमला त्यसपछि भने आफै नेपालका ग्रामीण भेगबाट किशोरी भारत लगेर यौन धन्दा चलाउने काममा संग्लन भइन् ।

२०५० भदौमा ४५ वर्षीय सिमला पक्राउ परिन् । उनी पक्राउको घटना देशैभर सनसनी खबरका रुपमा  फैलियो । 

सिमला पक्राउ परेपछि उनले आफू काका जामबहादुरबाट बेचिएको उजुरी प्रहरीमा गरिन् । त्यही उजुरीपछि जामबहादुर पनि पक्राउ परे । अदालती बयानमा भने सिमलाका दाबी बाझिएका थिए । उनले एकातिर आफूलाई बम्बईमा बेच्ने भन्दै जामबहादुरविरुद्ध उजुरी गरेकी थिइन्, अर्कोतिर भने आफूले केटीहरु लगेर बम्बईमा नबेचेको प्रमाणित गर्न बम्बई नै आफूले नदेखेको बताएकी थिइन् । तर प्रहरी अनुसन्धानमा भने उनले मेलम्चीकी गीतालाई बम्बईमा लगेर सीता लामाको कोठीमा २५ हजार भारुमा बेचिएको देखिएको थियो । सीता र रन्जित तामाङले बम्बईमा कोठी चलाएको पनि प्रहरी अनुसन्धानमा देखिएको थियो ।

आफू जुन दुःखबाट उम्केकी थिइन्, सिमलाले त्यही बाटो अरुका निम्ति खनेकी थिइन् । अर्थात्, उनले सिन्धुपाल्चोककै जुठे र आशारामको सहयोगमा ग्रामीण क्षेत्रबाट किशोरी बम्बई लगेर बेच्ने नेटवर्क चलाएकी थिइन् ।

[Archive] First she was sold, after escaping she ran a home in Bombay

यिनै सिमलाले गीतालाई बम्बई लगेर बेचेकी थिइन् । एचआईभी एड्स लागेर बिरामी अवस्थामा काठमाडौं फर्केर उपचार गराइरहेका बेला गीताले रन्जितविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् । यही उजुरीपछि चाबहिलस्थित घरबाटै रन्जित पक्राउ परेका थिए । रन्जितले भने गीतालाई जुठे तामाङ र आशारामले बेचेको बयान दिएका थिए । यही अनुसन्धानकै क्रममा जुठे तामाङको शव सिन्धुपाल्चोकको लेकाली भेगमा गाडेको अवस्थामा प्रहरीले भेला पार्‍यो । अनुसन्धानका क्रममा बम्बईमा सिमलाले कोठी चलाएको सूचना 'लिक' गरेपछि जुठेको हत्या भएको हुन सक्ने प्रहरीले बताएका थिए ।

त्यतिबेला यो घटना यतिसम्म जेलिएको थियो, प्रहरीले अनुसन्धानका हरेक मोडमा नयाँनयाँ अभियुक्तको पहिचान गर्दै गएको थियो । अनुसन्धानमा फेला पर्दै गएका एकपछि अर्को रहस्यपूर्ण घटनाले सिंगो समाज तरंगित भएको थियो । यही बेला सिमला पक्राउ परेपछि भने यो घटना झनै ठूलो बन्न पुग्यो ।

सिन्धुपाल्चोकबाट बिहे गरेर नुवाकोट आइपुगेकी सिमलाले नुवाकोटका किशोरी पनि भारत लगेर बेचेको प्रहरीले अनुसन्धानबाट संकलन गरेको थियो । त्यतिबेला अर्को कुरा पनि चर्चामा थियो । सिमलाको सम्बन्ध राजनीतिक दलका नेतासँग पनि छ भन्ने । प्रहरी बयानमा सिमलाले २०४५ सालको भूकम्पको राहत कोषमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहलाई चन्दा रकम दिएको बताएकी थिइन् । त्यस्तै नुवाकोटस्थित घर जाँदा उनी हेलिकोप्टरमा गएको सूचना पनि प्रहरीले संकलन गरेको थियो ।

महिला बेचबिखनको कहालीलाग्दो त्यो समयको कथा पत्रकार प्रतीक भण्डारीले लेखेका थिए । जुन २०५०  असोज १६ गते कान्तिपुरको पहिलो पृष्ठमा ‘चेलीबेटी बेच्नेहरूबाट अपराध स्वीकार : सिमल र रंजित थुनामा' शीर्षकमा प्रकाशित भएको थियो । 

त्यो समाचारमा त्यतिबेलाको महिला बेचबिखनको विस्तृत कथा उतारिएको छ । समाचारमा अनुसार २०५० भदौमा १७ महिलाले सिन्धुपाल्चोक जिल्ला अदालतमा आफू बेचिएको भन्दै मुद्दा दर्ता गराएका थिए । २०४३, ०४५, ०४७ र ०४९ मा पनि अदालतमा बेचबिखनसम्बन्धी जाहेरी दर्ता भएका थिए । उक्त जाहेरीसँग सम्बन्धित व्यक्तिको खोजी भइरहको थियो । 

२०४३ सालमा वृन्दा भन्ने सपना दमाईले हेटौंडमा हरिप्रसाद पौडेल, २०४४ मा सुनिता तामाङले वाटल तामाङविरुद्ध, मिठु तामाङले गुप्तबहादुर तामाङविरुद्ध, २०४५ मंसिरमा सूर्य तामाङले चन्द्रबहादुर तामाङविरुद्ध, मंगली तामाङले श्याम लामाविरुद्ध, गौरी तामाङले सुन लामाविरुद्ध, २०४७ सालमा छेमा तामाङले रामबहादुर तामाङविरुद्ध, पदमकुमारी थापाले सोमबहादुर कामीविरुद्ध, छोटी तामाङले कृष्णभक्त तामाङविरुद्ध, २०४९ मा पार्वती लामिछानेले कान्छा लामाविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।

पचासको दशकमा कतिपय मुद्दा किनारा लागेको थियो भने कतिपय अनुसन्धानकै क्रममा थियो । सुरुमा व्यक्ति किटेर उजुरी दिने तर अदालतमा मुद्दा चल्दै गएपछि पीडितपक्ष बयानका लागि नजाने समस्याका कारण मुद्दा कमजोर भएको घटना धेरै भेटिन्थ्यो ।

सिमला पक्षले गीता दनुवारलाई पनि प्रलोभनमा पारेर बयानमा नजाने र गएपछि बयान फेर्ने बनाएको थियो । 'तिमीलाई एड्स लागेको छ, मरिहाल्छ्यौ, बरु केही रकम सहयोग गर्छु बयान दिन नजाऊ' भनेर उनलाई ‘होस्टाइल’ गराएको त्यतिबेलाका प्रहरीले समस्याको रुपमा सुनाउने गरेका थिए ।

पीडितहरु नै दबाब र प्रभावमा पर्ने खतरा भएका कारण २०६४ को मानव बेचबिखन तथा ओसारपसार ऐनमा पीडितले सुरुमा दिएको किटानी जाहेरीलाई नै प्रमाण मान्ने व्यवस्था गरिएको हो । बयान दिन नगए वा बयान फेरेमा सुरुको निवेदनलाई आधार मान्न सकिने कानुनी व्यवस्था गरिएको थियो ।

प्रस्तुति : ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully