[अर्काइभ] जलपान समारोहको त्यो घटनामा के दरबारको षड्यन्त्र थियो त ? 

वैशाख ११, २०८२

कान्तिपुर संवाददाता

[Archive] What was the palace's conspiracy in that event of the Jalpan ceremony?

काठमाडौँ — इतिहासका पाना पल्टाउने हो भने दलहरु के-कस्ता विषयमा विवाद र बहसमा उत्रिन्थे अनि राजनीतिक घटनाक्रमहरुले कसरी रोचक मोड लिँदै जान्थ्यो भन्ने भेटिन्छ । त्यस्तै एउटा घटना भयो, २०५० असोज १ मा । संसद‍्को पाँचौ अधिवेशन समापनका अवसरमा राजा वीरेन्द्रको सम्मानमा संसद् परिसर सिंहदरबारमा जलपान समारोह आयोजना गरिएको थियो ।

यही जलपान समारोहको एउटा घटना बन्यो, सभामुख दमननाथ ढुंगानाको राजीनामाको चुरो कारण । 

जलपानमा कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंह, प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालगायतका नेतालाई बस्ने कुर्सीसमेत व्यवस्था नगरिएको विषयले राजनीतिक रंग लियो । जलपानको भोलिपल्टै असोज २ गतेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले यो विषयमा आक्रोश पोखे । बैठकमा गिरिजाप्रसाद र अन्य सांसदहरुले समेत सभामुखलाई लक्षित गरेर आलोचना गरे । अनि यही विषयलाई लिएर तत्कालीन सभामुख दमननाथ ढुंगानाले राजीनामा दिए । ढुंगानाले संसदीय दलले आफूविरुद्ध खेद प्रस्ताव पारित गरेकोमा त्यसको स्वागत गरेका थिए । अनि उनले संसदीय दलभन्दा आफूमाथि नभएको भन्दै छानबिन गर्न सहज होस् भनेर राजीनामा दिएको प्रतिक्रिया दिए ।

जलपान समारोहको कुर्सी प्रकरण यत्तिमै सकिएन । तत्कालीन कांग्रेस महामन्त्री निधिले कुर्सीको व्यवस्थापनमा भएको कमजोरीलाई दरबारियाहरुको हात हुन सक्ने संकेत गरे । उनले भनेका थिए, ‘घटनाले संसदीय परम्परा, प्रजातान्त्रिक र संवैधानिक मर्यादा उल्लंघन भएको छ ।’ तत्कालीन कांग्रेस संसदीय दलका प्रमुख सचेतक तारिणीदत्त चटौतले घटना नियोजित हुन सक्ने भन्दै कांग्रेस एमालको समझदारीले प्रतिक्रियावादी अतालिएको बताए ।

[Archive] What was the palace's conspiracy in that event of the Jalpan ceremony?

कांग्रसले त्यतिबेला प्रजातन्त्रलाई ‘शिशु’को संज्ञा दिने गरेको थियो । प्रधानमन्त्री कोइराला, गणेशमानसहित कांग्रेसका नेताहरु भाषणका क्रममा ‘शिशु प्रजातन्त्र’लाई कमजोर बनाउने खेल भन्दै कतिपय घटनालाई विषयान्तर गर्थे । त्यसैले जलपानका बेला भएको घटनालाई पनि व्यवस्था विरोधी र दरबार निकटहरुको षड्यन्त्र हुन सक्ने शंका गरिएको थियो ।

अनेकन शंका–आशंका र उपशंकाका बीच सभामुख ढुंगानाले दिएको राजीनामा फिर्ता गरेको जानकारी महामन्त्री निधिले सञ्चारमाध्यमलाई दिएका थिए । त्यतिबेला सरकारको विरोधी भनेर चिनिएका सांसद कुवेर शर्माले भने सेना र समग्र प्रशासन संयन्त्र प्रधानमन्त्री कोइरालाकै मातहतमा हुने भएकाले सभामुखलाई मात्र यस्तो दोष दिन नहुने भन्दै फरक धारणा राखेका थिए । कोइरालाविरोधीका परिचय बनाएका र कांग्रेस पार्टी सभापति कृष्णप्रसाद भट्टराई नजिक रहेका कुवेरले दिएको प्रतिक्रियालाई कतिपयले यही रुपमा पनि बुझे ।

यही घटनाक्रम २०५० असोज ४ गतेको कान्तिपुरमा सभामुखद्वारा प्रस्तुत राजीनामा फिर्ता शीर्षकमा प्रकाशित भएको थियो ।

प्रस्तुति : ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully