नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती राम्रो सडक पूर्वाधार बनोस् भनेरै हामी पूर्वाधार कर तिरेको तर पूर्वाधार शीर्षकमै उठाइएको कर यही क्षेत्रमा खर्च नहुँदा सडक पूर्वाधार राम्रो बन्न नसकेको बताउँछन् ।
काठमाडौँ — २०३२ सालमा स्थापना भएको संस्था हो– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल । अटो क्षेत्रमा आबद्ध व्यवसायीको छाता संगठन नाडाले दसैंको मुखमा नाडा अटो शो गर्दै आएको छ । एक खर्ब रुपैयााभन्दा बढी लगानी र एक लाखभन्दा बढी प्रत्यक्ष रोजगार रहेको अटो क्षेत्रका लागि संस्थाले के गरिरहेको छ, अटोबजार कत्तिको चलायमान छ, सरकारसाग व्यवसायीका अपेक्षा के कस्ता छन्, यससम्बन्धी विविध विषयमा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीसँग कान्तिपुरका विमल खतिवडाले गरेको कुराकानीको सम्पादित अंश :
नेपालमा अटोबजारको विकास र विस्तारलाई कसरी हेर्नुभएको छ ?
अटोबजारले दिएको योगदान, रोजगारी र यसको सम्भावनाका विषय नहेरी राज्यले यसलाई निजी सवारी बिक्री गर्ने थलोका रूपमा मात्र हेरेको छ । तर कृषि, निर्माण र उद्योगको उत्पादनलाई बजारसम्म ल्याउने साधनका रूपमा यसलाई हेरिनुपर्छ । अझै पनि अटोबजारलाई राम्रोसँग सरकारले बुझ्न र अध्ययन गर्न बाँकी छ ।
अटोबजारमा १ खर्ब रुपैयाँभन्दा बढी लगानी छ, यसमा १ लाखभन्दा बढी प्रत्यक्ष र १० लाखभन्दा बढी अप्रत्यक्ष रोजगार छन् । कुनै पनि देशलाई विकसित र अल्पविकसित रूपमा मान्ने हो भने त्यहाँ चढिने सवारी र चल्ने सार्वजनिक सवारीको वर्गीकरणबाट देख्न सकिन्छ । तर समग्रमा यो क्षेत्र राम्रो छ ।
बर्सेनि सवारीसाधनको संख्या बढ्दो छ, तर आवश्यक पूर्वाधार विकासमा ध्यान दिइएको देखिँदैन नि ?
राम्रो सडक पूर्वाधार बनोस् भनेरै हामी पूर्वाधार कर तिर्छौं । तर पूर्वाधार शीर्षकमै उठाइएको कर यही क्षेत्रमा खर्च नहुँदा सडक पूर्वाधार राम्रो बन्न सकेको छैन । काठमाडौं उपत्यकामा गुडिरहेका सवारीलाई आधार मानेर संख्या बढ्यो भन्ने गरिन्छ । के सबैको पहुँचमा सवारीसाधन छ ? त्यसैले सर्वप्रथम यसलाई सबैको पहुँचमा पुर्याउन जरुरी छ । आवश्यकताअनुसार सडक पूर्वाधारको विकास हुनुपर्ने हो, त्यो हुन नसकेकै हो ।
आवश्यकताअनुसार सडक पूर्वाधार निर्माण गरिनुपर्छ । अन्डरपास, फ्लाईओभर वा सुरुङ पूर्वाधार— के बनाउँदा दूरी घट्छ र समय पनि बच्छ, त्यसतर्फ सरकारको ध्यान जानुपर्छ ।
नाडा स्थापना भएको ५० वर्ष पुग्यो, यस अवधिमा यो क्षेत्रको विकास र विस्तारमा नाडाले गरेका मुख्य उपलब्धि के–के हुन् ?
पुराना केही सदस्य केही विषयमा चित्त नबुझेर अर्कोतिर लाग्नुभएको होला, म नाडामा अध्यक्ष भएर आइसकेपछि उहााहरूलाई फोन गरें, सबैलाई भेट्ने प्रयास गरिरहेको छुहामी अहिले नाडाको स्वर्णयुगमा छौं । जति पनि नाडाका पुराना अध्यक्ष हुनुहुन्छ, धेरैजसोले नेपाल उद्योग वाणिज्य महासंघमा प्रतिनिधित्व गर्नुभएको छ । अटो क्षेत्रमा नाडाले जहिले पनि सवारीसाधन ल्याएर मात्र हुँदैन । त्यसलाई उचित व्यवस्थापन गर्नुपर्छ । उचित व्यवस्थापनसँगै सर्भिस स्टेसन, बिमा र बिक्रीपछिका सेवाका लागि नाडा लागिपरेको छ । सवारीसाधन आयात गर्ने, यसको उत्पादन गर्ने, सवारीसाधन नेपाल भित्र्याएर बिक्रीवितरण गर्ने डिलर, बिक्रीपछिको सेवा दिने स्पेयर पार्ट्ससहितका सम्पूर्ण निकायलाई समेटेर बनाएको संस्था नै नाडा हो । यसले कस्ता सवारी आयात गर्नुपर्छ, कस्ता सवारी विस्थापित गरिएन भने क्षति गर्न सक्छ भनेर सम्बन्धित निकायलाई सचेत गराउँछ । वातावरणसम्बन्धी विषयमा युरो १, युरो २, युरो ६ लागू गर्ने, ई–मोबिलिटीलगायत विषयमा नाडाले काम गरिरहेको छ ।
पूर्वाधार विकास र सडक सुरक्षामा नाडाको भूमिका कस्तो रहन्छ ?
हाम्रा अध्यक्षहरूले सरकारबाट पूर्वाधार क्षेत्रमा लगानी भएको नदेखेपछि भौतिक पूर्वाधार तथा यातायात (हालको पूर्वाधार विकास) मन्त्रालयमा गएर लगानी बढाउनेबारे सुझाव दिनुभएको थियो । केही निश्चित रकम सवारी आयातकर्तासँग पनि लिनुस्, हामी दिन तयार छौं । तर सडक पूर्वाधारमा सुधार हुनुपर्छ भन्नुभएको थियो । सडक मर्मतमा खर्च गरौं भनेर सडक दस्तुर लगाउन सुझाव नाडाले नै दिएको थियो । सडक खाल्डाखुल्डीरहित हुनुपर्छ भनेका हौं । तर त्यो हुन सकेको छैन । सवारीसाधन प्रयोगकर्ता दुर्घटनामा परे हामीलाई क्षति हो भनेर त्यसपछि सडक पूर्वाधार कर लागू भएको हो । अहिले पूर्वाधार कर बढाएर कहाँ पुर्याइयो, सबैलाई थाहा छँदै छ ।
बेलाबेला नाडा विवादमा आइरहन्छ, यसैबीच नाडा फुटेर छुट्टै संस्था नाइमा बनेको छ, एउटै क्षेत्रमा व्यवसाय गर्ने व्यवसायी पनि किन मिल्न नसक्नुभएको ?
पुराना केही सदस्य केही विषयमा चित्त नबुझेर अर्कोतिर लाग्नुभएको होला । म नाडामा अध्यक्ष भएर आइसकेपछि उहाँहरूलाई फोन गरें । सबैलाई भेट्ने प्रयास गरिरहेको छु । आउँदो नाडा एक्स्पोमा सुरुमा जति थियौं, एक/दुई ब्रान्ड छाडेर सबैलाई ल्याउने गरी काम गरिरहेका छौं । घरपरिवारमा रहँदा सानो कुराले घरै छाडेर कोही गयो भन्दैमा उसलाई घरको माया नै छैन भन्ने होइन, घर फर्किएर आउने वातावरण बनाउनुपर्छ । हामीबाट केही गल्ती भएको भए त्यसलाई स्विकारेर अगाडि बढ्न तयार छौं । संस्था बलियो भयो भने मात्र हामीले गर्ने व्यापार बलियो हुन्छ । त्यसैले हामी निकट भविष्यमा एक हुन सक्छौं ।
आगामी वर्षको बजेट र मौद्रिक नीतिका व्यवस्थाले यस क्षेत्रको विकास र विस्तारका लागि कस्तो नीति लिएको छ ?
आगामी आर्थिक वर्षको बजेट राम्रो आएको छ । बजेट पूरै खर्च हुन सके कुल गार्हस्थ्य उत्पादन पनि बढ्छ । यसले सवारीसाधनको बिक्रीवितरण बढाउँछ । पहिलाको जस्तो बजेट खर्च नहुने प्रवृत्ति यस पटक नदोहोरियोस् । अटोमोबाइललाई विलासिताको वस्तु नभई आवश्यक सवारीसाधनका रूपमा हेर्न जरुरी छ । अहिले यो आवश्यक सवारीसाधन हो भनेर अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्ट पारिसक्नुभएको छ । यो राम्रो पक्ष हो । मौद्रिक नीतिमा पनि सरकारको नीति स्पष्ट देखिन्छ ।
सरकारबाट व्यवसायीमैत्री काम भएका छन्, छैनन् ? व्यवसायी कत्तिको उत्साहित छन् ?
सरकार गठन भएर काम गरेको सय दिन भएको छ । अहिले नै सरकारको मूल्यांकन गर्ने बेला भएको छैन । अहिले सरकारलाई निराश पार्ने काममा नलागौं । पुरानो सरकारका बेला हामीले कति दुःख पायौं पायौं । यो सरकारबाट हाम्रा अपेक्षा पूरा हुँदैनन् भने आउँदा दिनमा कस्तो नेतृत्व र कस्तो सरकारको परिकल्पना गर्ने ? यो सरकारलाई काम गर्ने ठूलो अवसर छ । बरु काम नगरे हामीले खबरदारी गरिरहनुपर्छ ।
अटोबजार कत्तिको चलायमान बनेको छ, व्यवसायीमा उत्साह कस्तो छ ?
यति बेला अटोबजार चलायमान छ । सडक पूर्वाधार अझ राम्रो हुने हो भने यो क्षेत्र थप चलायमान बन्न सक्छ ।
अहिले पनि स्पेयर पार्ट्समा अधिकांश हिस्सा अनौपचारिक क्षेत्रको छ, यो किन नियन्त्रण हुन नसकेको ? यसले इमानदार व्यवसायीलाई कस्तो असर परेको छ ?
व्यवसायीले स्पेयर पार्ट्सको व्यापार पारदर्शी रूपमा गरेका छन् । चोरीनिकासीबाट अवैध रूपमा ल्याइने सामानले भने बजार बिगारेका छन् । यसले पारदर्शी रूपमा व्यवसाय गर्ने साथीहरूलाई बदनाम गराइरहेको छ । अवैध रूपमा सामान भित्रिने क्रम रोकिएको छैन । जसबाट सरकारले भन्सार राजस्व गुमाइरहेको छ । यसलाई भन्सार प्रशासन र सशस्त्र प्रहरीले रोक्न जरुरी छ । समयमै यसलाई रोक्न नसके इमानदार व्यवसायी पलायन हुने अवस्था आउन सक्छ ।
विद्युतीय सवारीसाधनको बजार माग कस्तो छ ?
यसको बजार राम्रो छ । माग पनि बढ्दो नै छ । अन्तर्राष्ट्रिय रूपमै विद्युतीय सवारी बढिरहेका छन् । यसको विकल्प अब खोज्न सकिँदैन ।
नाडा अटो एक्स्पो आउँदै छ, तयारी के कस्तो छ ?
काठमाडौंको भृकुटीमण्डपमा ९ देखि १५ भदौसम्म नाडा अटो शो हुँदै छ । दसैं आएको संकेत दिने गरी यसलाई भव्य बनाउँदै छौं । सबै निकायका लागि अटो शो चाड जस्तै बन्ने गरेको छ ।
यस वर्ष नाडा अटो शोमा के फरक गर्दै हुनुहुन्छ ?
प्रत्येक वर्षको अटो शोमा केही नयाँ दिने कोसिस गरेकै हुन्छौं । नाडाले सवारीसाधन मात्र बिक्री गर्दैन, आयातितदेखि नेपालमै बनेका टायर, ब्याट्री आदि स्पेयर पार्ट्ससम्म प्रदर्शनीमा रहन्छन् । वर्षभर बिक्री हुने सवारीसाधनको ६० प्रतिशतभन्दा बढी बुकिङ नाडा शोमा हुने गरेको छ ।
अटो शोलाई व्यवस्थित र राम्रो गर्न सरकारबाट कस्तो अपेक्षा गर्नुभएको छ ?
नेपालमा अटो शो गर्ने ठूलो प्रदर्शनीस्थल छैन । जसले गर्दा खुलेर अटो शो गर्न पाइँदैन । जसकारण हामीले नाडा अटो शो के हो भनेर बृहत् रूपमा देखाउनै पाएका छैनौं । कति सवारीसाधनका मोडल नै ठाउँ अभावमा खुलेर देखाउन पाइँदैन । हामी अटो क्षेत्रको भविष्यबारे कार्यक्रम गर्न चाहन्छौं, तर पानीले भिजाउला कि भन्दै डराइ–डराइ गर्न बाध्य छौं । त्यसैले राम्रो प्रदर्शनीस्थलको ठूलो खाँचो छ । अटो क्षेत्रले २२ देखि २४ प्रतिशत राजस्व बुझाउँछ । यसलाई हेरेर पनि सरकारले उचित पहलकदमी लिइदियोस् भन्ने हाम्रो अपेक्षा छ ।
