महामन्त्रीका उम्मेदवार मनिष झालाई प्रश्न : तपाईंलाई उम्मेदवारी फिर्ता लिन दबाब आएको हो ?

रास्वपाको महामन्त्री पदका उम्मेदवार मनिष झाले भने- 'केही व्यक्तिले समूहगत अभ्यास गर्नुभयो, यो सभापतिज्यूको अभिव्यक्तिविपरीत कार्य हो ।'

असार १२, २०८३

कान्तिपुर संवाददाता

Question to General Secretary candidate Manish Jha: Have you been pressured to withdraw your candidacy?

What you should know

चितवन — रास्वपाको जारी प्रथम महाधिवेशनमा महामन्त्री पदको निर्वाचन निकै प्रतिस्पर्धात्मक र पेचिलो देखिएको छ । सुरुमा १० जनाको उम्मेदवारी परेकामा अब ५ जनाबीच प्रतिस्पर्धा हुनेछ । यसअघि कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, जगदीश खरेल, गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएका थिए । उनीहरुले विपीन आचार्यलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

राजुनाथ पाण्डे र रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् । अन्तिम नामावली प्रकाशनपछि घोषणा गरेकाले रञ्जुको उम्मेदवारी भने कामयै रहने भएको छ । प्रतिस्पर्धामा मनीष झा, गणेश कार्की, सागर ढकाल र विपिन आचार्य देखिएका छन् । यही सन्दर्भमा चितवनको भरतपुरस्थित महाधिवेशनस्थलमा महामन्त्रीका उम्मेदवार मनिष झाले सञ्चारकर्मीसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ :

विशेषगरी महामन्त्री पदका लागि निकै प्रतिस्पर्धा र चासो देखिन्छ । खास के भइरहेको छ ?

जे गर्नु हुँदैन भनेर भनिन्छ, त्यही हुँदा नराम्रो भयो । लोकतान्त्रिक प्रक्रिया, निर्वाचन प्रक्रियामा यस्तो हुन्छ पनि । समयले सिर्जना गरेको अवस्था हो । केही व्यक्तिले केही समूहगत अभ्यास गर्नुभयो, यो हाम्रो नेताको अभिव्यक्तिविपरीत कार्य हो ।

रवि दाइले त यहाँ आएर समूहगत अभ्यास नगर्नु है भन्नुभएको थियो । उहाँकै छायामा कसैले गर्दै हुनुहुन्छ भने सभापतिज्यूलाई जानकारी छैन तर उहाँको नाम बदनाम भइरहेको छ । 

सभापतिलाई जानकारी नभई मनिष झाविरुद्ध मोर्चाबन्दी हुँदै छ ?

मनिष झाविरुद्ध वा गणेश कार्कीको सपोर्टमा भन्नै कुरै छैन । व्यक्तिगत सपोर्ट वा विरोधभन्दा पनि यो समूहगत अभ्यास किन भन्ने कुरा मात्रै हो ।  

तपाईंलाई उम्मेदवारी फिर्ता लिन दबाब पनि आएको थियो ?

हिजो राति मिलेर जानुपर्छ भन्ने कुरा भएको थियो । सहमति भनेको जहिले पनि त्याग होइन । कहिलेकाहीँ प्राप्ति पनि हो । मैले गर्ने राजनीतिक सहमति किन सधैं त्याग मात्रै भइदिन्छ भन्ने प्रश्न पनि मैले सोधेँ ।

सभापति र उपसभापतिलाई भनेँ- मलाई मन्त्रालयगत लोभ छैन । पार्टी सुधार्नुछ । मौका दिनुस्, यो कार्यकालमा पार्टीको कमजोरी सुधार्न चाहन्छु ।

केही हेभीवेट नेताहरुले त उम्मेदवारी फिर्ता लिएर विपीन आचार्यलाई समर्थन गरेका छन् नि ? 

उहाँहरु हेभीवेट हुनुहुन्थ्यो भने त फिर्ता लिनुहुने थिएन । आफ्नो कुरामा अडिग रहनुहुन्थ्यो । हल्का वेटको भएर नै फिर्ता लिनुभएको हो ।

महामन्त्री पदमा यति आकर्षण र तपाईंको रुचि किन ?

महामन्त्री पद कार्यकारी पद हो । लोकतान्त्रिक प्रक्रियमा रहेका दलमा यस्ता पद महत्वपूर्ण हुन्छन् । यो त रास्वपाको महाधिवेशनबाट पहिलो  निर्वाचित महामन्त्रीको इतिहास पनि कायम हुनेछ । 

६ दिनअघि नै मैले यस पदमा दाबी गर्छु भनेको थिएँ । अरु केही उम्मेदवारजस्तो २-४ घण्टाका लागि उम्मेदवारी दिएको होइन, मेरो उम्मेदवारी यथावत् नै छ ।

कान्तिपुर

Link copied successfully