प्रतिनिधिलाई कार्ड वितरण भएलगत्तै मंगलबार बन्दसत्र सुरु हुन्छ ।
What you should know
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पहिलो महाधिवेशनको बन्दसत्र एक दिन ढिला हुने भएको छ । सोमबार बिहान ८:०० बजेदेखि बन्दसत्र सुरु हुने कार्यतालिका सार्वजनिक भए पनि मंगलबारका लागि सरेको छ । अझैसम्म पनि महाधिवेशन प्रतिनिधि संख्या निश्चित भएको छैन । अर्कोतिर नेताहरूले पदाधिकारीदेखि केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरी प्रचारप्रसार सुरु गरिसकेका छन् । प्रतिनिधि टुंगो लगाउने कार्यमा किन ढिलाइ भयो ? र, उम्मेदवारी घोषणा भइरहेको विषयमा रास्वपा सहमहामन्त्री विपिन आचार्यसँग कान्तिपुरका लागि जयसिंह महराले गरेको कुराकानी :
प्रथम महाधिवेशन गरिरहेको रास्वपाले सोमबार बिहान साढे ८ बजेदेखि बन्दसत्र सुरु गर्ने भनेको थियो तर हुन सकेन र स्थगित भयो । किन यस्तो भयो ?
हामीले बन्दसत्र सुरु गर्नुभन्दा अगाडि जति पनि महाधिवेशन प्रतिनिधिहरू हुनुहुन्छ उहाँहरूको नाम टुंग्याउनु पर्ने थियो । प्रतिनिधिको नाम टुंगो लगाएर परिचयपत्र वितरण गर्नुपर्ने हुन्छ । तीमध्ये अधिकांश कार्ड वितरण सकिएको स्थिति छ । अलिकति चाहिँ प्रिन्ट गर्ने प्रक्रियामा ढिलो भएको थियो । जुन प्रिन्ट गरेर सकिइसकेको छ, त्यो वितरण गर्न सुरु गर्ने र प्रिन्ट गर्न बाँकी कार्ड आज राति प्रिन्ट गरेर मंगलबार बिहान ७ बजेदेखि बाँड्न सुरु गर्ने हो । त्यो कार्ड वितरणको कार्य सम्पन्न भएलगत्तै बन्दसत्र सुरु हुन्छ ।
बन्दसत्र मंगलबार कति बजे सुरु हुन्छ ?
कार्ड वितरण भएसँगै बन्दसत्र सुरु हुन्छ । बाँकी तयारी पूरा भएको छ ।
केन्द्रीय समितिको निर्वाचनको प्रक्रिया कहिले सुरु हुन्छ र महाधिवेशन कति लामो जान्छ ?
मंगलबार नै सुरु हुन्छ । महाधिवेशन अब एक दिन लम्बिने भने अहिले नै देखिएको छ । सामान्यतः आजको अवस्था हेर्दा बन्दसत्र सकिएर केन्द्रीय समिति निर्वाचनको प्रक्रिया सुरु भइसक्नुपर्ने सेड्युल थियो । यसमा ढिलाइ हुँदै गर्दा समय बढ्ने भयो । अब हामी एक दिनभन्दा बढी नहुने गरी काम गर्दैछौं ।
महाधिवेशनबाट नेतृत्व चयनबारे सभापति र वरिष्ठ नेताबीच सहमतिको प्रयास भइरहेको हो ?
अहिले नै त्यो विषयमा प्रवेश गर्ने बेला त भएको छैन । सुरुको चरणमा बन्दसत्र सम्पन्न गर्ने हो । पार्टी सभापतिले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनदेखि मैले प्रस्तुत गर्ने विधान संशोधन प्रतिवेदनसम्म पास गरेपछि केन्द्रीय समिति निर्वाचन प्रक्रिया सुरु हुन्छ । त्यसपछि बल्ल नेतृत्व चयनको प्रक्रिया सुरु हुन्छ । दुई नेता वा अन्यबीच पनि छलफल हुने कुरालाई म नकार्न सक्दिनँ ।
केन्द्रीय सदस्य र पदाधिकारीमा उम्मेदवारी घोषणा सुरु भइसकेको तर तपाईंहरू प्रतिनिधिको काम नै सम्पन्न गर्ने चरणमा हुनुहुन्छ नि ?
पहिलो कुरा त पार्टीको आचारसंहिताले स्पष्ट रूपमा के भनेको छ भने प्रतिनिधिको टुंगो लगाउनु पहिले नै उम्मेदवारी घोषणा गर्न नमिल्ने हो । सार्वजनिक रूपमा घोषणा गर्न नहुने हो । निर्वाचन आयोगले मनोनयन खुल्ला गरेपछि बल्ल केन्द्रीय समिति निर्वाचन प्रक्रिया सुरु हुने भएकोले त्योभन्दा अगाडि व्यक्ति-व्यक्तिबीच हुने छलफलमा उम्मेदवारीबारे कुरा गर्नु सामान्य होला तर प्रक्रिया सुरु नहुँदै उम्मेदवारी घोषणाको अर्थ नरहला ।
उम्मेदवारहरूले कार्ड नै बनाएर भोट माग्न थालिसक्नुभएको छ ?
सामान्यतया उम्मेदवार प्रचारका कार्ड वितरण गर्ने कुराहरूबारे निर्वाचन आयोगले पक्कै हेरिरहेको होला । ती विषयमा केहि न केहि निर्वाचन आयोगले आफ्नो हिसाबले गर्नुपर्ने प्रक्रियाका कुराहरू त पक्कै पनि गर्छ होला ।
