कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छिन्- युवाहरूको असन्तुष्टिले सिर्जित जेन–जी आन्दोलनको बलमा नयाा सरकार आएको हो, यसकारण यो सरकारलाई काम गर्ने समय र अवसर दिनुपर्छ
What you should know
अटोमोबाइल क्षेत्रमा महिला नेतृत्वको बलियो छाप बनाइरहेकी ऋतु सिंह वैद्य व्यवसाय, सौन्दर्य, कला र सामाजिक नेतृत्वलाई एकसाथ अघि बढाउने विरलै व्यक्तित्वमध्ये पर्छिन् । पूर्वमिस इन्डिया, फेसन डिजाइनर, गायिका र उद्यमीसमेत रहेकी वैद्य बहु आयामिक व्यक्तित्वका रूपमा परिचित छिन् । वैद्य नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष र नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) की प्रबन्ध निर्देशक पनि हुन् । अटोमोबाइल, हेभी इक्विपमेन्ट, सिमेन्ट, कृषि, वित्तीय सेवालगायत पारिवारिक व्यवसाय विस्तारमा उनको भूमिका महìवपूर्ण छ । नेपालमा उद्योग व्यवसायको वर्तमान अवस्था, महिला नेतृत्व, लगानी वातावरण र उनको व्यक्तिगत जीवनबारे वैद्यसँग कान्तिपुरका लागि यज्ञ बञ्जाडे र सीमा तामाङले गरेको कुराकानी :
१९ वर्षकै उमेरमा तपाईं मिस इन्डिया युनिभर्स १९९१, फिप्थ रनर अप मिस वर्ल्ड, सेकेन्ड रनरअप मिस एसिया वर्ल्ड हुनुभयो, अहिले नेपालमा व्यवसायमा सक्रिय हुनुहुन्छ, कस्तो अनुभव गर्नु हुन्छ ?
सबैभन्दा महत्त्वपूर्ण विषय सकारात्मक धारणा (पोजिटिभ एट्टियुड) हुनुपर्छ । जे काम गर्ने हो, त्यसलाई राम्रोसँग गर्नुपर्छ । त्यो काममा सफलता प्राप्त गर्न पूर्ण रूपमा लाग्नुपर्छ । मेरो सवालमा पनि त्यही हो । जब म मेरो विगत फर्केर हेर्छु, मलाई आनन्द लाग्छ । किनकि मैले रुचि र क्षमताअनुसारकै काम गरें । १९ वर्षको उमेरमा आफैं गएर मिस इन्डियामा फारम भरें । विभिन्न प्रतिस्पर्धामा उत्रिएँ र सफल पनि भएँ । प्रतिस्पर्धाका लागि फारम भर्न जाँदादेखि राउन्डमा छनोट हुँदिनँ कि भनेर म कहिल्यै डराइनँ । त्यहाँ मेरो सकारात्मक धारणाले काम गरेको छ । मेरो जीवनको मुख्य नारा मौकामा आफ्नो क्षमता पूर्ण रूपमा देखाउनुपर्छ (राइज टु द ओकेजन) भन्ने हो । त्यो ‘राइज टु द ओकेजन’ म मिस इन्डिया हुँदा होस् कि अहिलेको स्थितिमा होस्, सधैं जारी छ । उद्यमशीलता (व्यवसाय) गर्ने रुचि ममा पहिलेदेखि नै थियो । मिस इन्डिया हुँदा नै मैले ‘सिल्कको फर्म’ सुरु गरेको थिएँ । साथीको सल्लाहमा आफैं ‘सिल्क बोर्ड’ मै पुगेर सूचना लिएर व्यवसाय सुरु गरेकी थिएँ । तर त्यो सफल भएन । मैले मोडलिङ गर्दा पनि मोडलिङ कोअर्डिनेसन र शोहरू साथसाथै चलिरहेको थियो । उद्यमशीलताको केही सीप ममा थियो । पछि आएर त्यो सीप नेपालमा पारिवारिक व्यवसायमा उपयोग भयो ।
बिहेपछि नेपालमै बस्ने गरेर आउनुभयो, आउँदाबित्तिकै सिधै पारिवारिक व्यवसायमा छिर्नुभएन, बरु छुट्टै व्यवसाय गर्नुभयो, पछि केले प्रोत्साहन गर्यो र पारिवारिक व्यवसायमा लाग्नुभयो ?
बिहे गरेपछिको एक वर्षसम्म म मोडलिङ र टेलिभिजनहरूमै व्यस्त थिएँ । भारतमै काम लिइरहेकी थिएँ । म नेपाल आउँथें, दुई–तीन दिन बस्थें अनि तीन–चार साताका लागि फर्कन्थें । यो क्रम चलिरहेको थियो । जसले गर्दा म नेपाल र परिवारसँग पनि राम्रोसँग कनेक्ट हुन सकिरहेकी थिइनँ । मेरो वैवाहिक जीवनका लागि पनि यो सही थिएन । त्यसकारण सन् १९९७ पछि काठमाडौंमा लामो समय बस्न थालें । नेपालमै केही गर्नुपर्छ भन्ने लाग्यो । फेसन डिजाइनरसमेत भएकाले मैले काठमाडौंमै लुगाको काम सुरु गरें । डिजाइनिङ, एम्ब्रोयडरीलगायत गरें । त्यतिबेला नेपालमा कालिगड नभएकाले १०–१२ जना भारतबाटै ल्याएँ । नेपालमा त्यतिबेला बुटिक थिएन, लुगाको काम हुँदैनथ्यो । एम्ब्रोयडरी, हातको काम गर्ने कालिगड थिएनन् । त्यतिबेला व्यवसाय सुरु गर्दा राम्रो प्रतिक्रिया पाएँ । धेरै माग थियो । आज हेर्छु, कुपन्डोल क्षेत्रमा बुटिक नै बुटिक छन्, कालिगड पर्याप्त छन् । मैले बुटिक सुरु गर्दा भारतबाट ल्याएका कालिगड र मेरो परिवार एउटै घरमा बस्थ्यौं । टप फ्लोरमा हामी बस्थ्यौं, फर्स्ट फ्लोरमा वर्कशप र ग्राउन्ड फ्लोरमा शोरुम थियो । पछि व्यवसायको ग्रोथ नभएको र चुनौती पनि देखिएपछि ६/७ वर्षपछि बन्द गरें । त्यसपछि अरू नै केही व्यवसाय गर्नुपर्छ भन्ने लाग्यो । त्यतिबेला मैले स्पा सुरु गरें, म्युजिक एल्बम निकालें । पछि विस्तारै पारिवारिक व्यवसायमा लागें ।
तपाईं भारतमै सेलिब्रेटी भइसक्नुभएको मान्छे, तपाईंलाई खोज्ने धेरै थिए होलान्, मोडलिङ, फिल्म क्षेत्रबाट पनि अफर आए होलान्, तर व्यवसायको नेतृत्व गरिरहनुभएको छ, सन्तुष्ट हुनुहुन्छ ?
पक्कै पनि म सन्तुष्ट छु । मिस इन्डिया, मिस वर्ल्ड वा मोडलिङपछि अगाडिको क्षेत्र भनेको फिल्म दुनियाँ नै थियो । मेरो परिवारका धेरै जना फिल्म क्षेत्रमा हुनुहुन्छ । उहाँहरू प्रोड्युसर, डाइरेक्टर, एक्टर्स हुनुहुन्छ । उहाँहरूको जीवनशैली देखेर पनि म कहिल्यै फिल्म क्षेत्रमा आकर्षित भइनँ । काम राम्रो भएको बेला उहाँहरूको राम्रो हुन्थ्यो । अनि अचानक सकिएपछि त सबै अस्तव्यस्त हुन्थ्यो । हुन त फिल्मका लागि मेरो स्क्रिन टेस्ट भयो । यश चोपडा, धर्मेन्द्रजीसम्मले ओके गर्नुभयो । तर अन्तिममा मेरो मनले मानेन र फिल्म क्षेत्रमा प्रवेश नै गरिनँ ।
शुद्ध नेपाली बोल्नुहुन्छ, परिवारबाट सिक्नुभयो कि प्रशिक्षक नै राख्नुपर्यो ?
मैले नेपाली भाषा सिक्न कहिल्यै शिक्षक राखिनँ । हाम्रो घरमै परिवारसँग, घर तथा कार्यालयका कर्मचारीसँग सिकें । सुरुसुरुमा जब म नेपाली कम बुझ्थें, त्यतिबेला हाम्रा केही कर्मचारीले ‘हजुर त नानी जस्तो कुरा गर्नुहुन्छ’ भन्थे । त्यतिबेला किन ‘नानी जस्तो’ भन्नुभएको रहेछ, आज बुझेकी छु । म पञ्जाबी, हिन्दी, नेपाली, अंग्रेजीलगायत भाषा पनि बोल्छु । यसले मलाई नेपाली भाषा सिक्न सहज बनायो ।
पछिल्ला वर्षमा सक्रिय रूपमा व्यवसायमा लागिरहनुभएको छ, अटोमोबाइलसँगै कृषि, चियालगायत उत्पादनमूलक क्षेत्रमा पनि व्यवसाय विस्तार गरिरहनुभएको छ, आगामी योजना के–के छन् ?
म्यानुफ्याक्चरिङ क्षेत्रमा हाम्रो समूहको ह्वासिन सिमेन्ट हो । कृषिमा पनि छ । अहिले देवरले हेर्नुहुन्छ । मेरो पोर्टफोलियोमा ट्रेडिङ कम्पनी धेरै पर्छन् । एक्ससीएमजी हेभी इक्विपमेन्ट, एथर इलेक्ट्रिक टू–ह्विलर छन् । मेरा श्रीमान् (सुरज वैद्यजी) ले मोरबी डेली, एथर र बेनेली हेर्नुहुन्छ । सार्क ट्यांकपछि म सूचना तथा प्रविधि (आईटी), शिक्षा र आईटीसँग सम्बन्धित केही एप्समा जोडिएकी छु ।
बजारमा माग घटेको र आर्थिक गतिविधिमा सुस्तता आएको भन्ने छ, त्यसको असर व्यवसायमा परेको छ कि छैन ? अहिले नेपाली बजारका समस्या तथा चुनौती के–के छन् ?
पछिल्लो डेढ वर्षदेखि नै आर्थिक गतिविधिमा सुस्तता देखिएको छ । त्यहीबीचमा जेन–जी आन्दोलन भयो । त्यसपछिका केही महिना बजार सुधारका लागि खासै काम हुन पाएन । अन्तरिम सरकार गठन, निर्वाचन र नयाँ सरकार गठनसम्म आइपुग्दासम्म ठूलो ग्याप नै भयो । किनकि त्यो अवधि संक्रमणकाल जस्तो रह्यो । ठूला निर्णय खासै हुन पाएनन् । नयाँ सरकार गठनपछि परिवर्तनका संकेत देखिन थालेका छन् । भ्रष्टाचार नियन्त्रण र सुशासनमा काम गर्ने सरकारले बताउँदै आएको छ । यसैबीच केही उद्योगी व्यवसायी पक्राउ परेको, उनीहरूका गतिविधिमाथि अनुसन्धान भएका समाचार आएका छन् । मैले यो सरकारलाई निकै सकारात्मक रूपमा हेरिरहेकी छु । युवाहरूको असन्तुष्टिले सिर्जित जेन–जी आन्दोलनको बलमा नयाँ सरकार आएको हो । यसकारण यो सरकारलाई काम गर्ने समय र अवसर दिनुपर्छ । नयाँ बजेट आएको छ । बजेटमा अर्थतन्त्रको सुधारसँगै निजी क्षेत्रका धेरै समस्या सम्बोधन भएका छन् । तर, ती कसरी कार्यान्वयन हुन्छन्, त्यो हेर्न बाँकी छ । अर्थतन्त्र सुधारका लागि घोषित कार्यक्रम कार्यान्वयनका लागि पनि सरकारलाई निश्चित समय दिनुपर्छ । भविष्यमा हामी सबैको राम्रो हुन्छ भन्ने आशा छ । यसका लागि सरकारले कम्तीमा आगामी पाँच वर्षका लागि विशेष योजना बनाएर अघि बढ्नुपर्छ ।
नेपालमा व्यवसाय गर्न चाहने स्वदेशी तथा विदेशी लगानीकर्ता, स्टार्टअप र महिला उद्यमीलाई के सन्देश दिन चाहनुहुन्छ ?
मेरो सुझाव वा आग्रह नै हामीलाई यो देशमा धेरै युवा चाहिन्छ । दुर्भाग्य, रोजगारीकै लागि बाहिर गइरहेका छन् । उनीहरूलाई रोकेर पनि काम छैन । किनभने हाम्रो देशको आधार नै रेमिट्यान्स बनेको छ । नेपालमै बसेर काम
गर्न चाहनुहुन्छ भने सुरुमा त आफूलाई व्यवस्थित गर्नुहोस्, आफ्नो रुचि र क्षमता पहिचान गर्नुहोस् । त्यसपछि उद्यम सुरु गर्नुभयो सफल भइन्छ । म विश्वस्त छु । हाम्रो जस्तो देशमा युवा जनशक्ति धेरै चाहिएको छ । धेरै क्षेत्रमा अहिले जनशक्ति अभाव छ । त्यो अभाव पूर्तिका लागि पनि हामीलाई युवा जनशक्ति धेरै चाहिएको हो । त्यो आन्तरिक जनशक्तिबाटै आपूर्ति हुन सके धेरै राम्रो हुन्छ ।
आउँदो भदौमा दोस्रो नाइमा एक्स्पो गर्दै हुनुहुन्छ, स्टल वितरण गरिसक्नुभयो, दोस्रो एक्स्पो पहिलोभन्दा के मानेमा भिन्न छ ?
एक्स्पोका लागि स्टल वितरणको काम सकियो । गत वर्षको नाइमा एक्स्पोमा ४२ ब्रान्डका सवारी थिए । यस पटक ५०–५२ ब्रान्ड सहभागी हुनेछन् । एक्स्पोका लागि धेरैको रुचि देखिएको छ । तर हामीसँग ठाउँ (स्पेस) छैन । दसैंतिहारको नजिकमा एक्स्पो हुन लागेकाले पनि अटो शोका लागि धेरैको चासो हुन्छ । गत वर्ष पहिलो एक्स्पो गरेका थियौं । त्यसमै हामीले धेरै राम्रो डेलिभर गर्यौं । सबैतिरबाट माग आएपछि सुरुवातमा पाँच दिन रहेको एक्स्पोको समय एक दिन थपेका थियौं । दर्शकले यस पटकको एक्स्पोमा गत वर्षको भन्दा धेरै ब्रान्ड मात्र होइन, धेरै विविधता पाउनुहुनेछ ।
तपाईं नाइमाको संस्थापक अध्यक्ष हुनुहुन्छ, संस्थालाई एक वर्षमै निकै चर्चित बनाउनुभयो, तर नाइमा र नाडा छुट्टिएरभन्दा एउटै छातामा रहँदा बलियोसँग यो क्षेत्रमा समस्या उठान गर्न सकिन्थ्यो भन्ने छ, भविष्यमा नाइमा र नाडा एक हुने सम्भावना कति छ ?
यो विशुद्ध नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन हो । नाइमाले सवारी आयात गर्ने र उत्पादन गर्नेलाई मात्र समेट्छ । आयात गर्ने वा म्यानुफ्याक्चरिङतिर लैजान र त्यसलाई सम्बोधन गर्ने हाम्रो मुख्य उद्देश्य हो । हामी यसमै केन्द्रित हुन्छौं । नाडामा स्पेयर पाटर््स, ग्यारेज, अटोमोबाइलसँग सम्बन्धित सबैखाले व्यवसाय सदस्य बन्न पाउँछन् । स्पेयर पार्ट्स पनि कम्पनीको डिस्ट्रिब्युटरमार्फत नै आउँछ । हामीले ग्रे इम्पोर्ट्स (अनौपचारिक बाटोबाट हुने आयात) कसरी रोक्ने भन्नेबारे काम गरिरहेका छौं भने आवश्यक नीति व्यवस्थापनका लागि सरकारलाई सुझाव दिइरहेका छौं । नाइमाको भूमिका अझै व्यापक बनाउनुपर्नेछ । यसका लागि सबैलाई नाइमामा स्वागत छ । हाल नाइमाअन्तर्गत ५०/५२ ब्रान्ड छन् । यो एउटा उद्योगसरह हो । नाइमा नाडासँग मिलेर अघि बढ्न चाहन्छ । किनकि नाडा पनि एउटा उद्योगसरह नै हो । हामीले कसरी मिलेर अघि बढ्ने भन्नेबारे काम गर्न सक्छौं । यसका लागि एक/दुई पटक प्रयास पनि भएका छन् । भविष्यमा पनि मेरातर्फबाट जारी नै रहनेछ ।
पाँच वर्षमा नाइमालाई कुन स्तरमा पुर्याउने योजना छ ?
एउटा इमानदार संस्थामा परिचित गराउने हो । अटोमोबाइल वा पूर्वाधार क्षेत्रसँग सम्बन्धित विषयमा प्रतिक्रिया, सुझावका लागि सक्षम र विश्वसनीय बनाउँछौं । समग्र अटोमोबाइल क्षेत्रलाई कसरी प्रवर्द्धन गर्ने, पूर्वाधार र तालिमलाई केन्द्रमा राखेर उद्यमशीलता कसरी विकास गर्न सकिन्छ, त्यसमा केन्द्रित हुन्छौं ।
तपाईंले व्यवसायसँगै सडक सुरक्षाको कुरा पनि उठाइरहनुभएको छ । सरकारी निकायहरूसँग पनि समन्वय गरिरहनुभएको छ । नेपालमा पूर्वाधार र सडक सुरक्षाको अवस्था कस्तो छ ?
पूर्वाधार, सडक सुरक्षामा धेरै ठूलो खाडल छ । हाम्रो हाइवे छैन, फ्लाइओभर छैनन् । गाडी थपेको थप्यै छौं । निजी क्षेत्रको गतिमा अघि बढ्न सरकारले धेरै काम गर्नैपर्छ । उत्साहजनक के छ भने हाम्रो छलफल चलिरहेको छ । सरकारसँग मिलेर योजना बनाइरहेका छौं । सरकारले पनि यो स्थितिलाई ह्यान्डल गर्न खोजिराखेको छ । हाम्रो आफ्नै देशको पनि एउटा सीमितता छ, हामीसँग फालाफाल बजेट छैन । त्यही भएर हामीले कसरी यसलाई व्यवस्थापन गरेर लैजाने, कसरी न्यायपूर्वक निजी क्षेत्र र सरकारको साझेदारीमार्फत लैजाने गरी छलफल गरिरहेका छौं । छिट्टै निष्कर्षमा पुग्छौं ।
नेपालमा सेलिब्रेटी/व्यवसायी राजनीतिमा जाने प्रचलन बढ्दो छ, तपाईं राजनीतिमा आउने सम्भावना कत्तिको छ ?
राजनीतिमा आउने महत्त्वाकांक्षा छैन । म आफ्नै व्यवसायमा रमाइरहेकी छु । व्यवसाय पैसाका लागि मात्र नभई कति क्षेत्रमा हाम्रो सहभागिता गराउन सक्छौं भन्ने हो । मेरा लागि व्यवसाय भनेको सामाजिक प्रभाव पनि हो र हुनुपर्छ । अवश्य पनि कम्पनीले पैसा कमायो भने त संस्था राम्रोसँग चल्छ र हामीले कामदारलाई तलब तथा सुविधा दिन सक्छौं । कर्मचारीहरूको राम्रो हुँदा समाज पनि राम्रो हुन्छ । उनीहरूको बालबच्चाको पढाइ, सिकाइ र वृत्ति विकासमा पनि प्रभाव पार्छ ।
महिलाका नाममा व्यवसाय दर्ता भए पनि उनीहरूको सक्रियता न्यून देखिन्छ, समाजमा महिलालाई संरक्षणका रूपमा राखिन्छ, यसले पनि उनीहरूको आत्मविश्वास अपेक्षित रूपमा बढ्न नसकेको हो कि भन्ने छ, महिलालाई उद्यमशीलतामा अघि बढाउन के गर्नुपर्ला ?
हाम्रोमा सामाजिक भिन्नता धेरै छन् । छोरीमान्छेप्रति परिवारको माया बढी हुने भएकाले संरक्षण पनि धेरै हुन्छ । त्यसलाई हामीले अनदेखा गर्न मिल्दैन । तर अभिभावकलाई छोराछोरीको पढाइमा विभेद नगर्न आग्रह गर्छु । शिक्षा र अवसरमा विभेद नगर्दा हरेक क्षेत्रमा महिलाले पनि पुरुषसरह नै योगदान दिन सक्छन् । समान शिक्षा दिइएको छैन भने महिला जहिल्यै पछि पर्छन् । म सानो हुँदा मेरा बुबा कहिलेकाहीं मसँग कबड्डी खेल्नुहुन्थ्यो । मलाई शारीरिक रूपमा पनि बलियो बनाउन उहाँ मसँग कबड्डी खेल्नुभएको हो । मानसिक र ज्ञान मात्र नभई शारीरिक रूपमा पनि सक्षम हुनुपर्छ । कसैले हेपिरहेको छ भने तपाईं पनि प्रतिक्रिया दिन सक्नुहुन्छ भन्ने डर ती व्यक्तिमा हुनुपर्छ । त्यसकारण महिलालाई बलियो बनाउने दायित्व परिवारको हो । अनि महिलाले समाजमा गएर आफ्ना लागि आफैं ठाउँ बनाउन सक्छन् ।
सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेको छ, यस क्षेत्रको विकास र विस्तारका लागि सरकारलाई के सुझाव दिन चाहनुहुन्छ ?
सरकारलाई काम गर्न अलि कति समय दिऔं । किनकि उहाँहरू पनि नयाँ हुनुहुन्छ । जस्तै, कम्पनीको नाम एउटा छ । तर कम्पनीभित्र सबै परिवर्तन भए जस्तो छ । सरकारले पनि आफ्नो भूमिका र दिशा तय गर्नुपर्छ । सरकारको नियत स्पष्ट र शुद्ध देखिन्छ । डेलिभरी दिन खोज्दै छ । आगामी पाँच वर्षमा यी–यी काम गर्छौं र सेवा दिर्न्छौं भनेर वाचापत्र, सुशासनसम्बन्धी सयबुँदे कार्यसूचीलगायत आएका छन् । त्यसकारण सरकारलाई काम गर्न समय दिऔं ।
१५ जेठमा बजेट आएको एक/दुई दिनपछि विभिन्न कम्पनीका विद्युतीय गाडी सरकारले नियन्त्रणमा लियो, अहिले केही कम्पनीका गाडी फुकुवा पनि भइसकेका छन् ? किन नियन्त्रणमा लिइयो र किन छोडिएछ ?
वास्तविकता सरकारबाटै बुझ्नुपर्ला । तर सुरुमा नियन्त्रणमा लिइयो र पछि खुला गरियो । तर यो कामले कम्पनीहरूको खराब प्रचार भयो । यस्तो नगरौं । कमजोरी प्रमाणित गरेर मात्र यस्तो कदम चालौं ।
सार्क ट्यांकको राम्रै चर्चा भयो, तपाईंले व्यवसाय विस्तारका लागि नयाँ आइडिया वा क्षेत्र पाउनुभयो ?
व्यवसाय विस्तारबारे म अहिले तुरुन्तै भन्न सक्दिनँ । संस्थापक वा आइडिया पिच गर्ने साथीहरू धेरै आउनुभएको छ । एकै वर्षमा व्यवसाय विस्तार गर्ने भन्ने हुँदैन । किनकि प्रक्रियादेखि, लगानी व्यवस्थापन छोटो समयमा हुन सक्दैन । कहिलेकाहीं पुँजी उपलब्धतामा पनि समस्या हुन्छ । यसकारण व्यवसाय विस्तार आजको भोलि हुँदैन ।
