नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना देखेका छौं : डेभिड म्यारियट

कान्तिपुरसँगको अन्तर्वार्तामा म्यारियट इन्टरनेसनलका बोर्ड अध्यक्ष डेभिड म्यारियटले नेपालमा आफूले महान् संस्कृति-सेवा देखेको र काठमाडौं बहुआयामिक र निकै रोचक सहर रहेको बताएका छन् ।

जेष्ठ २६, २०८३

कान्तिपुर संवाददाता

We see immense potential in Nepal's tourism sector: David Marriott

What you should know

काठमाडौँ — एक सय ४६ देशमा ९ हजार ९ सय होटल सञ्चालन गरिरहेको ‘म्यारियट इन्टरनेसनल’ ले आगामी वर्ष १००औं वार्षिकोत्सव मनाउँदैछ । नेपालमा अहिले नैम्यारियट, फेयरफिल्ड, मोक्सी र अलफ्ट ब्रान्डको उपस्थिति रहेकामा अब सीजी हस्पिटालिटी इन्टरनेसनलसँग मिलेर नेपालमा दुईवटा प्रिमियम ब्रान्ड द रिच कार्ल्टन र वेस्टिन होटल्स एन्ड रिसोर्ट्स सञ्चालन गर्ने तयारी छ । उसले हस्पिटालिटी उद्योगमार्फत आर्थिक विकासलाई गति दिने सोचको वकालत गर्ने गरेको छ । कान्तिपुर दैनिकका लागि गोकर्ण अवस्थीबिकेन के दवाडीले म्यारियट इन्टरनेसनलका बोर्ड अध्यक्ष डेभिड म्यारियटसँग काठमाडौंमा गरेको कुराकानीः

म्यारियटको विरासत र कर्पोरेट संस्कृति कस्तो छ ?

हामी आगामी वर्ष आफ्नो सयौं वार्षिकोत्सव मनाउने तयारी गरिरहेका छौं । अमेरिकामा एक सय वर्षको कोसेढुंगा पूरा गर्नु निकै दुर्लभ घटना हो । हाम्रो संस्कृति र मूल्य–मान्यताका कारण हामी एक सय वर्षसम्म पनि सुदृढ रह्यौं भन्ने मलाई लाग्छ । 

सन् १९२७मा मेरा हजुरबुबा–हजुरआमाले सानो व्यवसायका रूपमा यसलाई सुरु गर्नुभयो । त्यसबेला ९ सिटको बियर स्ट्यान्ड थियो । मेरा हजुरबुबा य्युटाको एउटा कृषि फार्ममा हुर्कनुभएको थियो । त्यही फार्ममा काम गर्नुपर्ने हुँदा उहाँ १२ वर्षको उमेरमा स्कुल छाड्न बाध्य हुनुभयो ।  

तर, उहाँलाई शिक्षा जरुरी छ भन्ने थाहा थियो । अन्ततः उहाँले वेबर स्टेट कलेजका एक चिने–जानेका प्राध्यापकसँग सम्पर्क गर्नुभयो । ती प्राध्यापकलाई सहमत गराएर विश्वविद्यालयमा पढ्ने अवसर पाउनुभयो । 

शिक्षामा पाएको त्यो सुरुवाती अवसरले कसरी उहाँको भविष्यको व्यवसायलाई प्रेरित गर्‍यो ?

मेरो हजुरबुबाले सधैं उक्त अवसरप्रति आफूलाई धन्य महसुस गर्नुभयो । किनकि, उक्त अवसर र शिक्षा नपाएको भए आफ्नै व्यवसाय खोल्ने अवसर मिल्ने थिएन भन्ने उहाँलाई लागेको थियो । त्यहीकारण, मेरो हजुरबुबाले य्युटा विश्वविद्यालयबाट चारवर्षे कलेज डिग्री पूरा गर्नुभयो । मेरी हजुरआमासँग उहाँको भेट त्यहीँ भएको थियो । उहाँको सपना वासिङ्टन डीसीमा रुट बियर स्ट्यान्ड खोल्ने थियो । किनकि, त्यहाँ गर्मी भएकाले बियरको व्यापार राम्रो चल्छ भन्ने उहाँलाई लागेको थियो । उहाँहरूले थोरै ऋण लिनुभयो, त्यसपछिटी फोर्ड मोडलको गाडी चढेर दुई हजार माइल यात्रा गर्दै २० मे, १९२७ मा सानो रुट बियर स्ट्यान्ड खोल्नुभयो । आफ्ना सहयोगीको राम्रो ख्याल गर्दा उनीहरूले ग्राहकको राम्रो ख्याल गर्नेछन् भन्ने सोच उहाँहरूको थियो । यस्तो हुँदा ग्राहकहरू फर्केर आउँथे । यो दर्शनसबै काममा लागू हुन्छ । 

We see immense potential in Nepal's tourism sector: David Marriott

उहाँहरू कसरी एउटा सानो स्ट्यान्डबाट बृहत् हस्पिटालिटी व्यवसायमा विस्तार हुनुभयो?

हाम्रा मान्यता र संस्कृति कहाँबाट सुरु हुन्छन् ? त्यो सधैं महत्त्वपूर्ण हुन्छ । मेरा हजुरबुबा–हजुरआमाले आफ्ना सहयोगीको राम्रो ख्याल गर्नुभयो । सन् १९३० को दशकको सुरुवातमा उहाँहरूले आफ्ना सहयोगीको स्वास्थ्य उपचारका लागि चिकित्सकलाई नियुक्त गर्नुभयो । जबकि, त्यस समयसम्म स्वास्थ्यउपचार बृहत्रूपमा उपलब्ध भइसकेको थिएन । आफ्ना ग्राहकमाझ व्यवसाय सधैं सान्दर्भिक रहोस् भन्न उहाँहरूले नयाँ–नयाँ तरिका अपनाउनुभयो । 

उहाँहरूको स्ट्यान्डमा गर्मी समयमा रुट बियरको व्यापार निकै राम्रो भइरहेको थियो । तर, जाडो सुरु भएसँगै त्यसको व्यापार घट्यो । त्यसपछि उहाँहरूले व्यवसायलाई नयाँ ढंगले अघि बढाउनुभयो । रूपान्तरण आवश्यक थियो । उहाँहरूले मेनुमा ताता खानेकुराहरू राख्नुभयो र त्यसपछि आफ्नो रेस्टुरेन्टलाई ‘हट सप्स’ नाम दिनुभयो । त्यो रूपान्तरण नै म्यारियट ब्रान्डको मुख्य विशेषता थियो । 

आजका दिनमा यी मूल्य–मान्यता नेपाली बजारमा कसरी लागू हुन्छन् ?

जनतालाई प्राथमिकतामा राख्नु हाम्रो मूल मान्यता हो । उत्कृष्टताको खोजी, रूपान्तरण, एकताबद्ध कार्य र सेवाले नै हामीलाई हस्पिटालिटी क्षेत्रमा अन्यभन्दा फरक देखाउन सहयोग गरेको छ । यसले हामीलाई पहिलो एक सय वर्षमा सफल हुन मद्दत गरेको छ । र, त्यसपछि पनि गर्नेछ ।

नेपालजस्तो उत्कृष्ट बजारमा पहिलोपल्ट आउँदै मैले सेवामा संलग्न मानिससँग भेटेको छु । मेरो हजुरबुबाले व्यवसायको सुरुवातमा गरेजस्तै सेवा उहाँहरूले दिनुभएको छ । उहाँहरूले ग्राहकको हेरचाह र सेवा गर्न सिकाउनुभएको छ । मैले यहाँ महान् संस्कृति र सेवा देखेको छु । काठमाडौं घुम्नेलाई सहयोग गर्न र तिनको अनुभवलाई महान् बनाउन यहाँका मानिस खटिएका छन् । यो बहुआयामिक र निकै रोचक सहर हो ।

तपाईंले यो सहरको जीवन्तताबारे बोल्नुभयो । के यो ऊर्जा सहरी केन्द्रभन्दा बाहिर गएर देशका सुन्दर प्राकृतिक स्थानमा पनि विस्तार हुन्छ ?

यो सहरमा धेरै ऊर्जा छ । म त्यसको महसुस गर्नसक्छु । सहरबाट टाढा हिमालहरूसम्म जाने ऊर्जा छ । मानिसहरू यहाँ हिमाल हेर्न र अनुभव गर्न आउँछन् । जो यस संसारकै साँचो यथार्थमध्ये एक हो ।  

के म्यारियटले त्यही सम्भावना देखेर आफ्नो उपस्थिति बढाइरहेको हो ? नेपालमा अहिले लक्जरी ब्रान्ड विस्तारको सम्भावना देखेर नै निर्णय भएको हो ?

हामी सधैं विस्तार हुने अवसर हेरिरहेका छौं । नेपालमा हाम्रा सहयोगीको करिअर वृद्धि र विकासका राम्रा अवसर छन् । हाम्रा ग्राहकका लागि नयाँ स्थान र उत्कृष्ट गन्तव्यको अनुभव गर्ने अवसर छ । होटल सञ्चालकका लागि पनि हामीसँग सहकार्य गरी नेपालभर आफ्नो व्यवसाय अभिवृद्धि गर्ने अवसर छ । नेपाल एउटा त्यस्तो गन्तव्य हो, जसको खोजी विश्वभरका मानिसले बढ्दो रूपमा गरिरहेका छन्– होटल कोठाहरूको बढ्दो मागले त्यही देखाउँछ । र, हामी त्यो माग पूरा गर्न यहाँ छौं । मलाई लाग्छ, यो बजार निरन्तरको अभिवृद्धि र विलासिताका लागि तयार छ । यो त्यस्तो बजार हो, जहाँ उत्कृष्ट भविष्यका लागि राम्रो बाटो छ । 

तपाईंले हिमालको कुरा गर्नुभयो ? के तपाईं काठमाडौं बाहिर अझ भनौं हिमाल नजिक पनि सेवा विस्तार गर्न चाहनुहुन्छ ?

हामी निरन्तर अवसर खोजिरहेका हुन्छौं । नेपालमा त्यो अवसर छ । हाम्रा लागि, हाम्रा साझेदारका लागि, सबैका लागि यहाँ अवसर देखेर हामी आएका छौं । हामी थप अवसर पहिल्याउने छौं । 

यस क्षेत्रमा भारतमा म्यारियटका सयौं सेवा छन् । नेपालले तपाईँहरूको ब्रान्डलाई भारतजस्तै ध्यान आकर्षित गर्न के गर्नुपर्छ ?

त्यहीकारण त आज हामी यहाँ छौं । नेपालमा नयाँ दुई र भारतमा एक होटलमा हामी जोडिँदैछौं । हामीले यस बजार र नेपालमा ठूलो विकासको सम्भावना देखेका छौं । अहिलेभन्दा विस्तार गर्नसक्छौं भन्ने हामीलाई लागेको छ । तपाईंहरूले याद गर्नुपर्छ, म्यारियटले रणनीतिक काम गर्छ । पहिले गेटवे सहरहरूमा छिर्छ । भारतमा हाम्रो यात्रालाई नियाल्दा हामीले गोआ र मुम्बईमा निकै चाँडो होटलहरू खोल्यौं । जब ब्रान्ड लोकप्रिय भयो, त्यसपछि हामी अन्यत्र फैलियौं । म यहाँ पनि त्यही अपेक्षा गर्छु ।

होटल निर्माणबाहेक यस क्षेत्रमा तपाईंका अन्य प्राथमिकता के छन् ?

म यहाँ दुई कुरा हाइलाइट गर्न चाहन्छु । हाम्रो मुख्य काममध्ये एक स्थानीयस्तरमै प्रतिभा विकास गर्नु र स्थानीयलाई नै विश्वभरका होटल हस्तान्तरण गर्नु हो । हामी विश्वभर नै दक्ष जनशक्ति उत्पादन गरिरहेका छौं । नेपालमा ठूलो संख्यामा प्रतिभा छन् । नेपालीहरू अहिले विदेशमा रहेका हाम्रा होटलहरूमा पनि काम गरिरहेका छन् र अन्ततः उनीहरू फर्किन चाहन्छन् । भारतमा पनि हामीले यस्तै देखेका थियौं । 

हामीले भारतका हजारौं कर्मचारीलाई विदेशका अन्य भूभागका म्यारियट होटलमा काम गर्न पठायौं र अहिले सयौं मानिस घर फर्किरहेका छन् । कोही साँच्चै घर फर्कन चाहन्छन्, कोही परिवारका कारण फर्कन चाहन्छन् । तर, उनीहरूका लागि त्यहाँ अवसर छ । 

हामी यहीँनेर जोड्न चाहन्छौं, विदेशमा विशेषगरी मध्यपूर्वमा तपाईंको होटलमा रहेका श्रमिक छन्, उनीहरूको वृत्ति विकास र उनीहरूलाई नेपालमा तपाईंहरूको विस्तारले कस्तो लाभ पुर्‍याउनसक्छ ?

नेपाली श्रमिक सबैतिर छन् । आज पनि जब म सिड्नीस्थित क्वान्टास फर्स्ट क्लास लन्ज हुँदै जान्छु, मलाई त्यहाँ स्वागत गर्ने व्यक्ति नेपाली मूलका अस्ट्रेलियाली पनि हुन्छन् ।क्वान्टासको प्रचारमा पनि उनीहरूलाई देखाइएको हुन्छ । अमेरिका र अन्य बजारमा काम गर्ने नेपाली सहकर्मी हामीसँग धेरै हुनुहुन्छ । हामी त्यस्तो इको सिस्टम सिर्जना गर्दैछौं, जहाँ मानिसले सीमाबाहिर फड्को मार्न सकुन् । यदि यहाँ विश्वका जुनसुकै ठाउँमा गएर पनि काम गर्नसक्ने मानिस छन् भने हामी उनीहरूलाई त्यो अवसर दिनेछौं । 

We see immense potential in Nepal's tourism sector: David Marriott

हामीले यहाँ रिच कार्ल्टन र वेस्टिन खोल्दै गर्दा त्यहाँ केही नेपाली हुनेछन्, बाहिर भएका नेपालीले पनि भन्नसक्छन्, ‘म अब घर फर्कन चाहन्छु । अब घर फर्कन मसँग कारण छ ।’

उनीहरू लामो समयदेखि रिच कार्ल्टनसँग जोडिएका हुनसक्छन् र घर फर्कने इच्छा गर्नसक्छन् । यस्तो क्षण हामीले सधैं देख्नेछौं । यो उत्साहजनक छ किनकि यसले हाम्रा मानिसलाई अवसर सिर्जना गर्छ ।

तपाईंले आफ्नो रणनीतिको तेस्रो तत्त्वबारे पनि चर्चा गर्नुभएको थियो, जसलाई म्यारियट बोन्भोई भनिन्छ ? यस वृद्धि र विकासमा उक्त लोयल्टी कार्यक्रमले कस्तो भूमिका खेलेको छ ?

यो हाम्रो लोयल्टी कार्यक्रम हो । हामीसँग विश्वभर २८ करोड सदस्य छन् । एसिया प्यासेफिक क्षेत्रमा हामीसँग झन्डै ७ करोड ५० लाख मानिस छन् । भारतमा मात्रै १ करोड १० लाख छन् । हामी घुम्न र नयाँ गन्तव्यमा हाम्रा होटलको अनुभव लिन चाहन्छौं । हामी जब नयाँ गन्तव्यमा होटल खोल्छौं, तब हाम्रा बोन्भोई ग्राहक त्यसको अनुभव लिन जान्छन् । जब तपाईं विलासी सामग्री ल्याउने कुरा गर्नुहुन्छ, तब एसिया–प्यासिफिक क्षेत्रतर्फ हेर्नुपर्ने हुन्छ । यहाँ विश्वको ६० प्रतिशत जनसंख्या बस्छ । सन् २०३० भित्र यहाँको थप ७० करोड जनसंख्या मध्यमवर्ग बन्दैछ । विलासी घुमघामको सौख बढ्दैछ । 

नेपालमा रिट्ज कार्ल्टन र वेस्टिनका लागि सीजी हस्पिटालिटीसँग नै सहकार्य गर्ने निर्णय किन लिनुभयो ?

हामी विश्वभर नै साझेदार खोजिरहेका हुन्छौं । हाम्रा लागि सीजी कर्पोरेसन एक उत्कृष्ट साझेदार हो । यो कर्पोरेसन वर्षौंदेखि अद्भुत छ । नेपालमा आफ्नो वृद्धि र विकासका लागि हामीले सोचेजत्तिकै उत्कृष्ट साझेदार पाएका छौं । हामी हाम्रा मूल्य–मान्यतासँग मिल्ने र ‘पिपुल फर्स्ट’ दर्शनअनुसार चल्ने साझेदार खोजिरहेका हुन्छौं, जसले परिवर्तन ल्याउन र विश्वलाई नै उत्कृष्ट सेवा पुर्‍याउन सक्छ । उनीहरू त्यस मान्यतासँग जोडिएका छन् । त्यसैले नेपाल र भारतमा उनीहरू (सीजी) सँग मिलेर काम गर्न पाउँदा हामी निकै उत्साहित छौं ।

पहुँचको कुरा गरौं, कस्ता विशेष पूर्वाधार निर्माणका लागि सुझाव दिनुहुन्छ ?

दक्षिण एसिया र दक्षिणपूर्वी एसियासहित विश्वका धेरै क्षेत्र र देशमा हामी त्यहाँका सरकारलाई पर्यटनको शक्ति अनि महत्त्वबारे विश्वस्त पार्नेगरी काम गर्छौं ।विश्वव्यापी रूपमा, कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत योगदान पर्यटनबाट हुन्छ र १३ प्रतिशतभन्दा बढी मानिस पर्यटन व्यवसायमा कार्यरत छन् । पर्यटनको शक्ति ठूलो छ ।

हामीले पर्यटन पहुँचलाई सहज बनाउन सरकारहरूसँग काम गर्ने गरेका छौं । भिसा प्रक्रिया सहज बनाउन के आवश्यक पर्छ अनि पहुँचलाई कसरी सहज बनाउन सकिन्छ ? यो विषयमा हामी कुराकानी गर्छौं ।जब पूर्वाधार तयार गरिन्छन्, तब एक ठाउँबाट अर्को ठाउँमा जान सहज हुन्छ । धेरै उडान र गन्तव्यको प्रचारले देशलाई थप पहुँचयोग्य बनाउँछ ।

यस्ता रणनीति कहाँ सफल भएका छन् ? केही उदाहरण दिन सक्नुहुन्छ ?

तपाईंहरू भियतनामजस्ता देशलाई हेर्न सक्नुहुन्छ । एक करोडभन्दा कम पर्यटक आउने यस देशमा अहिले २ करोड १५ लाखभन्दा धेरै पर्यटक आउँछन् । भारतमा पूर्वाधार विकास भएपछि हामी यसरी नै पर्यटक बढाउन सक्रिय हुनेवाला छौं ।मानिसहरूसँग पैसा छ । विशेषगरी जेन–जी पुस्ता प्रयोगात्मक भ्रमण चाहन्छ । उनीहरू बाहिर निस्किएर विभिन्न गन्तव्यको अनुभव लिन चाहन्छन् ।उनीहरूको गन्तव्य सहज बनाइदिनुपर्छ । यसको अर्थ गन्तव्यमा सुन्दर होटल र पूर्वाधारको सहज विकास हो ।

नेपालले थप विदेशी लगानी भित्र्याउन काम गरिरहेको छ । नेपाल सरकार र स्थानीय व्यवसायलाई तपाईँको सुझाव के छ ?

मलाई लाग्छ, काठमाडौंलाई एउटा गन्तव्यका रूपमा बजारीकरण गरिरहन जरुरी छ । यहाँ हिमालहरूको पहुँच छ । काठमाडौं कति विश्वसनीय बजार हो ? त्यो  विषयमा चेतना बढाउनु जरुरी छ ।

नेपालमा व्यवसायीहरूका लागि तपाईंको कुनै सुझाव छ ?

हाम्रा उद्योग, नेपाल र पर्यटनमा मानिसहरू पैसा खर्च गर्न चाहन्छन् । यो हाम्रा लागि खुसीको खबर हो ।मानिसहरू नेपालमा त्यस्ता अद्भुत हिमालको अनुभव लिन चाहन्छन्, जुन अनुभव विश्वमा कतै पाइँदैन ।

यी सम्झनालाई मानिसहरू जीवनैभर बोकेर हिँड्छन् । जब बजार थप पहुँचयोग्य हुनेछ, तब तपाईँहरू धेरैभन्दा धेरै मानिसले यस गन्तव्यमा भ्रमण गरेको देख्नुहुनेछ । नेपालमा भएका अद्भुत हिमालको अनुभव गर्नउनीहरू यस महान् गन्तव्यमा आउनेछन् ।

कान्तिपुर

Link copied successfully