६ वर्षमा ३१ पटक ८ हजार मिटरभन्दा अग्ला हिमाल चढेकी क्रिस्टिन हरिला भन्छिन् : अब परिवारसँग समय बिताउँछु
What you should know
काठमाडौँ — विश्वका सबै १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल केवल ९२ दिनमै आरोहण गरेर कीर्तिमान बनाएकी नर्वेली पर्वतारोही क्रिस्टिन हरिलाले आफ्नो तीव्र सफलताको यात्रा, आरोहणसँग जोडिएका विवाद, शेर्पा समुदायको सुरक्षाको आवश्यकता र सगरमाथा आरोहण गर्न चाहने जो–कोही पीडा सहन तयार हुनुपर्ने विषयमा संवाद गरेकी छन्।
सन् २०२२–२३ मा नर्वेली पर्वतारोही क्रिस्टिन हरिलाले आरोही साथी तेन्जेन लामा शेर्पासँग मिलेर विश्वका सबै १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल केवल ९२ दिनमा आरोहण गरी विभिन्न कीर्तिमान कायम गरिन् । अहिले ४० वर्षीया हरिला आफ्नो पर्वतारोहण करियर अन्त्य गर्ने तयारीमा देखिन्छिन्। उनले पछिल्ला ६ वर्षमा ८ हजार मिटरभन्दा अग्ला हिमालहरू ३१ पटक आरोहण गरिसकेकी छन्। यसै सिजनमा उनले ‘हिमालयन ट्रिपल क्राउन’ अर्थात् सगरमाथा, ल्होत्से र नुप्से आरोहण गरिन्।
हालै काठमाडौंमा अमरिकी दूतावास र सेभेन समिट ट्रेक्सले संयुक्त आयोजना गरेको द एसेन्ट समिटमा भेटीएकी क्रिस्टिन हरिलासँग कान्तिपुरका लागि सुरज कुँवर र बिकेन दवाडीले उनको सफलताको यात्रा, आलोचना, शेर्पा समुदायको सुरक्षा र व्यावसायिक पर्वतारोहणबाट विश्राम लिने निर्णयलगायतका विषयमा कुराकानी :
सबैभन्दा आधारभूत प्रश्नबाट सुरू गरौँ । तपाईं पर्वतारोहणमा कसरी आकर्षित हुनुभयो ?
मैले पहिलो पटक सन् २०१५ मा किलिमाञ्जारो आरोहण गरेकी थिएँ । त्यसपछि त्यो अनुभवले मलाई निकै प्रभावित गर्यो। अन्ततः सन् २०१९ मा मैले आफ्नो जागिर छाडेँ । र, त्यसपछि नेपाल आउन थाले । त्यस बेला किलिमाञ्जारो मेरो लागि निकै अग्लो हिमाल थियो । त्यसअघि म मुख्यतः क्रस-कन्ट्री स्की गर्थें । नर्वेमा वास्तवमै अग्ला हिमाल छैनन्, साना पहाडहरू मात्र छन्। त्यसैले तयारीका लागि म घर नजिकैका पहाडी क्षेत्रमा धेरै दौडिन्थें।
त्यस बेला तपाईंको उमेर कति थियो?
२९ वर्ष ।
यति छोटो समयमा यति ठूलो सफलता हासिल गर्नमा मुख्य भूमिका के रह्यो?
मैले धेरै वर्ष क्रस-कन्ट्री स्की गरे । पहाडहरूमा धेरै दौडिएँ । त्यसले मलाई राम्रो सहनशक्ति दियो। हिमालय आउनुअघि पनि धेरै हिमाल चढेकी थिए । यद्यपि ती साना थिए । मेरो सफलताको आधार त्यही अनुभव थियो।
तपाईं र तपाइको गाइड तेन्जेनबीचको सम्बन्धबारे धेरै चासो छ। पहिलो भेट कसरी भयो?
मैले उनको बारेमा पहिले नै सुनेकी थिएँ। कम्पनीमार्फत केही पटक छोटो भेट भएको थियो। सन् २०२३ को मार्चमा हामीले पहिलो पटक मानस्लु सँगै आरोहण गर्यौ । त्यसपछि शिशापाङ्मा र चो ओयु गयौँ । त्यहाँको अनुभव निकै राम्रो भयो। त्यसपछि बाँकी सबै शिखरहरू सँगै आरोहण गर्ने निर्णय गर्यौ ।
सुन्नमा आएको छ कि यो तपाईंको अन्तिम व्यावसायिक पर्वतारोहण सिजन हो । के यो सत्य हो?
हो। तर मेरो करियर त्यति छोटो होइन। म लगातार ६ वर्ष नेपाल आइरहेकी छु। यो अवधिमा नेपालमा धेरै समय बिताएकी छु। मैले ८ हजार मिटरभन्दा अग्ला हिमालहरू ३१ पटक आरोहण गरिसकेकी छु । त्यसैले अब यो अध्याय समाप्त भएको महसुस भएको छ।
हिमाल आरोहण गर्ने क्र्याम्पोन अब सधैंका लागि झुन्ड्याउने निर्णय गर्नु नै भएको हो ?
अब म परिवारसँग बढी समय बिताउन चाहन्छु। म भविष्यमा ट्रेकिङ र साथीभाइ भेट्न नेपाल आउँछु, तर केही समय लामो आरोहण अभियानमा सहभागी हुने छैन । मुख्य कारण घरबाट धेरै समय टाढा भएकाले नि हो । मलाई लामो विश्राम चाहिएको छ। वर्षौँसम्म घरबाट टाढा बस्दा शरीर मात्र होइन, सम्बन्धहरूमा पनि असर पर्छ। मेरा आमा, बुबा, दाजु र बहिनी छन्। बहिनीका दुई सन्तान छन्। अब उनीहरूसँग समय बिताउन चाहन्छु।
आलोचकहरू भन्छन् कि तपाईंले हेलिकोप्टरको अत्यधिक प्रयोग र असामान्य ठाउँमा क्याम्प स्थापना गरेर आरोहणलाई सजिलो बनाउनुभयो ?
त्यो गलत हो। आलोचकहरूले भनेका सबै कुरा सत्य हुँदैनन्। धेरैले उच्च हिमाली पर्वतारोहणको वास्तविकता बुझ्दैनन्। उनीहरूका धेरै आरोप पूर्ण रूपमा गलत छन्।
शेर्पा समुदायबारे तपाईंको दृष्टिकोण के छ ?
शेर्पाहरूले अत्यधिक जोखिम उठाइरहेका छन् भन्ने कुरामा कुनै शंका छैन। मौसम कठोर छ र भूभाग पनि खतरनाक। जोखिम कम गर्ने र आरोहीहरूलाई अझ तयार बनाउने परिवर्तन आवश्यक छ। मैले सधै शेर्पाहरूको जोखिम घटाउने पक्षमा आवाज उठाएकी छु । आरोहीहरूलाई बढी आत्मनिर्भर बनाउनुपर्छ ।
तर आरोहीहरू आत्मनिर्भर भए भने शेर्पाहरूको रोजगारी प्रभावित हुँदैन ?
मलाई लाग्छ भविष्यमा काम गर्ने तरिका फरक हुनेछ। शेर्पा समुदाय रहिरहनेछ, तर उनीहरूले अहिलेभन्दा धेरै कम जोखिम लिनुपर्नेछ ।
सगरमाथामा भीडभाड ठूलो समस्या हो ?
यो धेरै हदसम्म आरोहणका लागि उपलब्ध समयसँग सम्बन्धित छ। सगरमाथाको ‘समिट विन्डो’ आरोहण अनुकुल समय निकै छोटो हुन्छ। सामान्यतः अभियान कम्पनीहरूले भीड व्यवस्थापन राम्रोसँग गर्छन्। तर सगरमाथा जान चाहनेहरूका लागि निश्चित अनुभव र योग्यता आवश्यक बनाइनुपर्छ।
नयाँ प्रविधि र सजिलो पहुँचले धेरैलाई आकर्षित गर्नेछ। सगरमाथा संसारको सर्वोच्च हिमाल भएकाले सधै विशेष रहनेछ। तर अनुमति पाउने व्यक्तिहरू पर्याप्त रूपमा तयार भएको सुनिश्चित गर्नुपर्छ।
पछिल्ला ६ वर्षमा जलवायु परिवर्तनको असर महसुस गर्नुभएको छ?
हो । विशेष गरी खुम्बु आइसफलमा परिवर्तन स्पष्ट देखिन्छ। यो निकै परिवर्तन भइरहेको छ। हिमनदीको स्वरूप पहिलेभन्दा धेरै फरक देखिन्छ। हिमालयको हिउँ क्रमशः पग्लिरहेको छ र पुरानो हिमआवरण पुनःस्थापित हुन सकेको छैन। तर हिउँ पग्लिए पनि मानिसहरू यहाँ आउन छाड्ने छैनन् ।
तपाईं निकै आशावादी देखिनुहुन्छ ?
मलाई लाग्छ मानिसहरू सधै ठूला हिमालतर्फ आकर्षित भइरहनेछन् । सामाजिक सञ्जालमार्फत हिमालहरू देख्दा झन् धेरै मानिस यहाँ आउन चाहन्छन्। त्यसैले प्रत्येक वर्ष आरोही संख्या बढिरहेको छ। भविष्यमा पनि यो क्रम जारी रहनेछ। तर केही प्रतिबन्ध वा योग्यता मापदण्ड आवश्यक छ ।
१४ वटा ८ हजार मिटर अग्ला शिखर सबैभन्दा छिटो आरोहण गर्ने लक्ष्य कहिले बन्यो ?
मैले सन् २०२१ मा सगरमाथा र ल्होत्से आरोहण गरेपछि यो कीर्तिमान बनाउने प्रयास गर्ने निर्णय गरेकी थिए ।
केवल दुई शिखरपछि ?
हो । यो प्रसिद्धिका लागि थिएन । महिलाहरूले पनि यस्ता कीर्तिमान बनाउन सक्छन् र पुरुषसरह उपलब्धि हासिल गर्न सक्छन् भन्ने देखाउन चाहन्थे ।
नयाँ चुनौती लिन चाहने महिलाहरूलाई तपाईंको सन्देश के छ ?
बाहिर निस्कनुहोस्, आरोहण गर्नुहोस् र आफूले चाहेका सबै कुरा प्रयास गर्नुहोस्। तपाईंहरूले त्यो गर्न सक्नुहुन्छ ।
तपाईंका लागि सबैभन्दा कठिन हिमाल कुन थियो ?
यो भन्न गाह्रो छ। मौसम र अवस्थामाथि निर्भर हुन्छ। मैले ८ हजार मिटरभन्दा अग्ला हिमाल ३१ पटक आरोहण गरेकी छु। सन् २०२२ को मानस्लु र सन् २०२३ को के टु मेरा लागि सबैभन्दा कठिनमध्येका थिए ।
पर्वतारोहणअघि के गर्नुहुन्थ्यो?
म एउटा ठूलो कम्पनीमा नेतृत्वदायी पदमा थिएँ । करिब ९ सय जना कर्मचारी मेरो जिम्मामा थिए । राम्रो तलब थियो। तर मलाई जीवनमा केही फरक गर्न मन लाग्यो, त्यसैले जागिर छाडेँ ।
त्यो निर्णय पैसाका कारण त थिएन नि ?
होइन, बिल्कुलै होइन। यो पैसाका लागि थिएन।
यस सिजनमा तपाईंले सगरमाथा, ल्होत्से र नुप्से आरोहण गर्नुभयो । नुप्सेतर्फ किन आकर्षित हुनुभयो?
मैले सगरमाथा र ल्होत्से तीन पटक आरोहण गरिसकेकी थिएँ। तर नुप्से पहिलो पटक देखेदेखि नै मेरो सपना थियो। यो अत्यन्तै भीरालो र लगभग असम्भव जस्तो देखिन्थ्यो। त्यसैले एक दिन यसको शिखरमा पुग्न चाहन्थेँ ।
के यो तपाइका साथी गाइड तेन्जेनप्रति श्रद्धाञ्जलीका रूपमा भएको त थिएन ?
हो । म हिमालको माथिल्लो भागमा पुग्दा उनी सधैँ मेरो साथमा भएको महसुस गर्छु। हामी माथि जाँदा उनीसँग अझ नजिक भएको जस्तो लाग्छ।
तेन्जेनको नाममा स्थापना गरिएको फाउन्डेसनमार्फत के काम गरिरहनुभएको छ?
मुख्य उद्देश्य हिमालमा काम गर्ने मानिसहरूको सुरक्षा बढाउनु हो। यसका दुई पक्ष छन्। पहिलो, आरोहीहरूलाई अझ तयार बनाउनु। दोस्रो, हिमालमा काम गर्नेहरूको लागि राम्रो कार्य वातावरण सुनिश्चित गर्नु । उनीहरुकालागि उचित उपकरण, तालिम र पारिश्रमिक आवश्यक छ।
आरोहीहरू पर्याप्त तयारीबिना आउँदा त्यहाँ काम गर्ने मानिसहरू ठूलो जोखिममा पर्छन्। त्यसैले आरोहीहरूको पूर्व तयारी अत्यन्त महत्त्वपूर्ण छ।
फाउन्डेसनको कार्यालय कहाँ स्थापना गर्नुभयो?
नर्वेमा। अहिले नेपालमा छैन, तर भविष्यमा हुन सक्छ।
के टु आरोहणका क्रममा एक भरियामाथि तपाईंले पाइला टेकेको आरोपबारे के भन्नुहुन्छ?
वास्तविकतामा त्यहाँ कुनै विवाद थिएन। उनी खसेपछि हामीले घण्टौँसम्म उद्धारको प्रयास गर्यौं । तर धेरै मानिसहरूले सत्य थाहा हुँदाहुँदै गलत सूचना फैलाए । म रेकर्ड बनाउनका लागि मर्दै गरेका भरियालाई बेवास्ता गरेर अघि बढेँ भन्ने आरोप पूर्ण रूपमा गलत हो। त्यस्तो कहिल्यै भएको थिएन। म त्यहाँ करिब डेढ घण्टा रहेकी थिएँ। प्रतिवेदनले पनि हामीले उद्धार प्रयास गरेको उल्लेख गरेको छ। त्यसैले यो गलत बुझाइ मात्र हो।
सगरमाथा आरोहण गर्न चाहने व्यक्तिले मानसिक रूपमा के तयारी गर्नुपर्छ?
सबैभन्दा पहिले दुःख सहन तयार हुनुपर्छ। आरोहण अत्यन्त कठिन र चुनौतीपूर्ण हुनेछ भन्ने स्वीकार गर्नुपर्छ। त्यसमा सहज महसुस गर्नुपर्छ। संसारको सर्वोच्च शिखर सहज हुनेछ भन्ने अपेक्षा गर्न सकिँदैन।
सगरमाथा आरोहण गर्न चाहनेहरूलाई खानपान र तयारीबारे के सुझाव दिनुहुन्छ?
पहिले धेरै हिमाल चढ्नुपर्छ र अनुभव बटुल्नुपर्छ। त्यसो गर्दा आफ्नो शरीर, पेट, आवश्यक खाना र ऊर्जा व्यवस्थापनबारे बुझ्न सकिन्छ। अनुभव नै सबैभन्दा ठूलो शिक्षक हो।
भविष्यमा विदेशी आरोहीहरूले शेर्पाबिना हिमाल आरोहण गर्न सक्लान्?
शेर्पाहरूको काम अत्यन्त महत्त्वपूर्ण छ। उनीहरूसँग हिमालसम्बन्धी अद्वितीय ज्ञान छ। त्यसैले उनीहरूसँग साझेदारी गरेर टोलीका रूपमा काम गर्नु राम्रो हो। सुरक्षा पनि त्यसैमा छ।
ड्रोन र रोबोट पिन आए नि हिमाल आरोहणमा ?
हो। प्रविधिले मानिसबीचको सम्बन्ध प्रतिस्थापन गर्न सक्दैन। यो केवल भार बोक्ने विषय होइन। निर्णय लिन, समस्या समाधान गर्न र एकअर्काको साथ दिनु पनि महत्त्वपूर्ण छ। त्यसैले हामी ‘क्लाइम्बिङ पार्टनर’ भन्छौँ । आरोहणको संघर्ष र खुसी सँगै बाँड्ने साथी आवश्यक हुन्छ।
पर्वतारोहणबाहेक नेपालमा तपाईंलाई के कुराले आकर्षित गर्छ ?
म यहाँ आउन छाड्ने छैन । तेन्जेनको परिवार यहाँ छ। उनीहरूलाई भेट्न, साथीभाइसँग समय बिताउन र ट्रेकिङ गर्न आउनेछु। तर तीन हप्ताको भ्रमण र नौ हप्ताको अभियान फरक कुरा हुन् ।
नेपालमा प्रकृतिबाहेक के मन पर्छ?
मानिसहरू। उनीहरू अतिथिप्रति अत्यन्त स्वागतशील छन्। यहाँको संस्कृति मलाई मन पर्छ, र धेरै हिसाबले मेरो देशको संस्कृतिसँग मिल्छ।
नेपाली खानामध्ये मनपर्ने परिकार?
पिज्जा ।
नेपाली परिकार?
हिमालमा त हामी दालभात नै खान्छौँ । त्यसैले मेरो रोजाइ दालभात नै हो ।
