बजेटबाट मात्रै सबै आयोजना निर्माण गर्न सकिने अवस्था छैन, अब ऋणपत्रको अवधारणामा जान्छौं : गुणाकर भट्ट

कान्तिपुरसँगको अन्तर्वार्तामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट भन्छन्- आर्थिक वृद्धिमा जाने भनेको पूर्वाधार निर्माणमा लगानी, नवप्रवर्तन र डिजिटाइजेसन पनि हो, बैंकिङ क्षेत्रमा जसरी सरकारी सेवामा पनि डिजिटाइजेसन गर्न सके यसले आर्थिक वृद्धिको गति तीव्र हुन सक्छ

वैशाख २०, २०८३

विमल खतिवडा, यज्ञ बञ्जाडे

It is not possible to build all projects from the budget alone, now we will move to the concept of bonds: Gunakar Bhatta

What you should know

मुलुकको आर्थिक दिशा र विकासको दीर्घकालीन मार्गचित्र कोर्ने थलो राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट छन् । अर्थतन्त्र सुस्ताएको, लगानी घटेको र रोजगारी सिर्जना चुनौतीपूर्ण बनेका बेला नीति निर्माणको केन्द्रीय भूमिकामा पुगेका भट्टबाट ठोस नीतिगत हस्तक्षेप र परिणाममुखी योजना कार्यान्वयनको अपेक्षा छ । अर्थविद् एवं नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भट्टलाई सरकार, निजी क्षेत्र र विकास साझेदारबीच समन्वय मिलाउादै अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण टेवा पुर्‍याउनुपर्ने जिम्मेवारी छ । शिथिल अर्थतन्त्र चलायमान बन्न नपाउादै पश्चिम एसिया द्वन्द्वको असर देखिन थालेको छ । अर्थतन्त्रको विद्यमान अवस्था, सुधारको योजना, आगामी वर्षको बजेटका प्राथमिकता, स्रोतका विकल्पलगायत विषयमा उपाध्यक्ष भट्टसँग कान्तिपुरका यज्ञ बञ्जाडे र विमल खतिवडाले गरेको कुराकानी ।

करिब दुईतिहाइ बहुमतको शक्तिशाली सरकार भएका बेला योजना आयोगको नेतृत्व गर्ने जिम्मा पाउनुभएको छ । स्थिर सरकार आएकाले राजनीतिक स्थायित्व हुने र सरकारले अर्थतन्त्रको सुधारलाई प्राथमिकता दिने अपेक्षा छ । यस्तो बेला अर्थतन्त्रलाई गति दिन तपाईंका योजना के–के छन् ? यसका लागि के–कस्तो सुधारको आवश्यकता देख्नुहुन्छ ? 

अहिलेको मुख्य प्राथमिकता संस्थागत सुदृढीकरण हो । सुशासन प्रवर्द्धन गर्ने र आमसर्वसाधारणमा आशा जगाउने हो । दोस्रो भनेको पूर्वाधार निर्माणको क्षेत्रमा काम गर्ने हो । अन्तर्राष्ट्रिय अनुभवले पनि के देखाएको छ भने पूर्वाधार विकासमा गरिने लगानीले उत्पादन र उत्पादकत्व बढाउँछ । नेपालमा पनि २०४१ सालपछि औद्योगिक क्षेत्रमा विकास भएको देखिन्छ । आर्थिक वर्ष २०४२/४३ मा जीडीपीमा औद्योगिक क्षेत्रको हिस्सा बढ्न थालेको थियो । २०४८ सालपछिको उदारीकरणले औद्योगिकीकरणसँगै शिक्षा, स्वास्थ्य, बैंकिङ, वित्तीय क्षेत्र फस्टाउने मौका पाए । उच्च आर्थिक वृद्धि हासिल गर्ने भनेको एउटा पूर्वाधार क्षेत्रको विकासबाट हो । विगतमा नीतिगत सुधारले आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्यो । अब आर्थिक वृद्धिमा जाने भनेको पूर्वाधार निर्माणमा लगानी, नवप्रवर्तन र डिजिटाइजेसन पनि हो । बैंकिङ क्षेत्रमा जस्तै सरकारी सेवामा पनि डिजिटाइजेसन गर्न सक्यौं भने यसले आर्थिक वृद्धिको गति तीव्र हुन सक्छ । अर्को मानव पुँजीको विकास हो । त्यो भनेको गुणस्तरीय शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी बढाउनु हो । आर्थिक विकास सन्तुलित हुनुपर्छ । पछि परेका प्रदेश, क्षेत्र, स्थानीय तहमा स्रोतसाधन पुग्नुपर्छ । विकेन्द्रित हिसाबले ठूला पूर्वाधार परियोजना अघि बढाउनुपनुर्छ । यसमा आयोगको भूमिका समन्वय गर्ने हो । यो भूमिकालाई आयोगले प्रभावकारी रूपमा निर्वाह गर्छ । विभिन्न मन्त्रालय र निकायलाई नीतिनिर्माणमा कसरी सहयोग गर्न सकिन्छ भनेर समन्वय गरिरहेका छौं । 

विश्व भूराजनीतिक तनाव र पश्चिम एसियाको बढ्दो द्वन्द्वले नेपालको अर्थतन्त्रमा बहुआयामिक चुनौती थप्ने देखिएको छ । द्वन्द्वका कारण आपूर्ति शृंखलामा अवरोध आउँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनामै करिब ६० प्रतिशतले वृद्धि भई आन्तरिक मूल्यमा समेत चाप परिसकेको छ । रासायनिक मलमा निर्भर नेपाली अर्थतन्त्रलाई यसले थप प्रभावित तुल्याउने देखिन्छ । नेपाली अर्थतन्त्रमा परेको असर न्यूनीकरणलाई सरकारले कसरी हेरेको छ ? 

यो द्वन्द्व अन्तर्राष्ट्रियस्तरमा शताब्दीकै तेस्रो झड्काका रूपमा देखिएको छ । सन् २००८ को वित्तीय संकट, कोभिड संक्रमण र अहिले पश्चिम एसियामा भएको द्वन्द्वको प्रभाव विश्व अर्थतन्त्रमा देखिएको छ । हरेक संकटपछि विश्व अर्थतन्त्र सुधार हुन समय लागेको देखिन्छ । सन् २००८ को संकटपछि हेर्ने हो भने ५/७ वर्षसम्म त्यसको असर देखियो । कोभिडका कारण त्यसको असर अहिलेसम्म देखिइरहेको छ । यो असर लामो समयसम्म पर्न सक्छ । मूल्यवृद्धि र आर्थिक क्रियाकलाप संकुचन गर्ने कुरामा यसको असर देखिएको छ । अन्तर्राष्ट्रियस्तरमा यसको प्रभाव मूल्यवृद्धिमा बढी पर्न सक्छ । ऊर्जा संकट कति लामो समय जान्छ, असर पनि त्यति धेरै हुन्छ । अन्तर्राष्ट्रियस्तरमै यसलाई कसरी चाँडोभन्दा चाँडो टुंग्याउने भनेर पहल भइरहेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा पनि आपूर्ति व्यवस्था बिग्रिएको छैन । यद्यपि सम्भावित जोखिम न्यूनीकरणका लागि सरकार निकै सजग छ । 

सम्भावित जोखिम न्यूनीकरणका लागि सरकारको तयारी के कस्तो छ ?

समन्वयात्मक ढंगले आपूर्ति व्यवस्थापन गर्ने काम भइरहेको छ । यसबारे हामीले आयल निगमसँग बुझिरहेका छौं । पेट्रोलियम पदार्थको आपूर्ति र बिक्रीवितरण व्यवस्थित बनाउन सरकार लागिपरेको छ । मूल्य व्यवस्थापन चुनौतीपूर्ण भए पनि नागरिक जीवन सहज बनाउन पूर्वाधार कर, भन्सारसम्बन्धी शुल्क हेरफेर गरी राहत दिइएको छ । इन्धनको मूल्य र बिक्री व्यवस्थापनमा सरकारले तदरुकता देखाएपछि उपभोक्ता सचेतना पनि बढेको देखिन्छ । कृषि क्षेत्रका लागि आवश्यक पर्ने मलको आपूर्ति सहज बनाउन पनि विभिन्न प्रयास भइरहेका छन् । 

लामो समयदेखिको अर्थतन्त्रको सुस्ततामा सुधार देखिएको छैन, २३ भदौको आन्दोलन र २४ को प्रदर्शनले अर्थतन्त्रमा थप समस्या थपेको भन्ने छ । यो अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ? 

हाम्रो अर्थतन्त्र तीन किसिमको दबाबमा छ । पहिलो निजी क्षेत्र अधिक ऋणग्रस्तताको अवस्थामा छ । बैंकिङ क्षेत्रबाट निजी क्षेत्रमा गएको कर्जा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ९२ प्रतिशत छ । नागरिक लगानी कोष, सञ्चय कोषलगायतबाट प्रवाह भएको कर्जा पनि जोड्दा निजी क्षेत्रमा गएको कुल कर्जा जीडीपीको ११० प्रतिशतसम्म पुगेको देखिन्छ । दोस्रो निजी क्षेत्रको ठूलो लगानी घरजग्गालगायत सम्पत्तिमा फसेको छ । त्यसबाट निस्किन अप्ठ्यारो भइरहेको छ । तेस्रो, अनिवार्य रूपमा सरकारले भुक्तानी दिनुपर्ने दायित्व धेरै छ । यसरी अहिले निजी क्षेत्र पनि अधिक ऋणको जोखिम र सरकार पनि बाध्यतामा छ । यो बाध्यताको बीचबाट निस्कनुपर्नेछ । यी समस्याबाट उम्किन सरकारले अहिले चालिरहेको महत्त्वपूर्ण कदम भनेको संस्थागत सुदृढीकरण, सुशासन र क्षमता अभिवृद्धि हो । 

सरकारले दिने सेवामा सुधार भएको महसुस सर्वसाधारणले गर्न थालेका छन् । सेवालाई सकेसम्म डिजिटाइज गर्दै जानुपर्ने आजको पहिलो आवश्यकता हो । सरकारले एक महिनामा जुन गति देखाएको छ, त्यसले आमसर्वसाधारणमा आशा जगाउने काम भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुधारको मार्गचित्र, राष्ट्रिय प्रतिबद्धता र १६ औं योजनाको प्रभावकारी कार्यान्वयनले मुलुकको आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान पुग्नेछ । 

कुल लगानीमा करिब ८१ प्रतिशत हिस्सा निजी क्षेत्रको छ । निजी क्षेत्रको आत्मविश्वास बढाएर लगानी विस्तारका लागि प्रोत्साहन गर्न सरकारले के कस्तो नीति अपनाउनुपर्ला ? 

सरकारले एक महिनामै काम देखाउन सुरु गरिसकेको छ । आमसर्वसाधारणसँगै आफ्नो पेसा व्यवसायमा निष्ठावान् रूपमा लागेका मान्छेलाई पनि सरकारको कामकारबाही, व्यवहारले आशा जगाएको देखिन्छ । सरकारले सुशासन प्रत्याभूत गर्दै छ, जसले गर्दा काम गर्ने वातावरण बनेको छ । ‘क्रोनी क्यापिटालिजम’ नेपालको अर्थराजनीतिको लामो समयदेखिको समस्या हो । व्यवसाय र राजनीतिबीच सम्बन्ध हुनुपर्छ तर स्वार्थकेन्द्रित हुन हुन्न । निजी क्षेत्र आर्थिक विकासको संवाहक हो । यो कुरा सरकारले राम्रोसँग बुझेको छ र निजी क्षेत्रलाई साथ लिएर अघि बढ्न चाहेको छ । 

अर्थमन्त्रीले पनि व्यवसायीलाई थुन्ने होइन, गल्ती गरेको अवस्थामा आर्थिक जरिवाना लगाउने भन्दै आउनुभएको छ । तर, उहाँको भनाइविपरीत सरकारले व्यवसायीलाई पक्राउ गरिरहेकाले निजी क्षेत्र त्रस्त छ नि ? 
निजी क्षेत्र त्रस्त हुनुपर्ने अवस्था छैन । निजी स्वार्थमा केही काम भएका, निहित स्वार्थका लागि सौदाबाजी भएका छन् भने त्यस्तो काम गर्नेलाई अप्ठ्यारो हो । कानुनअनुसार उद्योग व्यवसाय सञ्चालन गर्ने निष्ठावान् निजी क्षेत्रलाई कुनै समस्या हुँदैन । तपाईं आउनुअघि नै आयोगले आगामी आर्थिक वर्षको बजेटका लागि १८ खर्ब ९० अर्बको सिलिङ दिएको छ । तर नयाँ सरकारले त्यही सीमाभित्रैको बजेट ल्याउँछ त ? 

कानुनी व्यवस्थाअनुसार त्यतिबेला स्रोत अनुमान समितिले तयार पारेर सरकारलाई बजेटको सिलिङ दियो । जसमा साढे ५ प्रतिशतको आर्थिक वृद्धि र ५ प्रतिशतको मुद्रास्फीतिलाई आधार बनाइएको छ । अहिले दोस्रो चरणको आर्थिक सुधार गरेर अगाडि बढ्नुपर्ने र संस्थागत सुदृढीकरण गर्दै पूर्वाधार निर्माण गर्नुपर्नेछ । विकासप्रतिको जनचासो र उच्च आर्थिक वृद्धिको लक्ष्यलाई ध्यानमा राख्दा पनि बजेटको आकार केही बढ्न सक्छ । 

It is not possible to build all projects from the budget alone, now we will move to the concept of bonds: Gunakar Bhattaतपाईं आउनुअघि नै आयोगले आगामी आर्थिक वर्षको बजेटका लागि १८ खर्ब ९० अर्बको सिलिङ दिएको छ । तर नयाँ सरकारले त्यही सीमाभित्रैको बजेट ल्याउँछ त ? 

कानुनी व्यवस्थाअनुसार त्यतिबेला स्रोत अनुमान समितिले तयार पारेर सरकारलाई बजेटको सिलिङ दियो । जसमा साढे ५ प्रतिशतको आर्थिक वृद्धि र ५ प्रतिशतको मुद्रास्फीतिलाई आधार बनाइएको छ । अहिले दोस्रो चरणको आर्थिक सुधार गरेर अगाडि बढ्नुपर्ने र संस्थागत सुदृढीकरण गर्दै पूर्वाधार निर्माण गर्नुपर्नेछ । विकासप्रतिको जनचासो र उच्च आर्थिक वृद्धिको लक्ष्यलाई ध्यानमा राख्दा पनि बजेटको आकार केही बढ्न सक्छ । 

पछिल्ला वर्षमा राजस्व संकलन र पुँजीगत खर्चको अवस्था नाजुक छ । आउँदा वर्षमा पनि यही प्रवृत्ति दोहोरिन नदिन सरकारलाई कस्ता सुझाव दिनुभएको छ ?

राजस्व प्रशासन वा राजस्व व्यवस्थापनलाई चुस्त बनाउनुपर्नेछ । राजस्व व्यवस्थापनलाई जति चुस्त बनाउन सक्यौं अहिले भएकै अर्थतन्त्रको आकारबाट पनि थप राजस्व परिचालन गर्न सकिन्छ । यही १६ वैशाखसम्मको राजस्व परिचालन ९ खर्ब २५ अर्ब रुपैयाँ छ । गत वर्षको सोही अवधिसम्म ८ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व उठेको थियो । यसले न्यून आर्थिक वृद्धिको दबाबबीच पनि गत वर्षको भन्दा राजस्व परिचालन बढी भएको देखाएको छ । राजस्व संकलन बढाउन संस्थागत सुदृढीकरण गर्नुपर्नेछ । राजस्व प्रशासनलाई चुस्त बनाउनुपर्नेछ । यो सरकार बनेसँगै समग्र सुधारले तीव्रता पाएको छ । सरकारले आगामी ५ देखि ७ वर्षसम्म ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । आर्थिक क्रियाकलाप बढेसँगै राजस्व परिचालन बढ्छ । पुँजीगत खर्च बढाउन आयोजना कार्यान्वयन गर्ने क्षमता बढाउने प्रयास भइरहेको छ । प्रधानमन्त्रीले विकास निर्माणमा निकै चासो दिनुभएको छ । सम्बन्धित मन्त्रालय पनि लागिपरेका छन् । विकास प्रशासनलाई सक्रिय र सार्वजनिक वित्त व्यवस्थापनलाई चुस्त बनायौं भने धेरै काम गर्न सकिन्छ ।

राजस्व बढाउने नाममा एक सयभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क उठाउन थालिएको छ । यसबाट सीमामा बस्ने नागरिक मर्कामा परेको भन्दै सरकारको विरोध भएको छ, यसलाई कसरी हेर्नुहुन्छ ? 

भन्सार व्यवस्थापनलाई अझै सक्रिय बनाउनुपर्ने देखिन्छ । कोभिडका बेलामा नाका व्यवस्थित बनाइयो, मानिसको आउजाउमा कडाइ गरियो । यसले गर्दा हाम्रा सीमावर्ती बजार गुलजार भए । सुरुमा यस्तो निर्णयले केही समस्या आए पनि भविष्यमा राम्रो हुन्छ । केही महिनापछि यसले आन्तरिक अर्थतन्त्रलाई नै सुदृढ बनाउँछ । अनौपचारिक व्यापार घटाउन सघाउँछ । आन्तरिक बजार गुलजार हुन थालेपछि रोजगारी सिर्जना हुन्छ । 

चालु आर्थिक वर्ष आयोजना बैंकमा समावेश नभएका र ३ करोडभन्दा कम रकमका आयोजना संघीय बजेटमा नराख्ने भनिए पनि घुमाउरो बाटोबाट हालियो । यस वर्ष ५ करोडभन्दा सानो रकमका आयोजना नराख्ने भनिएको छ । तर, सांसदले एक लाखका योजना पनि मागिरहेका छन् ? यस्तो अवस्थामा बजेटमा योजनाको माग र आपूर्तिलाई कसरी सन्तुलन मिलाउनुहुन्छ ?

आयोजना बैंकमा जाने आयोजनाबारे मापदण्ड बनाएका छौं । त्यसमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गरेको हुनुपर्ने, विस्तृत परियोजना रिपोर्ट (डीपीआर) बनाएको हुनुपर्ने, आयोजनाको मूल्यांकन भएको हुनुपर्ने जस्ता मापदण्ड छन् । आयोजना बैंकमा सूचीकृत हुन जुन मापदण्ड बनाइएको छ, त्योभन्दा बाहिर जान सकिन्न । कतिपय साना आयोजना अहिले पनि माग भएका छन् । तर आयोजना बैंकको मापदण्डबाहिर गएर कुनै पनि आयोजना समावेश गर्न सक्ने अवस्था हुँदैन । छरपस्ट आयोजना थोपरेर त्यसको प्राथमिकीकरण गरिएन भने त्यसले समस्या ल्याउँछ । त्यसैले आयोजनाहरूको प्राथमिकीकरण गरेर लाभ लागत विश्लेषण गर्नुपर्छ । आगामी दिनमा आयोजना छान्दा आर्थिक रूपमा कत्तिको दिगो हुन सक्छ, सामाजिक रूपमा त्यसले कसरी लाभ दिन्छ, हेर्न जरुरी छ । मापदण्डमा सुधार गर्ने काममा लागिरहेका छौं । 

हामीले भन्नचाहिँ गौरवका आयोजना भन्छौं तर तिनमा बजेट विनियोजन गर्न निकै कञ्जुस्याइँ गर्छौं । यही कारण कतिपय आयोजना निर्धारित समयमा सकिएका छैनन् । आगामी बजेटमा ती आयोजनाले कस्तो प्राथमिकता पाउँछन् ?

राष्ट्रिय गौरवका सबै आयोजनाको अवस्था एउटै छैन । कतिपयको काम नै सुरु भएको छैन । ती आयोजनाको विषयमा केही भन्न सकिन्न । जुन आयोजना छिटो सम्पन्न गरेर राज्यले लाभ पाउँछ भने तिनले प्राथमिकता पाउँछन् । जस्तो कि, फास्ट ट्र्याक र केही सिँचाइ आयोजना । तिनले प्राथमिकता पाउनुपर्थ्यो तर वर्षौंदेखि निर्माण सम्पन्न हुन सकेका छैनन् । आयोजना चाँडो सक्नुपर्छ भन्ने हाम्रो सोच छ । अहिले सरकारको प्राथमिकताको विषय त्यो पनि हो ।

हुलाकी राजमार्ग पनि सुरु भएको १७–१८ वर्ष भइसक्यो । अझै निर्माण सकिएको छैन । मध्यपहाडी राजमार्ग, उत्तर–दक्षिण जोड्ने करिडोरमा पनि त्यहाँ पनि बजेटकै अभाव छ । स्रोत अभावको यो समस्यालाई सरकारले कसरी समाधान गर्छ ? 

अब विकास वित्तका विभिन्न मोडल सोच्नुपर्ने हुन सक्छ । सरकारको बजेटबाट मात्रै सबै आयोजना निर्माण गर्न सकिने अवस्था छैन । अब प्रोजेक्ट बन्ड (आयोजना ऋणपत्र) को अवधारणामा पनि जान सक्छौं । ग्रिन बन्ड (हरित ऋणपत्र), डायस्पोरा बन्ड जारी गरेर पनि स्रोत जुटाउन सक्छौं । त्यसका लागि हाम्रो आयोजना निर्माण र तिनको कार्यान्वयन क्षमता बढाउनुपर्नेछ । स्रोत व्यवस्थापनका विभिन्न विकल्प अध्ययन गरिरहेका छौं । 

अर्थमन्त्री स्वर्णिम वाग्लेले केही दिनअघि राजस्व संकलनभन्दा डेढ खर्ब बढी अनिवार्य दायित्व रहेकाले बजेट निर्माण चुनौतीपूर्ण रहेको बताउनुभएको थियो । अहिले यो सरकारप्रति जनअपेक्षा धेरै छ । यस्तो अवस्थामा सरकारले कसरी स्रोत व्यवस्थापन गरेर नागरिकको अपेक्षा पूरा गर्ला ? 

जनअपेक्षाअनुसार माग बढी हुनु स्वाभाविक हो । आपूर्तिमा जहिले पनि सीमितता हुन्छ । हाम्रो व्यावहारिकता र अर्थशास्त्रको नियम पनि यही हो । सरकारलाई राजस्व बढाउनुपर्ने आवश्यकता छ । त्यसका लागि करका दर नबढाई दायरा बढाउनुपर्नेछ । अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउँदै जानुपर्नेछ । अहिले करिब ५० प्रतिशतको हाराहारीमा अनौपचारिक अर्थतन्त्र रहेको विभिन्न अध्ययनले देखाएका छन् । अघि तपाईंहरूले भन्सार बिन्दुमा एक सय रुपैयाँभन्दा बढीको समानमा भन्सार शुल्क उठाएको विषयमा कुरा गर्नुभयो । यो कदमले पनि करको दायरा फराकिलो हुन्छ । सीमाका नागरिकलाई कतिपय अवस्थामा ५–६ प्र्रतिशत कर तिर्दा हामीलाई समस्या छैन तिरौं भन्ने पनि बनाउन सकिन्छ । यसो गर्दा धेरै मानिस कर प्रणालीमा आउने सम्भावना रहन्छ । आयोजना निर्माणमा भएको ढिलाइले पनि लागत बढ्ने गरेको छ । ती आयोजना निर्माणको गति तीव्र पारियो भने निर्माणमा भएको ढिलाइका कारण बढ्न गएको लागत जोगाउन सकिन्छ । अहिले बैंकिङ प्रणालीमा १० खर्ब रुपैयाँ जति अधिक तरलता छ । ब्याजदर हालसम्मकै न्यून अवस्थामा छ । यस्तो अवस्थामा सरकारले बजारबाट सस्तो ब्याजदरमा पैसा संकलन गर्न सक्छ । नयाँ सरकार गठनपछि स्वदेशमा मात्र होइन, विदेशमा पनि सरकारप्रति विश्वास बढेको छ । स्थिर सरकार भएकाले राजनीतिक स्थिरता हुने र आर्थिक सुधारले प्राथमिकता पाउँछ भन्ने छ । यस्तो अवस्थामा डायस्पोरा बन्ड जारी गरेर विदेशबाट पनि स्रोत जुटाउन सकिन्छ । विगतमा नागरिक बचतपत्र, वैदेशिक रोजगारी बचतपत्रमा नागरिकको आकर्षण कम थियो । अहिले ती औजार खरिदमा नागरिकको आकर्षण बढेको अवस्था छ । 

अहिले दातृ निकाय र अन्तर्राष्ट्रिय समुदायले पनि सरकारप्रति विश्वास र समर्थन प्रकट गरिरहेका छन् । यसले प्रत्यक्ष वैदेशिक लगानी, पोर्टफोलियो इन्भेस्टमेन्ट, द्विपक्षीय र बहुपक्षीय दातृ निकायबाट सहयोग तथा अनुदान बढ्ने संकेत दखिएको छ । मुलुकको सार्वभौम मूल्यांकनको नतिजा पनि दक्षिण एसियाका धेरै राष्ट्रभन्दा राम्रो छ । यसरी उल्लिखित सबै अवसर र सम्भावनालाई उपयोग गर्‍यौं भने तत्काल नभए पनि एक–दुई वर्षपछि आर्थिक क्रियाकलाप विस्तारसँगै राजस्वको आकार बढाउन सकिन्छ ।

करको दायरा विस्तारका लागि अनौपचारिक क्षेत्रलाई क्रमशः औपचारिकमा रूपान्तरण गर्दै जानुपर्छ भन्नुभयो । त्यस्ता कुनै योजना छन्, जसले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन सकिन्छ ? 

अनौपचारिक अर्थतन्त्रलाई औपचारिकमा रूपान्तरणको सबैभन्दा महत्त्वपूर्ण काम भनेको विद्युतीय भुक्तानी र डिजिटल अर्थतन्त्रको निर्माण गर्नु हो । राजस्व प्रणाली र भन्सार प्रशासनलाई चुस्त बनाएर पनि राजस्व बढाउन र चुहावट नियन्त्रण गर्न सकिन्छ । 

आगामी वर्षको बजेटमा कुन–कुन क्षेत्र तथा आयोजना सरकारको प्राथमिकतामा रहने सम्भावना छ ? 

सबैभन्दा मुख्य प्राथमिकता सुशासन वा शासकीय सुधार हो । यो कुरा सरकारको सयबुँदे कार्यसूची, राष्ट्रिय प्रतिबद्धतालगायत दस्ताबेजमा पनि उल्लेख छ । सुशासनभित्र संस्थागत सबलीकरण, डिजिटाइजेसन, अनौपचारिक अर्थतन्त्रलाई व्यवस्थापन गर्नेलगायत विषय पर्छन् । अर्को पूर्वाधार निर्माण नै हो । पूर्वाधार क्षेत्रको बजेट त्यस्ता आयोजना जसले छिटो प्रतिफल दिन सक्छन् । ती आयोजनामा बजेट विनियोजन गरेर समयमै काम सम्पन्न गर्न सकिन्छ । अर्को सामाजिक क्षेत्रमा लगानी हो । आगामी बजेटमा शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा लगानी बढाउनुपर्नेछ । 

विगतमा भ्रष्टाचार र नियामक निकाय तथा सार्वजनिक संस्थानमा आफ्ना मान्छे नियुक्त गर्ने विकृति यो सरकारले सुधार गर्ने दाबी गरेको छ । अहिले पनि तपाईंको नेतृत्वमा दुई वटा नियामक निकायको नेतृत्व छान्ने काम सुरु भएको छ । अब योग्यता र क्षमताकै आधारमा नेतृत्व छनोट हुन्छ, भनसुन र लेनदेन चल्दैन भन्ने आधार के छ ? 

नेपालको नियामकीय क्षेत्रको समस्या अत्यधिक राजनीति हाबी हुनु हो । यही कारण नियुक्तिमा बिचौलियाको बलियो प्रभाव तथा दबाब थियो । निश्चित व्यक्ति तथा समूहको स्वार्थपूर्तिका लागि पनि त्यस्ता नियुक्ति हुँदै आएका थिए । अबको नियुक्तिमा विगतका गल्ती दोहोरिने छैनन् । क्षमता र इमानदारीका आधारमा उपयुक्त मान्छेलाई उपयुक्त स्थानमा नियुक्त गर्नुपर्छ भन्ने सरकारको सोच र प्रतिबद्धता छ । यसले हामीलाई निकै सहज बनाएको छ । अहिलेसम्म फलानो मान्छे नियुक्ति गर भन्ने निर्देशन कहीँकतैबाट आएको छैन । निश्चित विधिमा रहेर आवेदन पनि आह्वान भइसकेको छ । 

धितोपत्र बोर्ड अध्यक्षका लागि आवेदन आह्वान भइसकेको छ । स्वार्थ बाझिएका व्यक्तिले बोर्ड अध्यक्षका लागि चासो नराख्दा हुन्छ । जस्तो सट्टेबाजी (धितोपत्र) कारोबारमा सहभागी मान्छे नियामकीय निकायको अध्यक्ष भएपछि बजारलाई कसरी व्यवस्थापन गर्ला ? त्यस्ता व्यक्तिबाट अपेक्षित सुशासन कायम हुन सक्दैन । संस्थागत सुशासन कायम गर्न ‘फिसिङ विथ डायनामो’ अर्थात् सजिलै पैसा कमाउन जे पनि गर्ने भन्ने हुन सक्दैन । स्वार्थ बाझिएका व्यक्ति बोर्डको नेतृत्वमा गए इमानदार भएर काम गर्न सक्दैनन् । यसले भोलि सरकारलाई अनावश्यक भार र छनोट गर्ने मानिसमाथि पनि प्रश्न उठ्ने हुन्छ । 

सन् १९९५ मा पाराग्वेमा बैंकिङ क्षेत्रमा संकट आयो । त्यहाँको केन्द्रीय बैंकका प्रमुखलाई हटाएपछि अर्का गभर्नर नियुक्त भए । त्यसपछि नियुक्त भएका अर्का गभर्नरको पनि स्वार्थ बाझिएको देखियो । सन् १९९५ देखि १९९९ सम्म त्यहाँ १५ वटा बैंक बन्द भए । पछि अनुसन्धानले १९९५ मा नियुक्त गभर्नरको एउटा बैंकमा ठूलो लगानी भएको देखायो । यसकारण उनको कार्यकालमा बैंकमा राम्रो नियमन तथा सुपरिवेक्षण भएन । बरु गल्ती ढाकछोप र लुकाउने काम भयो । यसले समग्र बैंकिङ प्रणालीमै समस्या ल्यायो । स्वार्थ बाझिँदा नियामक निकायले प्रभावकारी रूपमा काम गर्न सक्दैनन् । त्यो अवस्था नेपालमा नआओस् भन्नेमा हामी सजग छौं । 

विगतका सरकारले पनि तपाईंहरूले जस्तै कार्यविधि बनाएर, सबै कागजात पुर्‍याएर, कार्यपत्र प्रस्तुतीकरण तथा अन्तर्वार्तालगायत सबै प्रक्रिया पूरा गरेर नियुक्ति गरेको दाबी गर्दै आएका थिए । अहिलेको नियुक्ति पहिलेभन्दा भिन्न र पारदर्शी हुन्छ भनेर नागरिकले कसरी विश्वास गर्ने ? 
म दाबीका साथ भन्छु— अहिलेको नियुक्ति मेरिटका आधारमा हुन्छ । किनकि अहिले नियुक्तिमा राजनीति हाबी छैन । बिचौलिया हाबी छैनन् । हामी क्षमता, योग्यतासँगै समाजमा त्यो मानिसको छवि पनि हेर्छौं । स्वार्थ बाझिने गरी कसैको दबाब र प्रभावमा परेर नियुक्तिको सम्भावना नरहेकाले धितोपत्र बोर्डमा राम्रो मान्छे नियुक्तिका लागि सिफारिस गर्छौं ।

It is not possible to build all projects from the budget alone, now we will move to the concept of bonds: Gunakar Bhattaसन् २०२६ मा हामी विकासशील राष्ट्रमा स्तरोन्नति हुने भनिएको हो । जेन–जी आन्दोलनपछि आगामी वर्ष स्तरोन्नति हुन नसकिने भन्ने धारणा निजी क्षेत्रबाट आएको छ । यसकारण निजी क्षेत्रले स्तरोन्नतिको म्याद बढाउन माग गरिरहेको छ । यस विषयमा सरकारको धारणा के हो ?

अहिलेसम्मको प्रतिबद्धता हेर्दा हामी विकासशील मुलुकमा स्तरोन्नति हुन्छौं नै भन्ने हो । स्तरोन्नतिका लागि तोकिएका तीन मापदण्डमध्ये नेपालले सबै पूरा गरिसकेको छ । स्तरोन्नतिका लागि पनि सरकार विशेष रणनीति बनाएर अघि बढेको छ । सन् २०२४ देखि २०३० सम्मका लागि त्यो रणनीति बनाइएको हो । यद्यपि स्तरोन्नति नेपालका लागि अन्तर्राष्ट्रिय जगत्मा छवि बनाउने अवसर पनि हो । कति अतिकम विकसित देश भइरहने ? विकासशील देश भएपछि विभिन्न देश तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा हाम्रो उपस्थिति र क्षमता अभिवृद्धि हुन्छ भन्ने एउटा तर्क छ । अर्को अतिकम विकसित भएका कारणले हामीले अन्तर्राष्ट्रिय व्यापारमा निःशुल्क पहुँच (कोटा), सहुलियतपूर्ण ऋण, सहायता, अनुदानलगायत सुविधा पाइरहेका थियौं । स्तरोन्नतिपछि ती प्रभावित हुन सक्छन् । त्यसैले तत्काल स्तरोन्नति नहुने भन्ने तर्क पनि छ । यो विषयमा थप छलफल तथा विश्लेषण आवश्यक छ । 

हामी तयार छैनौं भनेको अवस्थामा स्तरोन्नति हुनु नपर्ने हो र ? 

आजको अवस्थामा सूचकांकहरूले त स्तरोन्नति नहुने भन्ने देखाएका छैनन् । हामीलाई स्तरोन्नति भएपछि भन्दा अहिल्यै बढी फाइदा छ भन्ने लागे त्यसबारे पनि सोच्नुपर्ने अवस्था आउन सक्छ ।

मुलुक एफएटीएफको कालोसूचीमा छ । त्यसबाट बाहिर निस्कन सरकारले पर्याप्त काम गरेको छैन भन्ने छ । यस्तो अवस्थामा समयमै कालोसूचीबाट बाहिर निस्कन सरकारको तयारी कस्तो छ ? 

एफएटीएफले तोकिएको समयभित्रै ग्रे लिस्टबाट बाहिरिने गरी सरकार र मातहतका निकायबाट काम भइरहेको छ । यसका लागि ‘रिस्क एसेसमेन्ट रिपोर्ट’ बनाउन सुरु भएको छ । अहिले त्यसमा सघन रूपमा काम भइरहेको छ । प्रारम्भिक रूपमा प्रतिवेदन तयार भइसकेको जानकारी पाएको छु । यो सरकारको गठन, सुशासनप्रतिको प्रतिबद्धता, शासकीय सुधारका लागि भएका प्रयास र पछिल्लो समयमा देखिएको तदारुकताले पनि एउटा राम्रो सन्देश दिइरहेको छ । क्यासिनो, बहुमूल्य धातुको कारोबार, घरजग्गा व्यवसाय, सहकारी, हुन्डीलगायत क्षेत्रको नियमन सुपरिवेक्षणलाई थप प्रभावकारी बनाउनुपर्नेछ । त्यसमा पनि सरकारका तर्फबाट काम भइरहेको छ । अहिले सरकारले अघि बढाएको सुशासनको गतिअनुसार एफएटीएफले तोकेको कार्ययोजनालाई टुंग्याउन सक्यौं भने हामी छिट्टै ग्रे लिस्टबाट उम्किन सक्छौं । 

सरकारले कर्मचारीलाई १५/१५ दिनमा तलबभत्ता वितरण थालेको छ, यसको उद्देश्य के हो ? 

नागरिकको उपभोगको चक्रलाई थप सक्रिय बनाउन सरकारले यो निर्णय गरेको हो । यो सफल अन्तर्राष्ट्रिय अभ्यास पनि हो । हाल परीक्षणका रूपमा यो व्यवस्था प्रारम्भ भएको छ । सरकारका तीनवटै तहमा र निजी क्षेत्रमा पनि यही प्रणाली लागू गर्ने सरकारको तयारी छ । पाक्षिक रूपमा तलब वितरण निजी क्षेत्रमा झन् बढी आवश्यक देखिएको छ । यो व्यवस्थाले कर्मचारीलाई सहज बनाउने, व्यापार व्यवसायलाई पनि थप चलायमान बनाउने हुन्छ । उपभोक्ताको उपभोग प्रवृत्तिलाई सहज बनाउने र आत्मविश्वास बढाउँछ । अर्थतन्त्रमा यसको सकारात्मक प्रभाव पर्छ । 

बेलाबेला राष्ट्रिय योजना आयोग खारेजको कुरा उठ्ने गर्छ । तपाईंले नेतृत्व गरिरहनुभएको आयोगकै क्षमतालाई बलियो बनाउने हो कि विकल्प सोच्ने ? सरकारको धारणा के हो ?

सबैतिर आयोगप्रतिको भरोसा र चासो बढेको छ । त्यसैले आयोगले आफ्नो उपस्थिति देखाउने र भूमिकालाई थप बलियो बनाएर सशक्त ढंगले काम गर्छ । 

आयोगको सुधारका लागि अहिलेकै कानुनी संरचनाले हुन्छ कि केही नीतिगत सुधार पनि गर्नुपर्छ ? 

कतिपय कानुनी सुधार गर्नुपर्ने हुन सक्छ । यसका लागि समन्वय भइरहेको छ । आयोगले मुख्य तीन काम गर्नुपर्ने देखिन्छ । पहिलो हो, तथ्यांक व्यवस्थापन । तथ्यांक कार्यालयले राष्ट्रिय तथ्यांक व्यवस्थापन गरिरहेको भए पनि तथ्यांक तयार पार्ने निकाय र आयोगबीच समन्वय बढाउनुपर्नेछ । दोस्रो, नीति निर्माण र अनुसन्धानमा केन्द्रित भएर जाने अनि तेस्रो, आयोगसँग सबैको अपेक्षा विकास निर्माणका आयोजना कार्यान्वयनको निगरानी गरोस् भन्ने हो । यिनै भूमिकामा आयोगलाई बलियो बनाउने सोचमा छौं ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully