प्रहरी परिसर काठमाडौंका प्रवक्तालाई प्रश्न- ‘तपाईंहरूलाई गृह मन्त्रालयको दबाब छ ?’

'प्रहरीलाई संविधान, प्रहरी ऐन तथा प्रचलित कानुनले शान्ति–सुरक्षा कायम गर्ने, अपराध रोकथाम र नियन्त्रण गर्ने जिम्मेवारी दिएका छन् । हाम्रो सक्रियता नियमित दायित्वअनुसारकै हो ।'

चैत्र २१, २०८२

कान्तिपुर संवाददाता

Question to the spokesperson of the Kathmandu Police Complex: 'Are you under pressure from the Ministry of Home Affairs?'

What you should know

काठमाडौँ — शुक्रबार राति मात्र काठमाडौंका विभिन्न स्थानबाट झन्डै डेढ सय मानिस पक्राउ परेका छन् । सार्वजनिक सुरक्षा सुदृढ गर्ने भन्दै काठमाडौं प्रहरीले निगरानी र कारबाही तीव्र बनाएको जनाएको छ । काठमाडौंको सुरक्षा अवस्था, प्रहरीको सक्रियता तथा हिरासत व्यवस्थापनबारे जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईसँग कान्तिपुरका विवेक पोख्रेलले गरेको कुराकानी :

हिजो साँझ काठमाडौंमा धेरै मानिस पक्राउ गरिएको छ । कति जना कहाँ-कहाँबाट पक्राउ गर्नुभएको हो?

हामीले सार्वजनिक स्थलहरूमा सुरक्षा सुदृढ गर्ने उद्देश्यले दैनिक रूपमा संवेदनशील स्थानको पहिचान गर्दै आएका छौं । त्यस्ता क्षेत्रमा नियमित निगरानी र गस्ती सञ्चालन हुन्छ । जहाँ गुण्डागर्दी, स्न्याचिङ वा सर्वसाधारणले हैरानी भोग्नुपर्ने अवस्था देखिन्छ, त्यहीँ केन्द्रित भएर कारबाही गरिन्छ । नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्नु हाम्रो मुख्य उद्देश्य हो । सोहीअनुसार दैनिक रूपमा यस्ता कार्य सञ्चालन भइरहेका छन् ।

हिजो साँझ मात्रै हामीले काठमाडौंका विभिन्न स्थानबाट १४४ जनालाई नियन्त्रणमा लिएका छौं । तीमध्ये ७ जना गुण्डागर्दी प्रकृतिका गतिविधिमा संलग्न रहेका व्यक्ति हुन् । सामान्यतः काठमाडौं प्रहरीले दैनिक करिब ११५० जनालाई सोधपुछको दायरामा राख्ने गर्छ । यसका साथै दुईपांग्रे र चारपांग्रे गरी करिब २२० देखि २२५ सवारीसाधन जाँचको दायरामा पर्छन् । सोधपुछ र जाँचपछि सरदर १३०–१३५ जनालाई होल्डमा राखिन्छ, जसबाट प्रारम्भिक अनुसन्धान र उजुरीका आधारमा दैनिक करिब १०–१५ जना व्यक्ति प्रचलित कानुनअनुसार कारबाहीको दायरामा आउने गरेका छन् ।

हिजो पक्राउ परेका ती व्यक्ति पुराना अपराधी हुन् वा पहिलोपटक संलग्न भएकाहरू ?

पक्राउ परेकामध्ये केही व्यक्ति यस्ता गतिविधिमा पटकपटक संलग्न हुँदै आएका छन् भने केहीले निश्चित भौगोलिक क्षेत्रलाई आधार बनाएर सर्वसाधारणलाई दुःख दिने र हैरानी पार्ने काम गर्दै आएका छन् ।

हप्ता उठाउने पनि छन् भन्न खोज्नुभएको ?

गुण्डागर्दी भन्नाले विभिन्न तरिकाले अवैध गतिविधि गर्ने (पैसा असुल्ने, व्यापारमा हस्तक्षेप गर्ने वा दबाब सिर्जना गर्ने) जस्ता कार्यलाई जनाउँछ । यस्ता क्रियाकलापले नागरिकको संवैधानिक अधिकारमा कुण्ठा ल्याउनुका साथै सार्वजनिक सुरक्षामा प्रत्यक्ष असर पार्छ । पक्राउ परेका व्यक्तिहरूमध्ये केहीले पैसा लिएर दुःख दिने, समूहको प्रभावमा पारेर व्यवसायमा हस्तक्षेप गर्ने, आफूलाई ‘सहजकर्ता’का रूपमा प्रस्तुत गर्दै अवैध काम गर्ने जस्ता गतिविधिमा संलग्न रहेको पाइएको छ । समग्रमा प्रचलित कानुनलाई हातमा लिएर सर्वसाधारणको अधिकारमा हस्तक्षेप गर्ने र सार्वजनिक सुरक्षामा खलल पुर्‍याउने प्रकृतिका काममा संलग्न व्यक्तिहरूमाथि कारबाही गरिएको हो ।

अहिले पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री त हिरासतमै छन् । अन्य धेरै व्यक्ति अनुसन्धानमा तानिएका छन् । जेन–जी आन्दोलनका क्रममा केही थुनुवाकक्ष क्षतिग्रस्त भएका थिए । काठमाडौंमा थुनुवा राख्ने क्षमता कति छ ? 

काठमाडौं जिल्लामा १५ वटा स्थानबाट अपराध दर्ता हुने र त्यहीँबाट हिरासतमा राखेर अनुसन्धान गर्ने व्यवस्था छ । जिल्ला प्रहरी परिसर काठमाडौं एउटा मुख्य युनिट हो भने त्यसबाहेक १४ वटा प्रहरी वृत्तमा हिरासत कक्ष सञ्चालनमा छन् । हाल गौशाला, बानेश्वर, बौद्ध र जनसेवा गरी चार स्थानमा हिरासत कक्ष जेन-जी प्रदर्शनमा क्षति भएपछि निर्माणाधीन अवस्थामा छन् । अन्य १० वटा वृत्तले कस्टडी व्यवस्थापन गरिरहेका छन् । जिल्ला प्रहरी परिसरमा ठूलो क्षमताको हिरासत कक्ष छ । समग्रमा हेर्दा काठमाडौं प्रहरीले करिब २ हजार जनासम्मलाई हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने क्षमता राख्छ । हाल औसतमा करिब १ हजार जना कस्टडीमा रहेका छन् ।

Question to the spokesperson of the Kathmandu Police Complex: 'Are you under pressure from the Ministry of Home Affairs?'

संख्या बढ्दा व्यवस्थापनमा समस्या आउँदैन ?

हिरासतमा राख्ने र छाड्ने ‘इन–आउट’ प्रक्रियाको अनुपात मिलाएर व्यवस्थापन गर्ने गरिएको छ । संख्या बढे पनि त्यसलाई सन्तुलनमा राख्दै व्यवस्थापन गरिन्छ । साथै, मानवअधिकारका मापदण्ड र आधारभूत पूर्वाधारलाई ध्यानमा राखेर हिरासत व्यवस्थापन भइरहेको छ ।

पछिल्लो समय प्रहरीले बढी सक्रियता देखाएको छ । यो नयाँ सरकारको कामसँग जोडिएको हो ? तपाईंहरूलाई गृह मन्त्रालयको दबाब कत्तिको छ ?

प्रहरीलाई संविधान, प्रहरी ऐन तथा अन्य प्रचलित कानुनहरूले शान्ति–सुरक्षा कायम गर्ने, अपराध रोकथाम र नियन्त्रण गर्ने जिम्मेवारी दिएका छन् । सरकारको प्राथमिकता र जनताको अपेक्षा पनि यही हो । त्यसैले हाम्रो सक्रियता नियमित दायित्वअनुसारकै हो ।

सरकारबाट पनि यी कार्यमा निरन्तर फोकस गर्ने नीति रहन्छ । सोहीअनुसार हाम्रो कामकारबाही सञ्चालन भइरहेको छ। सर्वसाधारणले सुरक्षित वातावरणमा आफ्ना मौलिक हक–अधिकार उपभोग गर्न पाउनुपर्छ भन्ने साझा उद्देश्यअनुसार हामी सक्रिय भएका हौं । यस क्रममा सम्बन्धित निकाय तथा तालुक कार्यालयबाट आवश्यक समन्वय, निर्देशन र परिचालन भइरहेको छ ।

सम्बन्धित समाचार

प्रहरीको 'अपरेसन सेफ्टी काठमाडौं' : काठमाडौंबाट १९५ जना पक्राउ

गुण्डागर्दीमा संलग्न भएको आरोपमा किमजोङ बोससहित १३ जना पक्राउ

विमानस्थलमा यात्रुहरूलाई हैरानी दिने १८ जना पक्राउ

कान्तिपुर

Link copied successfully