कार्की आयोगको मात्र होइन, अरू पनि प्रतिवेदन छन् भने सार्वजनिक गरिदिन्छौं : प्रधानमन्त्री कार्की [अन्तर्वार्ता]

'जेनजी आन्दोलनमा उठेका एकएक आवाजको सम्बोधन होस् । यहाँ भ्रष्टाचार, नातावाद, पक्षपात नहोस् ।'

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

We will make public not only the Karki Commission's report, but also other reports if there are any: Prime Minister Karki [Interview]

काठमाडौँ — भदौ २३-२४ मा भएको जेन-जी आन्दोलनको बलमा बनेको सरकारले तोकिएको समयमै निर्वाचन सम्पन्न गरेको छ ।२७ भदौमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने घोषणा गरेकी थिइन् । बिहीबार देशभर शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । यही सन्दर्भमा बिहीबार साँझ कान्तिपुरले प्रधानमन्त्री कार्कीसँग गरेको संक्षिप्त कुराकानी : 

तपाईंले नेतृत्व सम्हालेर चुनावकाे घाेषणा गर्दा ताेकिएकै मितिमा चुनाव हुन्छ भन्नेमा संशय थियाे । तर याे सफलता कसरी सम्भव भयाे जस्ताे लाग्छ ? 

हामीलाई आत्मविश्वास थियो, काम गर्न सक्छौँ भन्ने । लगनशीलता भएमा कुनै कुरामा लागिपरे सम्भव हुने रहेछ । चुनौती भए पनि हामी आफ्नो जिम्मेवारीअनुकूलको काम गर्दै गयौँ । हामीमाथि विभिन्न प्रकारले आक्रमण नभएको होइन । बाधा अवरोध नआएको होइन । तर हामी त्यसबाट विचलित भएनौँ। निस्वार्स्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ भन्ने विश्वास थियो । जति अवरोध भए पनि बाटो हामीले छाडेनौँ । 

ताेकिएकै मितिमा चुनाव सम्पन्न भयाे । तपाईं कसलाई धन्यवाद दिन चाहनुहुन्छ र कसकाे भूमिका सबैभन्दा महत्वपूर्ण भयाे भन्ने लाग्छ ? 

प्राप्त जिम्मेवारी पूरा गर्न सकेकामा म खुसी छु । तर म एक्लैले यो सम्भव भएको होइन । सिंगो मन्त्रिपरिषद्को मेहनत लागेको छ । निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, राजनीतिक दल, उम्मेदवार सबैको भूमिका छ । खास गरी हाम्रो आह्वान स्वीकार गरेर निर्वाचनमा सहभागी हुनुहुने नेपाली जनताले नै यसलाई सफल बनाउनुभएको हो । उहाँहरू सबैलाई धन्यवाद छ ।

सहिद परिवार र घाइते योद्धाहरूको उच्च संयम र समझदारीका कारण पनि यो प्रक्रिया सम्पन्न हुन सम्भव भएको छ। यो भनेको लोकतन्त्र, स्थायित्व, शान्ति र यो देशको भविष्यप्रति उहाँहरूको चिन्ता पनि अनि समर्पण पनि हो। उहाँहरू सबैलाई कोटीकोटी नमन।

समयमै चुनाव सम्पन्न गर्दा तपाईंले कहीँकतै सम्झाैता गर्नुभयाे भन्ने पनि छ । जस्ताे कि, कार्की आयाेगकाे प्रतिवेदन चुनाव अघि सार्वजनिक भएन । मुखै हेर्दिनँ भन्ने पुराना दलका नेतृत्वसँग पनि संवाद गर्नुभयाे । यसमा के भन्नुहुन्छ ? 

आयोगले प्रतिवेदन बुझाउनासाथ कार्यान्वयनमा जान्छ। मैले भन्दै आएकी छु, मुलुकमा कुनै पनि प्रकारको दण्डहीनताले ठाउँ पाउनुहुँदैन। अहिलेको आयोगको मात्र होइन, अरु पनि त्यस्ता प्रतिवेदन छन् भने ती हेर्छौँ र सार्वजनिक गरिदिन्छौँ। ताकि जनताले थाहा पाऊन्।

ठूलो रक्तपातको पृष्ठभूमिमा जेन-जीहरूको मागबमोजिम यो सरकार बन्यो। सुरुमा सबै पक्षसँग संवाद गर्ने अवस्था पनि थिएन। तर, विस्तारै सबै पक्षलाई विश्वासमा लिँदै संवाद र सौहार्दता बढाउँदै गयौँ। सबै पक्ष एक ठाउँमा आउनुको विकल्प थिएन। त्यसको उपयुक्त लोकतान्त्रिक निकासको माध्यम चुनाव नै हो भन्ने सबैलाई बोध भयो।

चुनावपछिकाे सरकारले सबैभन्दा पहिला के गराेस् भन्ने तपाईकाे सदासयता छ ?

जेनजी आन्दोलनमा उठेका एक–एक आवाजको सम्बोधन होस् । यहाँ भ्रष्टाचार, नातावाद, पक्षपात नहोस्। आफ्नो देशमा अन्याय र विभेदको महसुस गरेर कुनै पनि युवा विदेश जानु नपरोस्। विदेशबाट लास भएर आउनु नपरोस्। आफ्नै देशमा गरी खाने वातावरण होस्। 

नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्नुअघि तपाईले सक्नुपर्ने केही काम छन् ? 

हामी यथाशीघ्र नयाँ जनादेशप्राप्त सरकारलाई सत्ता हस्तान्तरण गर्न चाहन्छौँ।

कान्तिपुर

Link copied successfully