रोजगारी सिर्जना गर्न मेरो उम्मेदवारी हो : चुन्न पौडेल

व्यवसायी पृष्ठभूमिका चुन्नप्रसाद शर्मा पौडेल रुपन्देही-२ मा कांग्रेसका उम्मेदवार छन् । चुनावी दौडधुपको अन्तिम समयमा पौडेलले कान्तिपुरसँग आफ्नो उम्मेदवारीको अर्थ र मतदाताहरूका अपेक्षा बारे गरेको कुराकनीकाे सम्पादित अंश :

फाल्गुन १८, २०८२

घनश्याम गौतम, जयसिंह महरा

काठमाडौँ — सफल उद्योगी र व्यवसायीको पृष्ठभूमि भएका चुन्नप्रसाद शर्मा पौडेल रुपन्देही-२ मा कांग्रेसका उम्मेदवार छन् । करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सका साझेदारमध्येका एक पौडेल मौन अवधिअघिसम्म चुनावी दौडधुपमै व्यस्त छन् । यही दौडधुपबीच उनले कान्तिपुरसँग आफ्नो उम्मेदवारीको अर्थ र मतदाताहरूका अपेक्षाका बिषय सुनाएका छन् । कान्तिपुरका लागि जयसिंह महराघनश्याम गौतमले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंले मतदातासँग के भन्नुभयो र कसरी भोट माग्नुभयो ?

यहाँका समस्या भनेको अव्यवस्थित बसोबासी छ । स्वास्थ्य, शिक्षा, पर्यटन र उद्योग जस्ता क्षेत्रमा पनि गर्नुपर्ने कामहरू धेरै छन् । रुपन्देहीलाई आर्थिक विकासको हिसाबले हबको रुपमा विकास गर्नु जरूरी छ । जनताका आकांक्षाहरू पनि धेरै छन् । प्राथमिकता निर्धारण गरेर फरक किसिमले काम गर्न जरूरी छ । । म यहाँका लागि नयाँ अनुहार नभए पनि उम्मेदवारको हिसाबले नयाँ छु । त्यसैले धेरै मतदाताले रोजगारी सिर्जना गर्नुपर्छ भन्ने सुझाव दिनु भएको छ । 

मतदाताका प्राथमिकताका मागहरु के के छन् ? 

यहाँको मुख्य समस्या तिनाउ खोला छेउको अव्यवस्थित बस्ती नै हो । आवश्यक नीति र कानुन सुधार गरेर भए पनि अव्यवस्थित बसोबासीका लागि पुर्जाको व्यवस्था गर्नु पर्नेछ । अहिले भूमि आयोग र स्थानीय सरकारबाट जग्गा नापजाँचका केही काम पनि भएका छन् । तर, बसोबास गरेको जग्गाको पुर्जा हातमा नपरेपछि त्यहाँका मतदाता आक्रोशित हुनुहुन्छ । हामीलाई लालपुर्जा दिन्छौं भन्दै यहाँ नआउनुस् पनि भन्नु भएको छ । यहाँ खानेपानी र सडकको समस्याबारे पनि मतदाताले भनेका छन् ।  

तपाईं आफै पनि उद्योगी हो । यहाँको मोतिपुर औद्योगिक क्षेत्र अलपत्र जस्तै छ । सेजमा पनि उद्योगी जान सकिरहेका छैनन् । रोजगारीका पर्याप्त अवसर छैनन् । यसमा तपाईंको ठोस योजना कस्तो छ ? 

मोतिपुर औद्योगिक क्षेत्र बन्नुपर्छ भन्ने माग हामी उद्योगी व्यवसायीहरूकै हो । तर, सरकारबाटै जग्गाको व्यवस्थापन हुन नसक्दा लामो समयदेखि अलपत्र अवस्थामा छ । त्यसलाई सुल्झाएर मोतिपुर क्षेत्रलाई औद्योगिक क्षेत्रमा विस्तार गर्नु जरूरी छ । यस क्षेत्रमा रहेका धेरै उद्योगहरूमा विदेशी जनशक्तिले काम गरिरहेको छ । हामीले त्यसलाई पनि नीतिगत सम्बोधन गरेरै स्वदेशी र स्थानीय जनशक्तिलाई उपयोग गर्नेगरी काम गर्ने छौं ।

बुटवलको खानेपानी समस्या र बस्तीकोबीचमा रहेको विद्युतको हाइटेन्सन लाइनको पनि पुरानो समस्या हो । यसबारे तपाईंको भनाइ के छ ?  

बुटवलमा खानेपानी मुख्य समस्या छ । हाइटेन्सन लाइनलाई भुमिगत गर्ने विषय हामीले प्रतिबद्धतापत्रमा पनि उल्लेख गरेका छौं । विद्युतको हाइटेन्सन लाइन भुमिगत गराउने विषय केन्द्रीय सरकारकै कार्यक्षेत्रभित्र पनि पर्ने भएकाले त्यसको नीतिगत सुधारको प्रयास गर्ने छौं । वर्षौंदेखिको झुम्सा खानेपानी समस्याको समाधान पहिल्याएर त्यसको समाधान गर्ने प्रतिबद्धता पनि गरेका छौं । हाइटेन्सन लाइन र खानेपानीको समस्या धेरै मतदाताले घरदैलोको क्रममा पनि राख्नु भएको छ । 

कांग्रेस बदलिएर आयो अब देश बदल्छौं भन्ने नारा ल्याएको छ, मतदातामा त्यो नाराको असर कस्तो छ ? 

जेन-जी आन्दोलनसँगै अब कांग्रेस पनि बदलिनुपर्छ भन्ने चाहनाअनुसार कांग्रेसका युवा नेताहरू गगन थापा, विश्वप्रकाश शर्मालगायतले बदलिएको कांग्रेस बनाउने अभियान चलाए । म पनि त्यो अभियानमा जोडिए । त्यसैले अब भ्रष्टाचार मुक्त समाज हुनुपर्यो, विकास समान हुनुपर्यो, रोजगारीका अवसर स्वदेशमै खुल्नु पर्यो भन्ने जुन खालका मागहरु उठेका छन् । त्यो पूरा गर्नकै लागि कांग्रेस पार्टी नै सुधारिएर देश सुधार गर्ने गरी आएको हो । त्यसैले आम कार्यकर्ता र मतदातामा त्यसको ठूलो प्रभाव परेको छ । 

तपाईंले म नयाँ हुँ भन्नुभयो तर कांग्रेस त पुरानै पार्टी हो भन्ने छ नि मतदातामा ?

अब कांग्रेस पनि पुरानो पार्टी होइन् । सुधारिएको र बदलिएको कांग्रेस पार्टी हो । विचार बदलिएको छ । नेतृत्व बदलिएको छ । उर्जा भरिएको पार्टी भएको छ । हामी त्यसका खम्बा बनेर उभिएका छौं । त्यसैले कांग्रेस पनि नयाँ हो र हामी पनि नयाँ हौं । केही परिवर्तन गर्नुपर्छ भनेर आएका छौं । 

तर, महाधिवेशनपछि कांग्रेस आन्तरिक रुपमा विभाजित भएको हो कि भन्ने अवस्था पनि छ, यहाँको अवस्था कस्तो छ ?

विशेष महाधिवेशनपछि छिटफुट स्थानमा त्यस्तो होला । तर, यो क्षेत्रमा त्यस्तो खालको कुनै प्रभाव र क्रियाकलाप छैन । कोही नेता असन्तुष्ट पनि हुनुहुन्न । सबै एकताबद्ध भएर नयाँ कांग्रेस निर्माण र कांग्रेसकै सरकार निर्माणमा लाग्नु भएको छ । कांग्रेस एक ढिक्का भएर अगाडि बढेको छ ।

यो निर्वाचन क्षेत्रमा कांग्रेसले २०५४ सालपछि जित्न सकेको छैन्, अहिले तपाईंको जितको आधार के हो ?

हो, यहाँ लामो समयदेखि कांग्रेसले जित्न सकेको छैन् । त्यही कारण पनि अहिले मैले जित्नका लागि सहज महशुस गरेको छु । किनकी सबै कांग्रेस कार्यकर्ताहरूमा रुख चिन्हमा भोट दिने प्रतिबद्धता छ । कांग्रेस एक ढिक्का छ । सधैं जनतामा भिजेको, बुटवललाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्न सक्ने भिजन र योजना भएको उमेदवार यस क्षेत्रले अहिले पाएको छ । कांग्रेस पनि सुधारिएर आएको छ । सबै माध्यमबाट म अहिले बलियो उम्मेदवार छु । यहाँको बसोबास र यहाँका मतादातासमक्ष हिजो पनि, आज पनि र भोलि पनि सँगै रहने उम्मेदवार म मात्र हो । स्थानीय स्तरमा मैले दिएको झण्डै ५ हजार जनाको रोजगारीदेखि सामाजिक क्षेत्रमा गरेका काम पनि मेरा जितका प्रमुख आधार हुन् । 

अर्को कुरा मैले यस क्षेत्रबाट जितेको अवस्थामा सांसद भएबपत पाउने सेवा सुविधा कुनै पनि आफूले नराख्ने प्रतिबद्धता व्यक्त गरेको छु । त्यो सबै सेवा सुविधा मैले यस क्षेत्रका विपन्न समुदायका बालबालिकाको पढाइका लागि खर्च गर्ने योजना बनाएको छु । त्यस्तै यस क्षेत्रको कृषिमा मैले राम्रो काम गरेको छु । पहाडी क्षेत्रमा बाँदरले सताएर खेती हुन छोडेको जमिनमा मैले अकबरे खेती गर्न लगाएर कृषिमा काम गरेको छु । किसानले पहाडका बारीमा लगाएको अकबरे खुर्सानी हाम्रो यशोदा फुड्स कम्पनीले खरिद गर्दै आएको छ । हामीले अकबरे खुर्सानीको व्यवसायिक खेती सुरु गरेपछि भारतबाट आउने अकबरे खुर्सानी विस्थापित भएको छ । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully