एउटा प्रतिनिधिसभा सदस्यसँग न हेलिकोप्टर बनाइदिने ल्याकत हुन्छ, न उसले हरेक टोल-टोलमा नाला बनाइदिने हो । कतिपय ठाउँमा नागरिकले 'यो १० दिनमा तपाईंले नाला बनाइदिनुभयो भने म तपाईंलाई भोट हाल्छु' भन्नुभयो, तर मैले 'म सक्दिनँ हजुर' भनेर माफी मागेँ । नागरिकका अपेक्षाहरूलाई विधि र पद्धतिबाट कसरी निराकरण गर्न सकिन्छ भन्ने मेरो बाचापत्रको ध्येय हो ।
What you should know
काठमाडौँ — यो क्षेत्रका उम्मेदवारहरू मतदाताको घरदैलो पुगेर प्रचारप्रसार त गरिरहेकै छन्, सामाजिक सञ्जालमार्फत पनि मतदाताको हातहातमा आफ्ना एजेन्डा पुर्याइरहेका छन् । यसरी चुनावी प्रतिस्पर्धामा रहेका दाङ-२ बाट रास्वपा उम्मेदवार तथा पार्टी सहमहामन्त्री विपिनकुमार आचार्यसँग कान्तिपुरका जयसिंह महरा र दुर्गालाल केसीले गरेको कुराकानीको सम्पादित अंश :
पहिलोपटक उम्मेदवार भएका व्यक्ति भोट माग्दै घरदैलो आउँदा मतदाताले के माग गर्दा रहेछन् ?
नागरिकले के खोज्छन् भन्ने आकलन गरेर हामीले पार्टी स्थापना गरेका हौं । उम्मेदवार भइसकेपछि चुनावी अभियानमा हिँड्दा मैले नागरिकहरूका दुईवटा पक्ष पाएँ, चुनावभन्दा अगाडि नेता जसरी नागरिकसँग जोडिन खोज्छ, चुनाव पछाडि पनि त्यो कायम रहोस् । लगभग शतप्रतिशतले के भन्नुभएको छ भने- तिमीलाई भोट त दिने हो, तर भोट लिएर जितिसकेपछि आउनु है । दोस्रो, पूरा गर्न सक्ने बाचाहरू मात्रै गरियोस् ।
हामी पटक-पटक पूरा गर्न नसकिने बाचाहरूको शिकार भएका छौँ । मतदाता भन्छन्- यो पटक तपाईंले जुन बाचाहरू गर्नुहुन्छ, त्यो पूरा गर्ने हो ? होइन भने हामीलाई नझुक्याउनुहोला । किनकी, हामी अन्तिमपटक राजनीतिक दल अथवा राजनीतिक आस्थामा विश्वास गर्दैछौँ । योपटक पनि तपाईंहरूले हाम्रो विश्वासमा घात गर्नुभयो भने राजनीतिक नामको चिजप्रति नै विश्वास उठ्छ ।
मतदाताले नेताबाट पुल, सडक, सिंचाइ र मललगायतका समस्या समाधान मागिरहेको देखेका छौं । अर्कोतिर उम्मेदवारले भोट प्राप्त गर्नका लागि गाउँ-गाउँमा हेलिप्याड निर्माण गरिदिन्छुसमेत भनिरहेका छन् । तपाईंको क्षेत्रमा यो पुल, सडकलगायतका विकास आयोजना कत्तिको माग्नुभएको छ ?
त्यो त अवश्य छ । सबैको अपेक्षा छ, कसैले नाला मागिरहेका छन्, कसैले बाटो पीच मागिरहेका छन्, कसैले डीप बोरिङ मागिरहेका छन् । कसैले दैनिक रोजीरोटीसँग प्रत्यक्ष-परोक्ष सम्बन्ध राख्ने कुराहरू नै माग्नुभएको छ । म त्यसमा चाहिँ बढी दोष नागरिकहरूलाई भन्दा पनि हाम्रो नेतृत्वलाई दिन्छु ।
चुनावको बेला नागरिकलाई दोष दिन पनि भएन नि हैन ?
मैले नागरिकलाई दोष दिन मिल्दैन । यो निर्वाचनमा सबैभन्दा ठूलो च्यालेन्ज भनेको नागरिकहरूलाई एउटा प्रतिनिधिसभा सदस्यको काम र अधिकार बुझाउने हो । मैले त मेरो बाचापत्रको एक खण्डमा प्रतिनिधिसभा सदस्यका काम, कर्तव्य र अधिकारबारे भिडियो बनाउँदा र प्रिन्टेड फर्ममा पनि त्यो राखेको छु । किनकी हामीले पूरा गर्न नसकिनेको बाचाको भारी बोकाइदिँदा मतदातामाथि ज्यादती हुन्छ ।
मतदाताले राखेका समस्या दाङका मात्र समस्या होइनन् । म केन्द्रको नेता वा व्यक्ति हुँदै गर्दा त्यसलाई कसरी सोच्छु भने, समस्या पूरै केन्द्रको हो । जे अपेक्षा उहाँहरूले राख्नुभएको छ, त्यसको समाधान गर्ने सबैभन्दा वैज्ञानिक उपाय विधि हो ।
६ महिनामा सारा समस्या हल हुँदैन, समय लाग्छ । तर हामी त्यो समय माग गर्ने आधारहरू तय गर्छौँ । एउटा प्रतिनिधिसभा सदस्यसँग न हेलिकोप्टर बनाइदिने ल्याकत हुन्छ, न उसले हरेक टोल-टोलमा नाला बनाइदिने हो । कतिपय ठाउँमा नागरिकले 'यो १० दिनमा तपाईंले नाला बनाइदिनुभयो भने म तपाईंलाई भोट हाल्छु' भन्नुभयो, तर मैले 'सक्दिनँ हजुर' भनेर माफी मागे । नागरिकका अपेक्षाहरूलाई विधि र पद्धतिबाट कसरी निराकरण गर्न सकिन्छ, मेरो बाचापत्रको ध्येय हो ।
पुराना पार्टीहरूले नगरेकाले हामी विकल्पमा आयौँ भनेर मतदाताकहाँ गइराख्नुभएको छ । मतदाताका अपेक्षा तत्काल पूरा गर्नसक्ने आधारहरू के छन् ?
म जहिले पनि अपेक्षालाई 'टोन डाउन' गर्नुपर्छ भन्ने व्यक्ति हो । राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै जादुको छडी छैन । हामीले पहिलो फेजमा गर्ने भनेको सही नेतृत्व सरकार चलाउने ठाउँमा पुग्दा सुशासनको प्रत्याभूति हुन सक्छ भन्ने अनुभूति नागरिकलाई गराउने हो । ६ महिनामा सारा समस्या हल हुँदैन, समय लाग्छ । तर, हामी त्यो समय माग गर्ने आधारहरू तय गर्छौँ । जनतालाई विश्वास दिलाउने हो कि- परिवर्तन सम्भव छ ।
नेपाली राजनीतिज्ञको एउटा अप्ठ्यारो पक्ष कस्तो छ भने धेरै नेताहरूको ध्यान चुनाव जित्नेमा मात्रै भयो । चुनाव जितिसकेपछि राज्यसत्ता सञ्चालन गर्ने बेला स्रोतहरूको सदुपयोग कसरी गर्ने, प्रणालीमा देखिएका समस्या कसरी समाधान गर्ने भन्ने तयारी कहिल्यै भएन । अनि डेलिभरी भएन । म केन्द्रीय नेताका रूपमा विधि र फ्रेमवर्क बनाउनु पर्छ भन्ने चिजमा बढी लाग्ने भएको कारणले, त्यो फ्रेमवर्कले नै काम गर्ने हो । त्यसलाई ड्राइभ गर्ने भनेको पार्टी कसरी सञ्चालन हुन्छ भन्ने कुरा हो ।
चुनावका क्रममा रास्वपामाथि प्रश्न उठ्दै आएको छ कि अन्य राजनीतिक दलको वा आलोचना सहन नसक्ने भयो, विपक्षी दलका नेता र कार्यकर्तामाथि 'साइबर अट्याक' गर्ने संस्कृति विकास गरेको छ । रास्वपाका कार्यकर्ता किन अरूको कुरा सुन्न तयार छैनन् ?
पार्टी स्थापना भएको साढे तीन वर्ष मात्र भयो । स्कुलिङका लागि समय पर्याप्त छैन । तर, व्यक्तिगत रूपमा पार्टीको केन्द्रमा बसेका साथीहरूको 'थट प्रोसेस' भनेको- हामी सबैभन्दा बढी सहनशील हुनुपर्छ र अर्काको फरक विचारलाई स्वीकार्नुपर्छ भन्ने हो । मैले दाङ र देशभरका साथीहरूलाई सधैँ 'जित्नका लागि अर्कालाई गाली नगरौँ, सकारात्मक कुरामा फोकस गरौँ' भनेर अपिल गरिरहेको छु ।
तर नागरिकका रूपमा मान्छेमा यति धेरै आक्रोश छ कि त्यो सामाजिक सञ्जालमा पोखिएको छ । त्यसलाई 'टोन डाउन' गर्ने जिम्मा पार्टीको हो । कसैलाई जे पनि भनिदिने प्रथा सभ्य समाजका लागि सही होइन । चुनाव पछाडि मेरो एउटा प्रमुख प्राथमिकता सामाजिक सञ्जालमा देखाउने आचरणलाई कसरी सही बनाउने भन्ने हुनेछ ।
तपाईं पार्टी सहमहामन्त्री हुनुहुन्छ, समानुपातिक उम्मेदवार चयन गर्ने उपसमितिको आफैँ संयोजक हुनुहुन्थ्यो । समानुपातिक बन्दसूचीको खस आर्य क्लस्टरमा एक नम्बरमा नाम राख्नुभयो, पछि काठमाडौं-२ बाट उम्मेदवार बन्ने चर्चा थियो तर दाङ आइपुग्नुभयो नि ?
मैले पार्टीको उमेदवारी चयनको विधि बनाउन जिम्मेवारी पाएको थिएँ । मैले पार्टीलाई के भनेको थिएँ, अब मैले विधि बनाएँ । योपटक म प्रतिनिधित्व गर्न चाहन्छु । तर, पार्टी हाइकमान्डले 'तपाईंले प्रत्यक्ष लड्न पाउनुहुन्न, देशभरको चुनाव प्रचारको नेतृत्व गर्नुपर्छ' भन्यो । उहाँहरूले मलाई समानुपातिकको १ नम्बरमा बस्नुस्, पार्टीले विशेष अधिकार प्रयोग गरेर राख्छ भनेको थियो । तर, मैले त्यो प्रस्ताव अस्वीकार गरेको थिए । मैले भनेको थिए, जो व्यक्ति विधि बनाउँछ, त्यो व्यक्ति विधि मिचेर संसदमा जाँदैन । त्यसैले मैले पहिला उम्मेदवार चयन उपसमितिको संयोजकबाट राजीनामा दिए । त्यसपछि अन्य साधारण सदस्य जस्तै प्रक्रियामा सहभागी भए । प्राइमरी भोटिङका हिसाबले म १ नम्बरमा भए र मेरो नाम समानुपातिकको बन्दसूचीको १ नम्बरमा भयो । तर, पछि सबैजनाको छलफलपछि, भूगोलमा गएर राजनीति गर्दा त्यसको 'पोलिटिकल सिग्निफिकेन्स' र 'इन्फ्लुएन्स' धेरै हुन्छ भन्ने भएपछि म दाङ आए । काठमाडौं पनि एउटा विकल्प थियो तर आफू जन्मिएकै ठाउँबाट राजनीति सुरु गर्नु उत्कृष्ट निर्णय हुन्छ भन्ने मलाई लाग्यो ।
यो निर्वाचन क्षेत्रका प्रतिस्पर्धीहरूलाई कसरी लिनुभएको छ ?
म लोकतन्त्रको मर्यादाभित्र रहेर उम्मेदवारी दिने व्यक्तिहरूलाई मेरो प्रतिस्पर्धी मान्छु । २०७९ को निर्वाचनमा हामीलाई 'एक सिट पनि आउँदैन' भन्थे तर हामीले त्यो अनुभव लिइसकेका छौँ । त्यसैले मेरा लागि सबैजना प्रतिस्पर्धी हुन्, कोही बढी वा कोही कम भनेर म विश्लेषण गर्दैन ।
