बालेन्द्रले यो काम गर्नुभएको, यो इतिहास, यो योगदान, यो बलिदान भन्ने छ ? यस देशमा लोकतन्त्र ल्याउन यति गर्नुभएको छ, विकास ल्याउन यति गर्नुभएको छ भन्ने केही छ ?
काठमाडौँ — जेन–जी आन्दोलनका बेला प्रधानमन्त्री रहेका केपी शर्मा ओलीलाई उनकै निर्वाचन क्षेत्रबाट हराउने भन्दै काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर बालेन्द्र शाह झापा–५ पुगेपछि यहााको चुनावी प्रतिस्पर्धा रोचक बनेको छ ।
२०६४ सालबाहेक ६ पटकसम्म निरन्तर विजयी हुँदै आएका एमाले अध्यक्ष ओली र तीन वर्षअघि मेयर बनेर उदाएका नेता बालेन्द्र यतिबेला दमकमा केन्द्रित भएर चुनावी प्रचारप्रसार गरिरहेका छन् । प्रस्तुत छ, चुनावी अभियानमा गृह जिल्ला झापामै रहेका एमाले अध्यक्ष ओलीसँग कान्तिपुरका लागि कृष्ण आचार्य र गौरव पोखरेलले गरेको कुराकानी :
झापा–५ मा पहिलेका निर्वाचनहरूमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जितिहाल्छन् नि भनेर सबैले सहज रूपमा भन्थे, तर यसपालि मान्छेहरूले शंका गर्न थालेका छन्, तपाईंलाई त्यस्तो लागेको छ कि छैन ?
यो निर्वाचन क्षेत्रमा तपाईंहरू आउनुभएको छ, आफैं अध्ययन गर्नुहोस् । मतदाता नभएका, बाहिरबाट बस, कार र बाइकमा आएका, निर्वाचन क्षेत्रभन्दा बाहिरका मान्छेहरू देखिएर मत प्राप्त हुँदैन । त्यस्तो भीड सञ्चारमाध्यमहरूलाई मात्र काम लाग्छ, मतदानलाई काम लाग्दैन । जनताको प्रतिनिधि भएर मैले यस क्षेत्र र जिल्लाको मात्रै होइन, देशकै कायाकल्प हुने काम गरेको छु । पूर्वाधार, मानव संसाधन, आर्थिक र सामाजिक विकासको काम गरेको छु ।
मैले यस क्षेत्रका जनताको प्रतिनिधिको हैसियतले सिंगै देशको नेतृत्व गर्ने मौका पनि पाएँ । देश अप्ठ्यारो स्थितिमा भएका बेलामा म प्रधानमन्त्री बनेको छु र देशको आर्थिक अवस्थालाई माथि उठाएको छु । म प्रधानमन्त्री हुँदा आर्थिक वृद्धिदरलाई ७ प्रतिशतभन्दा माथि पुर्याएको र देशलाई आधुनिकीकरणतर्फ लगेको सबैलाई थाहा छ । तीव्रताका साथ धेरै पक्की बाटाहरू बने ।
दुर्गम भनिएका ठाउँ पनि सुगम भए । नेपालमा सडक मानव हटाउने अभियान मैले नै ल्याएको हो । उत्पादनका कार्यमा प्रविधिको प्रयोगलाई अभिवृद्धि गर्ने नीतिहरूका साथ डिजिटल नेपालको अवधारणा अगाडि सारेर थुप्रै सफलता हासिल गरेका छौं । देशभरि फोरजी पुर्याएका छौं ।
तपाईंले विकासका काम गरेको दाबी गरे पनि तपाईंलाई नै चुनौती दिनका लागि काठमाडौंका निवर्तमान मेयर बालेन्द्र शाहले उम्मेदवारी दर्ता गर्नु भएको छ । उनको पक्षमा भीड देखिएको छ । त्यसबाट दबाब महसुस गर्नु भएको छैन ?
उहाँले यो काम गर्नुभएको, यो इतिहास, यो योगदान, यो बलिदान भन्ने छ ? यस देशमा लोकतन्त्र ल्याउन यति गर्नुभएको छ, विकास ल्याउन यति गर्नुभएको छ भन्ने केही छ ? छ भने मैले त थाहा पाएको छैन । बरु, सुकुम्बासीका बस्तीमा डोजर चलाउनु भएको होला । खोला किनारतिर मान्छे बस्नै दिनु भएन होला । अहिले सुकुम्बासी आतंकित छन्– काठमाडौंमा डोजर चलाएर सुकुम्बासीलाई रुवाउने मान्छे आएको छ रे भनेर । कवाडीका काम गर्ने मान्छेहरू पनि आतंकित छन् ।
दमक त सफा नगरमध्ये पर्छ, व्यवस्थित नगरमध्ये पर्छ । यहाँ केही गर्नेभन्दा पनि सिक्न आउनुभएको हो कि ? उहाँले काठमाडौंमा केही विकास गरेको त देखिएन । अरूले बनाएका बाटा र पुल मैले बनाएका भन्ने गरेको देखिएको थियो । वास्तवमा त्यहाँको रकम फ्रिज भएर जाने, बेठीक ठाउँमा वितरण हुने र अनावश्यक झमेलामा फस्ने गरेको देखिएको थियो । कहिले मारवाडीहरूले ९० वर्षभन्दा अगाडिदेखि चलाइराखेको गौशालामा झमेला हुने र कुटाकुट हुने गरेको देखिएको थियो । यस्ता झमेलाका विषयमा म जान चाहन्नँ । तर यहाँका जनता सचेत छन् ।
सुकुम्बासी बस्तीदेखि धर्मशालासम्म काठमाडौंका तत्कालीन मेयर बालेन्द्र शाहको गतिविधिमा प्रश्न गर्नुभयो । तर त्यसभन्दा बढी प्रश्न तपाईंमाथि पनि छ । कलिला बालबालिकामाथि गोली चलाउने आदेश दिनुभएको आरोप छ नि ?
उहाँ पनि त त्यही काठमाडौंमा मेयर हुनुहुन्थ्यो नि त । गोली चलाउने आदेश त उहाँले पक्कै दिनु भएन । प्रधानमन्त्रीले गोली चलाउन आदेश दियो भन्नुभन्दा राम्रो र सजिलो त एआई प्रयोग गरेर एउटा मेसिनगन मैले बोकेर भटटट गोली चलाएको देखाइदिए हुन्छ नि । यही मान्छेले मारेको हो भन्दा त गजब हुन्थ्यो होला ।
तर, उहाँले त जेन–जी आन्दोलनका बेला सरकारको नेतृत्व गरेका एमाले अध्यक्षलाई उहाँकै जिल्लामा हराउन पाए पो मजा हुन्छ भनिरहनुभएको रहेछ नि त ? झापा–५ मा जाने हो भनेर पनि उहाँले भन्नुभयो, ठीक छ ।
तपाईंलाई के लाग्छ, उहाँ किन झापा–५ आउनुभयो होला ?
रविको चलाखी । उल्किने बानी रहेछ, रविको चलाखीले यहाँ लगेर फसाइदिए । पछि प्रधानमन्त्री बनाइदिने भनेको छ तर निस्किन नसक्ने गरी खाल्डोमा हाल्दिएको छ ।
उहाँहरूले रिसर्च गरेको र आफूहरूले जित्ने बताइरहनुभएको छ । त्यस्तो स्थितिमा एमालेले जित्ने र बहुमत ल्याउने भनेर तपाईंले के आधारमा भनिरहनुभएको छ ? तपाईंले पनि रिसर्च त गर्नु भएको छैन नि ?
हामीलाई चाहिँ रिसर्च गर्न आउँदैन कि, मान्छेलाई सोध्न आउँदैन कि, सोधेपछिको नतिजा निकाल्न आउँदैन कि, त्यसलाई विश्लेषण गर्न आउँदैन कि, हामीले चाहिँ ल्यापटप चलाउँदैनौं कि, फोन चलाउँदैनौं कि ? हामीलाई रिसर्च भनेको कुन चराको नाम हो भन्ने थाहा नभएको हो कि ? हामी डेटामा विश्वास नगर्ने आदिम जमानाका मान्छे हौं कि ? के सोच्नुभएको छ उहाँहरूले ? देशलाई केही वर्ष नेतृत्व गरेर आएका मान्छे हौं । देशलाई आधुनिकीकरण गरेर आएका मान्छे हौं । डिजिटल नेपालको अवधारणा ल्याएको मान्छे हौं । ‘इनोभेसन’ का काम र नयाँ–नयाँ विकास–प्रविधिहरू लिएर आएका मान्छे हौं ।
तपाईंहरूको अध्ययनले चाहिँ के देखाउँछ ? पहिलेकै जस्तो फराकिलो मतान्तर हुन्छ कि प्रतिस्पर्धात्मक स्थिति हुन्छ कि ? के हुन्छ ?
कुनै प्रभाव पर्दैन ।
उम्मेदवारी दर्ताको दिन त बालेन्द्रतर्फ ठूलो भीड देखियो नि ?
मैले पनि हेरें । मुख छाड्दै थिए । मेरो गाडी जाँदै गर्दा मैले सिसा खोलेर हेरें, अलि राम्रो सुन्ने गरी हेरें । बिलकुल यतातिर नचिनिएका अनुहार थिए । असभ्य, अशिष्ट र अमर्यादित मनपरी बोल्ने खालका मान्छे थिए । म आफ्नो बाटो हिँडेको छु, मुख छाड्नु कुन सभ्यता हो ? यी मान्छे दमकका होइनन्, दमकका मान्छे त्यस्ता छँदै छैनन् । त्यस्तो बोल्दै बोल्दैनन् । छाडा छैनन् । त्यस्तो बोल्ने चलन दमकमा छैन । निहुँ खोज्ने र शारीरिक हमला गर्ने चलन यहाँको होइन । यहाँ शान्तिपूर्ण ढंगले निर्वाचन सुरु भएर अन्त्य हुन्थ्यो । तर यहाँ पनि अत्यन्तै अश्लील इसारा गरियो, मुख छाडियो ।
तपाईंले निर्वाचनका लागि सुरक्षा चुनौतीको कुरा गरिरहनुहुन्थ्यो । यस्तै घटनालाई भन्नुभएको कि अरू सूचना पनि छन् ?
मैले यस खालको प्रवृत्ति अलिकति बढ्न सक्ने देखेको छु । काठमाडौंमा कसरी विद्यार्थी बोलाइयो ? त्यतिबेला बालबालिका मारियो भन्छन् । तर, बालबालिकालाई आन्दोलनमा प्रयोग गर्नु अपराध होइन ? स्कुलबाट ब्याग लिएर आऊ, ब्यागमा छाता हुनुपर्छ, पानी हुनुपर्छ, युनिफर्ममा आऊ, पुलिसले केही गर्न सक्दैन भन्ने कुरा भनिएको छ ।
यसरी विद्यार्थी ल्याएका थिए । दिउँसो आन्दोलन हाइज्याक भएकाले फिर्ता हुनुपर्छ भनेर माइकिङ हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तोडफोड गर्ने र पर्खाल फुटाउने काम गर्न थालियो । बालबालिकाले पर्खाल फुटाउँछ ? फलाम काट्ने औजार लिएर जान्छ ? घरबाट बालबालिका औजार लिएर गएका छन् र ? बालबालिका त्यहाँ कुनै हिसाबले प्रयोग भएका छन् भने त्यो प्रयोगकर्ताहरूको गल्ती हो । निर्दोष बालबालिकाहरूलाई अपराध कर्ममा संलग्न गराउने दुश्चेष्टा आफैंमा सामाजिक अपराध हो ।
उत्तेजक वातावरण बनाएर संसद् भवन जलाउन लागेपछि र प्रहरीमाथि पनि हमला हुने स्थिति सिर्जना भएपछि प्रहरीले गोली चलाउँछ होला नि । त्यहाँ जो सुरक्षाका लागि बसेको छ, उसलाई ‘स्ट्यान्ड बाई’ आदेश हुन्छ । तर, आगो लगाउने निहुँ चाहिएको थियो, मान्छेको जीवनसँग यिनीहरूलाई मतलब थिएन । आगो लाउने बहाना मिलोस् एउटा भन्ने थियो । त्यसका लागि २३ भदौमा कोसिस भयो । त्यसैलाई बहाना बनाएर २४ भदौमा आगजनी र तोडफोड भयो । अनि हामी जस्तो शान्ति सुव्यवस्था होस्, मान्छे नमरून्, ‘क्याजुअल्टी’ नहोस् भन्ने मान्छेविरुद्ध लागेका छन् । प्रधानमन्त्रीले गोली चलाउन पुलिसलाई आदेश दिन्छ र ?
सत्ताको बागडोर सम्हालेको प्रधानमन्त्रीलाई नियमित रिपोर्टिङ भइरहेको हुन्छ । त्यस किसिमको घटना भएपछि नैतिक जिम्मेवारी लिनुपर्दैन ?
राज्यले काम गर्न नसक्ने खालको आतंकको स्थिति सिर्जना गर्नेले जिम्मा लिनु नपर्ने तर शान्तिपूर्ण हुन्छ भनेर विश्वास गरेर धोका खाएका हामीले जिम्मेवारी लिनुपर्ने ? सरकारको टुप्पोमा बस्नेले कुन ठाउँमा के घटना घट्छ, बस दुर्घटना भयो भने पनि थाहा पाउनुपर्ने हो ? सबैका आ–आफ्ना कर्तव्य छन् । आफ्नो जिम्मेवारीभित्रको कामका बारेमा उसले जानेको हुन्छ । कस्तो परिस्थितिमा काम गरियो, किन गरियो भनेर उसले भन्छ । प्रधानमन्त्रीले प्रहरीलाई गोली ठोक्ने कहिल्यै र कहीँ आदेश दिँदैन ।
निर्देशनकै हकमा पनि सबैले भनेकै छन् कि प्रधानमन्त्रीले शान्ति सुव्यवस्था कायम होस्, कुनै प्रकारको क्षति नहोस् भनेर पटकपटक सजग गराउनुभएको थियो तर हामीले रोक्न सकेनौं । यो त प्रहरीले नै भनेको छ । भोलिपल्ट आगजनी भयो । वास्तवमा जे भयो, देशद्रोही अपराधीहरूले योजनाबद्ध अपराध गरेका हुन् । तपाईंका प्रश्नले पनि तिनै मान्छेलाई हिरो बनाउन खोजेको देखिन्छ । वास्तवमा देशै आक्रोशित हुनुपर्ने हो, यस्ता कुरामा ।
२३ र २४ भदौको घटनापछि तपाईं आफैं नेपाली सेनाको सुरक्षामा बस्नुभयो । पछि फर्किएर निर्वाचन गराउँदैनन् भन्नुहुन्थ्यो । तर, अहिले तपाईंले पनि मनोनयन दर्ता गराउनुभयो । देशै चुनावमय भएको छ । कस्तो लाग्दै छ ?
प्रहरीको मनोबल उठेकै छैन । हिजो दमक थानाको स्थिति हेरें । पूरै आगजनी गरिएको रहेछ । प्रहरीमाथि हमला र कुटपिट गरिएको रहेछ । कुटपिट गरेर नालामा फालिएको रहेछ । स्थानीयले राति नालाबाट ‘रेस्क्यु’ गरेका रहेछन् । प्रहरीको बर्दी लगाएर आगो लाउने मान्छे ल्याएका रहेछन् । प्रहरीका हराएका हतियारमध्ये केही एसएलआर अझै प्राप्त भएका छैनन् ।
हतियार फिर्ता गर्न सकिएको छैन भने त शान्तिसुरक्षाको स्थिति ढुक्क बस्ने खालको होला त ? हतियार त अपराधीले नै लुटेको होला । उसले पूजा कोठामा राखेर पूजा गर्न लुटेको त होइन होला । त्यसैले शान्तिसुरक्षाको स्थिति चुनौतीपूर्ण छँदै छ । त्यतिबेलाको भन्दा अलिकति सुधार भएको होला । तर आवश्यक सुधार भने हुन सकेको छैन ।
तपाईं स्वयं आएर मनोनयन दर्ता गरेपछि अब निर्वाचन तोकिएकै मितिमा हुने सुनिश्चित भएको मान्दा हुन्छ ?
अझै संशय छ । निर्वाचन हुनु एउटा कुरा हो । तर, अहिले नेपाली कांग्रेसमाथि भइरहेको व्यवहार पनि हामीले देख्यौं । एउटा इतिहास भएको ‘डेमोक्रेटिक’ पार्टीमाथि जस्तो व्यवहार भयो, यो नेपालको हकमा भविष्यका लागि ‘रेकर्डेड हिस्ट्री’ बन्ने छ । लोकतन्त्र भनेको एउटा प्रणालीको परिकल्पना मात्रै होइन, प्रक्रियाको पनि कुरा हो ।
प्रक्रियाबिना प्रणाली हुँदैन । प्रणाली सञ्चालन गर्ने पनि एउटा प्रक्रिया हुन्छ । म यतातिर धेरै जान चाहिनँ, तर कांग्रेस जस्तो ऐतिहासिक पार्टी एकताबद्ध हुनुपर्छ भन्ने लाग्छ । तर जे भयो, त्यो भइसकेको छ । अब फैसला गर्ने, मुद्दा हेर्ने काम अदालतको हो । अदालतले उपयुक्त तथा उचित निर्णय गर्ला भन्ने मेरो विश्वास छ । मेरो निष्कर्ष के हो भने नेपाली कांग्रेस बलियो हुनुपर्छ, सुदृढ हुनुपर्छ र लोकतन्त्रको पक्षमा र देशको हितमा यसको भूमिका प्रभावकारी हुनुपर्छ ।
कांग्रेसको विधानअनुसार ५४ प्रतिशतले विशेष महाधिवेशन मागे र ५६ प्रतिशत महाधिवेशन प्रतिनिधि उपस्थित भएर नयाँ नेतृत्व छनोट गरेको प्रक्रियालाई निर्वाचन आयोगले वैधानिकता दिएको छ । अदालतले पनि अन्तरिम आदेश दिएन । तपाईंले कांग्रेसमा शेरबहादुर देउवा नै सभापति भएको भए आफूले भनेको मान्ने र गठबन्धन गर्न पाइने ठानेर विशेष महाधिवेशनपछिको स्थितिको विरोध गर्नुभयो भनेर पनि भनेका छन् नि ?
अदालतमा विचाराधीन मुद्दामाथि प्रश्न गर्दा फैसला भइसकेको जसरी गर्नुहुन्छ । मिलेर गएको, एकताबद्ध, सुदृढ र बलियो कांग्रेस मैले हेर्न चाहेको हो । सभापतिमा शेरबहादुर देउवाजी भए राम्रो हुन्थ्यो भन्ने सन्दर्भमा, उहाँसँग मैले सहमति गरेको त पोहोर साल न हो । त्यसभन्दा अगाडि त हामी प्रतिस्पर्धामै थियौं । तर पनि मैले कसैको कुभलो चिताइनँ । शेरबहादुरजीमाथि शारीरिक हमला भयो, त्यस्तो व्यवहार मैले अत्यन्तै मन नपराएको र घृणा गरेको व्यवहार हो ।
अब उहाँसँग एकता गर्न पाइन्थ्यो भनेर मैले त्यस व्यवहारलाई घृणा गरेको हो र ? एकता हुन्छ वा हुँदैन भन्ने विषय आफ्नो ठाउँमा छ । मानवीय भावना, सामाजिक मर्यादा, मानवता र सामाजिक सभ्यताका विषयलाई अन्य विषयसँग जोडिनु हुँदैन । मैले भन्न खोजेको के हो भने, कांग्रेस अदालत जानै हुँदैन थियो, उसले मेलमिलापका बाटा खोज्नुपर्थ्यो । हामीलाई त कांग्रेससँग मिल्नै पर्छ भन्ने के हो र ? कांग्रेसलाई गठबन्धन नगर्दा हुन्छ भने मलाई नगरी नहुने के छ ? हामी लोकतान्त्रिक शक्तिहरूसँग वैरभावको व्यवहार गर्दैनौं ।
तपाईंले कांग्रेसमा चाहिँ मेलमिलाप होस् भन्नुभयो । तर, एमालेमै विरोधाभास देखिएको छ । तपाईंले आफूसँग फरक समूहबाट प्रतिस्पर्धा गर्ने सुरेन्द्र पाण्डे, योगेश भट्टराई, बिन्दा पाण्डे, गोकुल बाँस्कोटालगायतलाई छानीछानी टिकट दिनुभएन भन्ने छ नि ?
मसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने ईश्वर पोखरेल काठमाडौं–५ बाट उम्मेदवार बन्नुभएको छ । सुरेन्द्र पाण्डे र योगेश भट्टराईले जित्ने स्थिति रहेन यस पटक । बिन्दा पाण्डेको कुनै आधारै छैन । मसँग मतभेद राख्नु नै उम्मेदवारी प्राप्त गर्ने आधार होइन नि । निर्वाचन क्षेत्रमा कस्तो स्थिति छ, के छ भनेर हेर्नुपर्छ । जसले जित्ने स्थिति हुन्छ, उसले टिकट पाउने हो ।
जसले जित्ने स्थिति हुँदैन, जसले नकारात्मक भूमिका खेलेको छ, त्यो टिकटको ‘ग्यारेन्टी’ होइन । जितियोस् कि नजितियोस्, टिकट थमाइदिनुपर्ने भन्ने हुँदैन । जसको जित्ने सम्भावना छ, उनीहरूले पाएका छन् । विपक्ष कोही पनि छैन । योगेश भट्टराईजीले ताप्लेजुङमा क्षितिज थेबेको उम्मेदवारीमा आफैं गएर हामीहरू एकढिक्का छौं, भाँजो हाल्न नखोजे हुन्छ भनेर बोल्नुभएको छ । त्यो भनेको पार्टी एकजुट छ भन्ने सन्देश हो । जो साथीहरूले टिकट पाउनुभएको छैन, उहाँहरूलाई पनि यथार्थमा परिस्थितिको आकलन छ ।
गोकुल बाँस्कोटाले पहिले फराकिलो अन्तरले जित्नुभएको थियो । उहाँले टिकट नपाउनुको कारणचाहिँ जनाधार नभएकैले हो कि अरू केही छ ?
गोकुल बाँस्कोटाले अघिल्लो पटक टिकट पाउनुभयो, जित्नुभयो । चार वर्ष अगाडि र अहिलेको स्थितिमा फरक परेको छ, ‘ग्राउन्ड रियालिटी’ मा । महेश बस्नेतको स्थितिमा फरक परेको होला । गोकुलजीको स्थितिमा फरक परेको होला । जनताको धारणामा फरक परेको होला । गोकुलजीले कार्यकर्ता पंक्तिमा अलि बढी विभाजन ल्याउनुभयो । त्यहाँको कार्यकर्ता पंक्ति हिजो एकढिक्का भएर लागेको थियो, आज उहाँले अलि विभाजित गर्दा अप्ठ्यारो स्थिति भयो कि ? अथवा जनतामा उहाँका कामहरूप्रति असन्तुष्टि भए कि ? जनताले मन नपराउने र भोट हाल्न मुस्किल हुने स्थिति बन्यो कि ? त्यस्ता कुराहरूको मूल्यांकन भएको हुन सक्छ ।
अघिल्लो साल जसले पाएको हुन्छ, उसैले खुरुखुरु पाउनुपर्छ भन्ने तपाईंहरूको सोच हो ? प्रश्न हो ? अहिले त्यस्तो हुँदैन । अघिल्लो पटक जितेको थियो भने यसपल्ट पनि अनिवार्य जित्छ भन्ने हुँदैन । एउटा खेलाडी छनोट भएको हुन्छ एक पटक, अर्को पटक त्यो छनोटमा नपर्न सक्छ । क्याप्टेनले आफ्नो टिमलाई जिताउने उद्देश्यलाई धेरै हिसाब गरेर नै खेलाडी छनोट गर्छ ।
क्याप्टेनकै हिसाबमा अर्को एउटा प्रश्न, शेरबहादुर देउवासँग तपाईंले तालमेल वा गठबन्धनको प्रयास गरिरहनुभएको थियो । तर, अब उहाँ यो निर्वाचन प्रक्रियामा सहभागी हुनुहुन्न । यस अवस्थामा उहाँबाहेकको कांग्रेस, नेकपा, राप्रपा वा अरू शक्तिसँग चुनावी तालमेलको सम्भावना कस्तो छ ?
हामी देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिसँग कुनै पनि प्रकारले वैरभाव राख्दैनौं । त्यस्तोमा तालमेल हुन पनि सक्छ, गर्न पनि सकिन्छ । को कति इच्छुक छ भन्ने विषय हो । इच्छुक शक्तिहरूसँग हाम्रो तालमेल हुन पनि सक्छ ।
व्यक्तिविशेषमै जाऊँ न । कांग्रेस सभापति गगन थापा, नेकपा संयोजक प्रचण्ड र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन वा अरू कोही नेतासँग तालमेलको विषयमा कुराकानी भएको छ कि छैन ? त्यो ठाउँ छ कि छैन ? झापा–५ मै पहिले राप्रपासँग तपाईंहरूको तालमेल हुन्थ्यो नि ?
झापा–५ का लागि होइन, राप्रपा कमसेकम एउटा राष्ट्रवादी शक्ति हो, त्यो संसद्मा हुनुपर्छ भनेर सहयोग गरेको हो । २०७४ मा पनि एक सिट दिएर बचाइएको थियो । पछि उहाँहरूको स्थिति अलिकति बलियो बनाउनुभयो र हामीले पनि सहकार्य गर्नै खोज्यौं । राजेन्द्र लिङ्देनजीलाई जिताउन चाह्यौं ।
उहाँहरूलाई सिट छोड्दा स्वाभाविक रूपमा उहाँहरूले पनि हामीलाई सहयोग गर्नुभयो । भएको त्यसो हो । त्यसलाई ठीक ढंगले बुझ्नुपर्छ । बराबरीको हैसियतमा लेनदेन गरिएको होइन कि उहाँहरूलाई कमसेकम संसद्मा उपस्थित गराऔं न त भन्दा त्यस किसिमको तालमेल बन्या हो । यसपालि त्यो विषयमा कुराकानी भएको छैन । तर उहाँहरू र अरूसँग पनि कुराकानी हुन सक्छ । यद्यपि, हामीले तालमेल गर्नुपर्छ भन्ने नीति लिएर अगाडि बढेका छैनौं । तर, सम्भावनालाई इन्कार नगरीकन हामी अगाडि बढेका छौं ।
तपाईंहरू गठबन्धन नगरी चुनावमा जान डराउनुभएको पनि हो कि ?
बहुमत ल्याउन एमालेलाई समस्या छैन । १३८ भन्दा माथिको सिट एमालले यही निर्वाचनमा ल्याउँछ । त्यसअनुसार हामी अगाडि बढिराखेका छौं । हामीसँग देशव्यापी संगठन छ । जनवर्गीय संगठन छ । तैपनि, पार्टी–सार्टी केही नभएको र ‘अल्गोरिदम’ का भरमा अलमलिएका मान्छेहरू, ‘कुहिरोको काग’ हरू भेला गरेर चुनाव जित्छु भन्या छन् ।
रास्वपा मात्रै होइन, धरानका निवर्तमान मेयर हर्क साम्पाङले पनि बहुमत ल्याउँछु र प्रधानमन्त्री हुन्छु भन्नुभएको छ । उहाँले त झापा–५ मा बालेन्द्र र ओली दुवैलाई जित्छौं भन्नुभयो नि ?
उहाँले भर्खरै पार्टी खोल्नुभएको छ । मेरो शुभकामना छ– उहाँ लोकतन्त्रको धारमा आउनुहोस् । उहाँ देशभक्तिको धारमा आउनुहुन्छ । आउन खोजेको पनि देखिन्छ । विदेशी हस्तक्षेप हुनुहुँदैन भन्ने कुरा गरेको देखिन्छ । त्यो राम्रो पक्ष हो । उहाँले श्रम संस्कृति पनि भन्नुभएछ । श्रमप्रति माया गरौं, खालि विदेशतिर नहेरौं, यही देशमा बसौं, श्रमलाई सम्मान गरौं, काम गरौं, देशलाई सिँगारौं भन्ने भावना पनि देखिन्छ ।
तर उहाँ राजनीति नगरेको, भर्खर राजनीतिमा प्रवेश गरेको र अहिलेको परिस्थितिले महत्त्वाकांक्षा जगाएको व्यक्ति हो । २३ भदौमा एकछिन आन्दोलनमा सरिक भएका युवाहरू प्रधानमन्त्री हुन तयार छन् अनि वडा सदस्य र अध्यक्ष को हुने हो ? २१ वर्षभन्दा माथिका त सबैलाई मन्त्री हुनुपरेको छ । त्योभन्दा तल त कोही पनि नबस्ने भो त । उमेर नपुगेकाले पाउँदै पाउँदैन, उमेर पुगेका जति प्रधानमन्त्री र मन्त्रीभन्दा तल हेर्दै हेर्दैन । पत्रकारहरू यसो पत्रकारिता गर्दै थिए, न्युज एंकरिङ गर्दै थिए, मन्त्री अब ।
तपाईंले पनि उपप्रधानमन्त्रीसम्म बनाइदिनुभयो नि ?
उनको चाहिँ पहिले पार्टी बन्यो, संसद्मा उपस्थिति भयो । त्यसपछि संसद्को आवश्यकताले बनाइयो । कहिलेकाहीँ त्यस्तो हुन्छ । तर अहिले पत्रकार, वैज्ञानिक, प्राधिकरणवाला सबैले प्रधानमन्त्री ताकेको त पार्टी भएर, पार्टी बनाएर, राजनीति गरेर होइन नि । कमसेकम रवि लामिछानेले त पार्टी बनाएका थिए । सहकारीसँग उनको सम्बन्ध त त्यसबेला मलाई के थाहा ?
तपाईंले ‘अल्गोरिदम’ को प्रसंग पनि निकाल्नुभयो । हालै एउटा कार्यक्रममा कम्तीमा १० ‘लाइक’ गरिदिनुस् भन्नुभएको थियो । ‘डिजिटल वार’ मा एमाले पछि पर्यो भन्ने लागेको हो ?
अलिकति पछि परेको हो तर यसो होइन कि डिजिटल संसारबारे एमाले अनभिज्ञ छ, पछाडि पर्छ भन्ने होइन । हामीसँग आईटी र डिजिटल इन्जिनियरहरू र कन्टेन्ट क्रिएटरहरूदेखि लिएर सबै प्रकारका ‘म्यानपावर’ छन् । ल्यापटप र मोबाइल पनि छन् । यो डिजिटल ‘क्याम्पेन’ पहिला एमालेले नै सुरु गरेको थियो भनेर पनि भन्छन् । साइबर सेना भनेर एमालेतिरै जोड्थे । तर हामीसँग पैसा थिएन । त्यसकारण हामीले ‘बुस्ट’ गर्न सक्दैनौं, गरेनौं । अब ‘बुस्ट अप’ गर्छौं, आफ्नै जनशक्ति प्रयोग गरेर ।
त्यसो भए तपाईंहरूको चुनावी अभियान यसपालि सडकमा केन्द्रित हुन्छ कि डिजिटल अभियानमै जोड दिनुहुन्छ ?
हामी मान्छेलाई महत्त्व दिन्छौं ।
एमालेको प्रतिस्पर्धाचाहिँ कोसँग हुन्छ होला ?
एमालेको प्रतिस्पर्धा अहिले कांग्रेससँग नै होला । चुनावका बेला कांग्रेसमा जे भयो, त्यस्तो नहुनु पर्थ्यो । कांग्रेस सुदृढ ढंगले आउन पर्थ्यो तर त्यसरी आउन सकेन । विवादित र विभाजित मनस्थितिका साथ सम्मुख आइरहेको निर्वाचनमा जाँदै छ । यो सहज कुरा होइन । यद्यपि प्रहारको भारचाहिँ एमालेले खपेर आएको छ । त्यसकारण कांग्रेसलाई अलि सजिलो छ । किनभने, ‘अट्याक’ नेपाली कांग्रेसमाथि भइराखेको छैन । अहिले कांग्रेसले जे जसो गरे पनि त्यो मान्य हुन्छ । एमालेमाथि प्रहार गर्नु छ, एमालेमाथि प्रहार भइराखेको छ ।
झापा–५ मा चाहिँ तपाईंको प्रतिस्पर्धा कोसँग हो त ?
प्रतिस्पर्धा यहाँ त छैन । ‘डबल’ भन्दा बढीले हामी जित्छौं ।
नजिकचाहिँ को आउनुहोला ? कांग्रेसका उम्मेदवार वा रास्वपाका बालेन्द्र शाह वा अरू कोही ?
उहाँ (बालेन्द्र शाह) को के छ यहाँ ? को छ यहाँ ? बाहिरबाट ल्याएका मान्छे ? अथवा को छ ? के छ ?
सबभन्दा नजिकको तबला दिएर पठाएको ‘केपी बा’ हुनुहुन्छ नि ?
त्यो त हुँदै हो । मैले अस्ति पनि भनें, यहाँ डेरा खोज्दिनुपर्छ भने सहयोग गर्छु । मेरो ठाउँमा आएपछि त मसँग भेटेर ‘म चुनावमा आएँ, कहाँ बसौं ? कस्तो गर्दा राम्रो हुन्छ ?’ भन्या भए मै खोज्दिन्थें नि ।
तर, कतिपय मतदाताले चाहिँ केपी ओलीले सडक बनाउनुभयो तर विकास निर्माण सबै अलपत्र छन्, भ्यु टावर अहिलेको प्राथमिकता थिएन तर त्यहाँ लगानी गरियो भन्छन् नि ?
प्रयोगको विन्दुमा पुग्दा भ्यु टावर नै आगो लाइदिए । वास्तवमा नगरपालिका त्यसको विरोधमा रह्यो । त्यहाँ एउटा आईटीको हब बनाउन मिल्छ किनकि यति धेरै मान्छे आईटीमा काम गर्न खोज्या छन् । त्यसका लागि त त्यस्ता बिल्डिङहरू आवश्यक छ नि । बैंककमा पनि छ बिजनेस टावर । यो पनि बिजनेस कम्प्लेक्स हो । यो भ्यु टावर हो र ? माथि गएर परपर हेर्ने ठाउँ हो र ? यो त बिजनेस कम्प्लेक्स हो । मलेसियामा पनि छ, बिजनेस सेन्टर । किन बनाएको ? भन्थे । अहिले त्यो अपरिहार्य हो । मलेसियाको पहिचान र व्यापारिक केन्द्र बन्यो ।
हाम्रो प्रश्न त्यो टावर बन्नु हुँदैन थियो भन्दा पनि त्योभन्दा प्राथमिकता जनताको सेवा सुविधा बढाउने काममा हुनुपर्थ्यो कि भन्ने हो नि ?
बिजनेस सेन्टर नबनाई, बिजनेस नचलाई, कारोबारको सिर्जना नगरी, पैसा नकमाई जनतालाई सिरक र न्यानो जाकेट कहाँबाट दिनुहुन्छ ? छाप्रालाई घर कसरी बनाउनु हुन्छ ? गुइँठा बाल्ने ठाउँलाई विद्युत् चलाउने कसरी बनाउनु हुन्छ ? आर्थिक अवस्था उठाउनका लागि बिजनेस बढाउनुपर्छ । त्यसका लागि बिजनेस टावर बनाउने हो । ‘मनी ट्रान्जेक्सन’ बढाउने, रोजगारीको अवसर सिर्जना गर्ने हो । दुइटा तलामा मात्रै १०० जना युवाहरूलाई आईटीको हब बढाउन दिने हो भने रोजगारीको अवसर सिर्जना हुन्छ ।
प्राइभेट सेक्टरलाई पनि दक्षिण भेगमा लगेर उद्योगहरू खोल्न भनेका छौं । गार्मेन्ट उद्योग, जुत्ता उद्योग चलाइदिनुभएको छ । दुई–चार सय मान्छेले प्रत्यक्ष रोजगारी पाएका छन् । यहाँ औद्योगिक क्षेत्र विकास गरेर कमसेकम एक लाख मान्छेलाई रोजगारी दिन खोजेको हो । त्यसमा व्यवधान भइरहेको छ । त्यसलाई तोडेर यहाँ औद्योगिक क्षेत्र बनाउनु छ । देशभरि आठ वटा ठूला औद्योगिक क्षेत्र खोलेर ठूला इन्डस्ट्रीको हब बनाउने, एजुकेसनल हब बनाउने, हेल्थ हब बनाउने, योग केन्द्रहरू बनाउने काम गर्नुपर्नेछ । त्यसका लागि शक्ति र भिजन पुर्याउन सक्नुपर्यो नि ।
तपाईंलाई बताइदिऊँ, म कुनै दुर्व्यसनमा छैन, म गाँजा, जाँड, रक्सी, चुरोट खान्नँ । समय खेर फाल्दिनँ । १८ घण्टाभन्दा बढी ‘क्रिएटिभ’ ढंगले काम गर्छु ।
तर, एउटा ‘दुर्व्यसन’ छ जस्तो लाग्छ, छुच्चो बोल्ने । धेरैले त्यसो भन्छन् नि ?
अब तपाईंहरूमाथि मलाई शंका लाग्यो । मैले कतै कसैप्रति केही भनेको छैन । म काम र अध्ययनमा ‘एडिक्ट’ होला । तर नराम्रा काममा ‘एडिक्ट’ छैन । मलाई देश बनाउने लोभ होला । कमाउने लोभ छैन । कमाइनँ ।
![There is still a possibility of electoral coordination: Oli [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/ped/kp-sharma-oli-interview-photos-4-2212026015445-1000x0.jpg&w=1001&h=0)