'सामाजिक आधार बनाएरै म राजनीतिमा आएको हुँ । त्यहीअनुसार काम गर्ने मेरो योजना छ ।'
What you should know
काठमाडौँ — सुमन सायमी स्थानीयको अधिकारका लागि सडक विस्तारविरुद्ध र गुठी आन्दोलनको अगुवाका रुपमा चिनिन्छन् ।
पुस्तौंदेखि स्थानीयले उपभोग गर्दै आएको अधिकार मासेर गरिने विकासको विरुद्ध उनले अभियान चलाउँदै आएका छन् । गत आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा उम्मेदवार भएका उनी राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त महर्जनबाट पराजित भएका थिए । अब फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार हुने तयारी गरेका छन् । बुधबार नेकपामा समाहित हुँदै उनले ‘स्टन्ट’ को राजनीतिविरुद्ध विचार लिएर राजनीतिमा होमिएको कान्तिपुरसँग बताएका छन् । उनीसँग कान्तिपुरका गंगा बीसीले गरेको संक्षिप्त कुराकानी :
तपाईं काठमाडौंको कला संस्कृति, स्थानीयको अधिकारका लागि अभियान चलाउने व्यक्ति नेपाली कम्युनिस्ट पार्टीमा समायोजन किन हुनुभयो ?
मेरो मुख्य उद्देश्य देशका लागि केही गरौं भन्ने हो । हामी ४० जना अभियन्ता नेकपामा जोडिएका छौं । अहिले देश विषम परिस्थिति र संकटमा छ । देश भ्रम र अनिश्चतामा फसेको छ । वैदेशिक हस्तक्षेपको दबदबा छ । अहिले जुन किसिमको पुपलिजम र प्रोपोगाण्डाको राजनीति भइरहेको छ । ‘स्टन्ट’ को राजनीतिले समस्याको निकास दिँदैन भन्ने लागेर म नेकपामा समायोजन भएको हुँ ।
संघर्ष, कर्मशीलताबिना कुनै चिज दिगो रहदैन । एउटा टेक्नोलोजीको भरमा आज प्रधानमन्त्री बन्ने सपना देख्दैछन् । जनतालाई भ्रममा पारेर देश कहाँ पुग्छ भन्ने हामीलाई चिन्ता छ । राजनीतिमा युवा आउनुपर्छ । पुस्तान्तरण हुनुपर्छ । तर हस्तान्तरण पुस्तान्तरणको नाममा जे भइरहेको छ, त्यसले समाधान दिँदैन । राजनीतिमा जोस र होस पनि मिलाउनुपर्छ । मैले नयाँ भनिएका पार्टीहरुमा यो कुरा राखेको थिएँ तर उहाँहरुले यो सुन्न चाहनु हुन्न । हामीले क्रान्ति अभियान चलाएर एउटा क्रान्ति पूरा होला भनेर सोचका थियौं । तर जेनजी आन्दोलपछि चुनाव नहुँदा झन् देश संकटमा फस्ने भयो भनेर राजनीतिक शक्तिसँग जोड्नुपर्छ भन्ने लागेके हो । यही मान्यताले सबै शीर्ष नेताहरुसँग कुरा गरेँ । हाम्रो मुद्दा, विचार, उद्देश्य मिल्ने दलहरुसँग सहकार्य गरेर देशलाई बचाउन मैले एउटा शक्तिसंँग जोड्नुपर्यो भनेर लागेको हो ।
पुराना पार्टीहरुमा युवालाई अवसर छैन भनिन्छ । तपाईं अवसर खोज्दै नेकपामा जानुभयो ?
कर्मशीलता देखाउन सक्यो भने जहाँ पनि अवसर छ । मैले काठमाडौं उपत्यकामा कर्मशीलता देखाएको १२ वर्ष भयो । मलाई त्यतिकै बोलाएर राख्या होइन । उपत्यका हाँक्नलाई जुन किसिमको जिम्मेवारी पद दिनुपर्ने हो, नेकपाले त्यो जिम्मेवारी दिन्छ भन्ने मलाई विश्वास छ । कर्मशीलताले जिम्मेवारी पाइन्छ । कामै नगरीकन मलाई यो देऊ भने कसले जिम्मेवारी दिन्छ ? आफ्नै घरमै त जिम्मेवारी दिइँदैन । देश एउटा घर हो नि ।
अब तपाईं नेकपाको काठमाडौं कमान्डर हो ?
मैले पहिलेदेखि नै भ्याली कमान्ड गरिरहेको छ । हरेक सेक्टरमा, ठाउँमा जुनजुन समस्या आए, त्यहाँका मुद्दामा नेतृत्व लिएर हिँड्या हो । गुठी होस् या सडक विस्तार या खोला मापन या त फास्ट ट्रयाकको विवाद, स्मार्ट सिटीको कुरामा पनि मैले अभियानको नेतृत्व गरेको छु । सबैतिर विकास हुनुपर्छ तर कसैलाई पनि आफ्नो थातथलोबाट उठिबास गराएर बाध्यात्मक बनाउनु हुँदैन भनेरै म सडकका निस्केको हुँ । यो काम अरुले गरेको भए त म आनन्दले व्यापार गरेर बस्थे नि ।
नेकपामा जोडिएपछि के गर्ने योजना छ ?
मसँग सोसल प्लान पहिले नै छ । अब पोलिटिकल प्लान तयार गर्नुपर्छ भन्ने मेरो मान्यता हो । म त्यही तयारीमा लागेर सबै रोडम्याप लिएर बेस बनाउन राजनीतिमा आएको छु । म सामाजिक आधार बनाएर राजनीतिमा आएको छु । त्यही अनुसार काम गर्ने मेरो योजना छ ।
तपाईँको आगामी चुनावी तयारी पनि होला नि ?
मेरो काठमाडौं क्षेत्र नम्बर ८ हो । गएको निर्वाचनमा मैले गठबन्धनलाई हराएकै हो । त्यसबेला मसँग पोलिटिकल प्लान थिएन, सोसल प्लान मात्र थियो । त्यसबेला म दोस्रो भएको थिएँ । अहिले मसँग बलियो पार्टीलगायत सबै कुरा छन् । पार्टी पनि भयो, संगठन भएपछि शक्ति आउँदो रहेछ । त्यही शक्तिले उत्पीडित जनताको सत्ता आउँदो रहेछ भन्ने लागेको छ ।
सामाजिक अभियान छाडेर राजनीतिमा लागेपछि अरु कुरा ओझेलमा पर्ने होला नि ?
अधिकारसम्बन्धी विभिन्न मुद्दा जितेर पनि अधिकार पाइएन । संविधानमा भएको मौलिक हक थियो, त्यो हकको राम्रोसँग उपयोग गर्न पाइएन । त्यसपछि म राज्यविहीन भएको महसुस गरेँ । त्यही राज्यको खोजीमा नेकपामा जोडिएको छु । राजनीतिबाट सामाजिक अभियानलगायत सबै गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । राजनीतिमा नजोडिएपछि राज्यले नीतिगत रुपबाट पेल्दो रहेछ । त्यसबेला तपाईं हामी सडकमा कर्मशील युवाहरु उफ्रिए पनि केही नहुने तर संघर्ष नगर्ने मान्छेहरु अहिले राजनीतिमा अघि आइरहेका छन् । उनीहरुलाई रोक्नको लागि पनि पार्टीमा जोडिनै पर्ने बाध्यात्मक अवस्था छ ।
![Stunt politics does not provide a solution to problems: Suman Sayami [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/politics/suman-sayami-1612026120047-1000x0.jpg&w=1001&h=0)