हामीमाथि जुन धोका भयो, त्यो पोलिटिकल क्राइम हो : कुलमान घिसिङ

'सोसल मिडिया चलाउन जान्ने भए भन्दैमा कसैको चरित्र हत्या गर्नु ठूलो अपराध हो ।'

पुस २८, २०८२

कान्तिपुर संवाददाता

The betrayal that happened to us is a political crime: Kulman Ghising

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता १२ औं दिनमै भंग भएपछि उज्यालो नेपाल पार्टीका अध्यक्ष बनेका कुलमान घिसिङ यतिबेला असहज राजनीतिक मोडमा छन् । एकतापछि उज्यालो नेपाल पार्टीले बुझाएको समानुपातिक उम्मेदवारको सूची फिर्ता लिइएकाले अहिले पार्टी त छ, तर समानुपातिक उम्मेदवार भने छैनन् ।

यस्तो अवस्थामा उनको राजनीतिक यात्रा कसरी अघि बढ्छ ? १२ दिनमै सहकार्य किन टुट्यो ? यी विषयमा कान्तिपुरको पडकास्ट शृंखला ‘बियोन्ड दि हेडलाइन्स’ मा घिसिङले खुलेर कुरा गरेका छन् । प्रस्तुत सामग्री सोही संवादमा आधारित छ ।

सहमति कसरी भंग भयो ?

सहमति भंग भएको सूचना उपसभापति डीपी अर्यालले दिनुभयो । त्यसपछि मैले रवि लामिछानेलाई १० पटक फोन गरेँ, तर उहाँले फोन काट्नुभयो । बालेन्द्र शाहलाई दुई पटक फोन गरेँ, उहाँले पनि उठाउनुभएन । कुमार बेनलाई एक पटक फोन गरेँ । त्यसपछि विभिन्न सञ्चारमाध्यममा समाचार आयो । तब मात्रै सहमति भंग भएको रहेछ भन्ने थाहा भयो ।

१२ दिनमै सहमति टुटने आधार कसरी बन्यो ? 

ममाथि पदको बार्गेनिङ गरेको आरोप लगाइयो । जबकि रास्वपा उहाँहरूकै पार्टी थियो, घण्टी चुनाव चिह्न उहाँहरूकै थियो, अध्यक्ष रवि नै हुनुहुन्थ्यो र बालेन्द्र शाहलाई प्रधानमन्त्री घोषणा गरिएको थियो । मैले के बार्गेनिङ गरेँ ?

म पनि प्रधानमन्त्री हुन लायक छु, सभापति हुन लायक छु । ‘उज्यालो नेपाल पार्टी’ नाम राखौँ भनेर मैले माग गरेको होइन, त्यो स्विकारेरै सहमति भएको थियो । पुराना पार्टीहरूलाई रिप्लेस गर्नुपर्छ, नयाँ आउनुपर्छ भन्ने जनचाहनालाई मर्न दिनु हुँदैन भनेरै म सहमतिमा गएको हुँ । तर अन्ततः उहाँहरूले लात हानेर पठाउनुभयो ।हामीमाथि जुन धोका भयो त्यो पोलिटिकल क्राइम हो ।

सहमति भंग भएपछि के भयो ?

सहमति भंग भएको दिन बिहान ११–१२ बजे रविजीलाई फोन गरेर भनेँ– यदि यो एडजस्टमेन्ट तपाईंलाई अप्ठ्यारो हो भने मलाई साधारण सदस्य राखिदिनुस् । केन्द्रीय समितिमा नराखे पनि हुन्छ, बालेन्द्रजीलाई जस्तै वरिष्ठ नेता बनाइदिनुस् । उपाध्यक्ष पनि नचाहिने, तपाईंले छानेर मेरो तर्फबाट अरू कसैलाई राखिदिनुस् भनेँ । त्यो प्रस्ताव पनि अस्विकार गरियो । उल्टै मलाई आरोप लगाइयो ।

तपाईंमाथि त आरोप पनि छन् नि ?

रास्वपा र चुनाव चिह्नमा सबै सहमति हुँदा सबै कुरा उहाँहरूकै थियो । हामीले के खोज्यौँ ? तर उल्टै हामीमाथि आरोप लगाइयो । सोसल मिडिया चलाउन जान्ने भए भन्दैमा कसैको चरित्र हत्या गर्नु ठूलो अपराध हो । म प्रचारबाजी गरेर स्थापित भएको मान्छे होइन, म डेलिभरी दिएर आएको मान्छे हुँ । ३०–३५ वर्ष देशमै बसेर काम गरेको मान्छेमाथि गलत सूचना फैलाइयो । साम्यवाद र समाजवाद बाहेक केही मान्दिनँ भन्ने जस्ता हुँदै नभएका कुरा प्रचार गरियो ।

धोका भयो भन्ने निष्कर्षमा पुग्नुभयो ?

एकदमै बैमानी भयो । सुरुमा समानुपातिकमा ३० प्रतिशत उज्यालो नेपाललाई दिने सहमति थियो । पछि १८ जनाको कुरा आयो, तीमध्ये पनि निर्वाचित हुने सम्भावना एक जनाको मात्रै देखियो ।

एउटै शक्ति बनोस् भन्ने जनचाहनालाई मार्नु हुँदैन भनेरै मैले सम्झौता गरेको हुँ । मैले प्रधानमन्त्री दाबी गरेको थिइनँ । बालेनलाई पहिल्यै प्रधानमन्त्रीका रूपमा अघि सारिएको थियो, रविजी अध्यक्ष हुनुहुन्थ्यो ।

राजीनामा नदिई राजनीतिमा सक्रिय भएको आरोपबारे ?

रास्वपा जाने कुरा सहमति मात्रै थियो, कार्यान्वयन भएको थिएन । मैले भनेकै थिएँ– चाँडै राजीनामा दिन्छु । केही मन्त्रालयका विषय टुंग्याएर एक–दुई दिनमै राजीनामा दिने तयारीमै थिएँ । मैले न उज्यालो नेपालको, न रास्वपाको सदस्यता लिएको थिएँ । कानुनी रूपमा कतै आबद्ध थिइनँ ।

रास्वपामा जाने निर्णयबारे पछुतो छ ?

सुरुमै राजनीतिक दल खोलेर जानुपर्थ्यो । त्यसैले सुरुमा सरकारमा आउँदिन भनेको थिएँ । त्यो सही निर्णय थियो । त्यतिबेला पार्टी खोलेको भए उज्यालो नेपाल पार्टी धेरै अगाडि पुग्थ्यो, ठूलो आकार लिने थियो, सम्भवतः नम्बर वान पार्टी बन्थ्यो । रास्वपामा गएपछि त्यो ब्रेक भयो ।

कान्तिपुर

Link copied successfully