के मधेश केन्द्र बनाएर राजनीति गरिरहेका दलहरूबीच ध्रुवीकरणको प्रयास सुरु भएको हो ?
What you should know
काठमाडौँ — आइतबार राति जसपा नेपाल र लोसपा बीच पार्टी एकीकरण गर्ने सहमति भएलगत्तै सोमबार मध्यान्हमा जनता समाजवादी पार्टीकी सह–अध्यक्ष रेणु यादव नेतृत्वमा रहेका केन्द्रीय सदस्यहरू जसपा नेपालमा प्रवेश गरे ।
जेन-जी विद्रोहपछिको बदलिदो राजनीतिक परिवेशमा किन मधेशका दलहरू एकता अभियानमा जोडिन थाले ? के मधेश केन्द्र बनाएर राजनीति गरिरहेका दलहरूबीच ध्रुवीकरणको प्रयास सुरु भएको हो ? यही विषयमा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री एवं जसपा नेपालका महासचिव लालबाबु राउतसँग कान्तिपुरका जनकपुर संवाददाता अजित तिवारीले गरेको कुराकानीको सम्पादित अंशः
निर्वाचनको मुखमा जसपा नेपाल र लोसपालाइ पार्टी एकीकरण गर्नुपर्ने अवस्था किन आएको ?
जेन–जी मुभमेन्टपछि पुराना र नयाँ दलहरू बीच एकीकरण र कार्यगत एकता हुन थालेको छ । दुबै पार्टी, जसपा नेपाल र लोसपा, एक ठाउँ उभिनुपर्छ भन्ने मान्यता थियो । त्यही मान्यताअनुसार दुबै दलबीच घनिभूत छलफल भइरहेको थियो । पुराना दल कांग्रेस र एमाले संघीयताप्रति त्यति उदार देखिएनन् । अधिकार प्रत्यायोजनमा पनि पुराना दलले कन्ज्यूस्याइ गरे । नयाँ दल वालेन–रविहरुलाई संघीयता र समावेशिता चाहिएकै छैन । भ्रष्टाचार र सुशासनको मुद्दा मात्र बोकेका नयाँ दलले विगतका सबै राजनीतिक उपलब्धिलाई सामान्य ठान्छन् । संघीयता हटाइयो भने केही हुँदैन भन्ने मानसिकता नयाँ दलमा देखिन्छ । तर मुलुकको विविधता संघीयताले दिएको छ । संघीयतालाई छोयो भने समस्या हुन्छ ।
विगतमा एकतापछि वैकल्पिक राजनीतिक शक्तिको रूपमा उदाएको टिप्पणी भइरहेका बेला २०७८ को अन्तिमतिर फेरी फुट्नुभयो । अहिले फेरी जुटनुपर्ने कारण के हो ?
संघीयता, गणतन्त्र, लोकतन्त्र, समावेशिता र समानुपातिक उपलब्धि बचाउन हामी एक ठाउँमा उभिएका छौं । दुबै दल जसपा नेपाल र लोसपा एक ठाउँमा नउभिए संघीयता बिरोधी शक्ति सल्बलाउने थिए । त्यसको बिरुद्धमा पनि एक भएर उभिनु परेको हो । नयाँ दलको एजेन्डा संघीयता होइन । संघीयतालाई जोगाउन हामी मिल्नुपर्थ्यो । टुटफुट र जुट्ने सिलसिला सबै दलको रोग हो । कुनै पार्टी पनि त्यसबाट अछूतो छैन । कांग्रेस र एमाले पनि टुक्रिएका छन् । मधेशबादी दलमा पनि अस्तित्व स्वीकार नगर्दा र पावर सेयरिङको बेला पार्टी विभाजन हुने गरेको इतिहास छ । फेरि टुट्ने वा नटुट्ने ग्यारेन्टी त गर्न सकिँदैन । मधेशको मुद्दामा एकमत भएका दलहरू मिल्नुको विकल्प छैन ।
एकता प्रक्रियाअघि विगतका गल्तीको आत्मसमिक्षा र त्यस्तो गल्ती दोहोरिन नदिनु भन्ने विषयमा कुरा भयो ?
सबै विषयमा समीक्षा भएको छ । विगतका गल्तीबाट पाठ सिक्दै अगाडि बढ्ने नै हो । संघीयता, समावेशीता र लोकतन्त्र–गणतन्त्रका लागि हामी एक ठाउँमा उभिनु नै पर्छ ।
जसपा नेपाल र लोसपा एकीकरणमा मधेशका अन्य दलहरू पनि आउने सम्भावना के छ ?
अनौपचारिक कुराकानी धेरै दलसँग भइरहेको छ । आ–आफ्नो स्तरमा छलफल भइरहेको छ । सबैले गल्ती महसुस गरेर वार्ता गर्न थालेका छन् । मधेशबादी दलहरू एकै ठाउँमा रहँदा सन्देश पनि राम्रो जान्छ । अलग–अलग बसेर केही हुँदैन, एकै ठाउँमा आउँदा बलियो हुन्छ । अनौपचारिक रूपमा दलहरू सम्पर्कमा छन् ।
विगतजस्तै मधेशबादी दलहरू एकठाम आउनुपर्ने परिस्थिती चुनावले ल्याएको हो कि, जेन–जी विद्रोहपछि खुलेका नयाँ दलले हो ?
चुनाव र जेन–जी मुभमेन्टले पनि हामीलाई एकठाम ल्याउने एउटा कारण हो । हामी एक नभए अस्तित्वकै खतरा थियो ।
पार्टीको नाम, झन्डा र संगठनात्मक स्वरुप टुंगो नलागी किन एकता गर्नुपर्ने हतारो परेको ?
यी सबै मामिलामा काम भइरहेको छ । एकताअघि पनि यी विषयमा छलफल भएको छ ।
सम्बन्धित समाचार
![Balendra-Ravi don't want federalism and inclusiveness, so we had to come together: Lalbabu Raut [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/lalbabu-rawat-29122025031735-1000x0.jpg&w=1001&h=0)