संसद् पुनःस्थापना अनि विघटनको संवैधानिक जग छैन, विकल्प पनि हुन सक्दैन : मन्त्री सिन्हा [अन्तर्वार्ता]

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा भन्छन्- सरकार कुनै पनि कारणले २१ फागुनको समयसीमा सार्ने पक्षमा छैन, सरकारले निर्वाचनको मिति थप्ने वा सार्ने विषयमा छलफल नै गरेको छैन।

पुस १३, २०८२

जयसिंह महरा, दुर्गा दुलाल

There is no constitutional basis for the restoration and dissolution of Parliament, nor can there be an alternative: Minister Sinha [Interview]

What you should know

अनिलकुमार सिन्हा नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुन् ।

२१ फागुनमा तोकिएको निर्वाचन गर्ने जिम्मेवारीसहित सरकारको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका उनी सर्वोच्च अदालतका पूर्वन्यायाधीश पनि हुन् । उनै सिन्हासँग करिब दुई महिना बाँकी रहेको निर्वाचनको तयारी र सरकारको कामका बारेमा कान्तिपुरका लागि दुर्गा दुलालजयसिंह महराले गरेको कुराकानी :

२१ फागुनका लागि तोकिएको निर्वाचन नजिकिएको छ । सरकारको तयारी कुन चरणमा पुगेको छ ?

अहिलेको सरकारको उद्देश्य भनेकै जेन–जी आन्दोलनको आकांक्षाअनुसार भ्रष्टाचारमुक्त र सुशासनयुक्त नेपाल बनाउनका निमित्त जस्ता आवश्यकता छन्, त्यसको पूर्तिको काम गर्ने हो । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा अहिलेको अवस्थाबाट निकास निकाल्न सुशीला कार्कीलाई जिम्मेवारी दिइएको हो । यसका लागि २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन तोकिएको हो । शान्तिपूर्वक अनि धाँधलीरहित तथा सहज तरिकाबाट भोट हाल्न सक्ने वातावरण बनाएर २१ फागुनमा निर्वाचन गराउनु सरकारको प्रमुख दायित्व हो ।

निर्वाचन भन्नेबित्तिकै सुरक्षाको विषय आउँछ । दलहरूबाट र आम रूपमा पनि सुरक्षाको प्रश्न धेरै उठ्ने गरेका छन् । छलफलहरूमा नेताहरूले सुरक्षाकै प्रश्न उठाउनुभएको छ । कतिपयले निर्वाचनको तयारी र चुनावी वातावरणका विषय पनि उठाउनुभएको छ । त्यस्तै, जेन–जीका अभियन्तामध्ये कतिपयले संविधान संशोधन गरेर मात्रै निर्वाचन गर्नुपर्ने बताइरहनुभएको छ । यति धेरै मुद्दाका बीचमा सबैलाई समेटेर अघि बढ्नुपर्ने चुनौती सरकारलाई छ । त्यसो त हामी यी चुनौतीहरू स्वीकार गरेरै सरकारमा आएका हौं । अहिले धेरै समस्या एकै पटक क्रियाशील भएको अवस्था छ । सबै समस्याको एकैचोटि समाधान निस्किने अवस्था छैन । यसका निमित्त हामीले हरेक चरण–चरणमा समाधान खोज्नुपर्ने अवस्था छ । सरकारले यही विधिबाट समाधानहरू निकाल्ने काम पनि गरिरहेको छ ।

संविधान संशोधनको क्षेत्राधिकार हाम्रो होइन । हामीलाई सीमित अवधिमा निर्वाचन सम्पन्न गर्नुपर्ने मुख्य दायित्व छ । त्यसैले सरकारले अहिलेको संविधानलाई पालन गरेर अघि बढ्नुपर्छ । संविधानमाथि कुनै काम गर्न पाउने जिम्मेवारीमा हामी छैनौं । विद्यमान कानुन र संविधानअनुसार २१ फागुनमा निर्वाचन गर्ने, नयाँ निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने र संविधान संशोधनको एजेन्डा पनि जिम्मा लगाउने जिम्मेवारीमा छौं ।

संविधान संशोधनको मुद्दा र एजेन्डालाई निर्वाचनमा लैजान सकिन्छ । अनि त्यो एजेन्डा लिएर गइसकेपछि त्यसलाई जनताले सहर्ष स्वीकार गर्छन् । जनताले पनि संविधानमा कहाँ–कहाँ संशोधन गर्ने र कसले गर्ने भन्ने अभिमत दिएर पठाउँछन् । संविधान निर्माण भएको १० वर्ष भइसकेको छ । राजनीतिक दलदेखि जनतासम्मले संशोधनको माग गरिरहेका छन् । राजनीतिक दलहरूले पनि चुनावलाई संविधान संशोधनको एउटा अवसरमा रूपान्तरण गर्न सक्छन् । संविधान संशोधनका लागि निर्वाचित संसद् र सरकारसँग अन्य विकल्पहरू पनि हुन सक्छन् ।

जहाँसम्म निर्वाचनको तयारीको विषय छ, निर्वाचनको विकल्प भनेको निर्वाचन मात्र हो । यसलाई अरू केहीले पनि प्रतिस्थापन गर्न सक्दैन । संविधान संशोधनको एजेन्डालाई लिएर गएका पार्टी या पक्षलाई जनताले निर्वाचनमा भोटसहित मान्यता दिएर संसद्मा पठाउँछन्, त्यो अन्य विकल्पबाट दिन सकिँदैन । निर्वाचनबाटै जनताले आवश्यकता अनुसारको ‘म्यान्डेट’ दिएर पठाउँछन्, अनि एजेन्डाहरूलाई अनुमोदन पनि गर्छन् । अहिले संसद् छैन ।

There is no constitutional basis for the restoration and dissolution of Parliament, nor can there be an alternative: Minister Sinha [Interview]

अहिलेको सरकार पनि निर्वाचनका लागि मात्र हो । यसमै केन्द्रित छ । यस अवस्थामा केही दल र व्यक्तिहरूले फेरि संसद् पुनःस्थापनाको विषय उठाउनुभएको छ । यो अदालतमा विचाराधीन रहेको विषय हो । त्यस सम्बन्धमा सरकार र मैले बोल्न मिल्दैन । किनकि त्यो अदालतको क्षेत्राधिकार हो । म पनि न्यायपालिकाबाटै आएकाले त्यो गम्भीरता र संवेदनशीलता बुझ्छु ।

न्यायपालिकाले स्वतन्त्र रूपमा आफ्नो काम गर्नुपर्ने हुन्छ । सरकारले यसमा कुनै पनि धारणा बनाउँदैन । तर संसद् विघटन संवैधानिक थियो कि थिएन भनेर केही दल र सार्वजनिक सरोकारवाला अदालत पुगेको देखिन्छ । तर विचार गर्नुपर्ने प्रश्न छ, के संसद् पुनःस्थापना भनेको निर्वाचनकै विकल्प हो त ? निर्वाचनले दिने ‘म्यान्डेट’ संसद् पुनःस्थापनाले दिन्छ त ? अनि त्यसलाई जनताबाट स्वीकार हुन्छ ? जेन–जीे आन्दोलनका अभियन्ता, ज्यान गुमाएकाका परिवार तथा घाइतेले स्वीकार गर्न सक्नुहुन्छ या गर्नुहुन्छ ? 

त्यस्तै, आमजनता, जसले परिर्वतन र सुशासनको मागमा समर्थन गरेका छन्, उनीहरूले कसरी स्वीकार गर्छन् भन्ने प्रश्न चिह्न छ । तथापि न्यायिक रूपमा अब संसद् पुनःस्थापना नै गर्ने भनेर भन्नलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले बोल्नुपर्छ होला । संवैधानिक इजलासले दिएको निर्णयलाई पालना गर्नुको विकल्प सरकारसँग छैन, तथापि अहिले जुन जनभावना अनुसार आन्दोलन भयो र सरकार बन्यो, त्यसको जनादेश त्यही थियो त ?

सरकार बन्दै गर्दा पनि राष्ट्रपतिले स्पष्ट रूपमा निर्वाचनका लागि सुशीला कार्की नेतृत्वको सरकार गठन गर्दै ६ महिनाको अवधि तोक्नुभएको थियो । सरकार गठन गर्दा नै जिम्मेवारी र समयसीमा तोकेकाले र संवैधानिक बाध्यता पनि त्यही भएकाले निर्वाचन तोकिएकै मितिमा हुन्छ । यसमा कुनै तलमाथि हुँदैन । सरकार तलमाथि गर्ने पक्षमा पनि छैन । हामीसँग ६ महिनाभित्र निर्वाचन गर्ने र नयाँ निर्वाचित सरकारलाई सत्ता सुम्पेर बिदा हुने बाध्यता छ । यसप्रति गम्भीर भएरै प्रधानमन्त्रीले दलहरूसँग छलफल गर्न मेरो नेतृत्वमा वार्ता समिति बनाउनुभएको हो । हामी हरेक दलका कार्यालय पुगेर र औपचारिक तथा अनौपचारिक रूपमा कुराकानी गरेर निर्वाचनको वातावरण बनाउन सक्रिय भएका छौं ।

हामीले जेन–जी आन्दोलनमा ध्वस्त भएका दलका कार्यालय मात्र अनुगमन गरेका छैनौं, नेताहरूसँग पनि भेटेर कुरा गरेका छौं । प्रधानमन्त्रीले दलका नेताहरूलाई बोलाइराख्नुभएको छ । राष्ट्रपतिले पनि शीर्ष नेतासँग प्रधानमन्त्रीसहितको छलफल गराउनुभएको छ । यसबाट निर्वाचनको वातावरण बन्दै गएको छ । सरकार र दलहरूबीचको सम्बन्ध झन् विस्तार र निकट हुँदै गएको छ । यो पनि निर्वाचनको वातावरण बनेको अवस्था हो ।

निर्वाचनको मुख्य ‘स्टेक होल्डर’ दलहरू नै हुन् । उनीहरू नै निर्वाचनमा भाग लिने हो । सरकार र निर्वाचन आयोगले त निर्वाचनको प्रक्रियामा सहयोग गर्ने र वातावरण तयार गर्ने मात्र हो । दललाई बाहिर राखेर चुनाव हुन सक्दैन, त्यसरी हुने निर्वाचनले सार्थक परिणाम पनि दिँदैन भन्नेमा सरकार प्रस्ट छ । त्यसैले पनि दलहरूको तयारीका सम्बन्धमा हामीले छलफल सुरु गरेका हौं ।

केही दलहरूले दुई–चार वटा विषय उठाउनुभएको छ । पहिलो, सुरक्षाको । सरकार यसमा गम्भीर छ । दलहरूको कार्यालय भ्रमण गर्दा पनि यही प्रश्न गरिएको थियो । हामीले ढुक्क हुन भनेका छौं । सरकारले निर्वाचन सुरक्षा योजना बनाइसकेको छ । लागू पनि हुँदै छ । धेरै जना कैदी बन्दी बाहिर छन् भन्ने चिन्ता पनि गर्नुभएको छ । तर यो सम्पूर्ण सत्य होइन । अधिकांश कैदीबन्दी पक्राउ परिसकेका छन् । कति आफैं सम्पर्कमा आएका छन् । कतिलाई प्रहरीले पक्राउ गरेको छ । लुटिएका हतियारको अवस्था पनि त्यस्तै हो । लुटिएका र चोरी भएका अधिकांश हतियारहरू सरकारले बरामद गरिसकेको छ ।

यस्ता समस्याहरू समाधान भइसकेका छन् । यिनै कारणले मात्र निर्वाचनको वातावरण नबन्ने अवस्था अब रहेन । सुरक्षाको प्रश्नमा त्यति डराउनुपर्ने अवस्था छैन । नेपालले अहिलेभन्दा बढी सुरक्षा चुनौती रहेको बेला (शान्ति सम्झौतापछि) मा पनि शान्तिपूर्ण र सफलतापूर्वक निर्वाचन सम्पन्न गरिसकेको छ । त्यस अवस्थामा निर्वाचन सम्पन्न गराउने निर्वाचन आयोग र भाग लिने दलहरू अहिले पनि मैदानमा छन् । अहिलेको अवस्था त्यतिबेलाको जस्तै जटिल पक्कै होइन । जटिल परिस्थितिमा पनि कसरी तयारी गर्न सकिन्छ र चुनावमा होमिन सकिन्छ भनेर त दलहरू आफैंले प्रमाणित गर्नुभएको इतिहास छ ।

त्यसलाई उहाँहरूले नकारेर जान सक्ने अवस्था भएन । तथापि अहिलेको अवस्था अलि फरक छ । जेन–जी आन्दोलनपछि भएको परिवर्तनका सन्दर्भमा निर्वाचन वातावरण बनाउनुपर्ने अवस्थामा सरकार थियो । सरकारले यसैका लागि एउटा उच्चस्तरीय समिति बनाएर काम गरिरहेको छ । सञ्चारमन्त्री एवं सरकारका प्रवक्ताले शुक्रबार शीर्ष नेताहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर छलफल गर्नुभएको छ । हामीले केही दलका पार्टी कार्यालयसम्म पुगेर छलफल गरेका छौं, दलहरूलाई निर्वाचनको आह्वान गर्न अनुरोध पनि गरेका छौं । उहाँहरूले सकारात्मक रूपमा लिनुभएको पाएका छौं ।

राष्ट्रपतिले प्रधानमन्त्रीलाई निर्वाचन गराउने जिम्मेवारीसहित ६ महिना तोकेरै नियुक्ति दिनुभएको थियो । तपाईंले पनि समयसीमाको चर्चा गर्नुभयो । तर पनि वैशाखसम्म तन्काउन सकिन्छ कि भन्नेमा सरकार पुगेको चर्चा छ । त्यस्तो सम्भावना छ ?

सरकार २१ फागुनप्रति प्रतिबद्ध छ । त्यसैले कुनै पनि कारणले २१ फागुनको समयसीमा सार्ने पक्षमा छैन । सरकारले निर्वाचनको मिति थप्ने वा सार्ने विषयमा छलफल नै गरेको छैन । कहिलेकाहीं एक–दुई वटा बुथमा केही समस्याहरू आयो वा दुई–चार वटा बुथमा निर्वाचन सम्भव भएन भने त्यसबारेमा निर्वाचन आयोगले निर्णय गर्छ । आयोगले नै ती क्षेत्रमा कहिले र कसरी निर्वाचन गर्ने भन्नेबारेमा निर्णय गर्छ । त्यसबाहेक अरू कुनै पनि कुरामा सरकारको मन र ध्यान छैन । अहिले आयोगलाई सरकारले सहयोगका लागि तयार छौं भनेको छ । आयोगले पनि सरकारको आश्वासन र बचनका कारणले पूर्ण रूपमा तयारी गरिरहेको देखिन्छ ।

निर्वाचन आयोगले ७० प्रतिशत जति व्यवस्थापकीय काम सकेको भनेको छ । आयोगलाई निर्वाचनका लागि १२० भन्दा बढी सामान चाहिने रहेछ । त्यसमध्ये ८० भन्दा बढी सामान ‘स्टक’ मै रहेछ । आयोग र सुरक्षा निकायलाई सवारीसाधनको मात्र अलिकति समस्या भएको देखियो । ती सवारीसाधन पनि मित्र राष्ट्रहरूबाट सहयोगका रूपमा आउने प्रतिबद्धता आइसकेको छ ।

There is no constitutional basis for the restoration and dissolution of Parliament, nor can there be an alternative: Minister Sinha [Interview]

त्यस्तै निर्वाचन आयोगलाई चाहिने ‘लजिस्टिक्स’ पनि व्यवस्थापन भइरहेको छ । आर्थिक आवश्यकतालाई अर्थ मन्त्रालयले समन्वय गरिरहेको छ । आयोगले पनि अहिलेको परिस्थितिलाई ख्याल गर्दै अत्यन्तै कम खर्चिलो प्रकृतिबाट काम गर्न खोजेको देखिएको छ । त्यसले गर्दा बजेट बनाउनलाई पनि उहाँहरूले धेरै सहयोग गर्नुभएको छ । कम खर्चमा तोकिएको समयमा निर्वाचन गर्न सक्ने अवस्थामा आयोग पुगिसकेको ‘ब्रिफिङ’ सरकारलाई छ ।

निर्वाचन आयोगले जुन हिसाबले खटिएर काम गरेको छ, त्यसलाई हेर्दा अहिले निर्वाचन गर्न नसक्ने अवस्था छैन । न्याय परिषद्बाट निर्वाचनका लागि न्यायाधीशहरूलाई खटाउने निर्णय पनि भइसकेको छ । कर्मचारी र न्यायाधीशहरूको तालिम अब छिट्टै सञ्चालन हुन्छ ।

आयोग र सरकार यसरी निर्वाचनको बाटोमा रफ्तारमा छन् । आयोगले त युद्धस्तरमा काम गरेको देखिएको छ भने सरकारले पनि सोहीस्तरको सहयोग गरिरहेको छ । यो आयोगका लागि पनि एउटा अग्निपरीक्षा हो । एकाएक आइपरेको अवस्थामा पनि उहाँहरूले निर्वाचन सम्पन्न गराउन सक्ने हिम्मतका साथ तयारी गर्नुभएको छ, त्यो हेर्दा अब कुनै बाधा र समस्या छैनन् । राजनीतिक दलहरूले पनि सोहीस्तरमा तयारी गर्नुपर्ने थियो । तर त्यस्तो देखिएको छैन । उहाँहरूको तयारी भित्रभित्रै भइरहेको छ ।

दलहरूले जुन दिन ‘अब हामी निर्वाचनमा होमिनुपर्छ’ भनेर सार्वजनिक रूपमा कार्यकर्तालाई आह्वान गर्नुहुन्छ, त्यो तत्कालै जिल्ला र गाउँमा पुग्छ । किनकि उहाँहरूको संगठन र जालो स्थानीय तहसम्मै छ । उहाँहरूको त्यो ‘नेटवर्क’ले एकै दिनमा निर्वाचनको माहोल बनाउन सक्छ । हामीसँग आजको दिनमा यो नभएको हो । तर, उहाँहरूलाई अनुरोध गर्छौं, अब तपाईंहरू बोल्नुस्, बोल्ने अवस्था आइसक्यो । हामीसँगको भेटमा दलहरूले अब बोल्छौं भन्नुभएको छ । दलहरूले आफूहरू आन्तरिक निर्णय प्रक्रियामा रहेको, भर्खर महाधिवेशन सकेर आएको र नयाँ केही दल र शक्ति एकीकरणको तयारीमा रहेको भन्नुभएको छ ।

उहाँहरूले यी प्रक्रियालाई केही दिशा दिएर पक्कै पनि निर्वाचनको आह्वान गर्नुहुन्छ भन्ने सरकारको विश्वास छ । किनकि चुनावमा त दलहरू जानैपर्ने हुन्छ । अहिलेको एउटै निकास भनेकै निर्वाचन भएकाले त्यसभन्दा पर दलहरूले पनि सोच्नुभएको छैन । हामीले पनि सोचेका छैनौं । यस विषयमा दल र हामी एकै बिन्दुमा छौं । यदि दल र सरकार एकै बिन्दुमा छन् र आयोग पनि निर्वाचन गराउन तयार छ भने के समस्या बाँकी रह्यो त ? केही पनि रहेन । अनि केही समस्या नै छैनन्, बाधा व्यवधान पनि छैनन् भने २१ फागुनको निर्वाचनमा किन अन्योल हुनुपर्‍यो त । अब अन्योल होइन, निर्वाचन हुन्छ भनेर ढुक्क हुनुपर्छ भन्ने सरकारलाई लागेको छ ।

अर्कोतिर निर्वाचनलाई फागुनबाट पछाडि सार्ने कि भन्ने प्रश्नको पनि औचित्य छ जस्तो लाग्दैन । हामीलाई तोकिएको समय पनि २१ फागुन नै हो । त्यही मितिमै निर्वाचन हुन्छ । मैले अघि पनि भनें, तोकिएकै समय २१ फागुनमा निर्वाचन नहुनुपर्ने कारण नै छैन भने किन वैशाख वा अरू मितिमा धकल्नुपर्छ र ? हामी सकेसम्म चाँडै तोकिएको मितिमा निर्वाचन गराइदिएर आयोगले दिएको सिफारिस अनुसार निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं । जुन सरकारलाई हामी विश्वास गर्छौं अनि अहिलेको युवा पुस्ताले पनि विश्वास गर्छ । निर्वाचनमा युवाको बढी सहभागिता हुनेमा हामीलाई विश्वास छ । जेन–जी पनि एउटा भिजन लिएर यही निर्वाचनबाट अनुमोदन भएर आउँदै हुनुहुन्छ भन्ने विश्वास पनि सरकारले गरेको छ । उहाँहरूको उपस्थितिले अब बन्ने प्रतिनिधिसभालाई अझ बढ सशक्त बनाउँछ भन्ने मेरो पनि विश्वास छ ।

१४ पुससम्म दलहरूले समानुपातिकको बन्दसूची आयोगमा बुझाउनुपर्छ । त्योपछि दलहरूलाई पनि साँच्चै निर्वाचन लाग्छ होला । त्यसपछि दलहरू प्रचारप्रसारमा जालान् । उनीहरूलाई गाउँगाउँ पुग्न आवश्यक सुरक्षा लगायतका विषयमा सरकारको तयारी के छ ?

सुरक्षाको सवालमा सरकार तयारी अवस्थामै छ । सरकारले एउटा सुरक्षा योजना बनाइसकेको छ । एकीकृत सुरक्षा योजनामार्फत सरकारले निर्वाचन प्रचारप्रसारदेखि मतदानस्थल र मतदातासम्मको सुरक्षा गर्छ । यसैका लागि तालिम पनि सुरु गरिसकेको अवस्था छ । हामीले तीनै वटा सुरक्षा निकाय परिचालन गर्ने योजना बनाएका छौं । निर्वाचनमा सेना परिचालन हुन लागेको भनेर केहीले प्रश्न पनि उठाउनुभएको छ ।

हामीले सेना परिचालन गरेर निर्वाचन गर्न लागेका हैनौं । यो पहिलादेखिकै निर्वाचनको एकीकृत सुरक्षा योजना नै हो । विगतका निर्वाचनमा भएका अभ्यास अहिलेको सरकारले अनुकरण गरेको हो । पहिला–पहिलाका निर्वाचनमा जुन सुरक्षा योजना लागू हुन्थ्यो, त्यसलाई निरन्तरता दिइएको मात्र हो । त्यसभन्दा धेरै फरक प्रकृतिको केही गरिएको छैन । निर्वाचनमा नेपाली सेना तेस्रो घेरामा बस्ने हो । पहिलो र दोस्रो घेरामा क्रमशः नेपाल प्रहरी र सशस्त्र प्रहरी बस्छन् । अनि मात्र सेना बस्छ । भित्री घेरा र मध्य घेरामा त जसरी पहिले–पहिले ‘निर्वाचन प्रहरी’ हुन्थे, त्यहीअनुसार नै सुरक्षा संयन्त्रहरूको निर्माण गरिएको छ ।

There is no constitutional basis for the restoration and dissolution of Parliament, nor can there be an alternative: Minister Sinha [Interview]

यस पटक अलिकति समस्या भनेको प्रहरीको कमजोर ‘मोरल’ मा मात्र हो । प्रहरी चौकी र सवारीसाधन नहुँदा उनीहरूको मनोबल अलि खस्केको देखिएको हो । तर सुरक्षाकर्मी त्यस अवस्थाबाट माथि आइसक्नुभएको छ । प्रहरीले आफैं तयारी गर्नुभएको छ । चुनावसम्म पुग्दा त्यसको पनि समाधान हुन्छ । किनकि उहाँहरूलाई स्रोतसाधनका कुरामा सरकारले व्यवस्था गरिसकेको छ । हामीसँगको छलफलमा सुरक्षा निकायहरूले निर्वाचनको सुरक्षामा कुनै कमी नहुने बचन दिनुभएको छ । अहिलेको सरकारको उद्देश्य भनेको जेन–जी आन्दोलनको आकांक्षाअनुसार भ्रष्टाचारमुक्त र सुशासनयुक्त नेपाल बनाउनका निमित्त जे–जस्तो आवश्यकता छन्, त्यसको पूर्तिका लागि काम गर्ने हो ।

कांग्रेस र एमाले जस्ता दलहरूले संसद् पुनःस्थापना र निर्वाचनको तयारी सँगसँगै गरिरहेको देखिन्छ । यस्तो हुनुमा सरकारप्रतिको अविश्वास हो कि होइन ? सरकारको बुझाइ के छ ?

संसद् विघटन हुनेबित्तिकै त्यो संविधानसम्मत छ वा छैन भन्ने विषयमा अदालतबाट निर्णय हुनुपर्छ भनेर जोकोही पनि जान पाउँछ । दलहरू पनि यो विकल्पमा जानुभएको छ । यो उहाँहरूको अधिकार हो र स्वाभाविक रूपमा लिनुपर्छ । कांग्रेस र एमाले पनि अदालत जानु स्वाभाविक हो । साथै उहाँहरूले निर्वाचनको तयारी पनि समानान्तर रूपमा गर्नुभएको छ ।

समानुपातिकको बन्दसूची बुझाउने मिति नजिकिँदै गर्दा उहाँहरू सूची तयार पार्न छलफलमा लाग्नुभएको छ । कांग्रेसको पनि विभिन्न जिल्लाबाट उम्मेदवार सिफारिस गर्ने क्रम चलिरहेको छ । यसबाट उहाँहरू पनि निर्वाचन तयारीमा लागिरहेको देखिन्छ । यसलाई सकारात्मक रूपमा लिन सकिन्छ । अदालतले पनि उहाँहरूको निवेदनमा समयमै निकास दिनुपर्छ भन्ने मलाई लाग्दछ । दलहरूले निर्वाचनको तयारीका साथै अदालतको निर्णय पनि पर्खिरहेको बताउँदै आएकाले समयमै निर्णय भएमा उनीहरू एकतिर मात्र केन्द्रित हुन सक्ने देखिन्छ ।

न्यायालयले जति सक्यो चाँडै जुनसुकै प्रकृतिको विवादहरूमा न्याय निरूपण गर्न सके राम्रो हो । सबैको यही चाहना हुन्छ र सरकारको पनि छ । सार्वजनिक सरोकारका विषय होस् या व्यक्तिगत सरोकारका विषय होस् । त्यसको चाँडै निराकरण हुनुपर्छ । यस्तो आकांक्षा दलहरूको पनि छ । संसद् पुनःस्थापनाकै कुरा गर्दा, दलहरू मात्र होइन, केही जेन–जीका मानिसहरूले पनि भन्न थालेका छन् । संसद् केही समयका लागि पुनःस्थापना गर्ने अनि फेरि विघटन गर्ने भन्ने कुरामा कुनै संवैधानिक जग छैन ।

यस्तो विकल्प पनि हुन सक्दैन । यो जेन–जीकै तर्फबाट आइरहेका विषय भएकाले सरकारले त्यसलाई अन्यथा गरी हेर्नुपर्ने अवस्था नै छैन । कसरी संविधान संशोधन गर्ने भन्नेबारेमा जेन–जीहरू सुरुमा अस्पष्ट हुनुहुन्थ्यो । उहाँहरूले २०६३ सालमा जारी भएको जस्तो अन्तरिम संविधानको कुरा पनि गरेको सुनिन्थ्यो । तर हामी त्यस अवस्थाबाट निकै अघि बढेका छौ ।

२०६३ को अवस्था र अहिलेको अवस्थामा निकै फरक छ । जेन–जीकै माग र मुद्दामा पनि एकरूपता देखिँदैन । त्यसैले निर्वाचनमार्फत जो आउनुहुन्छ, उहाँहरूले संविधान संशोधन गर्न असाध्यै सजिलो हुन सक्छ । त्यो राजनीतिक विषयमा जनताले अनुमोदन गरेको ठहर हुन्छ । अहिले गर्दा पुनः जनताबाट अनुमोदन हुनुपर्छ । अहिले गरेको संशोधनलाई पास गर्नैपर्छ भन्न मिल्दैन । किनकि नयाँ आउने संसद् आफैंमा सार्वभौम हो ।

हिजोको दिनमा जुन सरकार र जुन नेतृत्वविरुद्ध युवाहरू सडकमा आए फेरि उनीहरूलाई नै पुनःस्थापना गर्ने र त्यही नेतृत्वलाई मान्यता दिएर जाने हो भने फेरि अर्को आन्दोलनको सम्भावना कायमै रहन्छ । देश आजको दिनमा यस्तै आन्दोलनले थिलोथिलो भएको छ, फेरि थप आन्दोलन सहन सक्छ ? अर्थतन्त्र कुन अवस्थामा पुगेको छ ? उद्योग चल्न सकेका छैनन् । उद्योगले उत्पादन गर्न सकेका छैनन् ।

नेपाली सामग्री विदेश निर्यात हुन सकिराखेका छैनन् । उत्पादन नै हुँदैन । अर्थतन्त्र नै चलिराखेको अवस्था छैन । बाहिरबाट आएको रेमिट्यान्सको आधारबाट देश कहिलेसम्म चल्छ ? नेपालमा लगानीको वातावरण छैन भनेर नेपाली लगानीकर्ताहरू विदेश पलायन भइरहेका छन् । अनि देशमा लगानीको वातावरण बनाउने कि एकपछि अर्को आन्दोलन मात्र गर्ने हो ? त्यसैले देशले अब यस्ता प्रकृतिका आन्दोलन चाहिँ थेग्न सक्दैन । अब आन्दोलनबाट बाहिर निस्किनुपर्छ । यसलाई अन्तिम आन्दोलनका रूपमा जे भयो, त्यो हुन नहुने भयो भनेर अघि बढ्नुपर्छ ।

जेन–जी आन्दोलनकै बलमा तपाईंहरू सरकारमा हुनुहुन्छ । उहाँहरूले तपाईंहरूमाथि नै प्रश्न उठाउनुभएको छ । प्रधानमन्त्रीले नै सार्वजनिक रूपमा 'आजै छोड् भन्छन्, भोलि नै छोड् भन्छन्’ भनेर दिक्दारी देखाउनुभयो । तपाईंहरूले सम्झाउन नसक्नुभएको हो कि जेन–जीले बुझ्न नखोज्नुभएको हो ?

अहिले पनि हाम्रो भनाइ र गराइ संविधानअनुकूल नै चल्नुपर्छ भन्ने हो । संविधानकै बाटोबाट, संवैधानिक तरिकाबाट र जनताबाटै अनुमोदन भएर आउनुपर्छ । तर केही जेन–जीहरूको बुझाइ आन्दोलनबाट अनुमोदन भएपछि हुन्छ भन्ने मात्र देखिन्छ । यो सत्य बुझाइ होइन । राज्य कानुन र संविधानका आधारमा सञ्चालन हुन्छ । केही जेन–जीहरूको चाहिँ प्रत्यक्ष स्वार्थ बाझिएका कारण पनि विरोध गरेको पाइएको छ । तर सरकार त्यतापट्टि लाग्दैन । सरकार लगभग अब निर्वाचनको अन्तिम तयारीमा छ ।

अब अहिले हाम्रो तयारी भनेको नै दलका कार्यालयमै गएर सहमतिको वातावरण बनाउनेमा केन्द्रित छ । त्यस्तै, निर्वाचनमा खटिनेहरूलाई सक्षम बनाउनका लागि आवश्यक तालिमको काम पनि चलिरहेको छ । निर्वाचनमा खटिनेहरूका लागि सार्वजनिक सचेतनाका विषय सरकारले चलाउँदै छ । अबको एक हप्तापछि दलहरू झन् निर्वाचनकेन्द्रित हुनेछन् ।

दलहरूले समानुपातिकको बन्दसूची बुझाएपछि उनीहरू प्रत्यक्षतर्फ केन्द्रित हुनेछन् । अब निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गर्दै छ । यसले मतदातालाई निर्वाचनकेन्द्रित बनाउँछ । सरकार नागरिक समाजसँग पनि संवादमै छ । सरकारले नागरिक समाजलाई बाहिर राखेर वा बेवास्ता गरेर अघि बढ्दैन । उहाँहरूसँग कुराकानी भइरहेको छ । नागरिक समाज भनेको खबरदारी पनि गर्ने र सहयोग पनि गर्ने समूह हो । हामीले नागरिक समाजलाई साथ लिएर नै हिँड्ने हो ।

There is no constitutional basis for the restoration and dissolution of Parliament, nor can there be an alternative: Minister Sinha [Interview]

 विदेशमा रहेका नेपालीहरूले मतदानको अधिकार पाउने/नपाउने विषयमा पनि छलफल चलिरहेको छ । सरकारको तयारी के भइरहेको छ ?

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा सरकारले अत्यन्त सकारात्मक रूपमा सोचेको हो । त्यसका निमित्त आवश्यक पर्ने कानुनी संरचनाका लागि अध्ययन पनि भयो । तर आजको स्थितिमा कानुन मात्रै भएर नहुने रहेछ भन्ने देखियो । त्यसका निमित्त पर्याप्त समय र तयारी आवश्यक हुने रहेछ । हामीसँग अहिले भएको तयारी पुग्ने अवस्था देखिएन । यद्यपि, प्रवासमा रहेका नेपालीहरूलाई मतदानको अधिकार दिने कुराको तयारी त अहिले नै सुरु गर्छौं । विगतका सरकारले कुनै तयारी सुरु गरेको नदेखिएका कारण पनि अहिले सम्भव हुने देखिएन । यो सरकारले एउटा दस्तावेज तयार गरेको छ । अब त्यसको जगमा आउने सरकारहरूले विदेशमा रहेकाहरूलाई पनि मतदानको अधिकार दिन सक्नेछ ।

बेजिल्ला वा निर्वाचन क्षेत्रबाहिर मतदान गर्न दिने सम्बन्धमा विगतमा छलफल भएका थिए । यस पटक त्यसको कार्यान्वयन हुन्छ कि हुँदैन ?

त्यो विषय पनि अहिले छलफलकै क्रममा छ । पछिल्लो समय प्रवासमा रहेका नेपालीहरूलाई मतदान गर्ने अधिकार दिने भनेर सरकारले निकै कोसिस गरेको हो । अध्ययन पनि गरेको हो । त्यस्तै, बेजिल्ला वा निर्वाचन क्षेत्रबाहिर मतदान गर्न पाउने विषयमा निर्वाचन आयोगले कुनै असहमति जनाएको अवस्था छैन । आयोगले त्यो तयारी गर्न सक्ने अवस्था छ कि छैन, हामी छलफलमै छौं । यो सीमित समयमा कार्यान्वयन गर्न कति सम्भव होला, आयोगले नै निर्णय गर्छ ।

सरकारले निर्वाचन आयोगले सम्भव छ भनेमा सहयोग गर्छ तर सम्भव नै छैन भनेको अवस्थामा नहुन पनि सक्छ । विदेशमा रहेकादेखि बेजिल्ला अनि अरू थुप्रै विषय एकै पटक आए । निर्वाचन आयोगसँग तयारीका लागि समय कम भयो । त्यसले गर्दा चाहेर पनि धेरै काम गर्न नसकिने अवस्था भएको छ ।

निर्वाचन क्षेत्र बाहिरको कुरामा आयोग र सरकार छलफलमै छ भने दलहरूले यसमा ठोस जवाफ दिएका छैनन् । दलहरूले नै कस्सिएर त्यस्तो सुविधा दिनुपर्छ भन्ने हो भने आयोगले पक्कै केही निर्णय लिन्छ । अनि, सरकारले पनि सहयोग गर्छ । यी विषयमा राजनीतिक दलहरू पनि तयार हुनुपर्‍यो । त्यसका लागि राजनीतिक दलले अपनत्व लिनुपर्छ । त्यो भयो भने तत्कालै गर्न सकिन्छ । राजनीतिक दलले खुलेर यससम्बन्धमा आफ्नो धारणा नराखेका कारण सरकारले केही निर्णय लिन सकेको छैन ।

पार्टीका दोस्रो तहका नेताहरूसँग छलफल हुने गरेको थियो । अब प्रधानमन्त्रीले शीर्ष नेतासँगै छलफल गर्न थाल्नुभएको छ । निर्वाचनको वातावरण नबनेका कारणले यस्तो अग्रसरता लिइएको हो ?

हामीले विगतमा पनि निरन्तर छलफल गर्दै आएका थियौं । विगतमा दलहरूलाई पत्र लेखिएको हो । उहाँहरूले जसलाई पठाउनुभयो, उहाँहरूसँग छलफल गरेको हो । राष्ट्रपति निवासमा शीर्ष नेताको छलफलपछि प्रधानमन्त्रीले पनि आफ्नै पहलमा यस्तो बैठक बोलाउनुभएको हो । यसो गर्नुमा निर्वाचनको वातावरण नबनेर होइन, अझै धेरै बनाउने उद्देश्य राखिएको हो । सुरक्षाको चिन्ता छैन, सुरक्षा तयारी पर्याप्त छ, ढुक्क भएर निर्वाचनको प्रचारप्रसारमा लाग्नुस् भन्नलाई हो । 

यो नागरिक सरकार हो । यसले निर्वाचन गर्ने जिम्मेवारी पाएको छ । तपाईं पक्कै निर्वाचनमा भाग लिनुहुन्न । तर सरकारका केही मन्त्री त दल खोल्नेदेखि निर्वाचन लड्नेसम्मको तयारी गरेका छन् नि ?

हामी त्यसबारेमा छलफलमा छौं । उहाँहरूले आफ्नो पनि एउटा कार्यदिशा छलफलमा ल्याउने तयारी गरिरहनुभएको छ । चाँडै उहाँले त्यसबारे निर्णय गर्नुहुन्छ ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully