'परिकल्पनाभन्दा सीटीईभीटीको संरचना अत्यधिक ठूलो भयो । ठूलो संरचनाले आफ्नो तोकिएको काम नै गर्न सकिरहेको छैन । यसको अवस्था बिग्रँदै गयो । जथाभावी कलेज खोल्ने गर्दा प्रशिक्षक (शिक्षक) र विद्यार्थी पाउन छाडिएको छ । भयावह अवस्थामा सीटीईभीटी पुगेको छ ।'
काठमाडौँ — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लाई संघीयताअनुसार प्रदेश र स्थानीय तहसम्मै विस्तार गर्दै विद्यार्थी संख्या न्यून भएका शिक्षालय/कलेज बन्द वा समायोजन तुरुन्त थाल्न विज्ञ समूहद्वारा सरकारलाई सुझाव दिइएको छ ।
सीटीईभीटी पुनःसंरचनाका लागि काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति सुरेशराज शर्माको संयोजकत्वमा गठित सीटीईभीटी पुनःसंरचना कार्यदलले मापदण्ड बनाएर शिक्षण संस्थाहरू बन्द वा समायोजनको नीतिमा जानुपर्ने औंल्याएको हो । यसै सन्दर्भमा शर्मासँग गरिएको कुराकानी :
सीटीईभीटी किन र केका लागि स्थापित गरिएको थियो ?
स्थानीयस्तरमा आवश्यक पर्ने विभिन्न किसिममा जनशक्ति उत्पादन गर्न सीटीईभीटी खोलिएको थियो । कुन ठाउँमा कस्तो खाले जनशक्ति चाहिन्छ । त्यही विषयका लागि सीटीईभीटीको संस्था स्थापना हुन्थ्यो । दुर्गममा नै दक्ष जनशक्ति चाहिने ठानेर जुम्लाबाट शिक्षालय स्थापना थालिएको थियो । पछि विस्तार गर्दै जिरी, धनकुटा, लहानमा खोलियो । जग्गा प्राप्तिसहित आवश्यक पूर्वाधार गरेपछि मात्र सीप सिकाउने काम सुरु हुन्थ्यो । खेतीपाती, पशुपालन, निर्माणसम्बन्धी सीप सिकाउने काम बढी हुन्थ्यो ।
बिस्तारै स्वास्थ्यका विषयले पनि प्राथमिकता पाए । त्यहीअनुसार सीएमएलगायत कार्यक्रमले प्राथमिकता पाउँदै गए । हरेक क्षेत्रका विज्ञ तथा दक्ष जनशक्ति स्थानीयस्तरमा नै तयार पार्नु सीटीईभीटीको उद्देश्य थियो । दाताहरू समेत खोजेर लगानी गर्यौं । १५ वटा स्कुल सरकारकै प्रयासमा लगानी जुटाएर थालिएको थियो । त्यतिबेला उत्पादित जनशक्तिले आकर्षण रोजगारी पाउने अवस्था थियो । काम र सीप जानेको जनशक्ति तयार भएको थियो । सीटीईभीटीको ऐन नै बनेर संस्था स्थापना गरियो ।
सीटीईभीटीले उद्देश्यअनुसार काम गरेको छ त ?
विशेष गरी २०६२/६३ पछि संस्था सञ्चालनको ढाँचा परिवर्तन भयो । सरकारहरू परिवर्तन भइरहने र त्यसलाई पनि सरकारअनुसार नै चलाउने काम भए । धैरै कुरामा परिवर्तन आउन थाल्यो । सरकारहरूले शिक्षालय विस्तार गर्न बढी ध्यान दिए । निजी क्षेत्रको पनि संलग्नता हुन थाल्यो । सरकारी र निजी क्षेत्रका शिक्षालयहरूलाई आवश्यकताभन्दा बढी सम्बन्धन बाँडियो । कलेज विस्तार नै अत्यधिक भयो । परिकल्पनाभन्दा सीटीईभीटीको संरचना अत्यधिक ठूलो भयो । ठूलो संरचनाले आफ्नो तोकिएको काम नै गर्न सकिरहेको छैन । यसको अवस्था बिग्रँदै गयो । जथाभाबी कलेज खोल्ने गर्दा प्रशिक्षक (शिक्षक) र विद्यार्थी पाउन छाडिएको छ । भयावह अवस्थामा सीटीईभीटी पुगेको छ ।
अब सुधारमा के गर्न सकिन्छ ?
सीटीईभीटी खुल्दा अहिले जस्तो प्रदेश थिएन । ठूलो संरचना भएकाले अब यसले काम विभाजन गर्नुपर्छ । आफ्नो काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न सकिन्छ । अध्ययन गरेर शिक्षा मन्त्रालयमा विस्तृत रिपोर्ट बुझाएका छौं । सीटीईभीटीको व्यवस्थापनका लागि गाइडलाइन दिएका छौं । त्यसको कार्यान्वयन गरेर सुधार थाल्न सकिन्छ । विस्तृत कुरा सीटीईभीटीको पुनःसंरचनासम्बन्धी सुझाव प्रतिवेदनमा उल्लेख छ । त्यसमा सरकार, सीटीईभीटी, प्रदेश, स्थानीय तहले गर्ने काम गर्ने तोकिएको छ । कुन काम तत्काल नै गर्ने, कुन काम ६ महिना, कुन–कुन काम एक वर्षभित्र गर्ने उल्लेख छ । कसले ती काम गर्ने, सीटीईभीटीलाई कस्तो बनाउने पनि यकिन गरिएको छ । यसको पुनःसंरचना गर्नुपर्छ । संरचनालाई पनि आवश्यकताअनुसार कायम गरिनुपर्छ । समग्र व्यवस्थापनका लागि सुझाव दिएका छौं । त्यसको कार्यान्वयन गरेर सीटीईभीटीमा सुधार थाल्न सकिन्छ ।
